नेभिगेशन
प्रदेश

पुनरुत्थानशील कृषिका विविधतामा जोड

काठमाडौं । हिमाली भेगका गुरुङ, थकाली र लोपा जस्ता समुदायको प्रकृति र खेतीपातीसँग गहिरो आध्यात्मिक सम्बन्ध रहेको छ । तर, पछिल्लो समयमा जलवायु परिवर्तनका कारण यो क्षेत्र निकै जोखिममा परेको छ । बढ्दो तापक्रमले बाली लगाउने र भित्र्याउने समयमा परिवर्तन आएको छ, जसले स्थानीयको जीविकोपार्जन र खाद्य सुरक्षामा चुनौती थपिएको छ ।
यी विषयमा केन्द्रित रहेर लुम्विनीमा आयोजित ‘गहन पुनरुत्थानशील क्षेत्रीय कृषि सम्मेलन’ ले हिमाली क्षेत्रको प्रकृति जोगाउन र मानिसको स्वास्थ्य सुधार्न कृषिलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सम्मेलन समापन गर्दै सहभागी देशका प्रतिनिधिहरूले घोषणापत्र जारी गर्दै स्थानीय बीउ जोगाउने, वातावरणमैत्री खेती प्रणालीलाई बढावा दिने र जैविक उत्पादनका लागि बजार व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित सम्मेलनमा नेपाल, भारत, भुटान र म्यानमारका सयभन्दा बढी किसान, अनुसन्धानकर्ता र नीति निर्माताहरूको सहभागिता थियो । लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक, विश्व वन्यजन्तु कोष र विश्व संरक्षण मञ्चले रकफेलर फाउन्डेसनको सहयोगमा आयोजना गरेको सम्मेलनमा आधुनिक खेती प्रणालीका समस्याहरुको चिरफार गरियो ।
आधुनिक खेती प्रणालीले उत्पादन बढाए पनि माटोको उर्वराशक्ति घटाउने, जैविक विविधता नष्ट गर्ने र पुराना परम्परागत ज्ञानलाई मेटाउने काम पनि गरेको छ । यसै समस्यालाई समाधान गर्न सम्मेलनमा ‘गहन पुनरुत्थानशील कृषि’को अवधारणा अघि सारिएको हो । यसको मुख्य उद्देश्य माटो, पानी, हावा र प्रकृतिलाई पुनर्जीवित गर्दै दिगो रूपमा खेती गर्नु हो । सम्मेलनले ‘क्राफ्टस्वाल’ नामक विशेष ढाँचा आत्मसात गरेको छ । जसले कृषि भनेको केवल खाना उत्पादन मात्र नभएर हाम्रो संस्कृति, धर्म, परम्परा, अध्यात्म, पानी, हावा, जमिन र सामाजिक व्यवस्थासँग जोडिएको विषय भएको कुरालाई जोड दिन्छ ।
नेपालको उच्च हिमाली क्षेत्र, विशेषगरी मुस्ताङ र मनाङ जिल्लामा ‘गहन पुनरुत्थानशील कृषि’ प्रयास सम्बन्धी एक विशेष परियोजना सञ्चालित छ । परियोजना सन् २०२६ को जुलाईसम्म चल्नेछ र यसलाई द रकेफेलर फाउन्डेसनको सहयोगमा विश्व वन्यजन्तु कोष, विश्व संरक्षण मञ्च नेपाल, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीनबैंकले मिलेर अगाडि बढाएका छन् । यसको मुख्य उद्देश्य हिमाली क्षेत्रमा परम्परादेखि चल्दै आएको खेतीपाती गर्ने पुरानो ज्ञान र प्रविधिलाई आधुनिक समयमा पुनर्जीवित गर्नु हो । यस अभियान अन्तर्गत विशेषगरी नौ प्रकारका बालीहरू करु, फापर, जौ, कागुनो, चिनो तथा पशु प्रजाति चौंरी, लुलु गाई, च्यांग्रा र तीन प्रकारका जडीबुटीहरूको गहिरो अध्ययन र संरक्षण गरिँदैछ । यी स्थानीय प्रजातिहरू जलवायु परिवर्तनसँग लड्न सक्ने क्षमताका हुन्छन् र यिनको पौष्टिक तत्व पनि उच्च हुन्छ । परियोजनाले किसानहरूलाई नै नागरिक वैज्ञानिकको रूपमा परिचालन गरी उनीहरूकै खेतबारीमा नमुना खेती प्रदर्शन गर्ने र स्थानीय स्तरमा बीउ बैंक स्थापना गर्ने योजना बनाएको छ । यसै समस्यालाई मध्यनजर गर्दै परियोजनाले माटोको स्वास्थ्य सुधार्ने, जैविक विविधता जोगाउने र स्थानीय बीउबिजनको संरक्षण गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा सो परियोजनाका सिकाइहरु पनि आदानप्रदान गरिएको थियो ।
सम्मेलनमा विशेषगरी हिमाली क्षेत्रका स्थानीय बीउबिजन जोगाउन ‘हिमालयन सिड भल्ट’ स्थापनाका  सम्भाव्यता बारे पनि छलफल भएको थियो । विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले सम्मलेनको प्रयास परम्परागत र पुख्र्यौली ज्ञानमा फर्कने अभियन सरह भएको बताए । त्यस्तै जिन बैंकका प्रमुख तथा वैज्ञानिक डा. वालकृष्ण जोशीले पुराना सीपलाई आधुनिक प्रविधिसँग समन्वय गरेर काम गर्दा भविष्यमा कृषि प्रणाली अझ बलियो र उत्पादक बन्न सक्छ भन्ने तर्क पेश गरे ।
सम्मेलनमा गहन पुनरुत्थानशील कृषि, कृषि जैविक विविधता संरक्षण, जलवायु अनुकूल अभ्यास र पर्या–आध्यात्मिक कृषिजस्ता सातवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो । आधुनिक कृषिले बढाएको माटोको क्षय र जैविक विविधताको ह्रासजस्ता चुनौतीलाई सम्बोधन गर्दै माटो, पानी, हावा र जैविक विविधताको पुनस्र्थापना गर्ने उपायहरूबारे सम्मेलनमा चर्चा गरिएको थियो । यो प्रयासले हिमाली क्षेत्रको प्रकृति जोगाउनुका साथै आगामी पुस्ताका लागि स्वस्थ र सुरक्षित भविष्य सुनिश्चित गर्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
धनकुटामा भेटियो राजगोमन

धनकुटामा भेटियो राजगोमन

कक्षाकोठाबाट खेतसम्मको यात्रा

कक्षाकोठाबाट खेतसम्मको यात्रा