नेभिगेशन
दृष्टिकोण

आन्दोलनपछि जागृत जनताको खोजी

महाऊर्जा, महाज्ञान र महालक्ष्मीको उपासना गर्दै दशैं बितेको छ र समापन भने कोजाग्रत पूर्णिमा अर्थात् यही आश्विन २१ गते गरी दशैं बिदा हुँदैछ । मूलतः जीवन दुई प्रकारको हुन्छ, जाग्रत र सुषुप्ति । वैदिक दर्शनले जागृत जीवन, कर्मशील जीवन, अनवरत प्रयासरत जीवनलाई समुन्नत जीवन भनेको छ । सुषुप्तिको अर्थ हुन्छ निष्क्रिय जीवन जसबाट परिवारलाई त भार नै हुन्छ समाज र देशलाई पनि र अरुको लुटेर खाने बानी पर्न सक्छ । 

पूर्वीय दशनको मूल मान्यता वर्षभरिको ठूलो चाडको समापन नै कोजाग्रत पूर्णिमाबाट हुन्छ भनौं धनलक्ष्मीको पूजा, उपासना गरेर भनौं आश्विन शुक्ल पूर्णिमाका रातमा जो जागा छ, पृथ्वीतलमा घुम्दै आएर महालक्ष्मीले त्यस्तो घरमा ऐश्वर्य, धनको वर्षा गराउँछिन्, यो त प्रतीकात्मक भनाइ हो । जागा सधैं हुनुपर्छ, श्रमशील सधैं हुनुपर्छ, कथा त प्रतीकात्मक हुन्छ अर्थात् हरेक दिन हामीले श्रम गर्नुपर्छ, श्रम बौद्धिक पनि हुन्छ । बिनाश्रम अर्काको खाइयो भने त्यसले पोल्छ ।

हामीले भोगेको निकट विगतमा जुनसुकै निर्णय पनि क्याबिनेटबाट गराउँदा नीतिगत भ्रष्टाचार बढेको व्यापक गुनासो हुँदा पनि संवैधानिक निकायहरूले आप्mनो वार्षिक प्रतिवेदनहरूमा औंल्याउँदा पनि यस्तो काम रोकिएको थिएन । अहिले अन्तरिम सरकारले सो सुविधा खोस्यो भनिएको छ तैपनि सुरक्षाको ताँती त घटेको देखिएन । गरिब नेपाली भूकम्प, कोरोना, डेंगीजस्ता रोगले थलिए, राहत वा सिटामोल पाएनन्, अस्पतालको सुविधा पाएनन् । 

किसानले मल बीउ, सिँचाइ, बजार पाएन । थोत्रा नेता वृद्धभत्ता खाएर काशी जानुपर्ने बेलामा राज्यले अनवरत पैसा, सुरक्षा, गाडी, इन्धन, सवारीचालक दिइरह्यो र अझ थप्यो पनि । सुशासन सिकाउने डेनमार्ककी प्रधानमन्त्री कार्यालय आउजाउ गर्दा साइकलको प्रयोग गर्ने अनि यहाँ बहालवाला र भूपूको सुरक्षा ताँती, आवासलगायतका भत्ताहरू हेर्दा मन नै कुँडिने ।

जनतालाई करको मारमा पारेर जन्मदेखि मृत्युसम्म हरेक श्वासप्रश्वासमा र घाटमा समेत कर उठाउने सरकारले नेताहरू पाल्न रकम जथाभावी वितरण गरेको थियो, सत्ता जोगाउनैका लागि । बजार भाउ अनियन्त्रित हुँदा जनताले एक पेट मिठो खान ऋण गर्नु परेको छ । विदेशमा छन् आफन्त, यहाँ रोजगारी मिलेन, गरीबको आँसु कसले पुछिदिने ? ऋणको भार र मारमा परेको देशले यति ठूलो संख्याका नेता र भूपूहरूलाई पाल्ने क्षमता राख्दैन । 

अर्बौं अर्बको ढुकुटीमा नेताहरूले उपचार भन्दै तर मारे, आदर्श समाज निर्माणका लागि पहिले आफैं उदाहरण बन्नुपर्नेले भागशान्ति जय नेपाल गरे । एकै व्यक्तिले उपचार खर्च भनी करोडौं कुम्ल्याएको अवस्था रह्यो । गरीब देशको यो धनी चालाले देशको विकास हुन्छ कसरी ? देशमा आर्थिक समृद्धि छैन । लगानीको वातावरण छैन । समानुपातिकका नाममा उद्यमी, व्यवसायीहरू राजनीतिमा घुसेका छन् । घरानियाँ व्यापारीसँग दलको साँठगाँठ रह्यो । समृद्धिको शिखर चुमेका धनाड्यहरू लर्को लागेर दलमा छिरेको देखियो ।

पति–पत्नी, साला–साली, छोरी–जुवाइँ, भाइ–बुहारी नै संसद् प्रवेश गर्नुपर्ने अनौठो चालाले देशको हित भयो कि भएन भनेर सोच्ने कसले ? दलको हित मात्रै भएर देशको समृद्ध नुहने रहेछ भन्ने कुरा के अब नेपालीले नबुझेको यथार्थ हो ? अस्पताल, शिक्षालयको अवस्था दिन पर दिन खस्कँदो रह्यो । सडक दुर्घटनामा आमजनताको अकाल मृत्यु भइरह्यो, गतिलो र भरपर्दो प्रणालीको अभावमा देश नै कुरुप बनिरहेको छ, आयातित संस्कृति हावी हुँदै जाँदा नेपाली मौलिक संस्कृति धरापमा परेको छ । 

Achyut-Prasad-Paudel-1757129561.jpg
अच्युतप्रसाद पौडेल ‘चिन्तन’

वर्षभरिकै लामो हिन्दूमार्गीको दशैंमा कोत पूजा, बलि, टीका आदि सबै काममा राज्य संलग्न हुने, हिन्दू बाहुल्यका कैयन् चाडमा लामो नाक देखाउँदै शुभकामना बाँड्ने, सरकारी खर्च पनि मनग्गे गर्ने अनि देश धर्मनिरपेक्ष भयो भन्ने कुरा कसरी मिल्यो ? निरपेक्ष भए त राज्य कुनै काममा सरिक हुनु भएन । संविधानमा एकथरी लेख्ने व्यवहारमा राज्यका संयन्त्रहरूलाई भताभुंग पार्ने शैली बन्यो धर्म निरपेक्षता । देशैभरी मासुको खपत बढाउने आफैं दशैंघरमा उपस्थित भइ खर्च गर्ने देश निरपेक्ष कसरी हुन्छ ? ९४ प्रतिशत जनता ओमकार परिवारमा छन् भनेपछि निरपेक्षताको अर्थ के हुन्छ ? रातरातै जनमत संग्रहबिना नै जे गरियो अहिले पछुताइएको अवस्था छ कि छैन ?

समृद्धिको नारामा रमाउने सरकार पनि आखिरमा ढल्यो । उसलाई सत्ता जोगाउने र टिकाउने ध्याउन्न मात्र रह्यो । किशोरीहरूले आफन्तबाटै आफ्नो अस्मिता रक्षा गर्न सकेनन्, मृत्यवरण नै गरे । सामाजिक संरचना ध्वस्त भएको छ । दशैंमा कुन आशीर्वाद ? कुन श्राप ? अत्तोपत्तो भएन । सबै कुरा बिचौलियाको नियन्त्रणमा रह्यो । महादशैंमा किनमेल गर्नेहरूको भीड सीमा पारीभन्दा सीमापारी ज्यादा भए । अधिकांश नेपालीले सीमापारिबाट सरसामग्री ल्याएर गुजारा टारे । 

देशैभरी सुपथ मूल्यका पसल भन्दै ४१ जिल्लामा ४५ पसल राखियो । काठमाडौंमा ४ स्थानमा राखियो भनियो तर अत्यावश्यक चिनी आदिवस्तु त्यहाँ पाइएन । चिनीमा भन्सार छुटको फाइललाई अर्थले स्वकिृति दिएन । दशैं अधिकांशतः विगतमा खल्लो भएका हो तर यसपाली त देशै रुँदा खाने वा टीका लाउने काम पनि खासै भएन । पचासौं लाख जनता भएको काठमाडौंमा ४ सुपथ मूल्य पसल भनेर नौटंकी गरियो, यसमा पनि राजनीतिको जस्तै झूटको खेती भयो । बाहिर जानेलाई टिकटको नाटक मञ्चन भयो तर सबैजसोले रिजर्भ गाडी भन्दै दोब्बर, तेब्बरसम्म रकम असुलेर यात्रु ओसारे ।

व्यापारीलाई छिटो धनी हुनुपर्ने, तिनले नक्कली, सडेका, ढुसीपरेका, मिति नाघेका, चर्को मूल्यका सामान बिकाए उपभोक्ताहरूलाई । सरकारी संयन्त्र गतिलो भएन । राज्य दोहन गर्न सिपालु नेतृत्वबारे आम व्यापारी पनि अनभिज्ञ भएनन्, जिम्मेवारीबोध पहिले ठूलाबाटै हुनुपर्ने थियो, करबाट जम्मा भएको ढुकुटीमा अत्यधिक दोहन भयो, आफू र आफन्त पाल्न । भूपूहरूको सुविधाको चाङ हेर्दा नेपाली धर्ती कम्पायमान भइसकेको थियो । लुटको धनमा फूपूको श्राद्ध थियो हाल सबै खारेज भनिएको छ, व्यवहारमा के हुने हो हेर्न बाँकी नै छ । 

भोट बाकसका नाममा जनताको टाउकामा गिरी खेल्ने नेतृत्व नेपाली आमाले चाहेकी होइनन्, संसारको मानचित्रमा देश पछाडि परेको कारण धनको दुरुपयोग भएर हो, मिहिनेत गर्नुको साटो लुटेर खाने गर्नाले । नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने सनातनी सूक्तिलाई बिर्सेर नै यस्तो भएको हो, अब यस्तो नहोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्