नेभिगेशन
दृष्टिकोण

विभेदकारी अभिव्यक्ति अपराध हो

दलितहरू प्रति गरिने अभद्र व्यवहारको साथै उनीहरूलाई जिस्काएर, होच्याएर बोल्ने नराम्रा चुट्किला सुनाउने हिम्मत सामान्यजनलाई किन आउँछ ? यो प्रश्नमा हामी सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ । मेरो विचारमा यस्तो किन हुन्छ भने ‘दलित’ हरूका लागि नेताहरू बोल्दैनन् । नेपालमा एक होइन अनेक त्यस्तो उखान छन् जसले जातीय विभेद र उत्पीडनलाई प्रश्रय दिन्छ । नेपालको जस्तै सामाजिक सांस्कृतिक परिवेश भएको भारतमा पनि त्यस्तै हुने गरेको पाइन्छ ।

भारतमा पहिलो दलित महिला मुख्यमन्त्री बनेकी मायावतीलाई निसाना बनाएर चुट्किलाहरू बनाइए । चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री भइसकेकी उनलाई अनेक तरिकाले अपमानित गर्न र त्यो अपमानमा हँसिमजाक गर्न ‘ठूला जात भनिएकाहरू’ पछि पर्दैनन् ।

केहीअघि बलिउड अभिनेता रणदीप हुडाको एउटा भिडियो भाइरल भयो । जसमा उनले अंग्रेजीमा एउटा चुट्किला सुनाउँदै मायावतीको अनुहारको खिल्ली उडाएका छन् । सन् २०१२ मा बनेको भनिएको सो भिडियो भाइरल भएपछि केहीले ‘रणदीपलाई पक्राउ गर्नुपर्छ’ भन्ने आवाज उठ्यो । 

हुडा एक सफल कलाकार हुन् र संयुक्त राष्ट्रसँग जोडिएको एक संस्थाका ब्रान्ड एम्बेसेडर पनि । तर मायावतीलाई अपमान गरेपछि उनी ‘ब्राण्ड एम्बेसडर’ रहेनन् ।

दुःखको कुरा यस्तो घटना बारबार हुने गरेको छ । महिलाविरोधी, जातिवादी तथा साम्प्रदायिक टिप्पणी गर्दै हेय भावका चुट्किला बारम्बार प्रसार गरिन्छ । यस्तो काममा नेतादेखि अभिनेता अनि सर्वसाधारण पनि संलग्न हुन्छन् ।

नेपालमा पनि दलित महिलाका पहिरन, भाषालाई लिएर कटाक्ष गरिन्छ । ‘दलित भएर पनि कति राम्री’, ‘दलित भए पनि कति बुद्धिमान’, ‘दलित भएर पनि कस्तो सुझबुझकी’ जस्ता अभिव्यक्ति लेखपढ, राजनीतिमा लागेका महिलाहरूले बारम्बार सुन्नुपर्छ । मानौं कि बुद्धिमान हुनु भनेको कथित ठूला बडाको मात्र अधिकार हो । 

तर अर्को आश्चर्य, बौद्धिक भनिएकाहरूले यस्तो हुँदा चुँसम्म बोलेको सुनिँदैन । के यो प्रश्न गरिनुपर्ने विषय होइन ? यस्तो हेयभाव र हेय व्यवहार प्रस्तुत हुँदा पनि मानिसहरू सजिलै पन्छिन्छन्, विरोध गर्दैनन् । न त कुनै कानुनी कारवाही नै हुन्छ ।

उल्लिखित अभिव्यक्तिहरू महिलाविरोधी तथा दलितविरोधी सोचको परिणाम हुन् । नेपाल तथा भारतीय समाजमा कानुनले छुवाछुत प्रतिवन्धित भए पनि जातपात र महिला विरोधी भावना बलियो छ । त्यसैले महिला तथा दलितप्रति यस्तो टिप्पणी गर्नुलाई सामान्य रुपमा लिइन्छ । तर यो सामान्य होइन अति नै असमान्य कुरा हो, असामाजिक हर्कत हो, कानुनविरोधी आचरण हो ।

