नेभिगेशन
दृष्टिकोण

ओली हठले सक्किएको एमाले

नेकपा एमालेको इतिहास गौरवशाली छ, संघर्ष, सिद्धान्त र संगठनको बलमा उभिएको पार्टी हो यो । तर पछिल्ला केही वर्षमा पार्टीभित्र देखापरेको व्यक्तिकेन्द्रित हठ, तानाशाही प्रवृत्ति र अस्वस्थ राजनीतिक अभ्यासहरूले पार्टी घरको न घाटको अवस्थामा पुगेको छ । यसमा सबैभन्दा बढी जिम्मेवार व्यक्तिका रूपमा वर्तमान अध्यक्ष केपी शर्मा ओली देखिन्छन् ।

ओली नेतृत्वको असहिष्णुता र आलोचना अस्वीकृत गर्ने स्वभावको एउटा प्रबल उदाहरण पार्टीका वरिष्ठ नेता भीम रावललाई पार्टीबाट निष्कासन गर्नु हो । रावलले विधानसम्मत ढंगले अध्यक्षको कार्यशैलीमा प्रश्न उठाएका थिए । 

तर ओलीले त्यो आलोचना सहन सकेनन् र उनलाई संगठन विरोधी गतिविधिको आरोप लगाउँदै निष्कासित गरे । यही प्रवृत्तिले माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसालजस्ता नेता पनि पार्टीबाट टाढिए ।

२०७८ सालमा एमालेको इतिहासमा पहिलोपटक विधान महाधिवेशन बोलाउनु पनि ओलीकै नेतृत्वको कठोर निर्णयको परिणाम थियो । उनले पार्टीभित्रको असन्तोषलाई विधिसम्मतरूपमा सम्बोधन गर्नुको विधान महाधिवेशन गरेर आफूलाई सर्वेसर्वा घोषणा गर्ने दम्भमै लागिरहे । 

उनले दोस्रोपटक फेरि महाधिवेशन किन गरे भने आफूसँग असहमत नेताहरूलाई बोहक गर्दै पार्टीमा आफू निर्विकल्प प्रमाणित गराउने भ्रममा रमाउने उद्देश्यका लागि ओलीको अध्यक्षतामा पार्टीको बैठकसमेत नियमित हुन छाडेको थियो । 

उनले पटक–पटक पार्टीको बैठक आफ्नै निवास बालकोटमा बोलाए, पार्टी कार्यालयमा हुनुपर्ने बैठकहरूलाई घरमै सीमित गरेर पार्टीको संस्थागत संरचनालाई बेवास्ता गर्न उपक्रम आज होइन अध्यक्ष भएकै बेलादेखि गर्न थालेका हुन् ।

काठमाडौं महानगरपालिकाले प्रशासनिक अधिकृत फेर्ने राय राख्दा ओलीले आफैंले पठाएको अधिकृतले नै काम गर्न पाउनुपर्ने अडान राखिरहे । पालिकाको स्वायत्तताको अपमान गर्दै उनले जनप्रतिनिधिसँग निहुँ खोजे, जुन पार्टीको लोकतान्त्रिक मूल्यविरुद्धको कदम थियो ।

एकपटक उनी प्रधानमन्त्री भएका बेला मिर्गौला प्रत्यारोपणका लागि सिंगापुर जानुअघि बालुवाटारमा बसेको बैठकमा माधव नेपालले ओलीको स्वास्थ्य लाभको शुभकामना दिँदा ‘चाहिँदैन तपाईंको शुभकामना’ भन्ने ओठे जवाफ दिएका थिए । यो संकीर्णता, आत्मघाती अहंकार र राजनीतिक अपरिपक्वताको चरम अभिव्यक्ति हो । यस्तो व्यवहार गर्ने मान्छेबाट मुलुकले के अपेक्षा गर्न सक्छ ?

pathak-manch-1758676995.jpg
यस्तै, पार्टीकी नेत्रीहरू विन्दा पाण्डे र उषाकिरण अधिकारीलाई उनले पार्टीका पदबाट हटाए । तर उनीहरूको पुनर्बहालीका लागि उनले राखेको सर्त ‘मेरो आलोचना नगर्ने भए जिम्मेवारी दिन्छु’ भन्नु आफैंमा लोकतान्त्रिक मूल्यको घोर अपमान हो । पार्टी अध्यक्षको आलोचना गर्न नपाइने हो भने पार्टीभित्रको आलोचनात्मक चेत समाप्त हुन्छ, जुन तानाशाहीको लक्षण हो ।

ओलीको हठकै कारण बनाइएको दमक भ्यु टावर एकदमै अव्यावहारिक परियोजना साबित भयो । यसले जनताको करको पैसा खेर गएको छ भने आर्थिक र पर्यटन दृष्टिकोणले त्यसको उपयोगिता न्यून छ । त्यस्तै धरहराको उद्घाटन ओलीले २०७८ साल वैशाख ११ गते गरेका थिए । तर आजसम्म त्यसको सञ्चालन सुरु हुन सकेको छैन । 

उनलाई उद्घाटनमा कति धेरै रहर रहेछ भन्ने जनताले देखेकै कुरा हो, आखिर नेतृत्वले गर्नुपर्ने ‘डेलिभरी’ भन्दा ओठे भजनमा रमाउने उनको स्वभाव पुष्टि भइसकेको छ । ओलीको हठ, अन्यायपूर्ण निर्णय र तानाशाही प्रवृत्तिका कारण एमाले मात्र होइन, देश नै संवेदनशील मोडमा पुगेको छ । पार्टीभित्र आलोचना गर्न नसक्ने कार्यकर्ताहरूको मौनताले ओलीलाई निरंकुश बनाइरह्यो । अबको प्रश्न अहिले पनि तीनै ओलीलाई पार्टीको अगुवाइमा अघि सार्नु भनेको बाँकी रहेको साख पनि सिध्याउनु हो । 

अब एमालेले संस्थागत, लोकतान्त्रिक र समावेशी नेतृत्व रोज्नुपर्छ, जसले पार्टीभित्र आलोचना सहने, छलफल गर्ने र सबलाई समेट्ने संस्कृति विकास गर्छ । त्यसैले पार्टीका नयाँ पुस्ताले अब अदम्य साहस देखाउनुपर्ने बेला भएको छ । अब पार्टीका लागि ज्यान दिएका छौं भन्ने पार्टीका साथीहरूले सोच्नुपर्ने बेला भएको छ ।

- चुडामणि उपाध्याय, भुल्के, भोजपुर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्