नेभिगेशन
दृष्टिकोण

मलमास–शास्त्रीय चिन्तन

मलमास शीर्षकमा मल र मास दुई शब्द छन् । मल शब्दले पाप, मलिन, कलुष, अशुद्ध, मैलो, फोहोर आदिलाई जनाउँछ भने, मास शब्दले पूर्णिमा तिथिले आत्मसात् बारेका चित्रा आदि नक्षत्रका आधारमा समुत्पन्न चैत, वैशाख, जेठ आदि १२ महिनालाई जनाउँछ । निर्मल शुद्ध अवस्थामा रहेका यी महिनालाई दूषित अशुद्ध बनाउने पाप, मलिन आदि विविध अर्थ बुझाउने शब्द स्वीकार गरेको मल विशेषले युक्त महिनालाई मलमास भनिन्छ । यस्तो मलमास वैशाख, जेठ, असार, साउन जुन कुनै पनि महिनामा पर्न सक्छ । जहिले जुन वर्ष जुन महिनामा परे पनि सर्वथा शुद्ध अवस्थामा रहेका महिनाहरू कहिले, किन र कसरी अशुद्ध अर्थात् मलयुक्त हुन्छन् भन्ने कुरा नबुझेका सर्वसाधारण जनतालाई बुझाउनु नितान्त आवश्यक भएको छ । यही तथ्यलाई ध्यानमा राखी शास्त्रीय निर्णयका आधारमा बुझाउने यत्न यस लेखमा गरिएको छ । 
महिना सौर, चान्द्र, सावन, नाक्षत्र र वार्हस्पत्य पाँच प्रकारका हुन्छन् । तथापि यहाँ मलमासको सन्दर्भ भएकाले सो मासको मुख्य उत्पादक मानिने सौरमास र चान्द्रमासको मात्र चर्चा गरिन्छ । सूर्यले एक वर्षमा मेष, वृष आदि १२ महिनाको भोग गर्दछन् भने एक महिनामा एक राशिको, एक राशिको सूर्यको भोगाइ एक संक्रान्तिदेखि अर्को संक्रान्तिसम्मको महिना ३०, १, २ दिनको हुन्छ । यही भोगाइको महिनालाई एक सौरमास (सौरमहिना) भनिन्छ भने चन्द्रमाले शुक्लपक्षको प्रतिपदाको आरम्भदेखि औंसीसम्मका तिथिको भोग गर्दछन् । चन्द्रमाको यो भोगावधि २९, १, २ दिनको हुन्छ । यही अवधिको एक चान्द्र महिना वा एक चान्द्रमास हुन्छ । सूर्य र चन्द्रमाले भोग गर्ने यिनै दिनका हिसाबले सामान्यतया ३६५ दिनको एक सौर्य वर्ष हुन्छ भने ३५४ दिनको एक चान्द्र वर्ष हुन्छ । यसअनुसार एक वर्षमा सौर वर्ष र चान्द्र वर्षमा ११ दिनको अन्तर पर्न जान्छ । यो अन्तर वृद्धि हुँदै जाँदा धर्मशास्त्रमा कालनिर्णय गर्ने मूलग्रन्थ कालमाधवमा उपस्थापित ब्रह्म सिद्धान्तको
द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनै षोडषभिस्तथा । ।
घटिकानां चतुष्केण पक्षतित्यधिमासकः । । पृ., ५४
यो वचनअनुसार २ वर्ष ८ महिना १६ दिन ४ घडीमा ठीक १ चान्द्र महिना अधिक हुन जान्छ । यही अधिक हुन गएको चान्द्र महिनालाई नै अधिकमास अर्थात् मलमास भनिन्छ ।
३६५ दिनको सौरवर्षमा योभन्दा घटी ३५४ दिनको चान्द्रवर्ष कसरी अधिक हुन जान्छ र त्यसले अधिकमासको उत्पत्ति गर्छ भन्ने प्रश्नका रूपमा आएको जटिल समस्याको समाधान सिद्धान्त शिरोमणि ग्रन्थको मध्यगति वासनाधिकारको ‘सोरान्मासाद ऐन्द्रवो–मासो...’ यो विशेष प्रमाण वचनले यसरी गरेको छ– सौरमासभन्दा चान्द्रमास छोटो हुन्छ । त्यसैले सौरमासको संख्याभन्दा चान्द्रमासको संख्या अधिक हुन्छ । जस्तैः ८ माना अटाउने कुनै यौटा भाँडो पाथी वा डालीले धान्यादि अन्न भर्दा जति डाली हुन्छ ६ माना अटाउने डालीले मर्दा त्यो भन्दा बढी हुन्छ । त्यसैले सौरमास र चान्द्रमासको संख्या पनि त्यस्तै हुन्छ । सौरमासको संख्याभन्दा चान्द्रमासको संख्या जति बढी हुन्छ मलमासको संख्या पनि त्यति नै हुँदै जान्छ ।
