नेभिगेशन
दृष्टिकोण

युवा पलायन रोक्नका खातिर

युवाहरूले अहिले आत्मसम्मान, सहज ढंगले देशमा लगानी गर्ने अवस्था र उत्पादन भएका वस्तुहरूको बजारीकरणको व्यवस्था होस् भन्ने चाहना राखेका छन् । यी कार्यमा सरकारले सहजीकरण गर्ने हो भने हाम्रा देशका युवा बाहिरिने क्रम घट्नेछ । देशमा भनेजस्तो आम्दानी नहुने, भएको आम्दानी बचत नहुने, सानोतिनो उद्योग खोल्न ऋण नपाउनेलगायतका संरचनात्मक समस्याले युवा विदेशिने गरेको सन्दर्भमा सरकारले दह्रो हस्तक्षेपमार्फत युवा पलायन रोक्नुपर्ने देखिन्छ ।

नेपालमा लामो समयदेखि युवा पलायनका बारेमा छलफल र बहस हुने गरेको पाइन्छ । हरेक बहसमा युवा पलायन देशका लागि समस्या बन्दै गएको र यसलाई रोक्नुपर्छ भन्ने निष्कर्ष निस्किने गरेको पाइन्छ तर तथ्यांक हेर्ने हो भने युवा पलायन रोकिनुको सट्टा झन् बढ्दै गएको छ । युवा पलायनका एक होइन अनेक कारण हुन्छन् ।

भदौ २३ गतेको युवाहरूको प्रदर्शन जुन भयो त्यो युवालाई देशमै अवसर दिने र यहीँ बसेर अध्ययन गर्न र रोजगारी प्राप्त गर्ने अवस्थाको सिर्जना गर्ने मागका लागि भएको थियो । यो उद्देश्य पवित्र थियो र आजको समयमा आवश्यक पनि । तर, यसलाई अपहरण गरेर २४ गते जुन आगजनी र तोडफोड भयो र यसैको जगमा संविधान बाहिरबाट हालको सरकार बन्यो यसपछि युवाहरूमा झन् निराशा बढेर गयो । यो घटनापछि देशमा नै बसेर केही गर्न कम्मर कसेर बसेका युवाहरू पनि देशमा बस्न असुरक्षित महसुस गरी विदेश जाने सोचमा छन् ।

यी सबै कुराहरूलाई ध्यान दिँदै विगत केही समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नजिकबाट नियाल्दा, उपलब्ध तथ्यांकलाई केलाउँदा र लगभग १८ सय किलोमिटरको खुला सिमानाबाट युवाहरू बाहिर जानेको संख्या अनुमान गर्दा अहिले प्रत्येक दिन नेपालबाट २२ सयदेखि २५ सय युवाहरू रोजगारी वा अध्ययनका लागि देश छोडेर गइरहेको पाइन्छ । भदौको घटनापछि यो अझै बढेको र यहाँ बस्नेको मनस्थिति पनि बिग्रिएको र कतिपयलाई त समयमा नै देश छोडेर बाहिर नगएकामा पछुतो लागेको गुनासो छ । यसरी बाहिर जानेको तथ्यांकलाई हेर्ने हो भने आजसम्मका परिवर्तन, महान् भनिएका क्रान्ति र युवाहरूका लागि गरिएका कार्यक्रमहरू सबै बेकार लाग्छन् । विभिन्न खाले परिवर्तन र क्रान्तिको नाममा हाम्रो नेतृत्वले हाम्रा युवाहरूलाई विदेश पलायन हुने वातावरण तयार पार्नबाहेक केही गरेनन् भन्ने यसबाट स्पष्ट हुन्छ । यसरी देश विकासका वाहक युवाहरूलाई लामो समयसम्म देशबाहिर पठाएर विप्रेषणमा रमाउने हाम्रो राज्य सत्ता वा राजनीतिक प्रणालीको यो भन्दा ठूलो असफलता, अदुरदर्शिता र गैरजिम्मेवारी अरू के हुन सक्छ ?

विकसित देश होस् वा अविकसित सबैमा युवा वर्ग भन्नेबित्तिकै देश, समाज र परिवारको समृद्धिको आधार र भविष्य भन्ने बुझिन्छ । विश्वका धेरै देशहरूको विकासको मोडल हेर्ने हो भने युवा जनशक्तिको सदुपयोगमार्फत नै ती देशहरूको विकास भएको देखिन्छ । यस्तो विकासका मेरुदण्ड मानिने युवाहरू प्रत्येक दिन ठूलो संख्यामा विदेश जानु र यहाँ बस्नेहरूको पनि मनस्थिति परिवर्तन हुनु दुःखद हो । आफ्नै देशमा बसेर सेवा गर्ने मन हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, शान्ति सुरक्षा, नयाँ आविष्कार, स्वास्थ्य वातावरण र अन्य सम्भावनाको खोजीमा युवाहरू विदेशिएका छन् । अहिले विशेष गरेर नेपालबाट विदेश जाने युवाहरूको दुई धार पाइन्छ । पहिलो काम गर्ने अनुमति लिएर र दोस्रोमा अध्ययन गर्ने उद्देयले विदेश जानेहरू । दोस्रोको तुलनामा पहिलो किसिमका युवाहरू बढी संख्यामा विदेश जाने गरेको पाइन्छ । देशमा भनेजस्तो आम्दानी हुने काम सजिलै नपाएको कारणले, छिमेकीले विदेशबाट धेरै कमाएर ल्याएको देखेर, नेपालको कमाइ बचत हुँदैन भन्ने लागेर, सानोतिनो उद्योग खोल्न ऋण प्राप्त गर्न नसकेर वा उद्योग खोल्ने प्रक्रियागत झञ्झट सहन नसकेर, उत्पादित वस्तुको बजारीकरणको समस्या भएर र सबै कामहरूको समान स्तरको इज्जत नभएका कारणले युवा विदेशिने गरेको पाइन्छ । यस्ता खालका श्रमिकहरू मलेसिया र खाडी राष्ट्रमा बढी जाने गरेका देखिन्छन् । वर्तमान अवस्थामा नेपालले विश्वका ११० भन्दा बढी देशसँग वैदेशिक रोजगारीमा हाम्रो श्रम शक्ति पठाउने सम्झौता गरी वैदेशिक रोजगारी खुला गरेको र यसलाई निरन्तरता दिएबाट यो क्रम तत्काल घट्ने देखिँदैन ।

दोस्रो प्रकारका विदेश जाने युवाहरूमा विद्यार्थीहरू छन् जो अध्ययन भिसामा विशेष गरेर अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा जाने गर्छन् । यिनीहरू देशमा प्राप्त शिक्षाभन्दा उच्च स्तरको शिक्षा लिनका लागि बाहिर जान्छन् । यसमा पनि धेरै संख्या चाहिँ कामको ग्यारेन्टी भएपछि मात्र ती देशहरूमा जाने गरेको पाइन्छ । यो प्रकारको भिसा प्राप्त भएपछि सबैजसोको घरमा पार्टी हुन्छ, आमा बाबु, आफन्त, छिमेकी सबै खुसी देखिन्छन् । परिवार र आफन्तहरूलाई एक किसिमको गर्वको महसुस हुन्छ । यो अध्ययन भिसा कहिलेकाहिँ त जोरीपारीसँग फूर्ति लगाउने विषय पनि बन्न जान्छ । त्यतिले मात्र नभएर कतिले त हाम्रो छोरी–छोराले त अमेरिका वा अष्ट्रेलियामा नै बिहे गर्‍यो भनेर छिमेकमा धाक लगाएको पनि देख्न पाइन्छ । तर घरमा वरको सिन्को पर नसारेका हाम्रा छोराछोरीहरूले त्यहाँ पुगेर पढाइभन्दा पहिला कामको जोहो गर्नतर्फ लागेको र काम पाएपछि पनि के काम गर्छन् भन्ने बताउन नचाहेबाट लाखौं खर्च गरेर त्यहाँ गएपछिको जीवन खासै सहज नभएको पुष्टि हुन्छ ।

देशमा राम्रै हुनेखानेका छोरीछोरा, उच्च ओहदाको जागिर खानेका नानीबाबुहरूलाई विदेशमोहले यतिसम्म तानेको छ कि त्यहाँ हाम्रा नानीबाबुहरूले अमृत नै प्राप्त गर्छन् वा मोक्षको बाटो नै ती देशहरू हुन् जस्तो देखिन्छ । तर यसमा हाम्रो विडम्बना चाहिँ के भने हामीले जन्मायो, पढायो, बढायो अनि जब परिवार, समाज र देशलाई योगदान दिने समय आउँछ उनीहरू विदेशमा योगदान दिन जान्छन् । विदेशीहरूले हाम्रा नानीबाबुहरूको सीप, क्षमता, समय, ऊर्जा र ज्ञानलाई प्रयोग गरेर सम्पन्न हुन्छन्, हामी जहाँको त्यहीँ रहन्छौं । यो प्रकारका युवा पलायनलाई भदौ २४ को घटनाले झन् बढावा दिएको देखिन्छ । यहाँ के खतरा हुन गयो भने हाम्रा युवाहरूले देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी युवालाई देशमा नै बसेर काम गर्नसक्ने वातावरण तयार गर्ने उद्देश्यका साथ भदौ २३ को कार्यक्रम आयोजना गरिएकोमा घुसपैठका कारणले ती २३ गते अभियान चलाउने युवाहरूलाई बदनाम गराउने हेतुले २४ मा जुन घटना घटाइयो, त्यसले धेरै युवाहरू हतप्रभ भएको अवस्था छ ।

हाम्रा युवाले देशमा बेरोजगारी, भ्रष्ट्राचार, कुशासन, शान्ति–सुरक्षा, देशमा सधैं हुने तोडफोड र आन्दोलन तथा कानूनी राजको अभाव देख्छ भने विदेशमा प्रशस्त रोजगारी र पारिश्रमिक, सुखी जीवन, सुविधा सम्पन्न जीवनशैली, गुणस्तरीय स्वास्थ र शिक्षाजस्ता सुविधा देख्छ यसले पनि युवायुवतीहरूलाई विदेशले आकर्षित गरेको देखिन्छ । तर बच्चालाई विदेश पठाउन लाखौं खर्च गर्ने अभिभावकले आफ्नै देशमा त्यही रकम लगानी गरेर जीवन सहज हुन्छ भन्ने सिकाउन सकेन भने समाज र राज्यले पनि यतातिर ध्यान दिन चाहेन तसर्थ पनि युवा विदेश पलायन भइरहेको छ ।

तर, अथाह प्राकृतिक सम्भावनाहरू भएको देशमा आफू सत्ता र शक्तिमा भएका बेलामा सत्ता र शक्तिको दुरुपयोग गरेर काण्डमाथि काण्ड मच्चाउने, आफ्ना स्वार्थमा पार्टी फुटाउने, जोड्ने र जनताप्रति अन्याय, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने जनतालाई शोषण गर्ने, देशको स्रोत र साधनको दुरुपयोग गर्ने र विदेशीहरूका लागि सधैं सुविधाजनक बनिरहनेहरू नै सबैभन्दा ठूलो, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रवादी भएको देख्दा सचेत नागरिकहरू त्यस्ता राजनीतिक दलहरूप्रति र सबैभन्दा धेरै त अहिलेको सरकारको निर्णय प्रक्रिया र उसको कार्यशैलीप्रति निराश भएका देखिन्छन् । विदेश पलायन बढ्दै जानु अर्थतन्त्रका लागि बढो खतरनाक हुनसक्छ तसर्थ यसबारेमा समयमा नै सोच्नुपर्ने देखिन्छ ।

२०६२/०६३ साल यता हाम्रा नेताहरूले देशका युवालाई पूरा नहुने सपना बाँड्नमा नै समय खर्च गरे तर आफूहरू चाहिँ कमाउ धन्दामा व्यस्त भए । उनीहरूले बेलाबेलामा गर्ने भाषणमा लोकतन्त्र, गणतन्त्र र सुशासनको बयान गर्ने तर व्यवहारमा भने आफूले सत्ता नपाउनासाथ लोकतन्त्र र गणतन्त्र खतरामा परेको देख्ने तथा सत्तामा पुग्नासाथ शक्तिको दुरुपयोग गरेर कानून र विधिको शासनको उपहास गर्ने तथा राजनीतिक पूर्वाग्रह साँध्न फरक विचार राख्नेलाई अपराधी करार गर्ने प्रवृत्ति बढ्दै जाँदा युवावर्गमा निराशा थपिँदै गएको छ जुन युवाहरू विदेश पलायनको एक प्रमुख कारण बनेको छ ।

युवा पलायन रोक्ने उपाय

नेपालमा जनसंख्या तथ्यांकहरूमा (१६ देखि ४० वर्षको उमेर) ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको देखिन्छ । यो अवस्थामा युवा जनशक्तिसँग सम्बन्धित आवश्यक नीति निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गरी अधिकतम जनसांख्यिक लाभ लिन सक्ने हो भने देशमा प्रशस्त मात्रमा रहेको यस्तो युवा जनशक्ति आर्थिक दृष्टिकोणले सकारात्मक र देश विकासका लागि ठूलो अवसर हुनेछ । देशले हाम्रो युवा जनशक्तिसँग राजनीति, अर्थतन्त्र, समाज, संस्कृति र विकासमा हातेमालो गर्न सिक्नुपर्छ तर यसमा राज्य चुकेको देखिन्छ ।

त्यसैगरी, युवाहरूलाई देशभित्रै आकर्षित गर्ने रणनीति बनाउनेतर्फ पनि राज्यले सोच्नुपर्छ । यसका लागि देशभित्र आन्तरिक उत्पादन बढाई देशमै रोजगारीको सिर्जना गर्नुपर्छ, सरकारी सेवामा धेरैभन्दा धेरै क्षमतावान् नेपाली युवालाई अवसर दिने रणनीति बनाउनुपर्छ साथै लोकसेवाको वर्तमान परीक्षा प्रणालीमा पनि परिवर्तन गर्नुपर्ने भए सोअनुसार पनि राज्यले सोच्नुका साथै युवाहरूलाई स्वरोजगारतिर लैजाने योजना पनि बनाउनतिर लाग्नुपर्छ । यसका लागि सरकारले आवश्यक ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्नुपर्छ । देशमा धेरै रोजगार दिन सक्ने कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रहरूमा सरकारले धेरै युवा जनशक्तिलाई रोजगार दिन सक्ने कार्यक्रमको विकास गर्न सक्नुपर्छ र हाइड्रोपावर तथा विभिन्न खाले सार्वजनिक संस्थानहरू जस्ता क्षेत्रहरूमा युवाहरूलाई निश्चित सेयर दिने नीति अपनाउन सकियो भने पनि धेरै युवाहरूलाई देशभित्र नै राख्न सकिन्छ । यिनीहरूलाई रोक्न युवाहरूलाई आकर्षित गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ । राज्यले धेरै खालका सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको सन्दर्भमा देशको भविष्य बोकेका र देश विकासमा लाग्ने युवाहरूका लागि पनि केही आकर्षणका कार्यक्रमहरू ल्याउन सक्नुपर्छ ।

यसका लागि युवा जनशक्ति सम्बन्धी राष्ट्रिय नीति तथा योजनाको आवश्यकता पर्दछ । हाम्रा विश्वविद्यालयहरूमा रहेका विद्यावारिधि उपाधि प्राप्त र विभिन्न अनुसन्धानमा लागेका विभिन्न क्षेत्रका विज्ञहरूलाई देशको आवश्यकताअनुसार खोज गर्न प्रोत्साहन गर्नुका साथै यस्ता अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई सरकारका सबै सम्बन्धित क्षेत्रले बाध्यात्मक उपयोग गर्ने परम्पराको विकास गर्नु जरुरी देखिन्छ । यसले एकातिर देश विकासमा सहयोग पुग्छ भने अर्कोतिर राज्यले क्षमतावान् जनशक्तिको प्रयोग गर्न थाल्यो भनेर यस्ता जनशक्तिको विदेश पलायन रोकिन थाल्छ ।

युवाहरूले अहिले आत्मसम्मान, सरकारी कार्यालयमा छिटो र छरितोसँग जनताले अनावश्यक दुःख नपाई काम सम्पन्न हुने वातावरण, सहज ढंगले देशमा लगानी गर्ने अवस्था र उत्पादन भएका वस्तुहरूलाई सहज ढंगले बजारीकरणको व्यवस्था होस् भन्ने चाहना राखेका छन् । यी कार्यहरू सरकारले गर्न सक्ने हो भने हाम्रा देशका युवाहरू बाहिरने क्रम घट्नेछ भने एकपटक बाहिर गएर फर्किएकाहरू पनि यहीँ केही गरेर देशमै बस्ने अवस्था सिर्जना हुनेछ । तर, यसका लागि पहिलो शर्त भनेको जननिर्वाचित सरकारको निर्माण नै हो ।

समग्रमा लामो समयदेखि नेपाल युवा पलायनको पिरलोले पिल्सिएको छ । युवाहरू अवसरको खोजीमा विदेश जान्छन् तर देखिँदा चाहिँ रोजगार र शिक्षाका लागि मात्र गएको जस्तो बुझिन्छ । यही माहोलमा गत भदौ २३ गते युवाहरूले गरेको प्रदर्शन देशमै अवसर र रोजगारीको माग थियो । तर भोलिपल्ट भदौ २४ गते आगजनी र तोडफोडपछि आम निराशा बढ्ने काम मात्र भएको छ । हालका दिनमा दैनिक २२ सयदेखि २५ सय नेपाली युवाहरू विदेश गइरहेको अवस्था छ । यसरी जानेमा दुई धार छ, एउटा श्रमिक वर्ग र अर्को विद्यार्थी वर्ग । श्रमिक वर्ग मलेसिया र खाडी राष्ट्र गइरहेका छन् भने विद्यार्थी वर्ग अमेरिका, बेलायत, जापान आदि देश गइरहेका छन् । यसको खास कारण बेरोजगारी, भ्रष्टाचार, अवसको कमी हुन् । यसले देशको विकासमा प्रतिकूल असर पारिरहेको छ । यसको रोकथामको लागि सरकारले आन्तरिक रोजगार, स्वरोजगार, शिक्षामा सुधार गर्नुको विकल्प छैन । अब जननिर्वाचित सरकार निर्माण गरी उपयुक्त वातावरण बनाउँदा मात्र युवा पलायन घट्न सक्छ ।

दंगाल त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना