नेभिगेशन
दृष्टिकोण

अपेरा हाउस र हार्बर ब्रीज

दक्षराज शर्मा
सिड्नी मात्र होइन, अस्ट्रेलियाकै परिचायक मानिने ठाउँ अपेरा हाउस र हार्बर ब्रीजलाई लक्ष्य बनाएर निक्लिएका हामी त्यतिखेर अपेरा हाउसकै परिक्रमा गर्दै चारैतिर आँखा घुमाउँदै थियौं । ग्रानभिलबाट ट्रेन चढेर सिटी सेन्ट्रल ओर्लेपछि त्यहाँका फराकिला सडक नाप्तै र मान्छेको भिड चिर्दै त्यहाँ पुगेर त्यो भव्य भवनको निर्माण शैली र वरिपरिको वातावरण नियाल्ने अवसर मिलेको कुरा अहिले पनि स्मृतिमा ताजै छ । सिटीका मुख्य चौरस्तातिर बेलायतीहरू पहिलोचोटि अस्ट्रेलिया प्रवेश गर्दाका सूचनामूलक आधार स्तम्भ र कतै कतिपय विशिष्ट व्यक्तिका शालिकहरू पनि घुम्ने क्रममा हेर्न भ्याइएको हो । त्यस दिनको मुख्य लक्ष्य बिन्दु अपेरा पुगेर ठूलो एरियामा अवस्थित सिङ्गो भवनको फन्को मार्दै मुख्य प्रवेश द्वारतिर उक्लिंदै पुग्नुपर्ने फराकिला सुगम सिंढी भएर माथिसम्म पुग्न सकिएको थियो । हाउसको भित्री स्वरुप भने त्यस दिन प्रत्यक्ष हेर्न पाइएको थिएन । यसको निम्ति त कार्यक्रम सञ्चालनको बेला कार्यक्रमको प्रकृतिअनुसारै सशुल्क वा निःशुल्क मात्र सम्भव हुने कुरा रहेछ । अपेरा हाउसको विशेष परिचय भने मैले आधुनिकतम प्रविधिका विशेष स्रोत साधन र परिचय पुस्तिकाहरूबाट पाएर नै यसको अवलोकनमा म आकृष्ट हुन पुगेको हँु ।

अस्ट्रेलियाको प्रमुख गन्तव्य स्थल मानिने यो अपेरा हाउस निर्माण कार्यको शुभारम्भ सन् १९५९ मा भएर सन् १९७३ मा सर्वाङ्गपूर्ण भएको केही समयपछि परिचालनको निम्ति खुल्ला गरिएको रहेछ । कता–कता पत्रैपत्र पखेटा फिंजाएजस्तो देखिने यस विशेष भवनका मुख्य डिजाइनर आर्किटेक्ट इन्जिनियर उड्जोर्न नामका व्यक्ति रहेछन् । यो हाउसको लम्बाइ १८३ मिटर चौडाइ १२० मिटर र उचाइ ६५ मिटर रहेको पाइयो । यो भवनले ढाकेको कुल क्षेत्रफल भन्डै साढे चार एकड रहेछ । अपेरा हाउसभित्र कार्यक्रमका विभिन्न ६ ओटा हलहरूमध्येको विशेष कन्सर्ट हलमा मात्रै एकैचोटि २६७९ जना मानिस समाहित हुन सक्ने र अन्य विभिन्न सबै हलको कुल क्षमता भने ५७३८ रहेछ । यो अपेरा हाउस चालू शताब्दीसम्म संसारभरिकै गणना र मूल्यांकनमा मानवीय मूल्य मान्यताका विविध संस्कृति एवं कला प्रदर्शनीका निम्ति प्रथम स्थानमा रहेको आधिकारिक स्रोतबाट थाहा  लाग्यो । विश्व सम्पदा सूचीमा भने सन् २००७ तिर मात्रै सूचीकृत हुन पुगेको यो सम्पदालाई स्रोत भन्छ– अहिलेसम्म सात मिलियन भन्नाले हाम्रो हिसाबमा झन्डै ७० लाख मानिसले यसको अवलोकन भ्रमण गरिसकेका रहेछन् ।

यो खास ठाउँलाई सर्कुलर क्वे भनिंदो रहेछ । निकै ठूलो र फराकिलो ठाउँ ओगटेर भित्रतिर पसेको यो शान्त समुद्री भागको तटवर्ती इलाकामै सहरी स्वरुप देख्न पाइन्छ । उता पश्चिमी क्षेत्रतिरबाट झट्ट हेर्दा अपेरा हाउस त समुद्रमाथि ठड्याइएको जस्तो लाग्छ । समुद्री भागले नै तीनतिर कुना बनाएको यो ठाउँ भौगोलिक भाषाको प्रायःद्वीप जस्तो लाग्छ किनकि यो एकापट्टिको सहरी चोसोले मात्र छोएको देखिन्छ । यो समुद्री भाग पश्चिम तर्फ बढ्दै जाँदा क्रमशः सीमित क्षेत्रमा देखिने पारामाटा रिभरका नामले चिनिंदो रहेछ । यता वरिपरि देखिने समुद्री सतहमा सयौं होइन हजारौं साना–ठूला फेरी, मोटरबोट पर्यटकहरूलाई लिएर निकै पर–परसम्म ओहोरदोहोर गरिरहेका देखिन्छन् । उता पर देखिने हार्बर ब्रीज र त्यसको मुनितिर छिर्ने जहाजहरूको निरन्तरता रमाइलो लाग्छ । स्थानीय र क्षेत्रीय स्तरमा ओहोरदोहोर गर्ने बाहेक त्यस दिन त्यहाँको तटीय क्षेत्रमा दूर–दूर देश–देशान्तर गर्ने, गन्ती गर्दा स्पष्ट दस तलाको एउटा भीमकाय जहाज पनि त्यहाँ देखिन्थ्यो त्यो नीलो समुद्री पानीमाथि ।

चाहेर पनि हार्बर ब्रीजमाथि वारिपारि गर्न भ्याइएन । समयले साथ दिएन । त्यस दिन बिहान घरबाट निस्किंदा नै फर्किंदा फेरी चढेर पारामाटा ओर्लिने भन्ने थियो । रेणु, गेहेन्द्र र डोलेन्द्र पनि साथै थिए । कलममा गफिन भनें म एक्लै । त्यही किनारामा उभिएको एउटा फेरीमा हामी चढ्यौं । छोराहरूले टिकट बनाइसकेका थिए । फेरीको त्यो सुविधायुक्त आरामदायी सिटहरू भएको तल्लो तला छोडेर हामी माथि छततिर उक्लियौं । यसो गर्नुको उद्देश्य भनेको खुला रुपमा चारैतिरको दृश्यावलोकन गर्न पाइन्छ भन्ने नै हो । छतमा पनि त्यस्तो असजिलो थिएन । बस्ने सिटहरूको राम्रै व्यवस्था र सुन्दर सफेद स्टिलका डन्डीको बेराबेरा भएको सुरक्षित ठाउँ रहेछ । सबै सुरक्षित सिटमैं थिए । फेरीका पनि छोटो दूरीमा स्टेशनहरू हुँदा रहेछन् । मानिसहरू चढ्ने र ओर्लिने क्रम चल्दै नै रह्यो । म छतबाट चारैतिर आँखा डुलाउँदै रमाइरहेथें । फेरीले अगाडिपट्टिभन्दा पछाडिपट्टि समुद्री पानी उछालेर बनाएको बाटोले मेरो ध्यान बढी आकृष्ट गरेको थियो । सम्झिएँ– ‘हिँड्दैछ, पाइला मेट्तै छ’, यो प्रश्नात्मक गाउँखाने कथा र उत्तरमा आउने ‘नाउ’ फेल भएजस्तो लाग्यो । फेरी पनि त नाउकै विकसित रुप हो । यसका पाइला निकै परसम्म पुग्दा पनि सेतो न सेतो डोबका रुपमा देखिइरहेथ्यो । 

वारिपारि देखिने तटीय क्षेत्रका रुखबिरुवा, वनस्पति, हरियालीयुक्त सुन्दर पार्क, आवास बहुल क्षेत्र सबै आँखाका निम्ति आकर्षणका वस्तु थिए । छोराहरू नयाँ वातावरणमा दङ्गदास भएकी आफ्नी आमासितै संवादमा व्यस्त थिए । म भने कसरी–कसरी छेवैको सिटमा बसेकी एउटी अधबंैशे भारतीय महिलासित परिचित हुन पुगें । तिनी मुम्बईबासी मराठा भए पनि हिन्दीभाषी रहिछन् । मलाई हिन्दीभाषीसित कुरा गर्न केही सहज भएको थियो । यतातिरका गोरा जातिसित जस्तो भाषिक कठिनाइ थिएन । कामचलाउ नै सही हिन्दीमा दुःखसुखका कुरा गर्न पाउँदा म निकै हर्षित मुद्रामा थिएँ । यति टाढाको यो विदेशी भूमिमा आफ्नै वल्ला–पल्ला घरकी दिदीबहिनी भेटेजस्तो अनुभव भएर म पनि बोल्न हौसिएको हुँला । उनी पेसाले डाक्टर रहिछन् । 

आफ्ना श्रीमान्सित टुरिस्ट भिसामा केही दिन घुम्न भनेर अस्ट्रेलिया आएकी । बिरामीकै उपचार सन्दर्भमा कहिलेकाहीँ कोलकाताहँुदै सिलिगुडीसम्म आउने गरेको कुरा गर्थिन् उनी । सिलिगुडी त नेपाल मेरो ठाउँको सीमान्त क्षेत्र नै हो भन्दै म पनि सदाशय व्यक्त गर्थें । बोल्दा–बोल्दै उनको ओर्लिने ठाउँ आइपुगेछ । अच्छा तो... भन्दै हात उठाएर आफ्ना श्रीमान्सितै उनी ओर्लिन् । अनि पो झल्याँस्स सम्झें– साँच्ची त्यतिखेर उतापटि नजिकै बसेका उनका श्रीमान् भने एक शब्द पनि नबोली मेरा मुखतिर मात्रै ताकिरहन्थे किन होला ? मनमनले ठानें– मान्छेका आनीबानी स्वभाव पनि त व्यक्तिपरक रुपमा भिन्न–भिन्न हुन सक्छन् । खै किन हो म पनि त उनीसित एक शब्द बोलिन नि भन्दै चित्त बुझाएँ । के–के सोच्दा–सोच्दै हाम्रो पनि फेरीबाट उत्रिने बेला भइसकेछ । त्यस दिन आफ्नो आवास नजिकैको पारामाटा स्टेशनसम्म फेरी जान नसक्ने भएकाले हामी ओलम्पिक पार्कमा उत्रिन बाध्य भएका थियौं ।

अनि आज बल्ल महिनौंपछि अर्कोपटक सिड्नी सिटीकै मुख्य स्थल सर्कुलर क्वे उत्रिन पुगिएको छ । आजको मेरो यो भ्रमणमा डोलेन्द्र मात्र संलग्न रहेका छन् । भनि सकिएको छ– सिड्नी मात्र नभएर सिङ्गो राष्ट्र अस्ट्रेलियाकै परिचायक अपेरा हाउस र हार्बर ब्रीज पर्यटकका निम्ति विशेष आकर्षणका वस्तु मानिन्छन् । अहिले दिनको यस्तै १२ बज्दै होला । यतिखेर हामी हार्बर ब्रीजको माथि अत्यन्त सुरक्षित फुटपाथको पनि मध्य भागमा उभिन पुगेका छौं । तलतिर यस ब्रीजको दक्षिणपूर्वी कुनाबाट केही घुमाउरा सिंढी चढेर यो उंचाइमा आइपुग्न आफूलाई केही कठिन महसुस भए पनि यसलाई यति नजिकै भएर छाम्ने अधुरो आकाङ्क्षा पूरा हुँदै गएकोमा सन्तुष्टि मिलेको छ । त्यतिखेर अपेरा हाउसको सबैभन्दा माथिल्लो सिंढीमा उभिएर हेर्दाको भन्दा आज अहिले यहाँबाट त्यो समुद्री नीलिमा र त्यसमाथिका जल–संसाधन अपूर्व लाग्दैछन् ।

यो हार्बर ब्रीज उता पर पूर्वोत्तर कोणबाट भित्र पसेर कोणात्मक रुपमा सिड्नीको मुख्य सिटी हुँदै पश्चिम पारामाटासम्म पुग्ने समुद्री भागमाथि दक्षिण र नर्दन सिड्नी भनिने उत्तर भागलाई जोड्न निर्माण गरिएको रहेछ । अहिले त्यो पुलमाथिको फुटपाथमा पैदल पार गर्न लाग्दा प्रत्यक्ष देखिंदैछ, यसमाथि चार–चार लेनका अपडाउन गर्ने जम्मा आठ लेनमा यान वाहन सलल बगिरहेकै छन् । साइकल र पैदलका निम्ति अत्यन्त सुरक्षित बाटायुक्त दुई लेन अनि फेरि पुलको पश्चिमी भागमा अपडाउन गर्ने दुई लेन रेल्वे समेत गन्ती गर्दा ब्रीजमाथि जम्मा बाह्र लेन देखिए । यो ब्रीजमा वारिपारि बाहेक बीचमा कुनै खम्बा छैनन् । यो एउटा अति व्यस्त हाइवे सरहकै पुलको माथिल्लो भागतिर इन्द्रेणी आकारमा उचाल्दै लगिएको आर्क देखिन्छ । यसमाथि पनि कोही साहसी पर्यटक पुग्न चाहन्छ भने शुल्क तिरेर आफ्नो शरीरलाई त्यहाँ उपलब्ध साधनले बाँधिएर माथि पुग्न सक्ने व्यवस्थासमेत रहेछ । 

त्यस्तो अत्यन्त विकट लाग्ने काममा आफ्नो भने आँट आएन । पुलमाथिको फुटपाथ हुँदै पारि पुगेपछि उतैबाट फर्किने क्रममा लुना पार्क हुँदै फेरी (जहाज) माथि फन्को मारेर अपेरा हाउस हुँदै फर्किने क्रममा हिजै मात्र टिपोट गर्न भ्याएको आधुनिक स्रोत साधनबाट प्राप्त आफ्नै डायरीका पन्ना पल्टाउँदै हेर्छु– आश्चर्य लाग्छ ।

त्यो हार्बर ब्रीजको लम्बाइ ११४९ मि. चौडाइ ४९ मि., उचाइ १३४ मिटर देखियो । यस्तो ज्यादै विचित्र लाग्ने ब्रीजको डिजाइन गर्ने अस्ट्रेलियाकै क्वीन्सल्यान्ड निवासी आर्किटेक्ट इन्जिनियर डा. ज्योकोप ब्रोडफिल्ड रहेछन् । यो ब्रीजको निर्माण कार्य सन् १९२३ मा सुरु भएर सन् १९३२ जम्माजम्मी ९ वर्षमा सम्पन्न भएर त्यसै वर्षदेखि उद्घाटित भएको रहेछ अनि यसमा प्रयोग गरिएको मुख्य निर्माण सामग्री ५२ हजार मेट्रिक टन स्टिल (फलाम) सबै बेलायतबाट आयात गरिएको आदि इत्यादि कुरा थाहा पाउँदा आजभन्दा झन्डै सय वर्षअघि नै यत्रो ठूलो अक्कलमा यस्तो जादूमय प्रविधिको विकास र काम कसरी सम्भव भयो हो ? अनौठो र आश्चर्य नलाग्ने कुरै होइन भन्ने लाग्छ ।
लामो समय नेपाली विषयको शिक्षणमा बिताएका शर्मा साहित्यकार हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना