पचास वर्ष पहिले राजधानी काठमाडौं आउँदा देखेका र भोगेका अनुभव मानसपटलमा अझै पनि ताजा छन् । त्यो बेला काठमाडौं खाल्डोमा कहिलेकाहीँ बिहानको नौ-दश बजेसम्म नै हुस्सुले ढम्म ढाकिन्थ्यो । कहिलेकाहीँ पर्ने तुसारोले बारी, चउर, बाटाघाटा सेताम्मे हुन्थ्यो ।
ढुंगे धारा र इनारमा बिहानैदेखि भिडभाड हुन्थ्यो । घर पातला थिए, खेतबारी प्रशस्त थिए । तर अहिले त काठमाडौंमा धुँवाधुलोको राज छ । ढुंगेधारा दुर्लभ भइसकेका छन् । कतिपय खोला नाला या त सुकेका छन् या प्रदूषित छन् । पानीका मुहान सुकेका छन् र भूमिगत पानीमा दबाब बढेको छ । पर्याप्त सफा र स्वच्छ पानीको अभाव छ ।
मानिसहरू प्राकृतिक पृष्ठभूमिमा उभिएर फोटो खिच्न मन पराउँछन् । त्यसको लागि हामीले शहर बजारको कोलाहलबाट अलि टाढा जानुपर्छ । हाम्रो व्यस्त जीवनशैली, हतार र तनाव आदिले हामीलाई अव्यावहारिक र असामाजिक बनाइरहेको छ । मानिसहरू बढी स्वार्थी र महत्त्वाकांक्षी बन्दै गइरहेका छन् । हामी नैतिकता, मानवता र धार्मिक आचरण र अभ्यासको सट्टा विकास, निर्माण र समृद्धिमा जोड दिइरहेका छौं ।
तर, केही धार्मिक परम्परा र स्थानहरूलाई विकास र परिवर्तनको बाधाको रूपमा चित्रण गरिएको छ । र विकास र परिवर्तनको नाममा धार्मिक मूल्यमान्यता र विश्वासलाई नष्ट गर्ने धेरै दुष्प्रयास पनि भएका छन् ।
अर्कोतर्फ, परम्परागत हानिकारक अभ्यासहरू परिवर्तनको लागि चुनौती बनेको छ । यदि मानिसहरूको सोच र व्यवहार परिवर्तन भएन भने समाज कसरी समृद्ध र सभ्य हुन सक्छ ? धर्म अभिजात वर्गको शोषणको माध्यम वा कसैको राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम होइन र हुनुहुँदैन ।
धर्म र धार्मिक गतिविधिहरूप्रति उदास, विशेष गरी युवा पुस्तामाझ, र धार्मिक विश्वास र अभ्यासहरूमा रुचिको कमीको अर्थ धार्मिक नेताहरू धर्मका सकारात्मक पक्षहरू प्रदर्शन गर्न वा व्यवहारमा उतार्न असमर्थ छन् । यसो भनिए पनि, धार्मिक र सांस्कृतिक गतिविधिहरूमा कुनै कमी आएको देखिँदैन । अझै पनि नैतिकता, मानवता र सत्यको लागि बहस र वकालत भइरहेको देखिन्छ ।
वातावरण र जलवायुमा हुने अप्रत्याशित परिवर्तनले सामाजिक, आर्थिक, पारिस्थितिक र विकासात्मक संरचनाहरूमा नकारात्मक प्रभाव पारेको छ । आजकल, भित्री चिन्तनभन्दा बाहिरी चिन्ता बढेको छ । धर्म र कर्मको कुरा गर्दा कर्मलाई धर्मसँग जोडिएको हुन्छ ।
मानिसले लाभ र हानिलाई विचार गरेर प्रकृतिमाथि शासन गर्छ । यदि तिनीहरू धर्मसम्मत छन् भने, राम्रा काम मानिन्छन्, यदि होइन भने, अस्वभाविक ठहर्याउने गरिन्छ । सबैको कल्याणकारी सोचका साथ गरिने कर्म नै स्वभाविक मानिन्छन् । प्रकृतिमाथि प्रवृत्ति हावी भएको छ । यो संसार सबै जीवित प्राणीहरूको निवास हो ।
यहाँका भौतिक तत्त्वहरू जीवनको अस्तित्वसँग जोडिएका छन् । जीवन र संसार जगतबीच सम्बन्ध छ । धर्म र अध्यात्मले हामीलाई ती प्राकृतिक तत्वहरूको सन्तुलन कसरी कायम राख्ने भनेर सिकाउँछन् । आफूलाई कसरी संयमी र अनुशासित राख्ने भनेर सिकाउँछन् ।
हाम्रो जीवनशैली, पोशाक, आहार, रीतिरिवाज, चाडपर्व र सांस्कृतिक गतिविधिहरू पनि यहाँको मौसम र उत्पादनसँग सम्बन्धित छन् । सृष्टिको विकासवादी अवधारणा र विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका विवरणहरूका बाबजुद जीवन र ब्रह्माण्ड बीचको सम्बन्ध र सन्तुलनमा जोड दिइएको छ ।
मानिस यहाँ मानिसको लागि उपयुक्त वातावरणको कारणले छ । त्यसैले, त्यो वातावरण बिग्रनबाट रोक्नको लागि मानिसहरू सचेत र जिम्मेवार हुनुपर्छ । भूकम्प, बाढी, पहिरो, आँधीबेहरी, असिना, चट्याङ, ज्वालामुखी, महामारी आदि जस्ता प्राकृतिक समस्या वा विपत्तिहरू मानव पहुँचमा नहुन सक्छन् ।
इसुजंग कार्की
तर मानिसहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा, जानाजानी वा अनजानमा सिर्जना गरेका समस्या र विपत्तिहरूको लागि मानिसहरू जिम्मेवार हुनुपर्छ र तिनीहरूलाई समाधान गर्ने प्रयासहरू पनि मानिसहरूबाटै आउनुपर्छ । यसका लागि हामीले भाग्य वा ईश्वरमा भर पर्नु हुँदैन । हामीले हाम्रो जीवनशैली र प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्नुपर्छ ।
हाम्रो धार्मिक र सांस्कृतिक विविधताका साथै, हिमालय, पहाड र मधेशमा विविध हावापानी र वातावरण पनि छ । धर्म केवल परम्परा र रीतिरिवाजसँग सम्बन्धित छैन । धार्मिक शास्त्रहरूले समय अनुसार समाजमा परिवर्तन, नैतिकता, आध्यात्मिक शिक्षा र शान्तिपूर्ण, सभ्य र समृद्ध समाजको लागि प्रेरणा पनि प्रदान गर्दछ ।
शारीरिक, मानसिक र आध्यात्मिकरूपमा स्वस्थ र बलियो रहनको लागि, शास्त्रहरूमा उल्लिखित दिशानिर्देशहरूको अभ्यास र पालना गर्नु मनासिव हुन्छ । यसको लागि, हामी ताप, हावा, पानी, पृथ्वी र आकाशजस्ता भौतिक तत्त्वहरूसँग निरन्तर जोडिएका छौं ।
हामीलाई सास फेर्न सफा हावा चाहिन्छ । हामीलाई पिउनको लागि सफा र शुद्ध पानी चाहिन्छ । हामीलाई बाँच्नको लागि उपयुक्त वातावरण चाहिन्छ । हाम्रो लापरवाही र कुव्यवस्थापनका कारण हामी समस्याहरूको सामना गरिरहेका छौं । यो धेरैको लागि चिन्ताको विषय बन्दै गएको छ ।
धर्मले हामीलाई प्रकृतिमैत्री हुन प्रेरित गर्छ । शान्त प्राकृतिक वातावरणमा समय बिताउनु, ध्यान गर्नु, यात्रा गर्नु, पदयात्रा गर्नु आदि हाम्रो शारीरिक, मानसिक र आध्यात्मिक कल्याणको लागि लाभदायक हुन्छ । धर्मले हामीलाई त्यस दिशामा पनि मार्गदर्शन गर्दछ ।
मानव जीवनशैली, बानी र व्यवहार सुधार र परिवर्तन गर्न धर्म र धार्मिक नेताहरूले महत्त्वपूर्ण र प्रभावकारी भूमिका खेल्छन् भन्ने कुरामा कुनै शंका छैन । प्रदूषित हावा, उत्पादनमा कमी, असुरक्षित वातावरण र खडेरीका कारण डेंगी, मलेरिया, हैजा र झाडापखाला जस्ता विभिन्न रोगहरूको फैलावटमा जलवायु परिवर्तनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको विज्ञहरू बताउँछन् ।
सरसफाइ, उचित फोहोर व्यवस्थापन, कम इन्धन खपत, र वन फँडानी र क्षयीकरण, औद्योगिकीकरण, वन डढेलो, भू–उपयोग परिवर्तन, जीवाश्म इन्धनको बढ्दो प्रयोग, शहरीकरण, आदि जस्ता प्रदूषणका कारणहरूलाई सन्तुलित र व्यवस्थापन गर्न प्रभावकारी पहलहरू आवश्यक छन् ।
त्यसका लागि, धार्मिक समूहहरूद्वारा गरिएका प्रयासहरू वा धार्मिक समुदायहरू भित्रका आध्यात्मिक अभ्यासहरू र करुणाभाव, दया, प्रेम पनि महत्त्वपूर्ण छन् । पृथ्वीमा तापक्रमको उतारचढाव, मौसमी अस्थिरता र हावाको गतिले पर्यावरणीय असन्तुलन निम्त्याउन सक्छ । विश्वव्यापी तापक्रम वृद्धि, अत्यधिक गर्मी, जलवायु परिवर्तन, आदिले जीवन चक्र प्रणालीलाई असर गर्न सक्छ ।
त्यसको लागि, केवल अनुमान लगाउनु र भविष्यको डर देखाउनु मात्र पर्याप्त छैन, बरु सबैको सहभागितामूलक प्रयासले वर्तमानमा जे गर्न सकिन्छ त्यो गर्नु आवश्यक छ ।