काठमाडौं, १२ असोज - शारदीय मौसम नै मोहक हुन्छ, र यही मौसममा दशैं पर्छ । दशैंको सांस्कृतिक र सामाजिक महत्व बेग्लै छ । साना उमेरका लागि नयाँ ‘नाना र खाना’ दशैंको आकर्षण हो । खानपान र भेटघाटको उत्सव दशैंलाई धेरै कुराले रमाइलो बनाउँछ ।
दशैंलाई रमाइलो बनाउने एउटा कुरा हो, नयाँ नोट । दशैंको टीकासँगै दक्षिणामा दिइने नयाँ नोटले दशैंको रौनक थप्ने गरेको छ । ‘टीकाको थालीमा दक्षिणाको लागि राखिने नयाँ नोट हाम्रो सांस्कृतिक प्रतीक सरह भएको छ,’ अर्थशास्त्रका प्राध्यापक पार्थिवेश्वर तिमिल्सिना बताउँछन् ।
आफू नेपाली कागजी नोटभन्दा जेठो भएको बताउँदै उनले आफू सानो छँदा सिक्काको प्रयोग हुने गरेको बताए । ८३ वर्षीय अर्थशास्त्री तिमिल्सिना मुद्राको अवमूल्यनसँगै दक्षिणामा सिक्का लोप भएर नोटको चलन चलेको बताउँछन् । ‘शहर बजारमा ५, १०, २० को नोटको चलन हुन्थ्यो भने गाउँघरमा १, २, ५ को नयाँ नोटले पनि उत्साह थप्ने गरेको थियो,’ उनले भने ।
२०४० सालमा काठमाडौंमा पढ्न आउँदादेखि आफूले भोजपुर घर जाँदा राष्ट्र बैंकबाट नयाँ नोट लिएर जाने गरेको स्मरण गर्छन् ७० वर्षीय चुडानाथ उपाध्याय । निजामति सेवाबाट अवकाश पाएका भट्टराई दक्षिणसँगै नयाँ नोट दिनुको शास्त्रीय महत्व रहेको बताउँछन् ।
‘टीका दुर्गाको प्रसादको रूपमा लगाउने गरिन्छ,’ उनी भन्छन्, ‘त्यो टीकासँगै दिने नोट पनि नयाँ हुनु स्वभाविक हो । सिक्कलाई त पखालेर वा आगोमा सेकाएर पनि चोखो बनाउन सकिने भयो । तर नोटको हकमा त्यो नहुने हुँदा दशैंमा नयाँ नोटको महत्व भएको हो ।’
त्यो सामाजिक विगतको ऐतिहासिक पक्ष पनि छ । नेपाली नोटको प्रचलन २००२ सालेखि सुरु भएको हो । त्यतिन्जेल सरकारको प्रबन्धमा नेपाली नोट विदेशमा छापेर ल्याउने गरिएको थियो ।
नेपालको केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंकको स्थापना २०१३ सालमा भएपछि बैंकको आफ्नै प्रबन्धमा २०१६ सालदेखि नेपाली नोट छाप्न थालियो । नेपालमा त्यतिन्जेल भारतीय रुपैयाँ (भारु) नोटको प्रचलन रहेको थियो ।
भारुका नोटको प्रचलनले नेपाललाई खास फाइदा भइरहेको थिएन । अझ विनिमय दर फेरिइरहँदा जनता मारमा पर्थे । विनिमय दरको फेरबदलको फाइदा भने नोट साट्ने बेपारी जसलाई सराफा भनिन्थ्यो तिनले मात्र पाइरहेका थिए । २०१३ सालमा केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंकको स्थापनापछि नेपालमा नेपाली नोटको प्रवद्र्धन थालियो ।
‘नेपाली नोटको प्रवद्र्धन नेपालको राष्ट्र निर्माणको अभियानसँगै भएको हो,’ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्, ‘राष्ट्र निर्माणको क्रममा नेपाल र नेपालीपनको स्थापना गर्न; हाम्रो पहिचान स्थापित गर्न पनि नेपाली नोटको प्रवद्र्धन गरिएको हो ।’
त्यो बेला सरकारले नेपाली नोटको प्रचलनको लागि सूचना जारी गर्दा पनि त्यो प्रभावकारी भएन । चाडवाडमा नयाँ नेपाली नोट दिँदा त्यो पनि नोटको प्रचलन बढाउने एउटा आधार थियो ।
‘भारतीय नोट त नयाँ पाइने भएन अनि दशैंमा नयाँ नेपाली नोट दिएर पनि नेपाली नोटलाई प्रतिस्थापन गर्न अभियान चलाइएको थियो,’ थापाले भने, ‘दशैंको नयाँ नोटको प्रचलन हाम्रो परम्परा हो । जनताले नयाँ नोट माग्दा राष्ट्र बैंकले नयाँ नोट दिनुपर्छ । यो हाम्रो ऐतिहासिकता र परम्परा पनि हो ।’
डिजिटल कारोबार बढ्दै जाँदा नोटको आयु पनि बढेको छ । विगताम एक पटक छापेको नोटले ४ वर्ष पुग्थ्यो भने अहिले नोट झण्डै ६ वर्ष टिक्छ । यसरी नोटको आयु बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले नोट छाप्ने तालिकालाई पनि ढिला गर्न थालेको छ । अनि यसको असर दशैंमा दिइने नयाँ नोटमा पनि पर्ने गरेको छ ।
‘हामी उत्तरआधुनिक युगमा छौं भन्छौं,’ थापाले भने, ‘नयाँ–नयाँ वैज्ञानिक आविष्कारले हाम्रा कतिपय मान्यता भत्किँदै छन् । यद्यपि हामीले कतिपय सनातनी परम्परालाई जारी राखेका छौं । नयाँ नोटको प्रचलनले हाम्रो मौद्रिक इतिहास र राष्ट्र निर्माणको त्यो कठिन समयलाई स्मरणमा ल्याउँछ ।’
नेपालमा संस्थागत स्मरण नहुँदा हाम्रो विगत नासिँदै जाँदो छ । ‘मानिसले हाम्रो इतिहास विर्से, हाम्रा प्रयास र जुक्ति बिर्से,’ थापाले भने, ‘यो सांस्कृतिक प्रतीक भएकाले यसलाई निरन्तरता दिनुपर्छ ।’