नेभिगेशन
अर्थतन्त्र

नेप्सेमा आजबाट नयाँ सर्किट व्यवस्था, अर्डर जतिबेलै

काठमाडौं । शेयर किनबेच प्रक्रियामा नेपाल स्टक एक्सचेन्ज नेप्सेले नयाँ व्यवस्था लागू गरेको छ । नेप्सेले आज (सोमबार)बाट लागू हुने गरी सर्किट ब्रेकर र अर्डर (कारोबारको आदेश प्रविष्टि)को नयाँ व्यवस्था गरेको हो ।
धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली २०८२ अनुसार आजदेखि कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । त्यस्तै, कारोबार अवधिको कुनै पनि समयमा परिसूचक ८ प्रतिशतले घटबढ भएमा त्यस दिनका लागि सम्पूर्ण कारोबार बन्द हुने व्यवस्था गरिएको छ ।
हालसम्म नेप्सेमा तीन पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था थियो । बजार खुलेको पहिलो एक घण्टामा ४ प्रतिशतले बजार घटबढ भए सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिन्थ्यो । त्यस्तै बजार खुलेको दुई घण्टाभित्र ५ प्रतिशत बढेमा त्यसपछि ४० मिनेटका लागि कारोबार रोक्ने गरिन्थ्यो । जुनसुकै समयमा बजार ६ प्रतिशतले बढेमा दिनभरका लागि कारोबार बन्द हुने व्यवस्था गरिएको थियो ।
त्यस्तै कम्पनीको हकमा पनि नेप्सेले सर्किटसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको हो । अब कुनै पनि कम्पनीको शेयर मूल्य प्रारम्भिक कारोबार सत्रमा कायम भएको मूल्यभन्दा १५ प्रतिशतसम्म घटेमा या बढेमा त्यस दिनभर कारोबार गर्न पाइने छैन ।
नेप्सेले अर्डरको व्यवस्थामा पनि परिवर्तन गरेको छ । यसअघि, प्रारम्भिक कारोबार सत्र (प्रि–ओपन सेसन)मा २ प्रतिशतसम्म मूल्य परिवर्तनको आधारमा अर्डर राख्न पाइन्थ्यो । अब भने प्रारम्भिक कारोबार सत्रमा ५ प्रतिशतसम्म मूल्य परिवर्तनको आधारमा अर्डर राख्न पाइने व्यवस्था गरिएको छ । यसरी कायम हुने मूल्यको आधारमा ३ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहेर शेयर किनबेच आदेश दिनुपर्ने छ ।
कारोबार आदेश अथवा अर्डरमा पनि नेप्सेले संसोधन गरेको छ । आजदेखि बजार बन्द भएपछि पनि कारोबारको आदेश प्रविष्टि गर्न पाइने भएको हो । नेप्सेले निर्धारण गरेको कारोबार समयअघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिएमा त्यस्तो आदेशलाई सम्बन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गरी कारोबार समय सुरु हुनासाथ नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ ।
प्रारम्भिक कारोबार सत्र र नियमित सत्रका लागि मूल्य परिवर्तनसम्बन्धी तोकिएको सीमाअनुसार नै यस्तो विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्ने विनियमावलीमा उल्लेख छ ।

के फरक पर्छ ?
विनियमावली संशोधनपछि पक्ष र विपक्षमा धेरै तर्कहरु आइरहेका छन् । लगानीकर्ताहरुले कतिपयले संशोधनको समर्थन गरेका छन् भने कतिपयले विरोध गरेका छन् । सर्किट ब्रेकरको व्यवस्था बजारलाई पुरै ओपन छाड्नु हुँदैन र लगानीकर्तालाई सोच्ने मौका दिनुपर्ने भन्ने उद्देश्यले पनि गरिएको हो ।
विश्वभरका सेयर बजारमा कुनै नै कुनै हिसाबले सर्किटको व्यवस्था गरिएको छ । कतै कम्पनीमा सर्किट लगाउने व्यवस्था छ भने कतै बजारमा सर्किट लगाइन्छ । धेरै देशमा बजारमा पनि र कम्पनीमा पनि सर्किट लगाउने व्यवस्था छ ।
कतिपय देशमा बजार बढ्दामात्र सर्किट लगाइन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजारको भोल्युम र लगानीकर्ताको संख्या बढ्दै जाँदा सर्किटको सीमा पनि बढाउँदै लगिएको छ । नेप्सेका अनुसार विगतमा ३, ४ र ५ प्रतिशत रहेको सर्किटको व्यवस्थामा बजारको भोल्युम बढेपछि बढाएर ४, ५ र ६ प्रतिशत बनाइएको थियो ।
‘अहिले ५ र ८ बनाइएको छ,’ नेप्सेका एक सञ्चालकले भने, ‘विश्वका कुनै पनि देशमा तीनवटा सर्किटको व्यवस्था नभएकाले दुई वटामा झारिएको हो, अर्को कुरा बजारको भोल्युम र लगानीकर्ताको संख्या बढ्दै गएकाले सीमा बढाउन आवश्यक थियो ।’
कम्पनीमा १५ प्रतिशत सर्किटको व्यवस्था भने धितोपत्र बोर्डले आफैं थपेर पठाइदिएको उनले बताए । ‘त्यो किन थपियो भन्नेबारे हामी अनभिज्ञ छौं,’ उनले भने, ‘तर यो व्यवस्थाले इन्ट्रा–डे कारोबार माग गरेको छ ।’ इन्ट्रा–डे कारोबारको व्यवस्था हुँदा माग र आपूर्ति स्वतः सन्तुलनमा आउने उनको तर्क छ ।
सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भने पहिलाको व्यवस्थामा पनि खासै समस्या नभएको बताउँछन् । ‘बजारलाई एउटा कम्पनीले निर्धारण गर्न नसक्ने भएकाले सबै ओपन छाडे हुन्छ ,’ उनले भने, ‘तर इन्डिभिजुअल कम्पनीमा फराकिलो सर्किट ब्रेकर राख्दा समस्या हुन सक्छ ।’ फराकिलो सर्किट व्यवस्थाले सेयर संख्या कम भएका कम्पनी र नयाँ सूचीकरणमा मूल्य एकोहोरो बढाइरहने सम्भावना रहने उनले बताए । ‘यद्यपि इन्ट्रा–डे ट्रेडिङ सुविधा आयो भने फरक पार्दैन, माग र आपूर्ति सन्तुलित हुन्छ किनकि नाफा बढ्यो भने बेचिहाल्न पाइन्छ,’ भट्टराईले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्