काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीले सडक र पुलको संरचना ध्वस्त बनाएपछि उत्तरी सीमासँगको नेपालको व्यापारिक तथा रणनीतिक सम्पर्कमा गम्भीर धक्का पुगेको छ । गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डमा मात्रै करिब ४० किलोमिटर सडक पूर्ण वा गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ ।
भदौ १० देखि रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा आएको बाढी तथा पहिरोले सडक, पुल, खानेपानी, निजी आवास र सार्वजनिक भवनमा ठूलो क्षति पु¥याएको छ । सडक विभागका अनुसार सडक तथा पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ ।
तर क्षतिग्रस्त संरचना तत्काल मर्मत गरेर यातायात सञ्चालन गर्नु र त्यसलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउनु फरक विषय भएकाले पुनर्निर्माणको लागत ५० अर्ब रुपैयाँभन्दा बढी पुग्ने विभागको प्रारम्भिक आँकलन छ ।
४० किलोमिटर सडकको संरचना ध्वस्त
बाढीले ८२ किलोमिटर लामो रणनीतिक महŒवको गल्छी–बेत्रावती–रसुवागढी सडक आयोजनामा सबैभन्दा ठूलो क्षति पु¥याएको छ । नुवाकोटको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटर खण्डमा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा बगेको वा गम्भीर रूपमा क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ ।
विदुर, बेत्रावती, मैलुङ र स्याफ्रुबेसी क्षेत्रमा त्रिशूली नदीको कटानले सडकको सतह मात्र क्षतिग्रस्त नभई कतिपय ठाउँमा सडक रहेको भूभागकै स्वरूप परिवर्तन भएको विभागका महानिर्देशक डा. विजय जैसीको भनाइ छ ।
सडकमा दुईदेखि तीन मिटरसम्म लेदो र ढुंगामाटो थुप्रिएको छ । त्यसलाई हटाउन हेभी उपकरण परिचालन गरिएको छ । सडक विभागका १४ वटा भन्दा बढी हेभी उपकरण र करिब ५० जना प्राविधिक जनशक्ति प्रभावित क्षेत्रमा खटिएको जानकारी उनले दिए ।
बेत्रावतीदेखि धुन्चेसम्मको सडक खुलाउनु अहिले सबैभन्दा कठिन काममध्ये एक बनेको छ । नदी कटान, कमजोर भूभाग र ठाडा भीरका कारण उपकरण परिचालनमा समेत समस्या देखिएको छ ।
पृथ्वी राजमार्गमा पनि जोखिम
बाढी र पहिरोले पृथ्वी राजमार्गको कृष्णभीर तथा परेवाभीर क्षेत्रमा पनि सडक अवरुद्ध बनाएको छ । जमिन कमजोर भएपछि नदी तथा पहिरोको कटानले सडकको फेदमा क्षति पु¥याउँदा सडक भासिएको हो ।
कृष्णभीर क्षेत्रमा पहाड काटेर वैकल्पिक ट्याक निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास भइरहेको महानिर्देशक जैसीले बताए । सडक विभागले तत्काल सडक सञ्चालनका लागि ३ करोड ५० लाख रुपैयाँ आपत्कालीन बजेट परिचालन गरेको छ । यो रकम अवरोध हटाउने, ग्राभेल गर्ने र तत्कालीन मर्मतमा प्रयोग भइरहेको छ । स्थायी पुनर्निर्माणका लागि भने छुट्टै ठूलो बजेट आवश्यक पर्ने विभागको अनुमान छ ।
३१ पक्की पुल क्षतिग्रस्त
बाढीले त्रिशूली तथा यसका सहायक नदी र खोलामा रहेका पुलमा समेत ठूलो क्षति पु¥याएको छ । प्रारम्भिक विवरणअनुसार ३१ वटा पक्की पुल पूर्ण रूपमा बगेका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।
कतिपय पुलका स्पान बगेका छन् भने केहीको फाउन्डेसनमा क्षति पुगेको छ । फाउन्डेसन सुरक्षित रहेको ठाउँमा बेली ब्रिज राख्न सकिने भए पनि जग नै बगेका स्थानमा नयाँ आधार निर्माण गर्नुपर्ने अवस्था छ ।
तत्काल यातायात सम्पर्क जोड्न देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा बेली ब्रिज राख्ने प्रक्रिया अघि बढाइएको छ । अन्य क्षतिग्रस्त स्थानको पनि प्राविधिक अध्ययन भइरहेको महानिर्देशक जैसीले जानकारी दिए । थप बेली ब्रिजका लागि भारत र चीनसँग सहयोग मागिएको विभागले जनाएको छ ।
५३ झोलुंगे पुलमा क्षति
मुख्य सडकबाट टाढाका ग्रामीण बस्ती जोड्ने झोलुंगे पुलमा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । ५३ वटा झोलुंगे पुलमा क्षति पुगेकोमा ३३ वटा पूर्ण रूपमा बगेका छन् भने २० वटा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । पुल बगेका कारण नदी वारपार गर्न नसक्ने अवस्था भएका ठाउँमा तत्कालका लागि पाँच स्थानमा अस्थायी तुइन राख्ने पहल गरिएको छ ।
विदुर नगरपालिका–१ को इन्द्रायणी चौरमा त्रिशूली नदीमाथि करिब २५५ मिटर लामो अस्थायी तुइन सञ्चालनमा ल्याइएको छ । देवीघाटमा करिब १८० मिटर लामो तुइन सञ्चालनको तयारी गरिएको छ । बेत्रावती र रसुवाका अन्य क्षेत्रमा पनि अस्थायी तुइन निर्माण अघि बढाइएको छ ।
३० हजार नागरिक खानेपानी संकटमा
बाढीले सडक र पुलसँगै खानेपानी संरचनामा पनि ठूलो क्षति पु¥याएको छ । नुवाकोटको विदुर र बट्टार क्षेत्रका करिब ३० हजार नागरिक खानेपानीको अभावमा परेका छन् ।
बेत्रावतीबाट विदुरसम्म पानी ल्याउने प्रतिसेकेन्ड ८० लिटर क्षमताको मुख्य पाइपलाइन बाढीले बगाएपछि नियमित आपूर्ति अवरुद्ध भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले बताए ।
विभागका अनुसार खानेपानी संरचनामा ६४ करोड रुपैयाँ र सरसफाइ तथा शौचालय संरचनामा २९ करोड रुपैयाँ बराबरको क्षति भएको छ । खानेपानी र सरसफाइतर्फको कुल क्षति ९३ करोड रुपैयाँ पुगेको छ ।
तत्कालका लागि बट्टारमा रहेको समपवेलबाट प्रतिसेकेन्ड करिब २३ लिटर पानी पम्पिङ गरी दैनिक १० देखि १२ घण्टासम्म वितरण गर्ने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट चारवटा ट्याङ्कर पठाएर प्रभावित बस्ती तथा विस्थापित केन्द्रमा पानी वितरण भइरहेको छ ।
जिल्लागत रूपमा धादिङमा ६५ इन्टेक र १११ रिजर्भवायर, रसुवामा १४ इन्टेक र १० रिजर्भवायर, नुवाकोटमा ११ इन्टेक र सात रिजर्भवायर तथा गोरखामा चार इन्टेक र २४ रिजर्भवायरमा क्षति पुगेको प्रारम्भिक विवरण छ ।
बाढीपछि पानीजन्य रोग फैलिन नदिन पानी परीक्षण, क्लोरिन, ब्लिचिङ पाउडर र एक्वाट्याब वितरण भइरहेको जानकारी महानिर्देशक श्रेष्ठले दिए ।
साढे सात हजार निजी घरमा क्षति
बाढी तथा पहिरोले निजी आवासमा पनि ठूलो क्षति पु¥याएको छ । प्रारम्भिक विवरणअनुसार ७ हजार ५७० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
नुवाकोटमा ३ हजार ९७७, रसुवामा १ हजार ७८९, धादिङमा १ हजार ४५७, गोरखामा २६३ र चितवनमा ८४ घरमा क्षति पुगेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले निजी आवासमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
त्यसैगरी विद्यालय, सरकारी कार्यालयलगायत ४५ वटा सार्वजनिक भवन क्षतिग्रस्त भएका छन् । ती संरचनामा करिब साढे चार अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
३ हजार ४५० विस्थापित
बाढी तथा पहिरोबाट विस्थापित ३ हजार ४५० जनालाई १६ वटा होल्डिङ सेन्टरमा राखिएको छ । अधिकांश विस्थापित विद्यालय तथा सार्वजनिक भवनमा आश्रय लिएर बसेका छन् ।
विद्यालयमा विस्थापित राखिँदा बालबालिकाको नियमित पठनपाठनसमेत प्रभावित भएको छ । उनीहरूलाई विद्यालयबाट अन्यत्र सार्न सरकारले अस्थायी प्रिफ्याब आवास निर्माण गर्ने तयारी गरेको छ । यसका लागि करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
दीर्घकालीन रूपमा जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत बस्ती विकास गर्ने सरकारको तयारी छ । घर पूर्ण रूपमा क्षतिग्रस्त भएका परिवारलाई स्थायी आवास निर्माणका लागि प्रतिघर ७ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने तयारी भइरहेको छ ।
तर विस्थापितलाई घर मात्र बनाएर समस्या समाधान हुने छैन । सुरक्षित जग्गा, रोजगारी र जीविकोपार्जनको व्यवस्था गर्नु पनि पुनस्र्थापनाको महŒवपूर्ण पक्ष हुनेछ ।
आपूर्ति जोगाउन वैकल्पिक मार्ग
मुख्य राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा इन्धन, ग्यास र अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी गरिएको छ । ठूला पेट्रोलियम ट्याङ्कर र ग्यास बुलेटका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रयोग गर्ने योजना बनाइएको छ । हेटौंडाबाट आउने इन्धनका सवारी रातको समयमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
बीपी राजमार्ग पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भए पनि माथिल्लो खण्ड साँघुरो र घुमाउरो भएकाले ठूला ग्यास बुलेट सञ्चालनमा कठिनाइ छ ।
कोदारी राजमार्ग सञ्चालनमा रहेकाले चीनतर्फको वैकल्पिक आपूर्ति मार्गका रूपमा त्यसलाई प्रयोग गर्न सकिने अवस्था छ । साना सवारीका लागि टोखा–छहरे हुँदै धुन्चे जाने मार्ग तथा धादिङबेसी–गोरखा–पोखरा मार्गलाई पनि वैकल्पिक सम्पर्कका रूपमा प्रयोग गरिएको छ ।
अब पूर्वाधारको डिजाइन नै बदल्नुपर्ने अवस्था
बाढीले पु¥याएको क्षतिले तत्काल पुनर्निर्माणभन्दा ठूलो प्रश्न नेपालको पूर्वाधार निर्माण मापदण्डमाथि उठाएको छ । सडक विभागका अनुसार कतिपय नदीमा बाढीको बहाव प्रतिसेकेन्ड ५२ मिटरसम्म पुगेको पाइएको छ । नेपालमा पुल निर्माण गर्दा सामान्यतः १०० वर्षको पुनरावृत्ति अवधिको बाढीलाई आधार मानेर डिजाइन गर्ने र त्यसमा करिब दुई मिटर ‘फ्री–बोर्ड’ राख्ने अभ्यास छ ।
तर यसपटकको बाढीको परिमाण र बहावले परम्परागत डिजाइन मापदण्डमाथि पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको विभागको निष्कर्ष छ ।
अब निर्माण हुने पुल तथा सडकलाई पहिलेभन्दा अग्लो, लामो र बढी जोखिम सहन सक्ने गरी डिजाइन गर्नुपर्ने आवश्यकता देखिएको छ । जलवायु परिवर्तनका कारण बाढी तथा पहिरोको जोखिम बढ्दै गइरहेको अवस्थामा पूर्वाधार निर्माणमा जलवायु–अनुकूल प्रविधि र जोखिममा आधारित डिजाइनलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।