समता फाउण्डेशन, बारबारा फाउण्डेशनलाई गैरसरकारी सामाजिक संस्थाका रूपमा मात्र बुझ्ने गरेका थिए तर जेनजीको आन्दोलनपछि उनीहरू एक्कासि राजनीतिक शक्तिका रूपमा देखा परे । यसले नेपालको राष्ट्रिय सुरक्षामा प्रत्यक्षरूपले संलग्न रहेको र हस्तक्षेप गरेको कुरालाई पुष्टि गर्ने पर्याप्त आधार दिएको छ ।
रविराज थापा
कुनै पनि देशको राजनीतिक अवस्थालाई आन्तरिक सुरक्षाले कतिसम्म असर पार्न सक्छ भन्ने कुरा भाद्र २३ र २४ को घटनाले प्रमाणित गरिसकेको छ । भाद्र २३ र २४ गतेको घटनाले राजनीतिक परिदृश्य मात्र होइन, घटनाको प्रकृति, पात्र र एजेण्डाहरू रहस्यमयरूपले परिवर्तन हुँदै गएका देखिन्छन् ।
जेनजीको आन्दोलन सुरु हुनुभन्दा केही दिन, महिनाअगाडि नेपोकीड अर्थात् सम्भ्रान्तवर्गका सन्तानका बारेमा ठूलो प्रचार–प्रसार गरेर समाजका सीमान्तकृत र अवसर नपाएका जनतामा चेतनाको साथै असन्तोष जगाउने काम भएको थियो । त्यसपछि सारा नेपालीको मनमा गुम्सिएर रहेको भ्रष्टाचारको राजनीतिक, सुशासनको प्रत्याभूति र रोजगारीजस्तो देशव्यापी महामारीका विरुद्धको आवाज उठाइएको थियो, जुन अत्यन्त समय सापेक्ष र सही थियो ।
त्यो मुद्दा कुनै एक उमेर समूहको मात्र नभएर सम्पूर्ण जात, वगर्, धर्म र उमेर समूहको भए तापनि जेनजी समूहले उमेरको कारण देखाएर अन्य समूहलाई सहभागी हुनबाट निरुत्साहित गरेको थियो । बिहान जम्मा भएका सहभागीको मन–भावनामा जुलुस नारा शान्तिपूर्वक हुने भन्दै राष्ट्रिय गान गाउने कामसमेत भएको देखिन्थ्यो ।
२०८१ भाद्र २३ गरेको आन्दोलनको पहिलो चरणमा भ्रष्टाचार, सुशासन र रोजगारीको माग राखेर अघि बढेका, राजनीति नजानेका र राजनीतिमा चाख नभएका स्कूल–कलेजका युवाहरू धेरै देखिन्थे भने, उनिहरूमाथि नै सुरक्षा निकायको बर्बर दमन गर्न अत्याधिक बल प्रयोग गरेर अपूरणीय क्षति पु¥याएको देखियो ।
त्यसपछिको अवस्थामा ती गोलीको मारमा परेका पीडित र अबोध युवाबाट देशको ध्यान अन्तै मोडिन थालेको देखिन थाल्यो । सुरक्षा निकायले अपूरणीय क्षति गरिसकेपछि विदेशको मिडिया हेरेर बस्ने दर्शकले विद्यार्थीको ठाउँमा, स्कूले विद्यार्थीले नगर्ने हरकत गर्दै गरेका नौला भेषभूषा र नौला अनुहारहरू देखा पर्न थाले । अब ती को हुन् र कुन उद्देश्यले त्यहाँ देखा परेका थिए भन्ने कुरा त्यहाँको दृश्यले भन्दा पछिल्ला घटनाक्रमले झन्–झन् रहस्यमय र रोचक बन्दै जान थाले ।
त्यहाँ आउने ल्याउने काम केले, कसले र कुन कुराले प्रेरित गरेर भएको थियो । केले प्रमुख भूमिका खेलेको थियो । जसले त्यो गराए वा जसद्वारा गराइयो आज ती सबै भुल–भुलैयामा छन्, सबै त्यसको सही जवाफ खोजिरहेका छन् ।
कुनै पनि बेला जब देशमा अशान्ति र अस्थिरताले ठाउँ लिन थाल्छ, तब त्यसमा स्वदेशका मात्र होइनन्, विदेशी तत्त्वले पनि त्यसमा विदेशी स्वार्थको रोटी सेक्ने कुरा विश्वभरी नै चलिरहेको अभ्यास हो । त्यस्तो कुरा जानेर, बुझेर पनि नचेत्नु, नजान्नु र नबुझ्नु भनेको हामी सम्पूर्ण नेपालीहरूको कमजोरी, भुल र दुर्भाग्य सबै हो ।
नेपालमा धर्मनिरपेक्षता र लोकतान्त्र ल्याउने वर्गहरू आज कहाँ गए ? उनीहरूलाई के भयो ? यो कुरा आज ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’जस्तो हुन पुगेको छ ।
तर अब भकुण्डो जेनजीको मैदानमा पुगेको छ । अब जेनजीभित्रैको फरवार्डको रक्षक र को गोलकिपर बन्ने कुरामा जनता अलमलमा पर्न थालेका छन् । यो कुरा जेनजीले बेलैमा बुझ्नु अति नै जरुरी छ । होइन भने आज जेनजी पुस्ताले जुन सन्देश लिएर आएका छन् । उनीहरू पनि बाहिरी शक्तिको सिकार हुनेवाला छन् ।
देशको राजनीतिक अग्रगमनको सोच राख्नेहरूले पनि आज क्षति–न्यूनीकरण गर्नेतर्फ ध्यान दिनु जरुरी छ । होइन भने नेपालको सार्वभौम अस्तित्व बचाउन अझै ठूलो संकट झेल्नुपर्ने कुरा अवश्यम्भावी छ ।
नेपालको वर्तमान अवस्था र परिस्थिति ‘न्याउरी मारी पछुतो’ को अवस्थामा नपुगोस् बन्नाका खातिर जेनजीसँग देखिएका तिबेतियन ओरिजिनल ब्लड को हुन् भनेर उनीहरूले सारा नेपालीलाई बुझाउनुपर्ने पनि भएको छ । होइन भने आन्दोलनका क्रममा उठेका दलाई लामा, र बारबारा फाउण्डेशनजस्ता कुराको हाउगुजीले नेपालमा अझै शंका र द्वन्द्व नल्याउला भन्न सकिने अवस्था छैन । जहाँसम्म ‘डीप–स्टेट’ को सवाल छ यसबाट नेपाल मात्र होइन सम्पूर्ण दक्षिण एसिया नै त्रसित छ भने जेनजी आन्दोलनपछिको सरकार स्वयं नै ‘डीप–स्टेट’ले बनाएको सरकार त होइन भन्ने धेरैको मनमा प्रश्न उब्जिन पनि थालेको छ ।
अब आजको जल्दोबल्दो प्रश्न भनेको अग्रगमन हो कि शान्ति–सुरक्षाको हो भन्ने मूल–प्रश्नमा अड्न पुगेको देखिन्छ । यस्तो संगीन अवस्थामा सडकबाट चुनिएको राष्ट्रपतिको खल्तीबाट मनोनीत प्रधानमन्त्रीको चुनाव मात्र भन्ने एजेण्डाले प्रहरी र सरकारको मात्र नभई सारा जनताको मोराललाई असर पार्न थालिसकेको कुरा आज राष्ट्रपतिले नबुझी सुख पाउने अवस्था देखिँदैन ।
आजका प्रहरी र सुरक्षाकर्मीहरूले पनि मोरालको कुरा गरेर अपराधिक तत्त्वले लुटेर लगेका हतियार फिर्ता गर्न सकेनन् भने भोलि उनीहरू र हामीजस्ता साधारण नागिरक नै ती लुटिएका हतियारको सिकार हुने र भोलि यो भन्दा गम्भीर र डरलाग्दो सशस्त्र द्वन्द्वको सम्भावना बढ्ने टड्कारो सम्भावना देखिन थालिसकेको देखिन्छ ।
जेनजीले गन्हाएका नेता र कुहिएको व्यवस्थाको विरोधमा जे गरे राम्रो गरे । भत्काउन बल भए पुग्छ, तर देश बनाउन बल, बुद्धि र विवेकका सबै कुरा चाहिन्छ । आजसम्ममा उनीहरूलाई देशको राजनीति हिलाम्य पार्दा विदेशीको शक्तिले कसरी माछा मार्ने रहेछन् भन्ने कुरा आजसम्म आइपुग्दा सबै नेता र जनतालाई स्पष्ट भइसकेको हुनुपर्छ ।
