हेटौंडा । एक शान्त साँझ, फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोटहरु नियालिरहेका छन् । कहिले बिरुवाहरु निरीक्षण गरिरहेका छन् भने कहिले सहयोगी कामदारहरूलाई केही निर्देशन दिइरहेका छन् । हेटौंडाको पदमपोखरी –१३ को कृषि फार्ममा उनको यो चालमा एउटा दृढ आत्मविश्वास देखिन्छ– अनुभवले मात्र होइन, आफ्नै संकल्पले सँगालिएको आत्मविश्वास ।
धेरै वर्ष कक्षाकोठामा विद्यार्थीसँग रमाइरहेका उनी अब खेतमा छुट्टै अनुभव बटुलिरहेका छन् । ‘सात वर्ष भयो,’ लामा भन्छन्, ‘यसअघि म सर्भिस सेक्टरमा थिएँ, एक गणित शिक्षकको रुपमा । अहिले म किसान हुँ ।’ शिक्षकबाट कृषिउद्यमी बन्ने उनको यात्रा अचानक सुरु भएको भने होइन । यो अनुभव र अवलोकनले डो¥याएको बाटो हो । त्यसको केन्द्रमा थियो पदमपोखरी चोकमा रहेको उनका बुवाको एग्रो– भेट पसल, जहाँ किसानहरू सधैं समस्या र समाधान खोज्दै आउने गर्थे ।
‘म त्यहाँ बस्दा किसानका कुरा सुन्थें,’ उनी सम्झन्छन्, ‘त्यसपछि लाग्न थाल्यो, हामीले उत्पादनतर्फ जानुपर्छ । नेपाल आयातमा निर्भर छ । आयातित वस्तुहरुको मात्रै उपभोग गरेर, उत्पादनमा नलाग्ने हो भने कसरी परिवर्तन आउँछ ?’
त्यो प्रश्नले उनलाई छोडेन । लामो समय सेवा क्षेत्रमा बिताएपछि उनलाई उत्पादनमा केही गर्ने चाहना बढ्दै गयो । उनले कृषि क्षेत्रमा अवसरहरू देखे । ड्रागन फ्रुटको उच्च मूल्य, बोयर बाख्राको उन्नत जात र सयपत्री फूलको बढ्दो माग ।
‘माग छ भने किन व्यावसायिक कृषिमा काम नगर्ने ?,’ उनी भन्छन् । त्यही सोचले एमएनएस एग्रो प्रालि फर्म दर्ता गरे, अनि पढाउन छाडे, हान्निए खेतबारीमा । करिब डेढ बिगाहामा रहेको फार्ममा अहिले ड्रागन फ्रुट, मेवा, खरबुजा, सयपत्री फूलको खेती छ । बाख्रापालन पनि गरिएको छ । एउटा सानो प्रयासबाट सुरु भएको काम अहिले व्यवस्थित कृषि उद्यम बनेको छ । करिब ४ करोडको लगानीमा रहेको यस फार्मको मुख्य आम्दानीको स्रोत भने ड्रयागन फ्रुट हो । तर लामाको खेती केवल बाली उत्पादनमा मात्रै सीमित छैन, यो प्रयोग र प्रणाली निर्माणको प्रयास पनि हो ।
ड्रागन फ्रुट खेतीमा उनले नवीन तरिका अपनाएका छन् । अफ–सिजनमा पनि उत्पादन बढाउन कृत्रिम बत्ती प्रयोग गरिएको छ । बत्ती सेन्सरमार्फत आफैं बल्ने–निभ्ने व्यवस्था गरिएको छ । साथै, उनले परम्परागत पोल प्रणालीबाट ट्रेलिस प्रणालीतर्फ विस्तारै ड्रागन फ्रुट खेतीलाई रुपान्तरण गरिरहेका छन्, जसले उत्पादन र व्यवस्थापन दुवैमा सुधार ल्याउँछ । ‘सानो परिवर्तनले पनि ठूलो फरक पार्छ,’ उनी भन्छन् ।
यद्यपि कृषकर्मको यो यात्रा सहज भने थिएन । ड्रागन फ्रुटजस्तो बालीमा व्यावसायिक उत्पादन आउन समय लाग्छ, कम्तीमा पाँच वर्ष । प्राकृतिक जोखिम पनि छन् । फल पाक्ने बेला चराले करिब १० प्रतिशतसम्म क्षति पु¥याउँछ । केही गम्भीर ढुसीजन्य रोग पनि लाग्ने गर्छ । बिरुवा पहेँलो देखिने र यसले बोटको वृद्धि रोकेर फलको उत्पादनमा ह्रास आउने गर्दछ ।
‘हामी व्यवस्थापन गर्दैछौं, बर्ड नेट र ब्यागिङको इन्स्टलेसनको काम हुँदैछ,’ उनी भन्छन् । यो फार्म परिवारमै आधारित छ । उनका बुबा प्राविधिक अनुभवसहित संलग्न छन्, उनकी श्रीमती जेटीए हुन् र लामा आफैंले पनि स्नातकोत्तरपछि १८ महिने पशु विज्ञान पढेर कृषि तालिमसमेत लिएका छन् । यसबाहेक चार जना स्थायी कामदारहरु छन् । सिजनमा थप कामदार पनि राखिन्छ ।
उनको फार्मको वार्षिक आम्दानी करिब ३० लाख रुपैयाँ छ, जसमा ऋण, श्रम, मल, आदि सबै खर्चहरू कटाएपछि ५ देखि १० लाख रुपैयाँसम्म नाफा हुन थालेको उनको हिसाब छ । ‘यो मेरो एक्लैको प्रयास होइन,’ उनी प्रष्ट पार्छन्, ‘अरूलाई पनि सिकाएर काम गर्न सक्ने बनाएका छौं ।’ उनको कामले पहिचान पनि पाएको छ, स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्मका सम्मानहरू प्राप्त गर्न सफल भएका छन् । हरेक प्रोत्साहन उनका लागि नयाँ सुरुवातको खुड्किलो बनेको छ ।
आगामी दिनमा उनी उत्पादनभन्दा अघि बढेर प्रशोधनतर्फ जान चाहन्छन् । ‘ड्रागन फ्रुटबाट जुस, क्यान्डी, वाइन बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘केही पनि खेर जानु हुँदैन ।’ तर उनी प्रणालीगत समस्याहरू पनि देख्छन् । मल, गुणस्तरीय बीउ, बीमा, र स्थिर बजार अझै चुनौतीका रूपमा छन् । किसानलाई सहयोग गर्ने नीति, न्यूनतम समर्थन मूल्य र डिजिटल बजार आवश्यक रहेको उनी बताउँछन् ।
लामा केवल व्यक्तिगत परिवर्तनको उदाहरण मात्र बन्न चाहदैनन् । उनी नेपाली माटोले बनेको कृषिप्रधान मुलुकको अर्थ सबै युवाहरुले प्रत्याभूत गर्नुपर्नेमा जोड दिन्छन् । ‘राज्यले यसमा बिशेष जोड दिनुपर्छ,’ उनी स्पष्ट छन्, ‘धेरै वर्ष सेवा गरेँ, अब कृषि कर्ममा आफ्नो ऊर्जाशील समय बिताउन चाहन्छु ।’