नेभिगेशन
अर्थतन्त्र

बेलायतीमाझ ‘स्ट्यागफ्लेसन’को डर

सन् १९७० को दशकसँगको समानता अहिले डरलाग्दो देखिन थालेको छ तर स्थिति कति खराब हुन्छ भन्ने कुरा इरानको युद्ध कति समयसम्म चल्छ भन्नेमा निर्भर हुनेछ । साइमन विल्सनका अनुसार लगानीकर्ताहरूले आफूलाई यसको सामना गर्न तयार राख्नुपर्छ ।

‘स्ट्यागफ्लेसन’ भनेको के हो ?
जब अर्थतन्त्रमा सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीति (महँगी) दुवै एकैसाथ देखिन्छन्, त्यसलाई स्ट्यागफ्लेसन भनिन्छ । यसले प्रायः बेरोजगारी बढाउँछ । सामान्य समयमा अर्थशास्त्रीहरूले मुद्रास्फीति र बेरोजगारीबीच एउटा सन्तुलन हुने ठान्छन् । आर्थिक मन्दीका बेला माग कम हुने र उत्पादन क्षमताको पूर्ण उपयोग नहुने भएकाले मुद्रास्फीति न्यून हुने गर्छ । यसको विपरीत, आर्थिक उत्साहका बेला माग बढ्ने भएकाले मूल्य वृद्धि हुन्छ । यो प्रसिद्ध ‘फिलिप्स कर्भ’ को अवधारणा हो जसले आर्थिक वृद्धि र मुद्रास्फीतिबीच उल्टो सम्बन्ध देखाउँछ । स्ट्यागफ्लेसनले यही तर्कलाई गलत सावित गरिदिन्छ (र वास्तवमा सन् १९७० को दशकमा यसले फिलिप्स कर्वको विश्वसनीयतालाई नै कमजोर बनाइदिएको थियो) । यो एक असामान्य र अवाञ्छित स्थिति हो जसमा नीति निर्माताहरूसँग कुनै सजिलो समाधान हुँदैन र लगानीकर्ताहरू अलमल र त्रासमा हुन्छन् ।

सन् १९७० को दशकमा के भएको थियो ?
सन् १९७३–१९७४ को ‘योम किप्पुर’ युद्धपछिको अरब तेल प्रतिबन्ध र पछि १९७९ को इरानी क्रान्तिपछिको अवरोधले कच्चा तेलको मूल्य ह्वात्तै बढाइदियो । तेलको माग लचिलो हुँदैन, अर्थात् आपूर्ति घट्दा र मूल्य बढ्दा पनि मानिसहरूले यसलाई किन्नैपर्ने हुन्छ । ऊर्जा यातायात, उत्पादन र खाद्यान्न जस्ता आर्थिक जीवनका हरेक पक्षमा जोडिएको हुनाले ७० को दशकको त्यो तेल संकटको असर सम्पूर्ण अर्थतन्त्रमा देखियो । लागत बढ्यो, उत्पादन घट्यो र बेरोजगारी बढ्दै जाँदा पनि महँगी चुलियो । यसको परिणाम स्वरूप लामो समयसम्म आर्थिक सुस्तता छायो जसलाई व्याख्या गर्न परम्परागत अर्थशास्त्र र सामना गर्न नीति निर्माताहरूलाई हम्मे–हम्मे प¥यो । अमेरिकामा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लगातार दुई वर्ष खुम्चियो र मुद्रास्फीति १०% भन्दा माथि पुग्यो ।

यसको सामना गर्न किन गाह्रो छ ?
यस्तो अवस्थामा केन्द्रीय बैंक र राजनीतिज्ञहरू दोहोरो मारमा पर्छन् । यदि उनीहरूले मूल्य नियन्त्रण गर्न ब्याजदर बढाए भने यसले अर्थतन्त्रलाई थप सुस्त बनाउने र अल्पकालीन रूपमा रोजगारी गुम्ने जोखिम हुन्छ । यसको उल्टो, सार्वजनिक खर्च बढाएर वा ब्याजदर घटाएर बेरोजगारी हटाउन र अर्थतन्त्रलाई गति दिन खोजेमा यसले मुद्रास्फीति बढाउने र ज्याला–मूल्य वृद्धिको चक्र सुरु हुने डर हुन्छ । १९७० को दशकमा जर्मनीको बुन्डेसबैंक जस्ता केही केन्द्रीय बैंकहरूले सुरुमै कडा कदम चालेर मूल्य स्थिरताप्रति प्रतिबद्धता जनाउँदै मुद्रास्फीतिलाई जरा गाड्न दिएनन् । यसको विपरीत, अमेरिकाको फेडरल रिजर्भले बेरोजगारीको राजनीतिक र आर्थिक परिणामसँग डराएर यस खतरालाई ढिलो गरी चिन्यो । फलस्वरूप, मुद्रास्फीति र भविष्यमा महँगी अझ बढ्ने अपेक्षाले गहिरो जरा गाड्यो । पछि फेड अध्यक्ष पल भोल्करको नेतृत्वमा अत्यधिक कडा मौद्रिक नीति र अझ कष्टकर मन्दीको मूल्य चुकाएर मात्र त्यो चक्र तोड्न सम्भव भयो ।

के बेलायत स्ट्यागफ्लेसन तर्फ जाँदैछ ?
यो पूर्ण रूपमा सम्भव छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पूर्व प्रमुख अर्थशास्त्री केनेथ रोगोफका अनुसार, जारी युक्रेन युद्ध र व्यापारिक द्वन्द्वका बीच इरानको युद्ध पछिल्लो पाँच दशकमा विश्वले भोगेको सबैभन्दा ठूलो स्ट्यागफ्लेसन धक्का बन्ने देखिन्छ । अल्पकालीन रूपमा धेरै विश्लेषकहरूको अनुमान छ कि यसले विश्व अर्थतन्त्रलाई १ प्रतिशत भन्दा कमको धक्का दिनेछ र मुद्रास्फीतिलाई सोही हाराहारीमा बढाउनेछ । आरबीसी ब्लूबे एसेट म्यानेजमेन्टका मार्क डाउडिङको गणना अनुसार यो युद्धले विश्वव्यापी आर्थिक वृद्धिबाट आधा प्रतिशत घटाउन सक्छ र मुद्रास्फीतिमा एक प्रतिशत थप्न सक्छ तर यो द्वन्द्वको वर्तमान अवस्थामा आधारित अनुमान हो । उनले ’फाइनान्सियल टाइम्स’ सँग कुरा गर्दै यसभन्दा धेरै खराब परिस्थितिहरू पनि आउन सक्ने बताएका छन् ।

आशावादी हुने कुनै कारण छ ?
छ । सन् १९७० को तुलनामा विकसित अर्थतन्त्रहरू ऊर्जामा कम निर्भर छन्, केन्द्रीय बैंकहरू मुद्रास्फीतिको जोखिमप्रति बढी सचेत छन् र श्रम बजार बढी लचिलो भएकाले ज्याला र मूल्य वृद्धिको चक्रमा फस्ने सम्भावना कम छ । नोआ स्मिथका अनुसार यी कारणहरूले गर्दा यो अस्थायी धक्काले गहिरो रूप लिन गाह्रो हुनेछ । धेरै शैक्षिक अध्ययनहरूले पनि यस विचारलाई समर्थन गर्छन् । तर वास्तविकता यो हो कि इरान युद्धबाट हुने सम्भावित क्षतिको मूल्याङ्कन गर्न अझै हतार हुन्छ । तेलको अभाव अब मात्र देखिन थाल्दैछ । जब यसको असर पर्न थाल्छ, स्थिति अझ खराब हुन सक्छ ।

के ‘स्ट्यागफ्लेसन’को सम्भावना बढ्दै छ ?
मन्दी र स्ट्यागफ्लेसनको सम्भावना पक्कै छ । युद्ध अनपेक्षित रूपमा छिटो सकिए पनि धेरै क्षति भइसकेको छ । अक्सफोर्ड इकोनोमिक्सका विश्लेषकहरूका अनुसार यदि द्वन्द्व अहिल्यै समाप्त भयो भने पनि बन्द भएका सुविधाहरू फेरि सुरु गर्न, आपूर्ति शृङ्खला सुरक्षित गर्न र ढुवानीमा हुने आक्रमणको डरका कारण ’हर्मुज जलसन्धि’ धेरै हप्तासम्म बन्द रहनेछ । यूरोप र विशेष गरी बेलायतका लागि यो जोखिम निकै गम्भीर छ । यो महाद्वीप अझै पनि आयातित ऊर्जामा निर्भर छ र युद्धअघि नै यसको आर्थिक वृद्धि कमजोर थियो । बेलायत आयातित ग्यासमा निर्भर छ र हाम्रो अर्थतन्त्र लामो समयदेखि न्यून उत्पादकत्व र बाह्य धक्काहरू (कोभिड, युक्रेन युद्ध) प्रति संवेदनशील छ । भर्खरै दोहोरो अंकको मुद्रास्फीतिबाट बाहिर निस्किएको बेलायतले आर्थिक वृद्धि सुस्त भइरहेकै बेला फेरि मूल्य वृद्धिको दबाब झेलिरहेको छ । यो एक चुनौतीपूर्ण अवस्था हो ।

लगानीकर्ताले के गर्नुपर्छ ?
सामान्यतया, स्ट्यागफ्लेसनको वातावरणमा वित्तीय सम्पत्ति (सेयर आदि) भन्दा वास्तविक सम्पत्ति (वस्तुहरू) बढी लाभदायक हुन्छन् । त्यसैले कमोडिटीहरू, विशेष गरी ऊर्जा उत्पादनसँग सम्बन्धित वस्तुहरूले प्रत्यक्ष लाभ पाउँछन् र सुनले ऐतिहासिक रूपमा यस्तो बेला राम्रो प्रतिफल दिएको छ । औसतमा स्ट्यागफ्लेसन सेयर बजारका लागि सबैभन्दा खराब वातावरण हो । विश्वव्यापी सेयर बजार फेब्रुअरीको अन्त्यको तुलनामा ९% ले घटिसकेको छ । तर स्रोडर्सका डन्कन लामान्ट भन्छन्, ‘आत्तिनु पर्दैन । हाम्रो विश्लेषणले देखाउँछ कि स्ट्यागफ्लेसनका बेला पनि सेयर बजारले प्रायः राम्रो प्रदर्शन गर्छ, मात्र अन्य समयमा जस्तो धेरै नहुन सक्छ ।’ सन् १९२६ यताको तथ्यांक अनुसार स्ट्यागफ्लेसन भएको वर्षमा वास्तविक वार्षिक प्रतिफल लगभग ०% रहेको छ । यो आदर्श नभए पनि उच्च मुद्रास्फीतिको समयमा मूल्य वृद्धिको हाराहारीमा प्रतिफल पाउनु पनि नराम्रो होइन । युटिलिटी र उपभोग्य वस्तु जस्ता रक्षात्मक क्षेत्रहरूले अपेक्षाकृत राम्रो प्रदर्शन गर्छन् किनभने यस्ता वस्तुको माग आर्थिक चक्रसँग धेरै प्रभावित हुँदैन । ऊर्जा र कच्चा पदार्थसँग सम्बन्धित कम्पनीहरूले पनि सामान्यतया यस्तो बेला राम्रो गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्