नेपालीहरूले यो घटना कसरी घट्न गयो भन्ने कुराको चुरो कुरो थाहा नपाउने र हामी यो र त्यो बहानामा विभाजनतिर लाग्ने हो भने अबका दिनहरू हाम्रा लागि झन् जटिल हुन सक्छन् । युवापुस्ताले भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्ने विषय नराम्रो पक्कै थिएन । तर, यसको फाइदा देशभित्र रहेका केही मुकुन्डोधारी विदेशी दलाल र नेपालको भूभाग हामीले दाबी गरेको तथा दुवै छिमेकीसँग बराबरको सम्बन्ध स्थापित गरी नेपालको समृद्धि भएको हेर्न नचाहने विदेशीतत्त्वहरूले उठायो । यहाँ नेपाली नेपालीलाई लडाइएको छ । हामी एकअर्कालाई शत्रु देखिरहेका छौं, जुन सर्वथा गलत हो ।
डा. दिलनाथ दंगाल
हाम्रो विकासको क्रमलाई हेर्ने हो भने २००७ सालदेखिकै सिलसिलालाई हेर्नुपर्ने हुन्छ । विश्वको विकासको सुरुवाती अवस्था पनि सन् १९५० अर्थात् २००७ नै हुन आउँछ । त्यसैगरी देश विकासको तुलना सामान्यतया विश्वका अन्य देशहरूसँग र आफ्नै विगतसँग तुलना गरेर हेरियो भने परिणामको नजिक पुगिन्छ । यसै क्रममा हाम्रो २००७ देखि २०४६ साल सम्म हेर्ने हो भने विकास त भएको छ तर माथिका दुवै मानकमा तुलना गर्दा एकदमै ढिलो गतिमा भएको देखिन्छ ।
तर, २०४६ पछिको विकास हेर्ने हो भने विश्वका विकसित देशहरूको तुलनामा त कमै छ तर नेपालको विगतको तुलनामा भने छिटो विकास भएको अवस्था छ । यो समयमा बाटोघाटो जस्ता पूर्वाधारहरू, सुरुङमार्ग, फास्टट्र्याक, अन्तर्राष्ट्रिय विमान स्थाल, भूकम्पमा ढलेका संरचनाहरूको निर्माण, शिक्षा, स्वास्थ क्षेत्रहरू हेरियो भने पनि यसको पुष्टि हुन्छ । तर, व्यक्तिगत र पार्टीगत स्वार्थ सिद्ध गर्न समयसमयमा हुने बेमौसमी आन्दोलनहरूले भने देश जुन अवस्थामा पुग्नुपर्ने हो हुन नसकेको देखिन्छ ।
२०४६ पछिको समयमा हेर्ने हो भने वि.सं २०५२ सालबाट बेमौसमी र आजको मितिसम्म आइपुग्दा यी बीचमा भएका सबै आन्दोलन बिना तुुकका र देश विकासमा पछाडि पार्ने सबैभन्दा महत्त्वपूर्ण कारक बन्न गएका देखिन्छ । २०५२ सालबाट सशस्त्र आन्दोलन गर्नेहरू अहिले आएर पूर्णरूपमा स्खलित भएको देख्दा पनि ती आन्दोलनहरू बेमौसमी र नीजि स्वार्थका लागि थिए भन्ने पुष्टि हुन्छ ।
देशमा गणतन्त्र आएपछि हाम्रो जुन ढंगले विकास हुनुपर्ने थियो त्यो नहुँदा, भ्रष्टाचार मौलाउँदा, सुशासन कायम गर्न र युवा जनशक्तिलाई देशमै बसेर आत्मसम्मानका साथ काम गर्ने वातावरण तयार नहुँदा भदौै २३ र २४ को नियति देशले भोग्नुपर्यो ।
यसै क्रममा युवापुस्ताले भ्रष्ट्राचार नियन्त्रण र सुशासनका कुरा उठाएर सुरु गरेको पवित्र अभियानमा आतंककारीहरूको प्रवेशले इतिहासमा आज सम्मन भोगेको नियति देशले भोग्नुप¥यो । धेरै कलिला बालबालिका र देशका हाम्रा भविष्यले अकालमा ज्यान गुमाउनुपर्यो । यो आतंकारीहरूको प्रवेशले देशमा तोडफोड र आगजनीपछि देशको अर्थतन्त्र पनि तहसनहस पारेको छ ।
उक्त समयमा भएको तोडफोड र आगजनीलाई सूक्ष्म अध्ययन गर्ने हो भने के कुरा बुझ्न सकिन्छ भने नेपालमा यो योजना लामो समयबाट नै बनेको हो साथै तोडफोड र आगजनी गर्नुपर्ने ठाउँहरूको नक्सा नै बनाएर काम फत्ते गरेको देखिन्छ । किनकि ती मुख्य ठाउँहरूमा छानीछानी हानिएका छन् भने ठूला–ठूला र बलिया पर्खालहरू कलम र किताब बोक्ने हातले भत्काउने कुरै हँुदैन ।
काठमाडौं उपत्यकाभित्र नोक्सान भएका संरचनाहरू अवलोकन गर्न सवारीसाधनमा चार दिनमा पनि पुग्न गाह्रो हुने ठाँउहरू कसरी पाँच, छ घण्टामा ध्वस्त हुन सम्भव छ ? त्यसैगरी यस्तो घटना हँुदैछ भनेर सुइँको समेत नपाउने अनुसन्धान प्रहरी र आफ्नो कार्यालयको समेत सुरक्षा दिन नसक्ने नेपाल प्रहरी तथा आँखैअगाडि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका सरकारी कार्यालयको सुरक्षा गर्न नसक्ने नेपाली सेना र ससस्त्र प्रहरी बलमा संरचनात्मक परिवर्तन जरुरी रहेको प्रष्ट बुझ्न सकिन्छ ।
यो घटनामा नीजितर्फ मात्रै लगभग साढे दुई खर्वको क्षति भएको अनुमान छ भने जनता डर र त्रासमा बसिरहेका छन् साथै लगानीकर्ताहरू लगानी गर्ने सोचमा देखिँदैनन् । तसर्थ नयाँ सरकारले गर्ने भनेका महत्त्वपूर्ण कामहरूमध्ये पहिलो काम भनेको देशमा शान्ति सुरक्षा कायम गर्नु, र २३ र २४ को घटनाको स्वतन्त्र छानविन गरी दोषीलाई कार्बाही गर्नु र समयमा नै चुनाव गराउनु हो । जसमा पहिलो र महत्त्वपूर्ण काम शान्ती सुरक्षा कायम गर्नेअन्तर्गत ढिलो नगरीकन बजारमा रहेका प्रमाणहरू संकलन गरी तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबारी गर्न सके नेपाली जनताले ढुक्कको सास फेर्ने र लगानीकर्ताले लगानी गर्ने वातावरण बन्छ भने सकारका सबै मन्त्रीहरू चुनावको वातावरण तयार गर्न तिर लाग्नुपर्ने हो तर सरकारका गतिविधीहरू र मन्त्रीहरूका अभिव्यक्ति तथा काम गर्ने तौरतिरका हेर्दा फागुन २१ मा चुनाव गर्न त्यति सजिलो छैन । तर समयमै चुनाव गर्ने काम असम्भव काम पनि होइन, त्यसको लागि सरकार तत्पर भएर लाग्नुको विकल्प छैन ।
अब क्षतिको पुर्ननिर्माणतिर हेर्ने हो भने जलेका र भत्किएका संरचनाहरू काम चलाउन र हेर्न लायक बनाउन एक वर्ष जति लाग्नेछ । पूर्णरूपले पुर्ननिर्माण गरी पहिलाकै अवस्थामा पुग्नका लागि पाँच वर्षको पुँजीगत खर्च लाग्ने अनुमान गर्न सकिन्छ । सम्पूर्ण अर्थतन्त्र ठीक हुनका लागि दशवर्ष लाग्ने र नीजि क्षेत्रको पूर्ण मनोबल सहित हाम्रा जलेका डकुमेन्ट र विचलित भएका मनहरू ठिकठाक हुनका लागि धेरै वर्ष लाग्ने अनुमान लगाउन सकिन्छ ।
यो घटनाले हाम्रो अर्थतन्त्रमा अल्पकालीन र दीर्घकालिन असरहरू पनि पर्ने देखिन्छ । यो घटनाले हाम्रो जिडिपीमा लगभग ४ देखी ५ प्रतिशतको कमी आउन सक्ने अनुमान लगाउन सकिन्छ भने आगजनीका कारणले चलनचल्तिमा रहेका ठूलो परिमाणमा नोटहरू जलेर नस्ट भएको अनुमान गर्न सकिन्छ । यो राष्ट्रकै सम्पत्तिको क्षति हो । आन्दोलनकारीले सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, मन्त्री निवास, सरकारी कार्यालयहरू, नीजि निवास लगायत व्यापारिक घरानामा समेत तोडफोड र आगो लगाएर पूर्ण क्षती भएको छ । देशभरी यस्ता २५०० जति संरचनाहरू जलेर नष्ट भएका छन् । यसरी क्षति भएका सरकारीदेखि नीजि भवन, सवारी साधन, सरकारी कार्यालयभित्रका संरचना बनाउन ठूलो लगानी चाहिन्छ । जुन हाम्रो पूँजीगत बजेटबाट काटिने छ र विकासमा बाधा पुग्नेछ ।
चालु आव २०८२÷८३ को बजेटमा पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) विनियोजन गरिएको छ । यो रकम सबै निर्माणमा खर्च हुँदा विकास शून्य हुन जान्छ । यो क्रम पाँच वर्ष सम्म निरन्तर चल्ने जस्तो देखिन्छ । भूकम्प लगायत प्राकृतिक विपत्तिमा विदेशी मित्रराष्ट्र तथा दातृ निकायले सहयोग गरेका थिए, तर आन्दोलनमा तोडफोड तथा आगजनीबाट भएको क्षतिमा दातृ निकायले सहयोग गर्ने सम्भावना कम हुन्छ । यसले गर्दा हाम्रो सार्वजनिक ऋण बढेर जान्छ ।
नीजि सम्पत्तिको तोडफोडले बिमा कम्पनीमा ५० अर्ब बराबर दाबी आउने अनुमान गर्न सकिन्छ । अहिले नै २६ अर्ब बराबरको विमादाबी आइसकेको अवस्था छ भने विभिन्न सरकारी निकायहरूका अनुसार आन्दोलनका क्रममा ४४१ ओटा चारपांग्रे र ६०१ ओटा दुईपांग्रे गरी जम्मा १०४२ ओटा सरकारी सवारीसाधन पूर्णरूपमा जलेका छन् । यिनीहरूको मर्मत वा नयाँ खरिद गर्न ठूलो धनराशि लाग्नेछ । स्वदेशी तथा विदेशी लगानीमा आक्रमण भएकाले लगानीकर्ता लगानी गर्न डराइरहेको अवस्था छ ।
हिलटन होटल, सीजीपार्क, चन्द्रागिरी केवुलकारदेखि भाटभटेनीमा आक्रमण भएको छ, यो प्रकारको उद्योग, व्यवसाय माथि आक्रमण डर लाग्दो अवस्था हो । यसको प्रत्यक्ष असर लगानीमा पर्छ र राजस्वमा संकलनमा कमि आउँछ । त्यसैगरी सरकारले भर्खरै गरेको निर्णयअुनसार विभिन्न उद्योगहरूमा विद्युत् लाइन काटेर अलिअलि भएका उद्योगीहरूलाई पनि देशबाट पलायन गराउन खोजेको जस्तो देखिन्छ ।
नीजि क्षेत्रमा तोडफोड र आगजनी हुँदा नीजि क्षेत्रले हजारौंलाई रोजगारी दिइरहेको अवस्थामा रोगारीमा कटौती भएर बेरोजगारी बढ्ने सम्भावना रहन्छ । आन्दोलन पछि नयाँ पुस्तामा विचलन र मासिक तनावहरू देखिन थालेका समाचारहरू आउन थालेका छन्, यसले पनि मुलुकको समग्र सामाजिक–आर्थिक योगदानमा नकारात्मक योगदान पुर्याउन सक्ने ठूलो जोखिम रहको देखिन्छ । साथै यसले युवापलायन डरलाग्दो किसिमले बढ्दै जाने ठूलो सम्भवना हुन्छ । उक्त घटनापछि अहिले बजारमा वस्तुको आभाव हुनुका साथै र मूल्य आकाशिन थालेको देखिन्छ ।
यसै पनि नेपालमा पर्यटक आगमन र विदेश भ्रमणमा नकारात्मक असर पर्न थालिसकेको छ । अहिले नै केही देशहरूले नेपालीलाई भिषा दिन बन्द गरिसके भने विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आउन हिचकिचाउन थालेका छन् । त्यसैगरी आन्दोलनमा भएको अर्को नकारात्मक पक्ष जेलबाट हजारौं कैदीबन्दीहरू भगाइनु हो । त्यसरी मौकाको फाइदा लिएर वा गलत उद्देश्यले मौकाको फाइदा लिने वातावरण बनाएर जेलबाट भागेका पाँचहजार भन्दा बढी कैदीबन्दीहरू जेलबाहिर नै रहेका हुनाले सामाजिक अमनचयन खल्बलिन गएको छ ।
विगत केही सातामा भएका केही लुटपाट, डकैती र हत्याका घटनामा जेलबाट भागेका तीनै कैदीहरू संलग्न भएको पुष्टि हुँदा पनि यो विषय ज्यादै संवेदशील रहेको देखिएको छ । अर्कोतिर जेनजी विद्रोहका क्रममा प्रहरी तथा सुरक्षा निकायका हतियारहरू धेरै मात्रामा लुटिएका थिए । त्यसरी लुटिएका बन्दुक र त्यसमा प्रयोग हुने गोली पनि ठूलो मात्रामा लुटिएको हुनाले नागरिकमा त्रास बढेको अवस्था छ ।
अहिले विभिन्न विदेशी एजेन्सीहरूले यो घटनाको एकअर्कामा दोषारोपण गरिरहेको सन्दर्भमा हामीले चाहिँ एक अर्का नेपालीलाई दोष लगाएर घटानालाई गुमराहमा पार्न तल्लिन देखिन्छौं । तसर्थ नेपालीहरूले यो घटना कसरी घट्न गयो भन्ने कुराको चुरो कुरो थाहा नपाउने र हामी यो र त्यो बहानामा विभाजनतिर लाग्ने हो भने अबका दिनहरू हाम्रा लागि झन् जटिल हुन सक्छन् ।
त्यो दिनको घटना घामले अनुहार डड्छ भनेर आमासँग सन्सक्रिमलगाई मागेर बानेश्वर कहाँ पर्छ भनेर गुगल म्याप हेरेर जाने हाम्रा अबोध पुस्ताले त्यो सबै घटना घटाए । त्यो समयमा सरकारमा बसेका मन्त्रीहरू र दलका सबै नेता दूधले नुहाएका थिए, त्यो दिन सबै गोली नेपाल प्रहरीले नै चलाएको थियो, निवर्तमान सरकारका कारणले मात्र यो दिन देख्नुप¥यो, पपुलिज्म र जेलेस्किजमले मात्र देश बन्छ, यो घटना एक्कासि भएको हो भन्ने र भूराजनीतिका बारेमा ज्ञान नराख्ने हो भने भविष्यमा देशमा गृहयुद्ध हँुदैन भन्न ठोकुवा गर्न सकिने अवस्था छैन ।
हाम्रा युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्ने विषय नराम्रो पक्कै थिएन । तर, यसको फाइदा देशभित्र रहेका केही मुकुन्डोधारी विदेशी दलाल, जसको मुकुण्डो विस्तारै खुल्दैछ) र नेपालको भूभाग हामीले दाबी गरेको तथा दुवै छिमेकीसँग बराबरको सम्बन्ध स्थापित गरी नेपालको समृद्धि भएको हेर्न नचाहने विदेशीतत्त्वहरूले उठायो । देशमा नरसंहार भयो, धेरैको काख रित्तियो तर जसले यो घटना घटाउने योजना बनायो ऊ अहिले पनि छाति फुलाएर हिँडेको छ । तर यहाँ नेपालीले नेपालीलाई लडाएको छ । हामी एकअर्कालाई शत्रु देखिरहेका छौं, जुन सर्वथा गलत हो । यस्ता विषयहरूमा समयमा नै हाम्रो चेत खल्नुपर्छ । नत्र हामी सकिए पत्तो नै हुने छैन ।
(लेखक त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन् ।)