नेभिगेशन
साहित्य

मेरो गोप्य किताबी बगैंचा

हामी सबैका मनमा एउटा गोप्य बगैंचा हुन्छ । त्यो बगैंचा संसारको कोलाहलबाट लुकेको, निजी, शान्त ठाउँ हो । जहाँ हामी थाकेका बेला लुक्छौं, जहाँ हाम्रो आत्माले सास फेर्छ, जहाँ हामी फेरि बच्चा बन्छौं र फेरि जीवित महसुस गर्छौं । मेरा लागि त्यो बगैंचा किताबहरू हुन् । विशेष गरी उपन्यासहरू । सम्झना भएदेखि नै यिनै पानाहरूले मलाई अँगालो हालेका छन्, मलाई थुम्थुम्याएका छन्, मलाई रुवाएका छन् र हँसाएका पनि छन् ।

सानो छँदा किताबहरूले मलाई चित्रहरूबाटै बोलाए । बाबारका रंगीन जंगलहरू, डा सूसका चटकदार संसारहरूका रङले मेरो मनमा पहिलो पटक उज्यालो छरे । ओर वुलीका रेखाहरू, एस्टरिक्स र टिन्टिनका साहसिक यात्राहरूले मलाई सिकाए कि रेखा मात्र होइन, भावना पनि कोर्न सकिन्छ ।

समय बित्दै गयो, शब्दहरूले मलाई समात्न थाले । बोर्डिङ स्कूलको कठोर जीवनमा पनि पुस्तकालय मेरो आश्रय थियो । काँच लगाइएका अल्मारीहरूमा लुकेका भिक्टोरियन विश्वकोशहरू, पुराना व्यंग्यकारका हाँसोहरू, बिर्सिएका उपन्यासकारहरू— ती सबैले मलाई भने, ‘तँ एक्लो छैनस् ।’ कतै पनि र कोहीसँग पनि फिट नहुने केटाका लागि त्यही पुस्तकालय स्वर्ग थियो । आठ–नौ वर्षकै उमेरमा मैले रोजमेरी सटक्लिफ, जेफ्री ट्रिज, हेनरी ट्रिस र सी.एस. लुइसलाई कर्लप्पै निलें । तिनका पानाहरूमा डुल्दै जाँदा आफूलाई बाँच्नुको अर्थ दिइरहेको थिएँ ।

वाल्टर स्कट, डिकेन्स, न्गायो मार्शजस्ता लेखकले मलाई हुर्काए, बढाए र तिनलाई बुझ्ने बनाए । त्यतिबेला उमेरको कुनै सीमा थिएन । कसैले पनि ती किताबहरू खोज्दै यी किताब तिमीले पढ्ने बेला भएको छैन भनेन । स्कूल बिदामा म घरभित्रको पुस्तकालयमा छिर्ने ढुकुर र त्यसको तीव्र गन्ध अझै मेरो नाकमा आउँछ । प्लास्टिकले मोरिएका थ्रिलरहरूको त्यो मीठो, धुलो र कागजको सुगन्ध, ताजा रोटीभन्दा पनि बढी लोभलाग्दो लाग्छ मलाई ।

घर किताबले भरिएको थियो । टेबलमा थुपारिएका, अलमारीहरूमा तेर्सो पारेर राखिएका थिए, त्यहाँ  टल्सस्टोयदेखि सस्ता थ्रिलरसम्मका किताब थिए । आमा–बुबाले हप्ताको पैसामा कञ्जुस्याइँ गरे पनि गर्मी बिदामा नयाँ किताबहरूको थुप्रो लगाइदिन्थे । त्यो थुप्रो मेरा लागि सपनाको ढोका थियो ।

त्यो बेलाको टेलिभिजन निराशाजनक थियो– ब्ल्याक एन्ड ह्वाइट, सीमित, स्पष्ट । रेडियोमा राजनीतिक बकबक चलिरहन्थे र विचित्र आवाजहरू छरपष्ट हुन्थे । तर किताबहरू ? आहा, ती अनन्त थिए ! पश्चिम हाइल्याण्ड्सको चट्टानबीच हुर्रिएको चिसो हावाबाट हल्का लुक्दै म किताब बोकेर घण्टौं समय बिताउँथे । कहिलेकाहीँ बाहिर झमझमी पानी परिरहेका बेला कम्बलमुनि लुगलुगे जाडोबाट जोगिँदै जेन अस्टेनसँग म रोमान्समा डुब्थें । पेट्रोल पम्पको काउन्टर पछाडि लुकेर थ्रिलरहरू पढ्दै, पृष्ठमा पेट्रोलको चिल्लो दाग छोड्दै पढेका ती किताबका दागले पनि मेरा भावनाका तरेलीहरू अंकित गरे होलान् र ती पलहरू मेरो जीवनका सबैभन्दा प्यारा थिए ।

पछि म विश्वविद्यालयमा अंग्रेजी साहित्य पढ्न पुगें । केम्ब्रिजको कडा अनुशासनले मलाई एकाग्रता सिकायो । तर म पछि टेलिभिजन पत्रकार बनें । पत्रकारिताको व्यस्त जीवन, डेडलाइन, परिवार, बच्चाहरूका कारण जीवनका महŒवपूर्ण समय नै हाइज्याकमा प¥यो । त्यो हाइज्याक भएको समय जोगाउन रातको मधुरो बत्तीमा कम्तीमा २० मिनेट पढ्नैपर्ने बानी लगाएँ । त्यो बेला मैले प्रुस्ट पढ्ने प्रयास गरें । कहिलेकाहीँ शौचालय बस्दा होस् या हल्लिने रेलमा मैले उभिएरै पढ्ने मोह त्याग्न सकिनँ । समय घट्दै गयो, तर किताबहरूले मलाई छोडेनन् ।

हरेक वर्ष नयाँ इयान म्याकइवानका गज्जबको उपन्यास बोकेर छुट्टीमा जान्थें । ८०, ९० र २००० का दशकहरू नयाँ संसारले भरिएका थिए । डेभिड लज, पेनेलोप फिट्जेराल्ड, जोन बानभिल, फिलिप पुलम्यान, डोना टार्ट, नील गेमन, इयान ब्यांक्सलगायत अन्य नामहरू सुन्दा मात्र पनि अझै मन रमाउँछ । नयाँ किताबहरू नयाँ साथीहरूजस्ता थिए मेरा लागि र तिनले मलाई फेरि–फेरि बोलाउँथे ।

अहिले मध्य उमेरको ढल्कोमा आएर बुझें— मैले महान् लेखकहरूलाई साँच्चै पढेको थिइनँ । शेक्सपियर, कीट्स, ब्रन्टेहरू युवा मनका लागि बनेका थिए । तर टल्सस्टोय, दोस्तोएभ्स्की, जेन अस्टेन, हेनरी जेम्सहरूलाई बुझ्न जीवनको पीडा, निराशा, प्रेम, अपराधबोध, बच्चाको जन्म र मृत्युको अनुभव चाहिन्छ । पछि उमेर ढल्कँदै गएपछि मैले फेरि ती लेखकलाई पढ्न थालें । डिकेन्सका सबै, अस्टेन, जर्ज इलियट, टल्सस्टोय, दोस्तोएभ्स्की, लरेन्स, जेम्स, जोइस, हार्डीका सम्भव भएसम्म सबै किताब फेरि पनि पढें । पुराना स्कटिस लेखकहरू नील गन, लुइस ग्रासिक गिबन, रोबिन जेनकिन्सलाई फेरि भेटें । केही महान् लेखकहरू अब साँघुरा लाग्छन्— फोस्र्टर, वुल्फ, ग्राहम ग्रीन । हार्डीका आधा उपन्यास हाँसउठ्दो खराब लाग्छन् । तर डिकेन्स ? उनी झन् ठूला बन्दै गए । ग्रेट एक्सपेक्टेसन्स, डेभिड कपरफिल्ड, ब्लिक हाउस, आवर म्युचुअल फ्रेन्डजस्ता पुस्तक पढ्दा–पढ्दै मेरो मन रुन्छ, हाँस्छ, डराउँछ र बुझ्छ । म बाँकी जीवन यिनैसँग बिताउन सक्छु ।

हेनरी जेम्स पढ्नु पहिले निकै असह्य लाग्थ्यो । तर जब पुनः पढ्न थालें, उनको हास्य, निर्दयी आँखा, बहुआयामी पात्रहरूले मलाई हल्लाए । एम्बेसडर्स र गोल्डेन बोलको अन्त्यमा आँसु झरे । द प्रिन्सेस पुस्तक कासामासिमा राजनीतिक आदर्शवादको गहिरो पीडा थियो । ह्वाट मेजी न्यू को निन्दनीयता अझै पनि छातीमा गढेर बसेको छ । प्रुस्ट र जोइसलाई देखावटीरूपमा पढ्न सुरु गरेको थिएँ । तर बारम्बार पढ्दा थाहा भयो, यिनमा साँचो गहिराइ छ । पी.जी. वुडहाउस, किंग्स्ले अमिसजस्ता लोकप्रिय लेखकहरू पनि उत्कृष्ट छन् । रमाइलो मान्नु पनि ठीक छ । कहिलेकाहीँ सोच्छु, किताबमा समय बिताउनुभन्दा वास्तविक जीवन बिताउनु राम्रो थिएन र ? मानिसहरूसँग हाँस्नु, खेल्नु, यात्रा गर्नु उचित थिएन र ! हो, मसँग परिवार छ, हाँसो छ, गफ छ । तर किताबहरूबिना जीवन साँघुरो हुन्थ्यो । सामाजिक सञ्जालका साना टुक्राहरू नुनिला खाजाजस्ता हुन्, ती चाँडै हराउँछन् । तर महान् उपन्यासहरू ? ती र तिनका पात्र त पाठकभित्र सधैं दगुरिरहन्छन्, चम्किरहन्छन्, गुञ्जिरहन्छन् । जीवनभर मेरो गोप्य बगैंचा बनेर मनको कुनामा रहिरहन्छन् । यी पानाहरूमा म हराउँदा मलाई लाग्छ, यो मेरो आत्माको घर हो । यहाँ म सधैं सुरक्षित छु । सधैं प्रेमित छु । सधैं जीवित छु ।

के तपाईंको पनि यस्तै कुनै गोप्य बगैंचा छ ?

(द सन्डे टाइम्सबाट साभार । एन्ड्र्यू मार स्कटल्याण्डका टेलिभिजन पत्रकार तथा लेखक हुन् ।)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्