नेभिगेशन
दृष्टिकोण

जीवनको आरम्भ र स्थापनाको पर्व घटस्थापना

हाम्रो मौलिक संस्कृतिको पर्याय दशैं, बडा दशैं आइपुगेको छ । दशैंको पूर्व सन्ध्यामा भएका देशैभरिका दुःखद चित्रहरूका बीच यसपालिको दशैं सकी नसकी मान्नुपरेको छ । घटस्थापना दशैंको पूर्व दिन हो भने कोजाग्रत पूर्णिमा त्यसको समापनको दिन हो ।

दशैंको उत्कर्ष विजयादशमी हो । दशमीदेखि विजयोत्सव मनाउँदै आश्विन शुक्ल प्रतिपदामा राखिएको जमरा विसर्जन भने पूर्णिमाका दिन गरिन्छ । यसो हुँदा १५ दिन लामो चाड हो यो । दुर्गापूजाका नामले सिद्धि प्राप्त यो पर्वको नवमी तिथि श्रीभवानीको पृथ्वी उदयकालीन समय हो । वर्षभरका चार नवरात्रिमध्ये उत्कृष्ट नवरात्रि पनि हो जसलाई शारदीय नवरात्रि भनिन्छ ।

घडामाथि तामाको थालीमा अष्टदल, श्रीयन्त्र लेखी नवदुर्गा स्थापना गरी विशेष पूजा गरिने देवीका तीन मूलस्वरूप श्रीमहाकाली, श्रीमहालक्ष्मी र श्रीमहासरस्वती हुन् । सृष्टिको आदिमकालदेखि ब्रह्मा, विष्णु, महेशको स्तुति वन्दना गरिएकी देवी कल्याणमयीका रूपमा चिनिन्छिन् र उनलाई भुवनेश्वरीदेवी पनि भनिन्छ । मणिद्विप निवासिनी देवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवी भागवत, कालिका पुराण, दुर्गा सप्तशती आदिमा गरिएको पाइन्छ ।

चैत्र शुक्ल प्रतिपदादेखि आरम्भ गरी घटस्थापना गरेर पहेंला जमरा ग्रहण गरी शुभ आशीर्वाद लिई सत्य रूप मर्यादा पुरुषोत्तम श्रीरामले असत्यरूप रावणमाथि विजय प्राप्त गर्न सकेको स्मरणस्वरूप मनाउँदै आएको शुभ विजया उत्सव सबैका लागि सजिलो होस् भनी शारदीय नवरात्रिका रूपमा मान्दै आइएको हो ।

अघि नारदकै श्रापका कारण श्रीविष्णुले मनुष्य अवतार लिनुपरेको र नारद गुरुकै उपदेशानुसार लंकाका रावणबाट अपहरित सीतालाई सकुशल फिर्ता ल्याउन र रावणमाथि विजय प्राप्त गर्न घटस्थापनाको विधि बताइएको हो । घटस्थापनामा प्रयोग हुने जौ अन्नको सर्वाधिक शक्तिशाली नै हो । जौमा अत्यन्त पोषणतत्त्व रहेको र जुनसुकै बिरामीलाई पनि सेवनयोग्य भएको कुरा वैज्ञानिक पुष्टि भएको छ ।

गाईको गोबर अत्यन्त पवित्र मानिन्छ । यसमा रोगका किटाणुहरू बस्न नसक्ने हुन्छ । माटाको घडामा गोबर टाँसी जौ रोप्ने र त्यसरी उमारिएको जौको जमरा शिरमा ग्रहण गर्नाले मन मस्तिष्क स्वच्छ, पवित्र भई आशीर्वाद योग्य हुन्छ । जौको जमरा मालाबाट देवी प्रशन्न हुने र इच्छासिद्धिको वरदान दिने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् ।

घटस्थापनाको दिन विशेष वैदिक मन्त्रद्वारा स्थापित जमरा वेदीमा नव दुर्गाको विशेष पूजा गरिन्छ । ९ दिनसम्म पूजा गरिने देवीका नामहरू– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री हुन् । सुरुको दिन नवदुर्गा उपासना गर्नुअघि देवीको स्वर्णप्रतिमालाई पञ्चामृतले पखालेर, आगोमा सेकाई प्राणप्रतिष्ठा गर्ने क्रममा तिल जौ राखी तामाको थालीमा अष्टदल श्रीयन्त्रमाथि मध्य भागमा स्थापना गरिन्छ । 

कुश, फूल, अक्षता, जौ, तिल, जलसहित वेदका मन्त्रले प्राण प्रतिष्ठा गरिन्छ । आवाहन मुद्राले देवीको आवाहन गरेपछि ध्यानमुद्राले विशेष प्रार्थना गरिन्छ । सकेसम्म षोडशोपचारविधिले पूजा गरी अंग पूजासमेत गरिन्छ । अंगपूजा गर्दा पाउदेखि शिरसम्म क्रमशः दुर्गा, महाकाली, मंगला, कात्यायनी, भद्रकाली, कमला, शिवा, स्कन्दा, महिषासुरमर्दिनी, उमा, विन्ध्यवासिनी आदि देवीको विशेष पूजा गरिन्छ । 

निराजन, पुष्पाञ्जली गर्दै चण्डमुण्ड विनाशिनी देवीले मेरा सम्पूर्ण इच्छाहरू सिद्धि गरिदिऊन् भनी स्तुति पुकार गरिन्छ । दुर्गा, क्षमा, स्वाहा, स्वधा, धात्री आदि देवीले मेरो सर्वत्र विजय गराऊ, आरोग्य प्रदान गर, सर्वत्र कल्याण गराई सुख र सम्पूर्ण मनोरथका साथै पुरुषार्थ प्राप्तिमा सहयोगी बन भनेर वन्दना गरिन्छ । 

Achyut-Prasad-Paudel-1757129561.jpg
अच्युतप्रसाद पौडेल ‘चिन्तन’

सप्तशतीस्तोत्र पाठ गर्दै जगज्जननी माताले मेरा तनमा कान्ति र मनमा शान्ति प्रदान गर, म मेरो परिवार र मेरा सबै वातावरण अनुकूल बनाऊ भन्दै जगतकी माता जगत्जननी अम्बाले मेरो सुकीर्ति बढाई सर्वत्र सिद्धि देऊ भनी विशेष उपासना गरिन्छ ।

देवीउपासनालाई नित्य र काम्य गरी २ प्रकारमा विभाजित गरिएको छ । नित्य उपासनाअन्तर्गत पाञ्चायन पूजामा ५ देवतामध्ये देवी शक्ति स्वरूपा प्रमुख मानिएकी छिन् । देवीकै उपासनाले धर्म, अर्थ, काम र मोक्ष प्राप्ति हुने हुँदा काम्य पूजाअन्तर्गत पनि उनको उपासना गरिन्छ । कामनापरक होस् या निष्कामपरक देवीको आराधना गर्ने चलन पूर्वीय पद्धतिमा सृष्टिको उषाकालदेखि नै भएको हो । 

जलशायी सृष्टिकर्ता सर्वेश्वर श्रीविष्णु अघि देवीरूपमा नै रहेको र देवीको कृपा प्रसादले श्रीविष्णु महापुरुष बनेका हुन् । सृष्टिको आरम्भमा मधु र कैटभको विनाश गरी मोह र लोभरूपी संसारको साकार जगत् स्थापनामा उनै परम्बा देवीको हात रहेको कुरा शक्ति साधना, तन्त्र साहित्य एवं देवी उपनिषद् तथा देवी माहात्म्यहरूमा चर्चा पाइन्छ । देवीका उपासकहरू सात्विक, राजसी र तामसी तीनथरीका हुन सक्छन् । 

पूजा, प्रक्रिया र विधान फरक भए पनि सबै प्रकारका मानिसहरूले देवीको आराधना यथोचितरूपमा गरेकै हुन्छन् । छल, प्रमाद र आलस्ययुक्त भएर देवी उपासनामा निष्क्रिय रहनेहरूद्वारा देवी क्रुद्ध भई श्राप गर्छिन् भनी कालिकापुराणले उल्लेख गरेको छ । विष्णुधर्माेत्तरग्रन्थले सूर्याेदयदेखि १० घडी अर्थात् ४ घण्टासम्मको समयलाई प्रातः बेला बताएको छ । घटस्थापनाकाल प्रातः बेला हो । 

औंसीसहितको प्रतिपदा भने घटस्थापनाको लागि निषिद्ध छ । नित्य प्रातःस्नान नित्यकर्मपछि प्रातः समयमै नवरात्रिभर देवीको विशेष पूजा सम्पन्न गर्दै देवी भागवत, दुर्गाकवचसहितको दुर्गा सप्तशती पाठ एवं बेलुकी सन्ध्यावन्धन तथा देवीको आरती आराधना गर्ने विधान छ ।

घटस्थापनाले जीवनको आरम्भ र स्थापनाको संकेत गर्छ । मानिसको पूर्ण आयु १०० वर्ष हो । एकदिनलाई १० वर्षको संकेत गर्दै यवांकुर गरेर जीवनलाई जीवन्त बनाउन सुरुमा सिर्जनाको संकेत अन्नको राजा जौ छर्ने, जलपूर्ण घडा स्थापना गरी स्थापित जीवनको आरम्भको संकेत दिने समय हो यो । जीवनमा शक्तिपुञ्ज हरघडी आवश्यक पर्ने हुनाले शक्तिको पूजा गरी आफू विजयी हुने र सकेसम्म कालजयी हुने प्रयास प्रारम्भको संकेत पनि हो ।

स्तुति साहित्यले सृष्टिकर्ता ब्रह्माकी शक्तिदाता सर्वेश्वरी ब्रह्मायणीको खुलेर प्रशंसा गरेको छ । नवरात्रिमा अलग–अलग स्वरूपले पूजिने उनै देवी नव दुर्गाको पहिलो रूप हिमालयपुत्री शैलपुत्री हो । देवीकै स्वरूप सम्झेर नवरात्रिभर कन्या पूजा गर्ने पनि विधान र प्रक्रिया रहेको छ । कुमारी, कन्यालाई देवी दुर्गाका रूपमा पूजा गर्ने चलन आदिम कालदेखि नै रहेको छ ।

हिमालयपुत्रीका रूपमा जन्मिएकी उमा स्वयं धर्तीरूपा मातृशक्ति हुन् । नवरात्रिमा कन्याको पूजा अधिक महत्त्वको रहेको छ भने अष्टमी र नवमीका दिनमा सर्वाधिक महत्त्व रहेको छ । कुमारीका प्रमुख ९ स्वरूपमध्ये– कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा हुन् । स्वरूप फरक भए पनि कार्य एकै देखिने कन्या बाल सुलभा हुन् । 

राजर्षि जनकको संरक्षणमा हुर्केकी कन्या जानकी सीता रासेश्वरी श्रीकृष्णकी बालसखा श्रीराधारानी, वृन्दावनका गोपकन्या, देवहुती पुत्रीका रूपमा धर्ती अवतरित नवधा भक्ति स्वरूपिणी नवदुर्गा स्वयं देवीका अनेकौं विभूति रूपहरू हुन् । कुमारी पूजामा आदि भौतिक दृष्टिले २ देखि १० वर्ष भित्रकी महिनावारी नभएकी उत्तम कन्यालाई पूजा योग्य मानिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्