अर्को दुःखको कुरा ‘दलित’ भित्र पनि ‘दलित’ छन् । उनीहरू बीच भेदभाव छ । पानी नचल्ने, विहावारी नहुने थिति बसाइएको छ । दलित महिलाप्रति नराम्रो टिप्पणी गरेर उनीहरूलाई अपमान गर्ने पुरुष मात्रै होइन, उच्च जातका महिला पनि हुन्छन् । अहिले महिला तथा दलितहरू आफ्नो अधिकार र पहिचानका लागि जागरुक भइरहेका छन् । 

Dr-Aruna-Upreti-1758334960.jpg
अरुणा उप्रेती

तर, यस्ता टिप्पणीहरूको विरोध उनीहरूले मात्र होइन हामीले पनि गर्नुपर्छ । त्यही भएर सन् २०१२ मा हुडा निर्मित आपत्तिजनक चुट्किलाको विरोध अहिले आएर भइरहेको छ । त्यसैले गलत कुराप्रति समयमै प्रतिक्रिया नदिँदा पनि कालान्तरमा भए पनि त्यसको प्रतिक्रिया आउने रहेछ भन्ने पुष्टि भएको छ, तर समयमै प्रतिक्रिया नदिँदा त्यसले समाजमा कतिजनालाई प्रभाव पारिसकेको हुन्छ । त्यसले दिने क्षतिको आकलन गर्न हो भने त्यो क्षति झन् कति ठूलो हुन्छ होला ।

त्यसैले दलित र महिला विरोधी उखानको प्रयोगलाई निमिट्यान्न पार्नुपर्छ । गर्ने लाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ । किनभने यस्ता विभेदकारी उखानहरूले नकारात्मक विचार फैलाउँछन् । 

हामीले गल्तीवश यस्तो उखान प्रयोग गरेको अवस्थामा माफी माग्नु पर्छ । तर समस्या के छ, नेपालको ‘जातिवादी राजनीति’ ले गर्दा यस्तो जाबो कुरामा पनि ‘के बहस गर्नु ?’ सोचले गर्दा यो गम्भीर विषयप्रति मान्छेहरूले बेवास्ता गरिरहेका हुन्छन्, जनु सर्वथा गलत हो । गलत त यसका विरुद्धमा नबोल्दा हुन्छ, बोल्दा होइन ।

संकीर्ण मनका मान्छेहरूले महिलाको सफलता वा असफलतालाई उसको अनुहार तथा शरीरसँग जोड्ने गर्छन् । नेपाल र भारतमा महिलाप्रति गरिने व्यवहार प्रायः असामाजिक र कानुन विपरीतको हुने गरेको छ । यस्तो काममा धर्मभीरुको भूमिका गरेको देखिन्छ ।

केही अघि के सम्म भयो भने चुरे संरक्षणको विषयलाई महिलासँग लगेर जोडियो । भन्नेहरूले के सम्म भने भने ‘चुरे उत्खनन गर्नु भनेको आमाको गहना मासेर श्रीमतीलाई गहना बनाउनु हो’ । 

हुँदा हुँदा प्राकृतिक सम्पदाको संरक्षणको विषयमा पनि महिलालाई अपमानित गर्ने अभिव्यक्ति दिइयो । यो किन भएको हो भने संकीर्ण सोचले ग्रसित पुरुषवादी तथा जातिवादी समाजले महिलाहरूको इच्छा केवल ‘गहना’ मा मात्र हुन्छ भन्ने धारणाले ग्रसित छन् ।

तसर्थ, यस्ता कार्य रोक्न भाषा, उखान, व्यवहार सबैतिर महिला तथा दलितहरूप्रति हुने हिंसा तथा भेदभावका बारेमा सचेतचा तीव्र बनाउनु पर्छ । यदि त्यस्ता शब्द प्रयोग भएका छन् भने तिको डटेर विरोध गर्नुपर्छ, निरन्तर आवाज उठाइरहनु पर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्