ग्रीक शब्द एनिमोनीको अर्थ हुन्छ, आँधी । ड्यानिएल डे–लुइसको आउँदो सिनेमा ‘एनिमोनी’ पनि फिल्म जगत्मा आँधी सरह हुनेछ । सन्यास लिन्छु भनेर आठ वर्ष मौन बसेका उनलाई छोरो रोनानले बाबु–छोराको कथा बताउने फिल्ममा खेलाएका हुन् ।
दसैंमा दुर्गापूजा गर्दा ‘जयन्ती मंलगा काली, भद्रकाली कपालिनीस रुद्रा क्षमा शिवा धात्री स्वाहा स्वधा नमातुते’भन्दै पाठ गरिन्छ । सो पाठको एक पंक्तिमा रहेको ‘पुत्रान् देहि धनं देहि’ भन्दै दुर्गाभवानीसँग पुत्र र धनको लागि पनि उपाशना गर्ने गरिन्छ ।
छोरा भयो भने आफ्नो वंश विस्तार हुने मान्छेको सोच हुन्छ र छोरोको चाह गर्छ भनिन्छ । यस्तो धारणा सनातनी समाजमा प्रवल रहेको आलोचक बताउँछन् । तर अहिले समाज उत्तर आधुनिकताको पनि सुदूर आधुनिकतामा पुगिसकेका बेला पुरातन मान्यतामाथि प्रश्न गरिन्छ ।
यद्यपि, पौराणिक कथाको प्रभाव अधिक रहेको सनातनी नेपाली समाजमा पुत्रमोह सम्बन्धि महाभारतको प्रसंग हामी बारबार सुन्छौं । जहाँ धृतराष्ट्रको पुत्रप्रेमलाई अतिशय मानिन्छ । सो दृष्टान्तको सार हो, पुत्रलाई त्यस्तो प्रेम पनि गर्नु हुँदैन, जहाँ सत्य र असत्यको सीमा नै मेटियोस् । एउटा उखान छ ‘मान्छे सबैसँग अपराजित हुन चाहन्छ सिवाय आफ्ना सन्तान’ । मान्छेले आफ्नो सन्तानले आफूलाई नाघेर नाघेर जाओस् भन्ने चाहन्छ रे ।
२०४६ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनस्र्थापित भएर ३० वर्ष पुरानो राजा हालिमुहाली हुने पञ्चायत ढल्यो । प्रजातन्त्र आएपछि ललितकला क्याम्पसका अध्यापक रहेका कलाकार मनुजबाबु मिश्र ‘यस्तो व्यवस्था चाहिँदैन’ भनेर भूमिगत बसे । स्वास्थ्य र अन्य अत्यावश्यक काम पर्दाबाहिर निस्कनेबाहेक उनले आफ्नै कुटी ‘हर्मिताज’ मा गुप्तवास बसेर सिर्जनाकर्म गरिरहे ।
उनले बताएका थिए – बिदा माग्दा क्याम्पस पदाधिकारीले ‘बिदा मिल्दैन’ भन्दै छुद्र व्यवहार बोले । बहुदलमा मैमत्त भएका ती पदाधिकारीको व्यवहारले मिश्रलाई राजीनामा लेखायो । केही महिनाले पाक्न बाँकी पेन्सनको वास्ता गरेनन् ।
उनले बहुदल छउन्जेल भोट हाले कि हालेनन् तर गणतन्त्र आइसकेपछि छोरा पत्रकार रवीन्द्र मिश्र सांसद पदमा उठेका बेला भोट हाल्न गएको कुरालाई ‘लोकतन्त्रको सौन्दर्य’ भनी टिप्पणी गरियो । यहाँ, धृतराष्ट्रसँग मिश्रलाई तुलना गर्न खोजिएको गलत आरोप कदापि नलागोस् । मिश्रकै कलाकृतिझैं आखिर देखिने मानवीय कायापछाडि नदेखिने दानवीय भाव लुकेको हुन्छ ।
अहिले हामीलाई यो प्रसंगको स्मरण पत्रकार रवीन्द्र मिश्रले लामो समय बिताएको बीबीसीको देश बेलायतका एक अभिनेता ड्यानिलय डे–लुइसले गराएका हुन् । लण्डनमा जन्मिएका र हुर्किएका ६८ वर्षीय ड्यानियलले आफ्नो ५६ वर्षे अभिनय कर्मका दौरान जम्माजम्मी २६ वटा सिनेमामा मात्र काम गरे । ती २६ मध्ये अधिकांश सिनेमा अभिनय र फिल्म जगत्को ‘गीता’ सरह छ ।
लण्डनमै जन्मिएर हुर्किएका पाकिस्तानी मूलका लेखक हानिफ क्युरेसीको ‘माइ ब्यूटीफूल लण्डेट’बाट प्रभावशाली अभियन देखाएको डनियलको अभिनय उडान ‘माइ लेफ्ट फुट’, ‘लास्ट अफ द मोहिकन्स’, ‘एज अफ इनोसेन्स’, ‘बक्सर’ हुँदै अघि बढ्यो ।
‘देयर विल बि ब्लड’सम्म आउँदा त उनी महान् कलाकार प्रमाणित भइसकेका थिए । उनको कलाको अद्भूत आरोहण ‘ग्याङग्स् अफ न्युयोर्क’, ‘लिङ्कन’, ‘प्यान्थम थ्रेड’मा निरन्तर झैं देखियो ।
तर उनले सन् २०१७ मा अभिनयबाट सन्यास लिने घोषणा गरे । हुन त त्यसअघि पनि उनले केही वर्ष विश्राम लिएका थिए तर सन् २०१७ को घोषणा भने अब अभियन गर्दिनँ भन्ने खालको थियो ।
ड्यानियलले जति सिनेमामा काम गरे सिर्जनाको पराकाष्ठामा पुगेर गरे । बलिउडका आमिर खानलाई ‘मिस्टर परफेक्सनिस्ट’ भनिन्छ । त्यसो हो भने ड्यानिललाई ‘परफेक्सनिस्ट’ का जिजुबुवा भनिदिए हुन्छ । उनी अभिनयलाई गहिरो व्यक्तिगत तथा रूपान्तकारी काम मान्छन् ।
‘अभिनय गर्नु भनेको चरित्रसँग गहिरोगरी जोडिएर तीनको कथालाई सत्याभास गराउँदै प्रस्तुत गर्ने कला हो,’ उनी भन्थे, ‘यसको तुलना न पैसासँग गर्न सकिन्छ न त प्रसिद्धीसँग ।’
उनले आफ्नो अभियन कर्मका दौरान तीन पटक ओस्कारका नामले चिनिने एकेडेमी अवार्ड पाए भने चार पटक बाफ्टा र तीन पटक स्क्रिन एक्ट गिल्ड र दुई पटक गोल्डेन गोल्ड अवार्ड पाए ।
सिजर्ना कर्ममा लागेकाले सन्यास लिनु बडो अद्भुद् कुरा हो । यो ‘निर्वाण’ निकटको अनुभव हुनुपर्छ । महान् अमेरिकी लेखक पिलिप रोथले पनि अब मैले सन्यास लिएँ भनेर लेखन ट्याक्कै छोडेर गाउँ गएर बसेका थिए ।
सन्यास लिएका ड्यानियल आठ वर्षपछि अभिनयमा फर्कंदैछन् । उनी आफ्नै पुत्र रोनान डे–लुइस निर्देशित सिनेमा ‘एनेमोनी’ मार्फत पर्दामा आउँदैछन् । ‘कुछ तो लोग केहेंगे, लोगोंका काम हे केहेना’ भन्ने हिन्दी गीतलाई सम्झाउँदै लोकले ड्यानियलाई प्रश्न गर्यो– अभिनय त्यागेको भनेका होइनौं ?
उनले प्रतिवाद गर्दै भने– मैले जे गरिहेको थिएँ, त्यसबाट अलग भएको थिएँ, तर अर्को खालको काम गर्न चाहेको थिएँ । मैले अभिनयबाट सन्यास नै लिन्छु भनेको थिइनँ । महान् सर्जकहरू कमण्डलू भिरेर जंगल नपस्दासम्म तिनका कामले समाजलाई उपदान नै हुन्छ ।
ड्यानिलजस्ता कलाकारको अभिनय हेर्न पाउनु पनि दर्शकहरूलाई खुशीकै कुरा हो । आउँदो सेप्टेम्बरमा न्युयोर्क फिल्म फेस्टिवलमा पहिलो प्रदर्शन हुने ‘एनिमोनी’बाबु–छोराको सम्बन्धमाथिको कथा हो । ग्रीक शब्द एनिमोनीको अर्थ हुन्छ, आँधी । यो सिनेमाले पनि आँधी ल्याउने पक्का छ, त्यसको प्रभाव सुखद् हुन्छ कि दुःखद् त्यो पछि थाहा होला ।
तर अहिलेलाई भने उनका छोरो रोनान धन्यवादका पात्र छन् । उनले मौन रहेका बाबुलाई अभिनयमा फर्काउन सके । आखिर मान्छे आफ्नो सन्तानको प्रगतिमा कसरी बाधक बन्न सक्छ र ?