नेभिगेशन
उपत्यका

गाडीमुक्त असन

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रलाई ‘सवारीमुक्त असन’ बनाउन पहिलो चरणमा सो क्षेत्रमा वैशाखदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।
असन क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गर्ने महानगरको योजना छ । मौलिक, सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्ने महानगरको योजना रहेको जनाइएको छ ।
सो सम्बन्धमा निर्णय गर्दै गत साताको बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो ।’ 
महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले असन क्षेत्रको मौलिकतालाई जोगाउन सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्यले रहेको प्रष्ट्याए । ‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ मा पर्ने रानीपोखरीको उत्तर–पूर्वी कुना कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा रोक लगाइने छ । यस क्षेत्रबाट गन्तव्य जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रदान गरिने छ । 
असनजस्तो छैन असन
विगतमा सरसामान किन्न असन निर्विकल्प जस्तै थियो तर पचासको दशकमा शहरीकरण तीव्र हुँदै जाँदा विस्तारै असर निर्विकल्प बन्न छाड्यो । एक त नयाँ नयाँ ठाउँमा बजार विस्तार हुँदै गयो र गैरनेवार समुदाय पनि पसल–व्यापारमा लाग्दै जाँदा ग्राहक पनि बाँडिए । समय क्रममा उपत्यकाका वासिन्दालाई असनले आकर्षण गर्न सकेन भने बाहिरबाट आएका वासिन्दाको छनोटमा असन नपार्दा असन ओरालो लाग्दै गयो । ‘शहरीकरण तीव्र हुँदा वस्तु तथा सेवा विकेन्द्रीकृत भए,’ अर्थशास्त्रका सहप्राध्यापक गेहेन्द्रप्रसाद दाहाल भन्छन्, ‘गठ्ठाघरमा सानो असन खुल्यो । सानो असन खुल्दा असली असन ओझेलमा पर्दै गएको हो ।’
युवा पुस्ता डिपार्टमेन्ट र अनलाइनमा आकर्षित हुँदै जाँदा असन मात्रै होइन असन जस्ता ठूला बजार देशभरी नै ओझेलमा पर्दै गएको हो । असन जानै पर्ने बाध्यता नभएपछि असनको महत्व घट्यो । ‘एक त धाएर जानुपर्ने भयो तर जेका लागि जाने हो त्यो जहाँतहीँ उपलब्ध हुने भएपछि असन नै जानुपर्ने बाध्यता पनि रहेन,’ स्थानीय हरिशरण तुलाधर बताउँछन् ।
पत्रकार सुरेश किरणको टिप्पणी थियो, जसले असन देखेको छैन, त्यसले काठमाडौं देखेको छैन । तर आजको पुस्ता असनसँग परिचित छैन । महानगरको ‘गाडी रहित असन’ अभियानले युवापुस्ताले नयाँ असनको स्वाद पाउनेछन् तर पुरानो असन भने अब स्मृतिमा मात्र रहेको छ ।
‘असन यस्तो मौलिक चोक हो, जहाँ सातवटा अलग–अलग ठाउँबाट प्रवेश गर्न मिल्ने सातवटै अलग–अलग बाटोहरू मिसिन आएका छन् । तीन हुन्- भोटाहिटी, कमलाछी, बांगेमुढा, महाबौद्ध, ज्याठा, ठहिटी र इन्द्रचोक,’ सुरेश किरणले लेखका छन्, ‘धेरै बाटाहरू सम्मिश्रित चोक हुनु असनको मौलिकता मात्र होइन, असन ‘असन’ बन्न सक्नुको प्रमुख आधार हो ।’ 
धेरै ठाउँबाट मानिस आउजाउ गर्न सकिने साझा चोक भएकाले असन त्यसै पनि घुइँचो भइरहने ठाउँ हो । त्यसमाथि बजार जोडिएपछि असन भीडकै पर्याय बन्न पुगको उनको धारणा युक्तिसंगत नै देखिन्छ । असनलाई नुनदेखि सुनसम्म किन्न पाइने बजार मानिन्थ्यो । पहिलाको होलसेल बजार असन थियो ।
‘असन’ नामको अर्थ के हो भन्ने विषयमा भने एउटै मत रहेको पाइँदैन । असन (असं) को अर्थ के हो र यो नाम किन रहन गयो भन्ने विषयमा कहीं उल्लेख पनि छैन । एकथरिको मत छ, बुद्धधर्म प्रचार गर्ने क्रममा सम्राट् अशोकका दूतहरू नेपाल आउँदा उनीहरूले यही ठाउँमा एउटा अशोकस्तम्भ निर्माण गरी त्यसलाई घुम्ने ‘अशोक मण्डप’ बनाएका थिए । त्यही अशोक मण्डप पछि अपभ्रंश भई ‘असंमदु’ वा ‘असं (असन)’ हुन भएको हो । सम्राट् अशोकका दूतहरू नेपाल आउँदा यहाँ किरातवंशको शासन चलिरहेको थियो । असनमा ‘अशोकचैत्य महाविहार’ नामक एउटा विहार अझै पनि विद्यमान छ । यो विहार सम्राट् अशोककै दूतहरूले बनाएको विश्वास गरिन्छ । यही अशोकचैत्य महाविहार पछि अपभ्रंश भई ‘असंबहाः’ हुँदै ‘असं (असन)’ हुन गएको भन्ने पनि जनविश्वास पनि छ ।
असन क्षेत्रको मुख्य आकर्षण अन्नपूर्ण देवीको मन्दिर हो र काठमाडौंका प्रायः सबै ठूला जात्रा तथा सांस्कृतिक जुलूसहरू यही बाटो भएर जान्छन्। असन मुख्यतया नेवार समुदायको बाहुल्यता भएको ठाउँ हो, जसले विगत ४०० वर्षदेखि शहरको व्यावसायिक र सांस्कृतिक जीवनमा ठूलो प्रभाव पारेको छ । परम्परागत र आधुनिक वास्तुकलाको समिश्रण रहेको यस क्षेत्रभित्र ९६ वटा देवीदेवताका थान र थुप्रै बौद्ध विहारहरू रहेका छन् । ‘अब नुनदेखि सुन किन्न डिपार्टमेन्ट स्टोर जाने भइयो । चोक चोकमा बजार बने अनि असन असन जस्तो रहेन,’ सहप्राध्यापक दाहाल भन्छन् । 
असनको भीड व्यवस्थित गर्न कहिले वान–वे ट्राफिक, कहिले फुटपाथ पसल हटाऊ अभियान चल्ने गरको थियो । अहिले आएर महानगरले शनिबारलाई गाडी मुक्त असन गर्दैछ । यसअघि हाँडीगाउँले पनि त्यस्तै अभ्यास गरेको थियो ।
काठमाडौं महानगरपालिका–५ मा पर्ने हाँडीगाउँ क्षेत्रको करिब ८ सय मिटर सडकमा २०८० असोज ५ देखि शनिबार दिउँसो ३ देखि ७ बजेसम्म सवारी साधन निषेध गरिएको थियो । गाडी नआउने हुँदा शनिबार त्यस क्षेत्रका बालबालिका सडकमा निर्धक्क खेलिरहेका हुन्छन् । ठूला मान्छे पनि टहल्न निस्किन्छन् । सडकछेउमा खाजा पसल चलेका छन् । काठमाडौं महानगरपालिका वडा नं ५ ले गरेको यो प्रयासका कारण हाँडीगाउँको सडकमा हरेक शनिबार साँझ मेलाझैं हुन्छ ।  सवारी साधन निषेध गरेर बालबालिकाका लागि खुला गर्दा राम्रो प्रतिक्रिया आइरहेको वडाध्यक्ष वीरेन्द्र प्रजापति बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्