नेभिगेशन
दृष्टिकोण

जनादेशको अन्तर्य

भदौ २३ एवं २४ गते नेपालको राजनीतिक इतिहासमा अत्यन्त महŒवपूर्ण स्थान राख्दछ । सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो । ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट उक्त सरकारले पायो । तर कार्की नेतृत्वको सरकारलाई ‘हाहा–हुहु,’ ‘असंवैधानिक’ आदिको आरोप केपीले लगाए । केपी नेतृत्वको एमालेले निर्वाचनबारे अनेकौं प्रकारको प्रचार गरे तापनि यही फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो । नेपालको राजनीतिक इतिहास, खास गरी निर्वाचनको परिप्रेक्ष्यमा, २१ गतेको निर्वाचन अत्यन्त शान्त, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न भयो । यसलाई उदाहरणीय निर्वाचन मान्नैपर्छ । यसका लागि नेपाली जनता, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सेना, प्रहरीका समस्त निकायहरू, निर्वाचन आयोग, राजनीतिक दल, कर्मचारीतन्त्र एवं सम्बन्धित पक्षहरू धन्यवादका पात्र छन् ।
शान्त विद्रोहको संज्ञा पाएको यो निर्वाचनले बहुआयामिक सन्देश प्रवाह गरेको छ । सन्देशहरूको पूर्णता एउटै लेखमा सम्भव हुनै सक्दैन । तर अत्यन्त महŒवपूर्ण सन्देशहरूबारे छलफल गर्न सकिन्छ ।
सन्देशहरू– नेपाली जनता दास एवं लास होइनन् । नेपाली जनताले २०१५ सालदेखि हालै सम्पन्न फागुन २१ गतेको निर्वाचनसम्म आफ्नो परिपक्वता प्रदर्शन गरेका छन् । मुलुक लोकतन्त्र एवं परिवर्तनको पक्षमा सधैं आफ्नो मत अभिव्यक्त गरेका छन् । २०१५ सालको निर्वाचनमा लोकतन्त्र एवं परिवर्तनको पक्षमा मतदान गर्दै २०४७÷४८ को निर्वाचन, पहिलो एवं दोस्रो संविधानसभाको निर्वाचन, नेकपाको बहुमत आएको निर्वाचन होस् वा गठबन्धनमा आधारित निर्वाचन; प्रत्येक निर्वाचनमा नेपाली जनताले समन्वयात्मक एवं सन्तुलित मत अभिव्यक्त गरेका छन् ।
नेपालमा निजगढ, नारायणगढ, लालगढ प्रख्यात ठाउँ हुन् । तर ‘गढ’ को परिप्रेक्ष्यमा विचारको आवरणमा राजनीतिक दलहरूले नेपाली जनतालाई आफ्नो गढ ठाने । लास एवं दास नै ठाने । नेपाली जनताले आफूहरू दास होइनन् भन्ने सन्देश प्रवाह गरेका छन् । हाम्रो निर्वाचन प्रणालीले गर्दा कुनै एक दलहरूको बहुमत आउँदैन भन्ने मान्यता खण्डित भएको छ । समय एवं जनता सर्वशक्तिमान् हुन् भन्ने फेरि प्रमाणित भएको छ ।
कोट, टार एवं कण्ठ आदिमा बस्दैमा जनता भेडा हुन् ठान्ने प्रवृत्तिको अन्त्य भएको छ । यो निर्वाचनमा झोले एवं दासहरूको पनि मालिकझैं बिजोग हुन्छ भन्ने सन्देश प्रवाहित भएको छ । बदनाम भएर हत्यारा, लुटेरा, दलाल आदि आदिका रूपमा आम जनतामा घृणित झोलेहरूले जतिसुकै धुप मालिकलाई देखाए पनि जनताबाट अस्वीकृत हुन्छन् भन्ने कुराको राम्रो उदाहरण केपी एमालेले प्रमाणित गरेको छ ।
विदेशी हस्तक्षेपको अनेकौं प्रकारको बौद्धिक व्याख्या गरेर जनता भ्रमित गर्ने महान् बुद्धिजीवीहरूको पोल खोलिदिएको छ । तथाकथित अशिक्षित गरिब नेपाली जनताले त्यस्ता महान् बुद्धिजीवीहरूलाई नांगो बनाइदिएका छन्— यो सन्देश पनि प्रवाहित भएको छ ।
मासु, रक्सी, धन, जात, क्षेत्र आदि आदिबाट नेपाली जनताले धेरै माथि उठेर राष्ट्रिय एकताको सन्देश प्रवाहित गरेका छन् । मेचीदेखि महाकालीसम्म आएको लहर रास्वपाको पक्षमा होइन । एमाले, कांग्रेस, माओवादीलगायतका दलहरूले गरेका राजनीतिक एवं आर्थिक भ्रष्टाचारको विरोधको लहर हो । प्रशासनिक अर्थात् शक्ति एवं सत्ताको दुरुपयोगको विरोध हो ।
सार्वजनिक तथा व्यक्तिगत घरहरू जले; यो राम्रो कार्य थिएन । तर मुलुकभर नै जुन विध्वंस भयो, के हामीले त्यसको कारण खोज्यौं ? असम्बन्धित निर्दोषहरूको घर परे त्यो कार्य गलत भएकै हो, तर अधिकांश घर भ्रष्टहरूकै जलेका छन्– यो किन भयो, कारण खोज्यौं ?
यो खबरदारीको सन्देशलाई सकारात्मक ढंगबाट लिनुपर्छ । प्रतिशोधात्मक ढंगबाट लिनुहुन्न । गर्न चाहेमा निष्पक्ष, पारदर्शी, भयरहित एवं शान्तिपूर्ण ढंगबाट प्रशासनले राम्रो काम गर्छ, गर्न सक्छ भन्ने सन्देश प्रवाहित भएको छ । यो मुलुकका लागि राम्रो संकेत हो । भाद्र २३ र २४ को घटनापश्चात् प्रशासनिक छविमा निरन्तर सकारात्मक ढंगको विकास भएको छ । अगाडि प्रशासनिक जवाफदेहिताको चेतमा सुधारको लक्षण देखा परेको छ । यो स्वागतयोग्य पक्ष हो ।
राजनीतिक पण्डित, विश्लेषक, ज्योतिषी आदि आदिहरूको व्यापार राम्ररी चल्न पाएन । किनभने सबैको अनुमान गलत भयो । तसर्थ जनताको मनको मत पढ्ने कार्य अत्यन्त संवेदनशील, कठिन एवं गम्भीर कार्य हो । यसलाई डलर अथवा सत्ताको आधारमा व्याख्या गर्नुहुन्न । यो पटकको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूको चाहना पनि अभिव्यक्त भएको छ । प्रायः प्रत्येक घरमा नेका, एमाले, माओवादीलाई भोट दिनुको साटो परिवर्तनलाई भोट दिनुपर्छ भन्ने अनुरोधात्मक दबाब आयो । केपी एमाले नेतृत्वको सरकारमा भएको नरसंहार एवं भ्रष्टाचारप्रति घृणात्मक प्रतिक्रिया आयो । यो महŒवपूर्ण सन्देश हो ।
यो निर्वाचनले दलहरूलाई ठूलो शिक्षा दिएको छ । जन्म जसको हुन्छ, मृत्यु त्यसको अवश्यम्भावी छ । दलहरूको हकमा पनि यो कुरा लागू हुन्छ तर समयअनुसार त्यसको स्वरूप परिवर्तन हुन सक्छ । रास्वपा, नेका, वामपन्थी दलहरू लगायत सम्पूर्ण दलहरूले के बुझ्नैपर्छ भने तिनीहरू सधैं एउटै रूपमा स्थायी भएर बस्न सक्दैनन् । परिवर्तनको नियम तिनीहरूमा पनि लागू हुन्छ । समयअनुसार आफ्नो स्वरूप परिवर्तन किन, कसरी, कोबाट, कसका लागि आदि प्रश्नमा सचेत रहनु पर्दछ ।
नेपाल लामो समयसम्म दलविहीनताको अवस्थामा रह्यो । २००७ सालको दलीय अनुभव पनि केही कालपछि रोकियो । २०४६÷४७ साल पश्चात प्रारम्भ भएको दलीय अनुभव अनेकौं बाधा व्यवधान पश्चात २०६२÷६३ पश्चात् थालनी भएको छ । संक्षेपमा दलीय अनुभवमा परिपक्वताको अभाव छ । तर दलहरूबीचको निकटतामा अत्यन्त तिक्तता एवं कटुता छ– यो नकारात्मक पक्ष हो ।
रास्वपाले पाएको मत कति स्थायी रहन्छ, त्यो थुप्रै कुरामा भर पर्छ । तर यो निर्वाचनले नेपालका सबै दललाई प्रष्ट सन्देश के दिएको छ भने, ‘बेला आयो, तिमीहरू मूल्यांकन गरेर आफूमा सुधार गर,’ होइन भने विनाश अवश्यम्भावी छ । २०७९ को निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यता पाएका दलहरू २०८२ को निर्वाचनमा नराम्ररी पराजित भएका छन् । राष्ट्रिय दलको मान्यता नै हरायो ।
मधेशवादी दलहरूमा मधेशको मात्र मुक्तिदाताको भ्रम थियो । नेताहरूमा दम्भ र अहंकार थियो । तर त्यो पनि यो निर्वाचनले भत्काएको छ । मधेशको सन्दर्भमा महान् नेता ठानिएका विभिन्न दलका उम्मेदवारहरूको लज्जाजनक पराजय नै तिनीहरूको वास्तविकताको वास्तविक परिचय बन्न पुगेको छ । समानुपातिकतर्फको संख्या जोडेर राजनीतिक दलहरूले आफ्नो अनुहार ऐनामा हेर्दा उनीहरूको स्वरूप उनीहरूलाई नै हाँसो लाग्ने भएको छ । यो कुरा उनीहरूले नै बुझ्ने कुरा हो । तर जनताले उनीहरूलाई सचेत बनाएको छ ।
राजा, धर्म, क्षेत्र, जाति आदि आदिका नाममा विगतमा पाएको मतको घमण्डमा आफूलाई लोकप्रिय ठान्ने दल वा नेतालाई जनताले ऐना देखाएको छ । तसर्थ राजादेखि गरिबको दुहाइ दिने दलहरूले अब पनि पाठ सिक्न सकेनन् भने उनीहरू डाइनासोरझैं लोप हुने कुरा निश्चित छ । पश्चिम बंगालको सीपीआई यसको राम्रो उदाहरण हुन सक्छ । ‘मानव स्वभाव अत्यन्त स्वार्थी, लोभी एवं कहिल्यै पनि परिवर्तन हुन नसक्ने खालको हुन्छ’ भन्ने अभिव्यक्ति म्याक्यावेलीले दिएका छन् । नेपालमा पनि म्याक्यावेलीको उक्त उखानको सार्थकता बहसको विषय बन्न सक्छ । तर हालसम्म पनि नेपाली कांग्रेस एवं नेपाली कम्युनिष्ट पार्टीलगायत पराजय भोगेका दलहरूको अध्यक्षबाट राजीनामा नआउनु यसको उदाहरण हुन सक्छ ।
अपवादमा केपी नेतृत्वको एमाले छ । केपी एमाले नकारात्मकताको प्रतीक हो । केपी प्रवृत्तिमा रचनात्मकता र सकारात्मकता छैन । लास र दासको दलमा परिणत भएको केपी एमालेबाट सुधारको कुनै आश देखिँदैन । संक्षेपमा केपी एमाले, राप्रपा, जनता समाजवादी नेपाल, प्रलोपा, नागरिक उन्मुक्ति पार्टी, जनमत आदि आदिका सम्पूर्ण दलहरूलाई पसल एवं ढोकसा खोलेर थापेर कति सार्थक हुन्छ भन्ने कुरा यो निर्वाचनले विचार गर भन्ने सन्देश दिएको छ ।
संसारकै धनी व्यक्तिको सूचीमा परेको होस् वा शारीरिक शक्ति प्रदर्शन गर्दै समाप्त पार्ने गुण्डागर्दीको अभिव्यक्ति दिने डनहरू होस्, यो निर्वाचनले उनीहरूलाई पनि सन्देश दिएको छ । राजनीतिमा संलग्न कोही पनि कुनै पनि कारणले कसैलाई नकारात्मक प्रभाव पार्न खोज्नु अत्यन्त हानिकारक हुन्छ भन्ने सन्देश प्रवाहित गरेको छ । यो निर्वाचनको महŒवपूर्ण सन्देश युवा चाहनालाई बुझ्न भन्ने पनि हो । जेनजी आन्दोलनलाई केपी एमालेलगायत जसले नकारात्मक टिप्पणी गरेका थिए, उनीहरू यो निर्वाचनमा नराम्ररी पराजित भए ।
तसर्थ परिवर्तनका संवाहक युवालाई कहिल्यै पनि न्यून मूल्यांकन गर्नुहुन्न । आफ्नै दलका मान्छेलाई कार्यकर्ता ठान्ने प्रवृत्ति लास एवं दास ठान्ने प्रवृत्तिको कारण हो । कार्यकर्ताको ठाउँमा सहयात्री ठान्ने चलन दलमा हुनैपर्छ । केपी एमालेमा यो प्रवृत्तिको व्यापकता छ । यो निर्वाचनले सहयात्री ठान्ने सोचको विकासमा सहयोग पु¥याएको छ । अमेरिका, चीन, भारत, युरोपको चलखेलबारे विद्यावारिधि नै गरेका विद्वानहरूको यो निर्वाचनमा अनेक प्रकारका विचारहरू आए । नेपालको भौगोलिक स्थिति महŒवपूर्ण छ । तसर्थ अमेरिका, चीन, भारतको नेपालमा रुचि हुनु कुनै अचम्मको कुरा होइन, त्यो स्वाभाविक हो । तर किन, कति, कसरी आदि प्रश्नहरू महŒवपूर्ण हुन् ।
भुइँमान्छेको अध्ययन भुइँमा नै गएर गर्ने, अनुसन्धान गर्नेले वास्तविकता बाहिर ल्याउन सक्छन् । अनुसन्धानको उद्देश्यमा छलफल गर्न सकिन्छ, गर्नुपर्छ पनि । तर पात हल्लिँदा पनि विदेशी स्वार्थ हेर्ने व्याख्या गर्ने विद्वानहरूको अभाव नेपालमा छैन । यो निर्वाचनमा विदेशी चलखेल मात्र होइन, व्याख्याको पनि अभाव थिएन । मेचीदेखि महाकालीसम्मको नेपाली जनताको परिवर्तनको चाहनाको पदचाप कसैले पनि बुझ्न सकेन । तसर्थ भुइँमा नजाने तर भुइँमान्छेबारे ठूला–ठूला कुरा गर्नेहरूलाई यो निर्वाचनले गहिरो शिक्षा दिएको छ ।
उपसंहार
यस्ता सन्देशहरूको सूची लामो छ तर अब रास्वपाबाट जनताको अपेक्षा बढेको छ । चुनौती एवं सम्भावनाहरू छन् । समस्याहरू छन् भन्नुको साटो गर्नुपर्ने कामहरू थुप्रै छन् भन्नु उचित हुनेछ । त्यसैले रास्वपाको जिम्मेवारी पनि थुप्रै छ । तर यो निर्वाचनमा नेपाली जनताले निरंकुश प्रवृत्तिको सर्वनाश गरी लोकतन्त्रको पक्षमा आफ्नो मताधिकार प्रयोग गरेकोमा बधाईका पात्र छन् । भविष्य उज्यालो छ, अहिलेको आशा यही हो ।
लेखक राजनीतिशास्त्री समाजका अध्यक्ष हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्