आजको यो राजनीतिक संकटको भूमरी त्यसै सल्टिने अवस्था छैन । हिजो संकटको घडीमा सेना आयो र गयो, अब फेरि सेनाको बाटो हेरेर बस्नु राम्रो संकेत र लक्षण होइन । सरकारकले चुनावको आह्वान गरे तापनि भोलि यिनै हातहतियारको प्रयोग भएमा शान्तिपूर्ण चुनाव होइन देशलाई हिजोको माओवादी सशस्त्र द्वन्द्वतिर धकेलिदियो भने देशको अवस्था कस्तो हुन्छ । भोलिको चुनाव सुचारुरूपले चल्न चलाउन पहिले यी लुटिएका हतियार फिर्ता गर्न सरकारले प्रयत्न गर्नुपर्ने हुन्छ ।
जेनजीले जे–जस्तो लक्ष्य राखे त्यो सबै ठीक र जायज नै थियो भने अहिले आएर उनीहरूको लक्ष्यभेदन ठीक ठाउँमा रह्यो कि रहेन ? यो कुरा जेनजीले पनि गम्भीर भएर मनन गर्नुपर्ने बेला आएको छ । पहिले उनीहरूले उमेरको हद राख्दा उनीहरूलाई समर्थन र सहानुभूति देखाउन चाहने र सहयोग गर्न खोज्नेहरूलाई निषेध गरियो । त्यो ठाउँमा उनीहरूले नसोचेका र नचिताएका मानिसहरूबाट हाइज्याक भयो भने उनीहरूले आज आफ्नो बाटो सच्याउनुपर्ने बेला आएको छ ।
जेनजीको विरोधको कार्यक्रम भइरहँदा स्वदेशी च्यानलले भन्दा विदेशी च्यानलले बढी खबर संकलन र सम्प्रेषण गर्न सकेको अनुभव भयो, यो कसरी सम्भव भयो । के आज नेपालको चासो नेपालीलाई भन्दा विदेशीको चासोको विषय बनिसक्यो ? भन्ने जल्दोबल्दो प्रश्न सबै देशलाई माया गर्ने नेपालीको मनमा घोच्न थालिसकेको छ । यसले आज नेपालमा हुने र हुन सक्ने घटनामा नेपालीभन्दा विदेशी चासो र इन्टेलिजेन्स कति चनाखो र दुरुस्त रहेछ भन्ने पनि देखाइसकेको छ ।
जब जेनजीको जुलुस उत्कर्षमा थियो त्यही बेलादेखि बालेन साह, कुलमान घिसिङ, सुदन गुरुङको र तिबेतियन ओरिजनल ब्लड (टी.ओ.बी)बारे टेलिभिजनको पर्दामा देखिएको थियो भने त्यसबेलादेखि नै मन्त्री प्रधानमन्त्रीको खोजी हुन थाल्ने जस्तो तातो खाएर जलेर मर्ने हतार कसलाई र किन भएको थियो भन्ने कुरा आज रहस्यको गर्भमा लुकेर बसेको भए पनि जनताले कुनै दिन अवश्य नै थाहा पाउनेछन् ।
यसमा सरकारले यही विषयको मात्र सत्यतथ्य पत्ता लगाउन विशेष अनुसन्धान टोली खडा गर्नुपर्ने देखिन्छ । जेनजीको भाद्र २३–२४ आन्दोलन सम्मका दिनमा धेरै नेपालीले समता फाउण्डेशन, बारबारा फाउण्डेशनलाई सम्पूर्णरूपले गैरसरकारी सामाजिक संस्थाका रूपमा मात्र बुझ्ने गरेका थिए । जेनजीको आन्दोलनपछि उनीहरू एक्कासि राजनीतिक शक्तिका रूपमा देखा परे यसले जेनजीको पृष्ठभूमि र शक्तिको स्रोत परिचालनमा अर्को प्रश्न खडा गरिदियो ।
भाद्र २३ गते जसरी प्रहरीको अधिक शक्ति प्रयोग भई धेरै जनधनको क्षति भएको छ त्यसमा सरकारका कार्यकारी प्रमुख प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिएको होइन भनेर वक्तव्य दिएका छन्, यसले त्यत्ति नै स्वदेशी र अझ विदेशी षड्यन्त्रको हात रहेको कुरामा सन्देह बढाएको छ भने यसले नेपालको राष्ट्रिय सुरक्षामा प्रत्यक्षरूपले संलग्न रहेको र हस्तक्षेप गरेको कुरालाई पुष्टि गर्ने पर्याप्त आधार दिएको छ ।
थापा सशस्त्र प्रहरीका पूर्वएआईजी हुन् ।