नेभिगेशन
प्रदेश

डढेलोले सखाप वनमा ड्रोनमार्फत बीउ छर्ने तयारी

रसुवा । प्रविधिको नवीन प्रयोग हुँदै आएको सन्दर्भमा रसुवामा भने बीउ छर्नको लागि ‘ड्रोन’ को प्रयोग गरिने भएको छ । 
झन्डै दुई दशकअघि भीषण डढेलोका कारण विनास भएको रसुवाको गत्लाङस्थित वन क्षेत्रलाई हराभरा बनाउन ड्रोनले विरुवाको बीउ छर्ने योजना बनाइएको हो । सो क्षेत्र भौगोलिक रूपमा खनजोत गर्न कठिन र भिरालो भएका काराण् डिभिजन वन कार्यालयले ‘ड्रोन’ मार्फत वनस्पतिका बीउ छर्ने तयारी गरेको हो ।
२०६५ सालमा आगलागी हुँदा यहाँका सल्ला, लालीगुराँस, धुपी र खस्रुलगायतका हजारौं वनस्पति नष्ट भएको थियो । डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बीउ संकलन गर्ने कार्य अहिले भइरहेको छ ।
आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरु गरिने योजना रहेको उनले जनाए । यसका लागि इसिमोड, वन विज्ञान अध्ययन संस्थान र डिभिजन वन कार्यालयबीच त्रिपक्षीय साझेदारी समेत भइसकेको छ । डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टरमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बीउ छरिने कार्यक्रम रहेको छ ।
गत्लाङको जंगलमा डढेलोले करिब १६ हजार बहुमूल्य प्रजातिका रुखहरू नष्ट गरेको अनुमान गरिएको थियो । वन पुनःस्थापनाकै क्रममा हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिसकिएका छन्, जसमा २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको हो । लामो समयसम्म डढेका रुखको उचित व्यवस्थापन हुन नसक्दा जंगलले पुनर्जीवन पाउन ढिलाइ भएको हो ।
हाल आमाछोदिङ्मो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका विभिन्न वडाहरू समेटिएको यस वन क्षेत्रमा ६८ वटा सामुदायिक वन छन् । भिरालो भूगोल र चैत–वैशाखको हुरीबतासका कारण डढेलो नियन्त्रण चुनौतीपूर्ण हुने भएकाले वन कार्यालयले चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।
उच्च पहाडी भूगोलको रसुवाको गत्लाङ चौरी पालनको लागि चिनिएको ठाउँ हो । यहाँका अधिकांश तामाङ समुदाय चौरी पालन र चिज उत्पादनमा संलग्न छन् । पछिल्लो अध्ययन अनुसरा गत्लाङमा हुने याक पालनको परम्परागत प्रणाली परिवर्तन भइरहेको । पहिले तामाङ समुदायमा चोको प्रणाली अनुसार सबैले मिलेर चरन क्षेत्र प्रयोग गर्ने र दिगो तरिकाले चौरी पालन गर्ने चलन थियो तर अहिले बजारको प्रभाव, जलवायु परिवर्तन र सामाजिक परिवर्तनका कारण यो प्रणाली बदलिँदै गएको छ ।
चौरीको चरन क्षेत्र सुधारका लागि पनि डढेलोल सखाप भएको वनलाई पुनः हराभरा बनाउनु पर्ने आवश्यकता रहेको छ । चीज उत्पादन बढेपछि पछिल्ला दिनमा चौरीपालन व्यापारमुखी बन्दै गएको छ । यसले केही परिवारको आम्दानी बढाएको भए पनि चरन क्षेत्र बिग्रिने, वन नष्ट हुने र युवाहरूको रुचि घट्ने जस्ता समस्या देखिएका छन् । त्यसैले परम्परागत प्रणाली जोगाउँदै दिगो विकास गर्न नयाँ नीति आवश्यक रहेको सन्दर्भमा वन हराभरा भएपछि केही नयाँ आशा सञ्चार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्