नेभिगेशन
स्वास्थ्य

जेठी कि कान्छी ? जन्मक्रमले स्वास्थ्य निर्धारण गर्न सक्छ

लन्डन, (न्यू साइन्टिस्ट) । दुई सन्तान भएको परिवारमा तपाईंको जन्म पहिलो वा दोस्रो कुन स्थानमा भएको छ भन्ने कुराले १५० भन्दा बढी स्वास्थ्य समस्याहरूको जोखिम निर्धारण गर्न सक्ने हालैको एक बृहत् अध्ययनले देखाएको छ । हेलेन थम्पसनका अनुसार, केही स्वास्थ्य अवस्थाहरू जेठो सन्तानमा बढी देखिन्छन् भने केहीको प्रभाव कान्छो सन्तानमा बढी पर्ने पाइएको छ ।
अनुसन्धानकर्ताहरूले १ करोडभन्दा बढी दाजुभाइ तथा दिदीबहिनीहरूको तथ्यांक विश्लेषण गर्दा जन्म क्रम र अटिजम, छटपटी (एन्जाइटी) देखि ‘हे फिभर’ जस्ता समस्याहरूबीच सम्बन्ध रहेको फेला पारेका छन् । विगत एक शताब्दीदेखि नै वैज्ञानिकहरू जन्म क्रमले व्यक्तित्व र बौद्धिक क्षमता (आईक्यू) मा पार्ने प्रभावबारे आकर्षित हुँदै आएका छन् । सन् २०१५ मा जर्मनीको लेप्जिग विश्वविद्यालयकी जुलिया रोहररको नेतृत्वमा २० हजार बालबालिकामा गरिएको एक महŒवपूर्ण अध्ययनले जन्म क्रमको व्यक्तित्वमा खासै प्रभाव नपर्ने तर आईक्यूमा भने सामान्य असर पर्ने देखाएको थियो । उक्त अध्ययन अनुसार, जेठो र कान्छो सन्तानको आईक्यूमा १ देखि २.५ अंकको मात्रै भिन्नता पाइन्छ ।
शिकागो विश्वविद्यालयका बेन्जामिन क्रेमर र उनका सहकर्मीहरूले गरेको नयाँ विश्लेषणले भने स्वास्थ्य अवस्थाहरूमा केन्द्रित हुँदै फरक पद्धति अपनाएको छ । उनीहरूले लिंग, जन्म वर्ष, आमाबाबुको उमेर र जन्मान्तर जस्ता पक्षहरूलाई मिलाएर विभिन्न परिवारका जेठा र कान्छा सन्तानहरूबीच तुलना गरेका थिए । ५१ लाख परिवारका जैविक रूपमा सम्बन्धित दाजुभाइ–दिदीबहिनीहरूबीच गरिएको तुलनामा ४१८ वटा स्वास्थ्य अवस्थाहरूमध्ये १५० वटामा जन्म क्रमको प्रत्यक्ष सम्बन्ध देखियो । यसमध्ये ७९ वटा समस्या जेठो सन्तानमा र ७१ वटा दोस्रो सन्तानमा बढी देखिने पाइएको छ ।
जेठो सन्तानमा अटिजम, टोरेट सिन्ड्रोम र बाल्यकालमा देखिने मानसिक समस्या (साइकोसिस) जस्ता न्युरो–डेभलपमेन्टल अवस्थाहरूको जोखिम बढी पाइयो । साथै, उनीहरूमा डन्डीफोर, एलर्जी, हे फिभर र एन्जाइटीको समस्या पनि बढी देखियो । यसको विपरीत, दोस्रो सन्तानमा लागूपदार्थको दुरुपयोग, जनैखटिरा (सिंगल्स), पित्तथैलीको रोग, ग्यास्ट्राइटिस र माइग्रेनको जोखिम उच्च देखियो ।
रोहरर यस अध्ययनलाई निकै भरपर्दो मान्छिन्, तर यी सम्बन्धहरू सामान्य मात्र भएकोमा सचेत गराउँछिन् । उदाहरणका लागि, जेठो सन्तानमा डिप्रेसनको सापेक्षिक जोखिम ३.६ प्रतिशत मात्र बढी हुन्छ । यो नतिजाले कुनै पनि कुरालाई पूर्ण रूपमा ठोकुवा भने गर्दैन ।
अनुसन्धान टोलीले यी निष्कर्षहरू पछाडिका सम्भावित कारणहरू पनि खोतलेको छ । जेठो सन्तानमा एलर्जी बढी हुनुको कारण ‘फ्रेन्डली फो’ परिकल्पनाबाट बुझ्न सकिन्छ । यस अनुसार, कान्छा सन्तानहरूले आफ्ना ठूला दाजुभाइ वा दिदीबहिनीबाट सानै उमेरमा सूक्ष्म जीवाणुहरूसँग घुलमिल हुने अवसर पाउँछन्, जसले उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जन्मान्तर जति धेरै भयो, कान्छो सन्तानमा यस्तो एलर्जीको जोखिम उति नै कम हुँदै जाने देखियो ।
लागूपदार्थको दुरुपयोगमा पनि यस्तै ढाँचा देखियो । जन्मान्तर बढी हुँदा दोस्रो सन्तानमा हुने यस्तो जोखिम घट्दै जान्छ । अनुसन्धानकर्ताहरूका अनुसार कान्छा सन्तानहरूमा जोखिम मोल्ने व्यवहार बढी हुन्छ । त्यस्तै, अटिजमको सन्दर्भमा जैविक र वातावरणीय दुवै कारण हुन सक्छन् । कतिपय अनुसन्धानले पहिलो गर्भको समयमा आमाको प्रतिरोधात्मक प्रणालीले बढी कडा प्रतिक्रिया जनाउने र त्यसले भ्रूणको मस्तिष्क विकासमा असर पार्न सक्ने संकेत गरेका छन् ।
जुलिया रोहररका अनुसार ‘डायग्नोस्टिक सब्सटिच्युसन’ (रोगको निदानमा हुने अदलबदल) ले पनि यसमा भूमिका खेल्न सक्छ । एडीएचडी र अटिजमको पहिचान धेरै हदसम्म बौद्धिक क्षमतामा निर्भर गर्छ । एउटै लक्षण भएका बालबालिकामध्ये कम आईक्यू भएकालाई ‘बौद्धिक अपाङ्गता’ र औसत आईक्यू भएकालाई ‘एडीएचडी’ को रूपमा निदान गर्ने गरिन्छ । जेठो सन्तानको आईक्यू केही बढी हुने भएकाले उनीहरूमा फरक रोगको पहिचान हुने सम्भावना रहन्छ ।
क्यानाडाको टोरन्टो विश्वविद्यालयका रे ब्लान्चार्ड भने सन्तानको लिंग र एक्लो सन्तानको अवस्थालाई पनि ध्यान दिनुपर्ने सुझाव दिन्छन् । उनको अनुसन्धानले ठूला दाजुहरू हुनाले पछिल्ला भाइहरूमा समलैंगिकताको सम्भावना केही बढ्न सक्ने देखाएको छ । पहिलो गर्भका क्रममा आमाको शरीरमा पुरुषसँग सम्बन्धित प्रोटिनविरुद्ध एन्टिबडीहरू बन्न सक्छन्, जसले पछिल्ला छोराहरूको यौन झुकावमा सूक्ष्म प्रभाव पार्न सक्छ । जन्म क्रम र स्वास्थ्यबीचको यस्तो सम्बन्ध बुझ्न आगामी दिनमा सन्तानको लिंगको क्रमलाई पनि अनुसन्धानमा समावेश गर्नु आवश्यक देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय