नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

साबिक विजेता जनकपुरमाथि काठमाडौंको पाँच विकेटको जित

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य समारोहसहित सुरु भएको छ । नेपालमा सबैभन्दा ठूलो फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता मानिने एनपीएलको सोमबार सम्पन्न उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सुरु भएको हो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौं दर्शक क्रिकेटको रौनकमा रमाए ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको विशेष उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भयो । रंगीन प्रस्तुति, सांगीतिक कार्यक्रम र खेलाडीहरूको स्वागतसँगै मैदानमा हेलिकप्टरबाट गरिएको पुष्पवृष्टिले वातावरण झन् भव्य बनायो ।

प्रधानमन्त्री कार्कीले उद्घाटन गर्दै देशमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिलाई मजबुत बनाउने जिम्मेवारी एनपीएलले वहन गरिरहेको बताइन् ।

पहिलो इनिङ : जनकपुरको मध्यम स्कोर

टस हारेर पहिले ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रनको लक्ष्य प्रस्तुत गर्‍यो । बलियो सुरुआत गर्ने अपेक्षा गरिएको भएपनि जनकपुरका अधिकांस ब्याटरले निराशाजनक प्रदर्शन गरे ।

यद्यपि ओपनर आसिफ शेखले उत्कृष्ट पारी खेले । उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाएका थिए । आसिफको एनपीएलमा पहिलो अर्धशतकीय पारीले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएको थियो ।

उनका साझेदार मयन यादवले ३४ रन, र लाहिरू समाराकोनले २२ रन जोडे । तर, अन्य ब्याटर १० रनभन्दा माथिको स्कोर गर्न असफल रहे । कप्तान अनिल साह नै शून्यमा पभेलियन फर्कनु जनकपुरका लागि ठूलो झट्का बन्यो ।

काठमाडौंका मिलिन्द कुमार बलिङमा चम्किए । उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिएका थिए । उनको यही पारीले जनकपुरलाई ठूलो स्कोर बनाउनबाट रोक्यो । करण केसी, साहब आलम र सन्तोष यादवले समान एक–एक विकेट लिए ।

दोस्रो इनिङ : काठमाडौंका ओपनरको बलियो साझेदारी

१३१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको काठमाडौं गोर्खाजका ओपनर बेन चार्ल्सवर्थ र आकाश त्रिपाठीले उत्कृष्ट सुरुआत गरे । दुवैले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै खेलको आधार बने ।

बेनले २३ बलमा ४६ रन बनाउँदै ५ चौका र ३ छक्का प्रहार गरे । उनको खेल कौशल र विस्पोटक ब्याटिङले जनकपुरका बलरहरूलाई निराश तुल्यायो । आकाशले ४५ बलमा ३९ रन जोडे । उनी डेब्यू खेलमै परिपक्व देखिए र इनिङलाई स्थिरता प्रदान गरे ।

ओपनर आउट भएपछि भीम सार्की (३), मिलिन्द कुमार (१९) र जोन सिम्पसन (१३) ले योगदान गरे । नटआउट रहेका आदिल आलम (८) र गेरहार्ड इरास्मस (१) ले अन्त्यमा टोलीलाई १८ ओभरमै लक्ष्य चुम्न सहयोग गरे ।

जनकपुरका कुनै पनि बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । किशोर महतो, अनिल साह, ललित राजवंशी र सञ्जय कृष्णमूर्तिले समान एक–एक विकेट लिए ।

खेलमा मिलिन्द कुमार प्लेयर अफ द म्याच बने । यस्तै, सन्तोष यादव इनर्जेटिक प्लेयर अफ द म्याच, आशिफ शेख सबैभन्दा बढी चौका हान्ने खेलाडी र अनिल साहको क्याच गरेका गेरहार्ड इरास्मसले क्याच अफ द म्याचको उपाधी हात पारे ।

यस जितपछि काठमाडौं गोर्खाज आत्मविश्वासका साथ आगामी बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्नेछ । जनकपुर बोल्ट्स भने आफ्नो कमजोर प्रदर्शन सच्याउन सोमबार विराटनगर किंग्सविरुद्ध मैदानमा उत्रनेछ ।

यस जितसँगै काठमाडौंले सिजनको बलियो दाबेदारको परिचय दिएको छ भने जनकपुरले आफ्नो अभियानमा पुनरागमन गर्न अब आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

नेपाली क्रिकेटमा सामाजिक र आर्थिक महत्त्व

तीन दिनअघि नै उद्घाटन खेलका टिकट ‘सोल्ड आउट’ भएका थिए । खेल चलिरहेसम्म पनि त्रिवि क्रिकेट मैदान बाहिर हजारौं दर्शक बसेका थिए । टिकट नपाएका केही दर्शक रुखमा चढेर खेल हेर्दै थिए भने कतिले अग्लो स्थानबाट टाढै बसेर प्रतियोगिताको साक्षी बने ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा रु ४४ करोड ७७ लाख र फ्लड लाइटका लागि रु ४२ करोड १९ लाख खर्च भइसकेको छ । एउटै मैदानको स्तरोन्नतिका लागि यति ठूलो रकम जुटाउन दर्शकको उत्साह र समर्थन निर्णायक बनेको हो । यही कारणले एनपीएल खेलले केवल खेलकुदको क्षेत्रमा नभई आर्थिक र सामाजिक दृष्टिले पनि महत्वपूर्ण स्थान बनाएको छ ।

एनपीएलले पछिल्लो समय विविधतापूर्ण नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने सेतुको भूमिका निर्वाह गरेको छ । यसप्रकार, खेल केवल मनोरञ्जन मात्रै नभई सामाजिक मेलमिलाप र राष्ट्रिय पहिचानको प्रतीक पनि बनेको छ । नेपाली क्रिकेटको यो महाकुंभ भनिएको एनपीएल पहिलो संस्करण अपेक्षाभन्दा बढी सफल भएपछि दोस्रो संस्करण थप स्तरीय मात्र नभई नेपाली समाजलाई एकआपसमा जोड्ने बलियो माध्यम पनि बनेको छ । एनपीएल उद्घाटन खेलले नेपाली क्रिकेटमा दर्शकको उत्साह, सामाजिक एकता र आर्थिक योगदानको नयाँ उच्च मानक स्थापित गरेको छ ।

आठ फ्रेन्चाइज टोली सहभागि एनपीएल मंसिर २७ गतेसम्म चल्ने विजेताले टोलीले रु एक करोड १० लाख पाउने छ । साथै दोस्रो हुनेले रु ५१ लाख र तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद