नेभिगेशन
धर्म/संस्कृति

पुर्खाप्रति कृतज्ञ बनाउने पर्व

‘तीर्थे  तीर्थे  निर्मलं ब्रह्मवृन्दं । वृन्दे वृन्दे तत्त्त्व चिन्तानुवादः ।
‘वादे वादे जायते तत्त्त्वबोधो । बोधे बोधे भासते चन्द्रचूडः ।।’

अर्थात्, प्रत्येक तीर्थमा स्वच्छ – शुद्ध ब्रह्मविद्को समूह छ, प्रत्येक समूहमा तत्त्वचिन्तनको संवाद चलिरहेको हुन्छ । निरन्तरको संवादबाट सत्यबोध हुन्छ, र हेर्दै  बुझ्दै जाँदा चन्द्रचूड अर्थात् शिवको आभास हुन्छ । यसबाट स्पष्ट हुन्छ, जे हेरिन्छ, त्यही देखिन्छ । जसरी हेरिन्छ, त्यसरी नै र त्यस्तै देखिन्छ ।

कतिपय मानिसहरूमा द्वन्द्वात्मक चेत कमजोर भएर होला, हरेक विषयमा कमजोरी खोज्ने, छिद्रान्वेषण गर्ने  प्रवृत्ति देखिन्छ । खासगरी पूर्वीय प्रबन्धका विषयलाई हेर्ने  दृष्टिकोणमा एकांकीपन देखिन्छ । पूर्वीय प्रवन्धका अधिकांश विषय अध्यात्मप्रेरित छन् । नेपाली समाजमा मानिसहरूले वैदिक सनातनलाई अध्यात्मवादी, जड, विभेदकारी, अन्धविश्वास देख्ने, यसभित्रका विज्ञानसम्मत, व्यवहारिक, मानवीय गुणहरूलाई देख्दै देख्दैनन् । 

जब सनातन संस्कृतिका चाडपर्व आउँछन्, तब अनेकौ बहस र विवाद सतहमा देखिन्छन् । त्यस्ता बहसले जड प्रवृत्तिलाई नै मलजल गर्‍यो भने प्रत्युत्पादक हुन्छ । निष्ठा ठाउँ हठले लिन्छ । यसो भयो भने संस्कृति नै विकासको बाधकझै बनिदिन सक्छ ।

सनातन संस्कृतिको महत्त्वपूर्ण तिथि पितृपक्ष सुरु भएको सन्दर्भमा हामीले के बुझ्नुपर्छ भने पितृपक्ष भनेको धरालीन (मृत्यु भएका वा पृथ्वीमा मिसिएका) भएका आफ्ना पुर्खाहरूको सम्झना र सम्मान गर्ने  अवधि हो, जसलाई चलन चल्तीमा सोह्रश्राद्ध भनिछ ।

सोह्रवटा तिथि हुने भएकाले आफ्ना पुर्खा धरालीन भएको तिथिमा श्राद्ध गर्ने  शास्त्रीय प्रावधान छ । जुन महिनाको जुन तिथिमा मृत्यु भएको हो, सो दिन पनि श्राद्ध गर्ने  गरिन्छ । सम्बन्धित तिथिको त्यस श्राद्धलाई एकोद्दिष्ट भनिन्छ भने सोह्रश्राद्धमा गरिने श्राद्धलाई महालय –महापार्वण भनिन्छ, त्यसैले यसलाई महालय श्राद्ध पनि भनिन्छ ।

तिथि मानिसले बनाएको होइन, तर यसको नामकरण मानिसले गरेको हो । यसको गणना मानिसले गरेको हो । यस गणनामा मानवीय ज्ञान र क्षमता लागेको छ । यो गणना अत्यन्त वैज्ञानिक छ । यससम्बन्धी शास्त्र– विज्ञानलाई ज्योतिष भनिन्छ । सूर्य, चन्द्र, ताराहरूको अवस्थिति कहाँ, कुन कोणमा छ र कुन दिन तिनको स्थान कहाँ हुन्छ वा उनीहरूको उपस्थिति र प्रभाव कहाँ हुन्छ भन्ने गणना गरेर तिथि निर्धारण गर्नु आज सामान्यजस्तो लागे पनि यस्तो पत्ता लगाउनु ठूलो कुरा थियो ।

मिति गणना संक्रान्तिबाट गरिन्छ । संक्रान्ति भनेको सर्नु भनेको हो । यस अर्थमा संक्रान्ति भनेको सूर्य एउटा राशिबाट अर्को  राशिमा सर्ने  दिन हो । मेष, वृष, मिथुन आदि गरी राशिहरू १२ वटा हुन्छन् र सूर्यले यी १२ राशिको परिभ्रमण गरिसक्ने अवधिलाई वर्ष भनिन्छ । दिनलाई मिति र तिथिमा गणना गरिन्छ । मितिमा गणना गरिने विधिलाई सौरमान अर्थात् सूर्यको गतिलाई आधार बनाएर गरिने विधि र तिथिमा गणना गरिने विधिलाई चान्द्रमान अर्थात् चन्द्रमाको गतिलाई आधार मानेर गणना गरिने विधि ।

गतेका आधारमा गणना गर्दा आजको गते जति हो, त्यस दिन पूरा त्यही गते हुन्छ तर तिथिका आधारमा गणना गर्दा उदयदेखि अस्तसम्म एउटै तिथि नहुन पनि सक्दछ । यसो हुनुलाई तिथि घटबढ भएको भनिन्छ । सोह्रै कलाको (पूर्ण आकार र रूपको) चन्द्रमा हुने दिनलाई पूर्णिमा भनिन्छ । चन्द्रमा देखिँदै नदेखिने दिनलाई अमावस्या (औंसी) भनिन्छ । 

Ghanasyam-Koirala-1757211447.jpg
घनश्याम कोइराला

सौरमान अनुसार सामान्यतः ३० दिनको महिना हुन्छ । गतेको गणना एक, दुई, तीन हुँदै अघि बढ्छ र गते महिनाको अन्त्यमा घटबढ हुन्छन् । तिथि गणनाका हिसाबले पनि महिना ३० दिनकै हुन्छ ।

तर, यसलाई शुक्ल पक्ष र कृष्ण पक्षमा हिसाब गरिन्छ । गते एकदेखि सुरु भएजस्तै तिथि प्रतिपदा, द्वितीय, तृतीया हुँदै अघि बढ्छ । प्रतिपदादेखि सुरु भएर पन्ध्रौ दिन पूर्णिमा हुने पक्षलाई शुक्ल (सेतो–उज्यालो) पक्ष र पन्ध्रौ दिन औसी पर्ने  पक्षलाई कृष्ण (कालो–अँध्यारो) पक्ष भनिन्छ ।

पितृ शब्दले पिता–पुरुष प्रधानता जनाउँछ । यो सोह्रश्राद्धमा पिताको मृत्युभएको तिथि केन्द्रित हुन्छ । तर, यसमा आमाको तथा आमातिरका तीन पुस्ता र पिता तिरका तीन पुस्ता तथा सानिमा, ठूलीआमा, फुपू, माइजू, दाजु, भाउजू, काका, काकी आदिलाई श्रद्धापूर्वक स्मरण र पिण्डदान गरिन्छ ।

पिता जीवितै रहेको, माताको मात्र मृत्यु भएको छ भने जुनसुकै तिथिमा मृत्युभएको भए पनि यस अवधिको नवमी तिथिमा आमाको श्राद्ध गर्ने प्रावधान रहेको छ । पितृपक्ष आफ्ना जन्मदाता र जन्मदाताका पनि जन्मदाताको सम्मान र कृतज्ञताका लागि मनाइने पाक्षिक पर्व हो । 

जीवित छँदा जसरी माता–पिता एकसाथ हुन्छन्, त्यसरी नै मृत्युपछि पनि उनीहरू सँगै हुन्छन् भन्ने मान्यताका आधारमा पिताकै मृत्यु भएको तिथिमा एकसाथ श्राद्ध गर्दा दुवैका लागि हुन्छ भन्ने मान्यता मनाइएको देखिन्छ । पिता जीवितै रहेको र माताको मात्र मृत्यु भएको छ भने नवमी तिथि निर्धारित गरिनु सकारात्मक मान्न सकिन्छ ।

आज प्रविधिको हालिमुहाली भएको समयमा हामी विकासवादी हुँदै गएका छौ । कस्तो विकासवादी भन्दा आफ्नो भाषा, संस्कृति त्याग्दै जाने विकासवादी । हामीले हाम्रो भाषा छाडेका छौ । सन्तानले नेपाली नजानेकोमा गौरव गर्दै  हिँड्छौ । 

संस्कृतिलाई अन्धविश्वास मान्छौ । भएका नमिलेको, अप्ठेरा र असहज कुराको सुधार खोज्नुपर्छ भन्नेमा कसैको विमति हुँदैन । शास्त्रले भए सुनका पात्र, नभए पातले पनि काम चलाउने सुविधा दिएको छ । त्यसैले, संस्कार र संस्कृति फेरिने विषय हुन् । तीनले मानिसलाई निश्चित आस्था निष्ठामा बाँध्ने काम गर्छन् । तर संस्कृतिलाई बिगार्न र प्रदूषित गर्न पाइँदैन ।

‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् पितृहरू सही शब्दद्वारा सम्बोधन चाहन्छन्, देवतालाई सम्झे पुग्छ । सद्भावको स्रोत नै देवता हुन्, पितृ सम्मानका पात्र हुन् । विचार गरौ, विज्ञान भनेको प्रविधि मात्र होइन । मनोविज्ञान, मनोगत—मानसिक संरचनाबारे बुझ्ने विज्ञान पनि विज्ञान नै हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्