यसरी सौरमासभन्दा अधिक हुन आउने चान्द्रमासपछि आउने प्रतिपदा तिथिको आदिम घडीदेखि त्यसको १ महिनापछि आउने अर्को औंसीको जन्तिम घडीभित्र सूर्यको एको एक राशिबार अर्को राशिमा जब संक्रमण (संक्रान्ति हुन सक्दैन त्यसवखत त्यस्तो सूर्य संक्रान्ति नभएको चान्द्रमासलाई नै मलमास भनि यक्ष स्थिति वा नियमअनुरूप पर्न गएको मलमासको वास्तविक स्वरूप २०८३ यसवर्षको पञ्चांग (पात्रो)ले स्पष्ट देखाएको छ । जुन यसप्रकार छ– नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृत पञ्चांग (पात्रो)अनुसार जेठ २ गते शनिबार औंसी रातिको ५२ घडी ५ पला छ । यो समयभन्दा अगाडि नै सूर्य मेष राशिबाट वृष राशिमा सरिसकेका हुन्छन् शुक्रबार नै जेष्ठ संक्रान्ति जेठ १ गते भइसकेको हुन्छ । औंसीको घडी पला ५२÷५ अर्थात् २६÷७ बजेपछि मात्र प्रतिपदा तिथि सुरु हुन्छ । औंसीको अन्त्य प्रतिपदाको सुरुभएपछि मात्र मलमास लाग्छ । त्यसो हुँदा जेठ २ गते शनिबार राति २६÷७ बजेपछि प्रतिपदाको सुरुको घडी ५२÷६ अर्थात् २६÷८ बजेबाट मलमास लाग्दा यसको १ महिनापछि आउने औंसी असार १ गते सोमबार १० घडी ५ पला बिहानको ९÷१२ बजेसम्म छ । यही अवधिसम्म मलमास रहन्छ । त्यसपछि शुद्ध मास सुरु हुन्छ । यौटा औंसीको भोलिपल्टको प्रतिपदा सुरु भएदेखि १ महिनापछि आउने अर्को औंसीको अन्तिम घडीसम्म पर्ने ३० तिथिभित्रको अवधिमा ज्योतिषको गणनाअनुसार संक्रान्ति परेको छैन । कुनै पनि महिना शुद्ध हुनका निम्ति प्रतिपदादेखि औंसीसम्मका ३० तिथिभित्र संक्रान्ति परेकै हुनुपर्छ । तर, यहाँ त्यो स्थिति छैन । त्यही कारण यिनै ३० तिथिले युक्त जेठ ३ गतेदेखि असार १ गते सम्मका ३० दिनलाई मलमास भन्नुपरेको हो ।
यसरी चान्द्रमासमित्र सूर्यसंक्रान्ति नपर्ने स्थति आउँदा सौरमान र चान्द्रमानको जुन प्राकृतिक समन्वय हुनुपर्ने हो त्यो भएको हुँदैन । सर्वथा समन्वय हुनुपर्ने यी दुई मासको समन्वय नहुँदा व्रत, पर्व, उत्सव आदि कुनै पनि चाडवाड मनाउनका निम्ति समय शद्ध हुँदैन । अशुद्ध एवं मलयुक्त हुन्छ । यो यस्तो निन्दित समयमा उपाशित अनुष्ठित जप, तप, व्रत, यज्ञ आदि कुनै पनि धार्मिक कृत्य र मनाइएका दशैं, तिहार, छठपर्व, गौरापर्व, तीजपञ्चमी, जनैपूर्णिमा आदि उत्कृष्ट फलप्रद चाडपर्व फलोत्पादक हुँदैनन् । अतः शास्त्र निर्दिष्ट कालमा पर्न आउने मलमासलाई व्रतपर्व उत्सवादि अर्को गति भएका काम्यकर्ममा त्याग गर्नुपर्छ र व्रतपर्व उत्सव आदिका निम्ति शुद्ध समयको प्रतीक्षा गरेकै हुनुपर्छ ।
अर्कोमा चान्द्रमास सर्वथा सौरमाससापेक्ष हुन्छ । मलमास नपर्ने वर्ष १२ महिनाको १ वर्ष हुन्छ भने मलमास परेको वर्ष तिथिका आधारमा १३ महिनाको १ वर्ष हुन्छ । त्यही मास नै मलमास हो । आधिकारिक पञ्चांगमा यो कुरा स्पष्ट देखाइएको छ । २०८३ को जेठ महिना ६० तिथिको छ । ती तिथि यसप्रकार छन् शुद्ध ज्येष्ठ कृष्ण, अधिक ज्येष्ठ शुक्ल, अधिक ज्येष्ठ कृष्ण र शुद्ध ज्येष्ठ शुक्लसमेत गरी १५, १५, तिथिका ४ पक्ष छन् । यी पक्षहरूमा अधिक ज्येष्ठ शुक्ल अधिक ज्येष्ठ कृष्ण पक्षका ३० ति िनै त्यही महिनामा पर्छन् । यिनै ३० तिथिको महिना मलमास हो । यो मलमास महिनामा पर्ने अधिक शुक्ल पक्षमा जन्म हुनेको जन्म तिथि । मृत्युहुनेको मरण तिथि अधिक ज्येष्ठ कृष्णपछि आउने शुद्ध ज्येष्ठ शुक्लमा पर्छ भने, अधिक ज्येष्ठ कृष्ण पक्षमा जन्मिनेको जन्म तिथि र मृत्यु हुनेको मरण तिथि चाहिँ १ महिनापछि आउने दोस्रो महिनाको कृष्ण पक्षमा पर्न जान्छ । अतः शुद्ध ज्येष्ठ कृष्ण मलमास सुरु हुनु भन्दा अगाडि नै आइसकेको हुँदा यस्तो स्थिति पर्न जाने हुन्छ । यो कुराको जानकारीका निम्ति एउटा मात्र उदाहरण यहाँ प्रस्तुत गरिन्छ । जस्तै – २००३, १९ ज्येष्ठ गते बिहीबार अधिक ज्येष्ठ शुक्ल पञ्चमी तिथि पर्छ, यो तिथिमा जन्मनेको जन्म तिथि । मृत्यु हुनेको मरण तिथि शुद्ध ज्येष्ठ शुक्ल पञ्चमी असार ५ गते शुक्रबार पर्छ भने ज्येष्ठ २४ गते आइतबार अधिक कृष्ण सप्तमीमा जन्मनेको जम्म तिथि र मृत्यु हुनेको मरण तिथि चाहिँ १ महिनापछि आउने आषाढ कृष्ण सप्तमी असार २३ गते मंगलबार पर्न जान्छ । मलमासमा जन्मने र मर्नेका निम्ति जहिले पनि जुन महिनामा मलमास परेतापनि यही नै नियम लाग्छ । यसरी मलमास भित्र पर्ने प्रतिपदादेखि औंसीसम्मका ३० वटा तिथि जन्म–मरण चाडपर्व आदि कुनैमा लिन मिल्दैन प्रयोगमा आउँदैनन् सर्वथा त्याज्य हुन्छन् ।
मलमासभित्रका तिथिहरू धर्मकर्मादि कृत्यमा प्रयोग नहुनाको कारण शास्त्रले स्पष्ट गरेको छ । जुन यसप्रकारछ– माघ देखि पुस महिनासम्मका शुद्ध अवस्थामा रहेका १२ महिना प्रत्येककोप्रतिनिधित्व गर्ने अरुण, सूर्य, भानु, स्तपन, चन्द्र, अर्यमा, हिरण्यरेता, दिवाकर, मित्र र विष्णु यी १२ देवता मासाधिष्ठात्रिकाख रूपमा रहेका हुन्छन् ।
मलमास यो महिना अधिकमास, नपुंशकमास, मलिम्लुच– मास आदि नामले पनि प्रसिद्ध छ । सौरमानअनुसार २ वर्ष ८ महिना १६ दिन ४ घडीमा १ चान्द्रमास अधिक हुने हुँदा अधिकमास । यस समयमा सूर्य संक्रान्ति नपर्ने हुँदा नपुंशक मास । पूजाआजा यज्ञयागादि कनै पनि शुभकर्म गर्न नहुने ( यक्षराक्षसादिले प्रसन्नता सुखका साथ (कुनै रोकतोकबिना) आफ्नो अस्तित्व स्थापित गर्ने हुँदा यो महिना मलिम्लुच मास यो निन्दित नामले पनि प्रख्यात हुन पुगेको छ
यसरी मलमास, अधिकमास आदि अनेक नामले प्रसिद्ध हुनपुगेको तेही महिनामा पर्ने अधिक शुक्ल र अधिक कृष्ण ३ पक्षका ३० तिथिमा स्नान, सन्ध्या, पितृतर्पण, पाठपूजा, वलिवैश्वदेव, अग्निहोत्र आदि अर्को गति नभएका अर्थात् अघि, पछि गरेर नहुने नित्यकर्म र आशोच, अन्त्येष्टि (मृतकको क्रियाकाष्ठा) जातकर्म, नामकर्म (न्बारन) आदि नैमित्तिक अकस्मात् पर्न आउने कर्मबाहेक कन्यादान, तुलादान, जमिनदान आदि दान एक, यज्ञयागादि कर्म, सप्ताह, नवाह, लक्षवर्ति, सत्यनारायणको पूजा आदि समस्त धार्मिक कृत्य, गृहारम्भ, प्रवेश, वास्तुपूजा आदि नवीनतम कर्म, रामनवमी, कृष्णाष्टमी, दुर्गाष्टमी, शिवरात्रि आदिको व्रत पूजा महालय श्राद्ध, एकोदिष्ट श्रद्ध, नान्दी श्रद्धादि पितृकृत्य, तीज पञ्चमी, जनै पूर्णिमा, तिहार आदि चाडवाड, विवाह व्रतबन्ध आदि मांगलिक, कर्म, इन्द्रयात्रा, अश्वयात्रा, रथयात्रा, तीर्थयात्रा आदि उत्सव आदि कुनै पनि कर्म गर्न गराउन शास्त्रले सर्वथा निषेध गरेको छ ।
उक्तअनुसार मलमासमा दशैं तिहारजस्ता नित्यकाम्य दुवै मानिने र व्रत जस्ता काम्य मात्र मानिने कुनै पनि कर्म गर्न नहुने भएपछि मलमासले आफू सबैतिरबाट अत्यन्त उपेक्षित आफू एवं तिरष्कृत भएको अनुभूत गरी चिन्तित भएर दुःखका साथ भगवान् पुरुषोत्तमको कारणमा गई आफ्नो अधिष्ठाता अधिपति कनिदिन अनुनय विनय गरेपछि भगवान्ले पनि मलमासको मार्मिक प्रार्थना निवेदन सर्वात्मना स्वीकार गरेको कुरा प्ररुषोत्तममास माहात्यमा प्रतिपादित छ ।
यसरी मलमासको स्वामी (अधिदेव) भगवान् पुरुषोत्तम बनिदिनुभएपछि मलमास पुरुषोत्तम मासका नामले पनि प्रसिद्ध हुन पुगेको छ । त्यसैले यो मासमा स्नान सन्ध्यादि नित्य र जुठो सूतकादि नैमित्तिक क्रियाका अतिरिक्त विवाह, व्रतबन्ध, यज्ञ, उत्सव, चाडपर्व, जात्रा अदि कुनै पनि शुभ (काम्य कर्म नगर्ने केवल उनै जगताधिपति भगवान् पुरुषोत्तमको मात्र श्रद्धा, आस्था र विश्वसका साथ भजन, कीर्तन, पूजा उपासना, वन्दना गर्ने उनको महात्म्य सुन्ने सुनाउने, पुनः उहाँको प्रसन्नता, तृप्तता र सन्तुष्टिका निम्ति वस्त्र, द्रव्य आदि विविध वस्तु दान प्रदान गर्न, मत्स्य नारायणको दर्शन पूजाआजा गर्ने त्यहाँ स्नान गर्ने गर्नुपर्छ । यो गर्ने चलन धर्मानुयायी जनमा अद्यापि चलिरहेको छ र चलिनै रहने पनि छ । पुरुषोत्तम भगवान्का निम्ति गरिने व्रत, दान, पूजा, उपासनाबाट आफ्नो र आफ्ना सन्ततिसमेत परिवारजन सबैको इहलौकिक सुखशान्ति र पारलैकिक परमपद (सद्गति) पनि प्राप्त हुने कुरा शास्त्रले निश्चित गरेको छ र जनमानसमा पनि यो कुरामा दृढ विश्वास रहिआएको छ ।

(धर्मशास्त्र विशारद गौतम नेपाल सरकार पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्षसमेत हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट