नेभिगेशन
दृष्टिकोण

नानतेन टेम्पल र मेरा बुद्ध

तीनओटा आवासीय फ्लोर भएको एउटा सिंगो बिल्डिङका कुल २५ युनिटमध्ये २१ नं. को युनिट डोलेन्द्रको निवास हो । अनि दोस्रो फ्लोरको ११ नं. युनिट उनका परिचित निकटतम साथी अर्जुन अविनाशको रहेछ । उनका साथी र नजिकै पनि भएकाले उनीसित मेरो पनि राम्रै परिचय बनिसकेको थियो । हामीभन्दा केहीपछि मात्र आउनुभएका काठमाडाैं बालाजु निवासी रोभाका मातापिता कमलध्वज बोहोरा दम्पति पनि यहाँ आइपुग्नु भएको थाहा पाउने बित्तिकै परिचयको आदानप्रदान पनि भएको हो । हामी छोराबुहारीको निम्तोमा र उहाँहरू छोरीज्वाइँको निम्तोमा अस्ट्रेलिया आइपुग्न भ्याएका हौं । अर्जुन र रोभा उहाँहरूका छोरीज्वाइँ हुन् । अप्रत्यासितरूपमा हिजै मात्र भएको सल्लाह र सहमतिमा खानपिनपछि बिहान आठै बजे आफ्ना सासुससुराका साथै रेणु र मलाई पनि सँगै बसाएर अर्जुनबाबुले आफ्नो गाडी दौडाए ।

आजको हाम्रो उद्देश्य भनेको नानतेन टेम्पल बौद्ध गुम्बाको अवलोकन भ्रमण हो । यता नजिकैका पारामाटा सिटीबाट यस्तै ९०/९२ कि.मि. टाढा झन्नै २ घण्टा लगाएर उनले हामीलाई गन्तव्यमा पुर्‍याएपछि एउटा निश्चितिमा गाडी पार्क गरेर हामी सबै उत्रियौं । अघि आवासबाट छुटेको केहीबेरपछि नै गाडीले मोटर वे पक्डेर आफ्नो गति तेज बनाएको थियो । मोटर वेको धेरैजसो भाग अत्यन्त घना जङ्गलको माझबाट पार हुँदै आएको हो । जङ्गलबीचको बिलकुल शून्य नीरवतालाई त्यो फराकिलो सडकभित्र एकनासको गतिमा बग्ने बाक्लै गाडीको एक किसिम सरर स्वाँ... आवाजले मात्र नीरवतालाई भङ्ग गथ्र्यो । अहिले म अड्कल गर्दैछु– हामी आवासबाट निकै टाढा एकदमै पूर्वोत्तर दिशामा पुगेर गाडीबाट ओर्लेका छौं । यो ओलङ्गङ्को पनि उनन्डेरा भन्ने स्थान रहेछ । यो रमणीय ठाउँको प्रसिद्धि भनेकै नानतेन टेम्पल, बौद्ध गुम्बा हो भन्ने कुरा केहीबेरमै अझ स्पष्ट भयो ।

झण्डै दुई घण्टाजस्तो समय खर्चेर त्यो टेम्पल परिसर घुमीघुमी अवलोकन गर्‍यौं । मुख्य मन्दिरभित्र पस्नेबित्तिकै झर्झराउँदो स्वर्णमय जस्तो लाग्ने बुद्धको विशालकाय मूर्ति देखियो । अनि थुप्रै फराकिलो त्यो भित्तातिर हेर्दा संगमरमरका प्रत्येक टुक्रे टायलमा अंकित दसौं हजार बुद्धका चित्र ज्यादै आकर्षक देखिए । अझ अलिकति अग्लो माथिल्लो भूभागमा अवस्थित टेम्पलभित्र विभिन्न मुद्रामा रहेका पञ्चबुद्धका लामबद्ध मूर्तिहरूले शान्तिको सन्देश दिइरहेझैं लाग्छ । बाहिरका पटांगिनीमा लुम्बिनी गार्डेन उल्लेख भएको साइनबोर्ड देख्नेबित्तिकै हामी त्यतातिर आकर्षित भयौं । आफ्नो जानकारीमा रहेका बुद्ध र बुद्ध धर्मका सम्बन्धमा अर्जुनबाबु र मेरा बीच बेलाबेला आपसी संवाद हुँदै गर्छ । ओहो, त्यहाँ त कपिलवस्तु राजा शुद्धोधनको दरबार र दरबारियाहरूको समेत चित्रांकन गरेर बुद्ध माता मायादेवी र बालक सिद्धार्थका सुन्दरतम मूर्तिहरू सजाइएका देखिए । नजिकै गएर मैले अघाउँजी हेरें । पच्चीस सय वर्ष अघिको कपिलवस्तु शुद्धोधनको दरबार, माइतबाट फर्कंदै गरेकी मायादेवी, बाटैमा जन्मिएका सिद्धार्थ कल्पनाको पर्दामा सबै देखिए । यसपछि हामी अझ अलिकति उचाइतर्फ अग्रसर भयौं । त्यहाँ रहेको तलैतलाको, टावर जस्तो लाग्ने अग्लो चाहिं बौद्ध प्यागोडा अरे । त्यहाँचाहिं एकातिर कुनाबाट बज्दै गरेका ड्रमसेटको ढङ् ढङ् आवाज सुन्दा र स्वयम्भू चैत्य नेपाल सम्झाउने स्वर ताल मिलेको भाषामा पढ्दै गरेका बौद्ध भिक्षुहरू देख्ता एकछिन त हामी सबैलाई नेपालमै छौं भनेजस्तो अनुभूति भयो । यो त नेपाल हो भन्दै परस्पर कुरा पनि गर्‍याैँ । भिक्षुहरू सबै मंगोल आकृतिकै थिए । यी सबै चाइना मूलका व्यक्तित्व हुनुपर्छ भन्ने लाग्यो ।

यो नानतेन टेम्पल, नाम दिएको बौद्ध गुम्बाका परिसरतिर घुम्दा जताततै सजिला बाटाका दायाँबायाँ भित्तैभरि केही खस्रो खालको पत्थरमा कुँदिएका अगणित बुद्ध मूर्ति कुनै अलिकति ढल्केका अनि कुनै थोरै आरामको निम्ति पल्टेका जस्ता विभिन्न मुद्रा वा आसनमा थिए । यी सबै यहाँको सिङ्गो वातावरणले त्यसै त्यसै मेरो मन तरङ्गित हुन थाल्यो, नेपालबाट यति टाढा सात समुद्रपारि भन्ने गरिएजस्तो अनकन्टार लाग्ने भूभागमा महामानव बुद्ध अनि बुद्ध धर्मको यस्तो यत्रो महात्म्य ? कति महान् बन्न पुगेका मेरा बुद्ध ? कति धेरै ठाउँमा पुग्न र फैलिन सकेको बुद्ध धर्म । म भावावेगमा आएर बुद्धलाई मेरा भन्न पुगें । वास्तवमा हाम्रा बुद्ध, नेपालका बुद्ध अनिमात्र विश्वकै बुद्ध । कता कता इतिहासका लिच्छवीकालीन अंशुबर्मा, उनकी छोरी भृकुटी, त्यसबेलाका मूर्धन्य वास्तुकलाविद् अरनीको सम्झनामा आइरहे । जसले बुद्धत्वलाई हिमालपारि तिब्बतहुँदै त्यो बेलाको महाचीनसम्म पुर्‍याएका थिए । त्यो आजको विश्वकै ठूलो शक्ति राष्ट्र चीन त्यहाँ बुद्ध धर्म र बुद्ध वाणीको कत्रो महत्ता र सम्मान छ । यता दक्षिणपूर्वी एसियाली राष्ट्र बर्मा, कम्बोडिया, इण्डोनेसिया आदि उता सुदूरपूर्वी जापानसम्म फैलिन सकेको बुद्ध धर्म यो सबै इतिहास पढ्दा त इतिहास पनि अतिरन्जित पो हुन्छ कि जस्तो लाग्ने गथ्र्यो । तर आज यहाँ यति टाढा आफ्नै आँखा भरिभरि देख्न पाउँदा आत्मगौरवले छाती ढक्क हुन्छ अनि यो चञ्चल मन आत्मकेन्द्रित भएर मेरा बुद्ध भन्नलाई हतारिन्छ । बिस्तारैसित सबै यथार्थ बुझ्दै जाँदा र यी टुटेफुटेका शब्द जोडजाड गर्ने, लिपिबद्ध गर्ने बेलासम्म पुग्दा त बुद्धबारे यो वैभवशाली नानतेन टेम्पल यतिमात्र कहाँ हो रहेछ र ? यहाँ त बुद्ध धर्मसित सम्बद्ध विषयको पढाइ हुने शिक्षण संस्था नानतेन इन्स्टिच्युट पनि रहेको कुरा ‘चेन्ज योर लाइफ’ र अन्य केही परिचयात्मक पुस्तिकाबाट समेत थाहा पाउन सकियो । अनि त बुद्ध र बुद्ध धर्मको गरिमा बुझेर त्यसै त्यसै आत्मगौरवको अनुभूति अरु चुलिन्छ । यदाकदा बुद्ध नेपालमा जन्मिएका होइनन् भन्दै भारतीय सञ्चारमाध्यमबाट आउने भ्रामक र निरर्थक प्रचारबाजीले कताकता मेरो मात्र होइन नेपाली जति सबैको चित्त दुख्ने गरेकोमा एकाएक खुसीको समाचार प्रवाहित हुँदा सबै दंग परिएको छ । कुरा यसरी अगाडि आएको हो । हालै मात्र सत्तारुढ बन्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमैं आएर नेपालीकै माझ बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने वाक्य उद्घोष गरे । सञ्चारमाध्यमले उनको आवाज मेरो कानसम्म पनि ल्याइपुर्‍यायो । तब त मेरो मात्र होइन सम्पूर्ण नेपालीकै अन्तश्चेतनाका बाहक मनोग्रन्थीहरू सबल बन्न पुगेका छन् भन्ने लाग्छ । यद्यपि नेपाल र भारत बिचको सम्बन्धलाई लिएर पत्रपत्रिकामा मोदी भ्रमणका सन्दर्भपरक सकारात्मक, नकारात्मक अनेक टिप्पणी भए । उनको उद्घोषलाई कसैले सतही, कसैले गूढार्थक पनि भनेको पाइयो । यस्ता प्रश्नात्मक पक्षको उत्तर त भविष्यले देला नै । राजनैतिक वृत्तमा पसेर चलखेल गर्ने अहिलेको मेरो सन्दर्भ पनि होइन, तसर्थ बुद्धबारे शुद्ध सत्य बोल्यौ धन्यवाद मोदी । तत्काल यति भन्न चाहिं मलाई असजिलो लागेन ।

घुम्दा घुम्दै समयले फड्को मारिसकेछ । एउटा उच्च समस्थलीमा उभिएर यी जोरै आँखा पर पर हुत्याउँदा त्यो नीलो पहाडको फेदितिर टल्किएका बाक्लै घर भवनहरूले ओलङ्गङ् सिटीको भव्यता प्रदर्शन र पुष्टि गरिरहेझैँ लाग्यो । यहांबाट निकै टाढा पर्ने भएकोले समयाभावलाई मध्यनजर गर्दै आज अब त्यता पुग्न सकिंदैन भन्ने निष्कर्षमा पुगियो । एकचोटि भ्रमण गरिसकेका अर्जुनबाबु भन्दै थिए, यहांबाट अझै पर ओलङ् गङ् समुद्री बीच पनि हेर्न घुम्न लायकको ठाउँ छ । तर यो कुराकानीको दौर मात्र थियो, त्यता पुग्ने सम्भावना थिएन । कारण समयाभाव नै हो । अब हामी फर्किने क्रममा थियौं । केही तलतिर आइपुग्दा टेम्पलकै परिसरभित्र पिलग्रिम लज उल्लेख भएको तीर्थयात्री वा अन्य टुरिस्टहरूकै निम्ति त होला बस्ने आवास, होटल, चिया चमेनाका रेष्टुराँहरू देखिए । त्यतिखेर त्यहाँ घुमफिर गर्नेहरूको हुलमा अधिकांश भारतीय मूलका र केही गोराहरू पनि देखिए । केही थोरै नेपालीहरूमध्ये काठमाडौं सितापाइलाकी श्रीमती खनाल र उनका छोरीज्वाइंसित मात्रै होइन दक्षिण भारत तमिलनाडुका दम्पति तमिल भए पनि हिन्दीभाषी रहेकाले परिचयसितै विचार विनिमय गर्न पनि पाइयो । यस्तै रह्यो आजको दिन । गाडी चढ्ने बेला अर्जुनबाबुले बोकी राखेका आफू सुहाउँदा खानेकुरा, फलफूल खान आग्रह गरे । सम्मानित आग्रह स्वीकार्दै हामी उही अघि आउँदाको बाटो हुँदै आवास फर्कियौं । गाडीबाट उत्रेपछि उनको आजको यो सौजन्यलाई धन्यवाद अर्जुनबाबु भन्न भ्याएँ, त्यत्ति हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण