विश्व पर्यटन उद्योग निरन्तर परिवर्तनशील छ । परम्परागत घुमघामका ढाँचाबाट बाहिर निस्कँदै अहिले पर्यटन अनुभव, संस्कृति र जीवनशैलीसँग जोडिँदै गएको छ । यही सन्दर्भमा ‘चिया पर्यटन’ एक नवीन, आकर्षक र सम्भावनायुक्त क्षेत्रका रूपमा उदाउँदै आएको छ । चिया केवल एक पेय पदार्थ मात्र नभई हाम्रो दैनिक जीवन, सामाजिक सम्बन्ध, संस्कृति, स्वास्थ्य र अर्थतन्त्रसँग गहिरो रूपमा जोडिएको छ । त्यसैले चिया पर्यटनले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आर्थिक सम्भावनालाई एउटै सूत्रमा बाँध्ने क्षमता राख्छ ।
नेपालमा चियाको इतिहास करिब डेढ शताब्दी पुरानो छ । वि.सं. १९२० मा इलामबाट सुरु भएको चिया खेती आज पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र भोजपुरसम्म फैलिएको छ । हाल हजारौं कृषक र श्रमिक यस व्यवसायमा संलग्न छन्, जसले चिया क्षेत्रलाई आर्थिक दृष्टिले महŒवपूर्ण बनाएको छ । नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा पनि पहिचान बनाउँदै गएको छ, जसले पर्यटनसँग यसको सम्भावित सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।

चिया पर्यटनको मूल आकर्षण भनेको यसको संवेगात्मक स्वरूप हो । पर्यटकहरू चिया बगानको हरियालीमा रमाउन मात्र होइन, चिया टिप्ने, प्रशोधन प्रक्रिया अवलोकन गर्ने, स्वाद परीक्षण गर्ने र स्थानीय संस्कृतिसँग घुलमिल हुने अनुभव खोजिरहेका हुन्छन् । अनुसन्धानहरूले देखाएको छ कि चियाको ब्रान्ड छवि– भावनात्मक, मूल्य र विशेषतागत पक्षहरूले पर्यटकको गन्तव्य छनोटमा महŒवपूर्ण भूमिका खेल्छ । चियाको स्वास्थ्य लाभ, जीवनशैलीसँगको सम्बन्ध र सांस्कृतिक महŒवले पर्यटकलाई आकर्षित गर्ने प्रमुख आधार तयार गर्छ ।
कोभिड–१९ महामारीपछि पर्यटन प्रवृत्तिमा आएको परिवर्तनले पनि चिया पर्यटनलाई थप अवसर दिएको छ । भीडभाडबाट टाढा, शान्त, स्वच्छ र प्राकृतिक वातावरणमा समय बिताउन चाहने प्रवृत्ति बढेको छ । चिया बगानहरू प्रायः हरियालीयुक्त पहाडी क्षेत्रमा अवस्थित हुने भएकाले यसले प्रकृतिमूलक र स्वास्थ्यमैत्री पर्यटनको माग पूरा गर्छ । यसका साथै, चिया सेवनसँग जोडिएको मानसिक शान्ति र स्वास्थ्य लाभको धारणा पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
चिया पर्यटनले स्थानीय अर्थतन्त्रमा पनि महŒवपूर्ण योगदान पु¥याउन सक्छ । यसले कृषक, मजदुर, होटल व्यवसायी, यातायात क्षेत्र र स्थानीय हस्तकलालाई प्रत्यक्ष रूपमा लाभ पु¥याउँछ । चिया बगानवरपर होमस्टे, स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम र हस्तकलाको प्रवर्धनले समग्र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ । यसरी चिया पर्यटन कृषि र पर्यटनबीचको सहकार्यको उत्कृष्ट उदाहरण बन्न सक्छ ।
यद्यपि, यसको विकासका लागि केही चुनौतीहरू पनि छन् । गुणस्तर, विश्वसनीयता, उचित मूल्य निर्धारण र पूर्वाधार विकासमा कमी भएमा पर्यटकको अनुभव कमजोर हुन सक्छ । कतिपय अवस्थामा कृत्रिम अनुभव सिर्जना गरिनु, अत्यधिक मूल्य लिइनु वा सेवा गुणस्तर कमजोर हुनुजस्ता समस्या देखिन सक्छन् । त्यसैले दिगो विकासका लागि स्पष्ट नीति, गुणस्तरीय सेवा र पारदर्शिता अत्यावश्यक हुन्छ ।
नीतिगत रूपमा सरकार र स्थानीय निकायको भूमिका अत्यन्त महŒवपूर्ण छ । चिया ब्रान्डको प्रवर्धन, भौगोलिक संकेतको प्रयोग, गुणस्तर मापदण्डको विकास र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारले चिया पर्यटनलाई सुदृढ बनाउन सक्छ । साथै, चिया उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियालाई पर्यटकमैत्री बनाउनु आवश्यक छ ।
प्रविधिको प्रयोगले पनि चिया पर्यटनलाई नयाँ उचाइमा पु¥याउन सक्छ । डिजिटल प्रचार–प्रसार, सामाजिक सञ्जाल, भर्चुअल टुरजस्ता प्रविधिहरूले चिया बगानको अनुभवलाई अझ आकर्षक बनाउन सक्छन् । यसले विशेषगरी युवा पुस्तालाई आकर्षित गर्न मद्दत पु¥याउँछ ।
नेपालको सन्दर्भमा चिया केवल कृषि उत्पादन होइन, सामाजिक संस्कारको हिस्सा पनि हो । बिहानको सुरुवातदेखि पाहुनाको सत्कारसम्म, चिया हाम्रो जीवनशैलीमा गहिरो रूपमा बसेको छ । यसैले चिया पर्यटनले केवल दृश्यावलोकन होइन, जीवनशैली र संस्कृतिको अनुभव प्रदान गर्छ । इलाम, झापा वा दार्जिलिङसँग मिल्दोजुल्दो भौगोलिक परिवेशले नेपाललाई चिया पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने सम्भावना पनि प्रदान गरेको छ ।
चिया पर्यटनले रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्धन, सांस्कृतिक संरक्षण र आर्थिक समृद्धिमा महŒवपूर्ण भूमिका खेल्न सक्छ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपाल’ भन्ने नारालाई व्यवहारमा उतार्ने हो भने चिया पर्यटनलाई दीगो, समावेशी र गुणस्तरीय बनाउनु आवश्यक छ । यसरी हेर्दा, चिया पर्यटन केवल एक नयाँ पर्यटन उत्पादन मात्र होइन, नेपालको प्रकृति, संस्कृति र अर्थतन्त्रलाई जोड्ने सशक्त माध्यम हो । उचित योजना, प्रभावकारी व्यवस्थापन र दीगो दृष्टिकोण अपनाउन सकेमा, चिया पर्यटन भविष्यमा नेपालको प्रमुख पर्यटन आकर्षण बन्ने प्रबल सम्भावना रहेको छ ।
लेखक पर्यटन विज्ञ हुन् ।