नेभिगेशन
दृष्टिकोण

नाम र काममा महिला हुनुको चुनौती

डा. नम्रता पाण्डे
कार्यालयमा नयाँ जिम्मेवारीको लागि एक कर्मचारीको आवश्यकता थियो । निवेदन परेर परीक्षा उत्तीर्ण हुने ३ जना मध्येमा किरणको नाम उपयुक्त ठाने अजयले । अजय त्यस कार्यालयका पुराना कर्मचारी थिए । बैठक कक्षमा उपस्थित सबै कर्मचारी मुखामुख गर्न थाले र अजयलाई सोधे– तिमीले किरणलाई नै रोज्नुको कारण के हो ? अजयले भने–मेरो पुरानो काममा किरणले देखाएको जिम्मेवारी र हरेक कामप्रति उनको उत्तरदायित्व देखेर मलै विश्वास छ यो काममा उनको राम्रो योगदान रहन सक्छ । 

बिहान कार्यालय समय अगाडी नै आउने, आफ्नो हाकिमसँग सरसल्लाह गर्ने, मिटिङ तय गर्नेदेखि लिएर, दिनभरिको कार्यतालिका र कामको अनुगमन, मूल्याङ्कनमा राम्रो दक्खल थियो किरणको । साँझ पनि अबेरसम्म बसेर कार्यालयको बाँकी काम सक्ने र हर तरहले आफ्ना हाकिमलाई काममा सहयोग गर्ने उनको स्वभावले गर्दा सबैले उनलाई रुचाउँथे । सबैजना गलल्ल हाँस्न थाले अजय अलमलमा परे, यसमा हाँस्नुपर्ने कारण के छ र ? वरिष्ठ अधिकृतले अजयलाई भने–ठिक छ अजय ल किरणलाई बोलाऊ, साह्रै तारिक ग¥यौ मेरो सहायक बनाएर राख्नुपर्ला किरणलाई । बैठक कक्षको हाँसो अझ बढ्दो थियो । 

महिला, पुरूष सबै एक अर्कामा मुखामुख गर्दै हाँस्दै थिए । अजय अझै आश्चर्यचकित थियो तैपनि उसले किरणलाई फोन गरेर बोलायो । किरण अगाडी आए–सबै आश्चर्य चकित हुन्छन् फेरि । किरणको अन्तर्वार्ता लिए वरिष्ठ अधिकृतले र अर्को दिनबाट काममा आउने निर्देश गरे । किरण त्यहाँबाट हिँडेपछि अजयले सोधे–तपाईंहरू सबैजना किन आश्चर्य लाग्दो व्यवहार गरिरहनु भएको थियो मैले बुझिनँ । सबैले उल्टै अजयलाई भने– तिमीले हामीलाई नै झुक्यायौ, किरणको तारिफ, उनको वयान सुन्दा त हामीले किरण महिला भनेर सोचेका थियौं । किरण त पुरुष पो रहेछन् । अजयले भने– त्यसो भए हाकिम को हुन् त किरणको त सोध्नु भएन नि । हाकिम हुनुहुन्थ्यो रमिला म्याडम । 

कतिपय नाम र कामलाई समेत हामी लैंगिक भिन्नताको आधारमा आफ्नो धारणा बनाउने गर्दछौं । कामको सन्दर्भमा पनि हाकिमसँग नजिक हुनुलाई नामले कसरी अर्थ लगाउँछ यस्ता धेरै घटना कामकाजी महिलाले भोगेका हुन्छन् । यो एउटा सांकेतिक उदाहरण हो तर यथार्थमा पनि बिहान चाँडो कार्यालय आउनु र साँझ ढिलोसम्म हाकिमसँग बसेर काम गर्नु महिलाको लागि व्यंग्य हुने गर्दछ र अर्थको अनर्थ । एकातिर आफ्नो कर्म, जिम्मेवारी, दायित्व निर्वाह र व्यवस्थापन प्रमुख भूमिकामा रहन्छ भने अर्कोतिर हाम्रो मानसिक सोचले व्यक्तिप्रति र अझ महिलाप्रति नकारात्मक धारणा र अड्कलबाजी गर्ने परम्परा निर्मूल भैसकेको छैन ।

के महिला खुलेर बोल्न सक्छन् ?
अहिले शहरका धेरै महिलाहरू शसक्त छन् त्यसैले उनीहरू बोल्न सक्छन् भन्ने धारणा छ । विशेष गरी राजनीतिमा सक्रिय महिलाहरू, सञ्चार माध्यम र विभिन्न अभियानमा लागेका महिला अधिकारकर्मी लगायतका क्षेत्रमा काम गर्ने महिलाहरूले बोलेर नै समाजमा धेरै परिवर्तन ल्याएका छन् । धेरैका अधिकार सुनिश्चित गर्न मद्दत गरेका छन् अनि लुकेर बसेका, व्यक्त हुन नसकेका महिलाका पीडालाई कानुनी रूपमा होस् या सामाजिक दायित्वको हिसाबले उनीहरूको पहिचान स्थापित गर्न सघाउ गरेका छन् ।

तर, यो शसक्तीकरणले समग्र महिलाहरूको कति प्रतिशतलाई समेट्ला ? दूरदराजमा रहेका हाम्रा दिदीबहिनी, चेली छोरीहरू जसलाई आफ्नो अधिकार र निम्नतम आवश्यकताका कुरामा आवाज उठाउन पाइन्छ र सकिन्छ भन्ने पनि थाहा छैन । थाहा भएर पनि खुलेर बोल्न सक्दैनन् । एक त छोरी भएर बोल्नु समग्र इज्जत गुमाउनु र परिवारको संस्कार कायम नराख्नु भन्ने धारणा व्याप्त छ । अर्कोतिर, महिलाहरूले बोल्नलाई घरका पुरूषहरूको या समाजका अगुवा पुरूषहरूको र राजनीति लगायतका क्षेत्रमा त्यहाँका अग्रजको इशारामा मात्र बोल्नुपर्ने धारणा अझै गएको छैन । हामीले सोचेका र जानेका शसक्त महिलाहरू पनि धेरै आयामबाट आफ्ना कुरा खोलेर बोल्न सक्दैनन्, जसका केही कारण छन् ।

शारीरिक आयामः महिलाहरूको शारीरिक सुगठन, शरीरको धर्म, प्रकृति, हार्मोन र मातृत्व क्षमताको कारण उनीहरुलाई हुने शारीरिक समस्या, शारीरिक परिवर्तन र शारीरिक असहजता बारे खुलेर बोल्न नसक्ने धेरै अवस्था हुन्छन् । किनकी कतिपय अवस्था आफूले बोलेर होइन अरूले बुझेर त्यसलाई सहयोग गर्नुपर्ने हुन्छ । व्यक्तभन्दा गहिरो हुन्छ अव्यक्त भावना । 

महिनावारीका कुरा, महिनावारी हुँदाको समयमा हुने शारीरिक थकान, झिँझोपन, भावनात्मक हलचल, गर्भवती हुँदाको असहजता लगायत धेरै पक्ष छन् जसलाई खुलस्त बोलेर अरूलाई बुझाउन नसक्दा अव्यक्त बनेका हुन्छन् । शसक्त भएर समाजमा अरूलाई सहयोग गरेका महिला पनि आफ्नै शारीरिक अवस्था, मनोदशा र परिवर्तनको बारेमा खुलेर बोल्न सक्दैनन्, कतिपय अवस्थामा बोल्न आवश्यक ठान्दैनन् भने कतिपय अवस्थामा नबोलेरै आफूलाई उत्प्रेरित गरेको र न्याय दिएको महसुस गर्दछन् ।

मानसिक र भावनात्मक आयामः मानिसको मन हो महिला हुन् या पुरुष कुन बेला मानसिक तनाव उत्पन्न हुन्छ, कुन बेला मन खुसी हुन्छ र कुन बेला भावनात्मक सोचाई सही या दिक्क लाग्दा हुन्छन् भन्न सकिन्न । तर महिला सधैं एकनास भइदिउन् घरका सदस्यको चाहना हुन्छ । एक प्रकारले यो घरका परिवारले दर्शाएको प्रेम पनि हो तर प्रत्येकको भावनामा आफ्नो निजत्व हुन्छ । 

आफ्नो भावना अनुसार चलूँ, व्यक्त या अव्यक्त बनूँ, खुलेर हाँसू, खुलेर रोउँ या उन्माद र उमंगमा आफूले अस्तित्वप्रति समर्पित बनूँ भन्न महिलालाई सजिलो छैन । शसक्त महिला होउन् या पहुँच नपुगेका र नपाएका महिला सबैको भावना समान हुन्छ । बाहिर भाषण गरे जस्तो, अधिकार लिए जस्तो, शसक्त बने जस्तो सजिलो पक्ष होइन भावनालाई बुझेर खुलस्त हुनु या दबाउनु । त्यसैले मानसिक र भावनात्मक कुरा खुलेर बोल्न सक्ने स्थिति कतिपय अवस्थामा मिल्दैन ।

आर्थिक आयामः अहिले श्रीमान–श्रीमती, छोरा–छोरी दुवैले नोकरी या व्यवसाय गरेर आत्मनिर्भर बनेका हुन्छन् त्यसैले आर्थिक समस्या छैन । तर धेरै महिलालाई यो स्वतन्त्रता छैन र श्रीमान् या मातापिता, परिवारजनको अपेक्षामा बाँच्नु परेको अवस्था छ । प्रत्येक पटक पैसा मागेर घर चलाउनु सजिलो काम होइन । जीवनलाई सहज बनाउने विभिन्न माध्यम मध्ये आर्थिक स्वतन्त्रता पनि प्रमुख हो ।

सामाजिक स्वतन्त्रताको आयामः घर, परिवार र समाजको इज्जत राख्ने जिम्मेवारी नै महिलाको मात्र हो जस्तो गरिन्छ । हुन त महिला सृष्टि हुन् । घर, समाजमा उनको योगदान प्रेमपूर्ण र महत्वपूर्ण रहोस् भन्ने को महिलाले चाहँदैन र ? तर महिलालाई समाजले हेर्ने दृष्टि सकारात्मक नहुन्जेल महिला बाहिर शसक्त देखिए पनि भित्र कमजोर र असहाय हुन्छन् । 

आध्यात्मिक स्वतन्त्रताको आयामः व्यक्तिको शारीरिक, आर्थिक, मानसिक र भावनात्मक स्वास्थ्य र विकासका लागि जसरी सबै चिज आवश्यक पर्दछ त्यसरी नै आध्यात्मिक स्वास्थ्य पनि जरूरी छ । पुरुष सरह महिलालाई पनि आध्यात्मिक चिन्तन, साधना, ध्यान, योगमार्फत् आन्तरिक स्वास्थ्य कुशल राख्न पाउने अधिकार छ । तर,महिलाले घर, परिवार सबैको व्यवस्थापन गरेर मात्र यसमा सामेल हुन पाउँछन् । आत्माको अवलोकन गर्नु, स्वयंलाई जान्नु, स्वचिन्तनमा डुब्नु, चैतन्यगत अवस्थाको वोध गर्नु अध्यात्म हो । मानसिक शान्ति र सुख, तनाव मुक्ति, कार्यकुशलता सबैको लागि अध्यात्म आवश्यक छ, चाहे महिला चाहे पुरुष । त्यसैले घर, परिवार सबैले महिलालाई उत्प्रेरित गरी सहयोग गर्नु जरूरी छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्