नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

चितवन र विराटनगरको जित

काठमाडौं । रबि बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोज विजयी भएको छ । नेपाल प्रिमियर लिग दोस्रो संस्करणको दोस्रो दिन मंगलबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रन बनाएको थियो । १६७ रनको विजयी लक्ष्य चितवनले पाँच बल बाँकी छँदै ६ विकेट गुमाउदै पूरा गर्‍यो ।

चितवनको जितमा बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै दीपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए । सइफ जइबले १६ बलमा दुई चौका र चार छक्का हान्दै ३८ तथा कप्तान कुशल मल्लले १५ बलमा दुई छक्काको मद्दतमा २० रन बनाए ।

बलिङततर्फ कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले दुई तथा उनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक/एक विकेट लिए । त्यसअघि कर्णाली याक्सका लागि ओपनर प्रियांक पञ्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपीएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।

त्यसैगरी म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए । बलिङतर्फ चितवन राइनोजका सोहेल तनवीर, सइफ जैब र रवि बोपराले एक/एक विकेट लिए ।

आफ्नै रकर्ड सुधार्दै विराटनगरको कीर्तिमान

दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अंक जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्‍यो ।

विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा विराटनगरका प्रतिश जीसी, शुभम् रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा बसिर अहमद र सूर्य तामाङले एक/एक विकेट लिए । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो । यो एनपीएल इतिहासकै उच्च स्कोर थियो । यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । विराटनगरले यसपटक आफ्नै रेकर्डलाई तोड्यो । यसमा लोकेश बम र मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले । गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए । लोकेश ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रनमा आउट भए ।

गुप्टिल र लोकेशले दोस्रो विकेटका लागि १३२ रनको साझेदारीसमेत गरे । यस्तै, शुभम् रन्जनेले १६ बलमा ३८, बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । बलिङतर्फ पोखराका मार्ट टेलरले २, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्