नेभिगेशन
दृष्टिकोण

जो गाउँमा सर्जरी गर्छन्, सहरमा सम्हाल्छन् इमर्जेन्सी

नेपाली समाजमा डाक्टर भन्नेबित्तिकै कि त ‘एमबीबीएस’को सामान्य चिकित्सक कि त मुटु, पेट, स्नायु वा मिर्गौलाजस्ता निश्चित अंगको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ छ । तर, हाम्रो विषम भौगोलिक बनोट र सीमित स्वास्थ्य पूर्वाधारका लागि यी दुई विधाका बीचमा एउटा यस्तो अत्यन्त महत्त्वपूर्ण र बहुमुखी विधा छ, जसलाई हाम्रो स्वास्थ्य प्रणालीको ‘मेरुदण्ड’ मानिन्छ, – एमडीजीपी, अर्थात् ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’मा विशेषज्ञता ।

सुदूर पहाडी जिल्ला अस्पतालहरूको संकटकालीन वार्डदेखि काठमाडौंका व्यस्त कर्पोरेट अस्पतालहरूको आकस्मिक विभागसम्म, एमडीजीपी डाक्टरहरूले नेपाली स्वास्थ्य सेवाको मुहार फेरिरहेका छन् । उनीहरूको भूमिका, क्षमता र नेपालले बेहोरिरहेका स्वास्थ्य चुनौतीहरू माथिको प्रभावका बारेमा धेरै चर्चा हुने गरेको पाइँदैन ।

एमडीजीपीलाई धेरैले केबल ‘जनरल फिजिसियन’ वा ‘सामान्य चिकित्सक’का रूपमा बुझ्ने गर्छन्, तर यो बुझाइ पूर्णतया अपूर्ण छ । एमडीजीपी एउटा पूर्णकालीन तीन वर्षे स्नातकोत्तर (पीजी) विशेषज्ञता हो । यो विशेषज्ञताले चिकित्सकलाई आधारभूत चिकित्सा र शल्यक्रियाका विभिन्न विधामा सघन तालिम दिन्छ । एमडीजीपीलाई चिकित्सा क्षेत्रमा ‘स्विस आर्मी नाइफ’ पनि भनिन्छ । जसरी स्विस आर्मी नाइफमा अनेकन औजारहरू एकीकृत हुन्छन्, त्यसरी नै एक एमडीजीपी डाक्टरले एकैसाथ बालरोग, स्त्रीरोग (प्रसूतिसहित), हाडजोर्नी (अर्थोपेडिक्स), सामान्य शल्यक्रिया (जनरल सर्जरी) र सबैभन्दा महत्त्वपूर्ण रूपमा आकस्मिक चिकित्साको जिम्मेवारी सम्हाल्न सक्छन् । उनीहरूले बच्चाको खोपदेखि गर्भवतीको जटिल शल्यक्रिया (सिजरियन सेक्सन), भाँचिएको हाडको प्लास्टर र हृदयाघात वा गम्भीर दुर्घटनाको प्रारम्भिक जीवनरक्षक उपचारसम्म गर्नसक्ने क्षमता राख्छन् । यो बहुआयामिक क्षमता नै नेपालको ग्रामीण स्वास्थ्य सेवाका लागि अपरिवर्तनीय बनेको छ ।

क) ग्रामीण नेपाल, एक डाक्टर, अनेक अस्पताल

करिब ६० प्रतिशत जनसंख्या बसोबास गर्ने मुलुकको दुर्गम पहाडी भूभागमा स्वास्थ्य सेवाको पहुँच गम्भीर चुनौतीका रूपमा छ । मुटु, मस्तिष्क वा बालरोग विशेषज्ञहरू ती ठाउँमा पुग्न सम्भव छैन । यही शून्यपनलाई एमडीजीपी डाक्टरहरूले ‘फ्रन्टलाइन कमान्डर’ बनेर भरिरहेका छन् ।

जीवन बचाउने शल्यक्रिया र प्रसूति सेवा

डोल्पा, अछाम, ताप्लेजुङ, मनाङ वा दार्चुलाजस्ता भौगोलिकरूपमा विकट जिल्ला अस्पतालहरूमा जब बिरामीलाई जीवनमरणको संकट आइपर्छ, तत्काल काठमाडौं वा ठूला सहरमा पठाउन घण्टौं वा दिनौं लाग्न सक्छ । उदाहरणका लागि, महिलाको पाठेघरमा बच्चा अड्किँदा वा आन्द्रा फुट्दा (परफोरेटेड एपेन्डिक्स), केही मिनेटको ढिलाइले पनि बिरामीको ज्यान जान सक्छ । यस्तो संकटकालीन घडीमा एमडीजीपी डाक्टरले नै तत्काल अपरेसन गरेर बिरामी बचाउँछन् । सिजरियन सेक्सनमा शल्यक्रिया गररे आमा र बच्चा दुवैको जीवन बचाउँछन् । उनीहरूले उपलब्ध सीमित स्रोत र उपकरणका बाबजुद पनि ‘सर्जरी’ र ‘प्रसूति’ सेवा दिएर ग्रामीण अस्पताललाई ‘रिफर सेन्टर’ बाट ‘उपचार केन्द्र’मा रूपान्तरण गरेका छन् ।

कुशल व्यवस्थापकीय नेतृत्व

एमडीजीपी डाक्टरहरू केबल उपचारकर्ता मात्र होइनन्, ग्रामीण जिल्ला अस्पतालहरूमा प्रायः उनीहरू नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) पनि हुन्छन् । उनीहरूले सीमित बजेट र जनशक्तिका बीच अस्पतालको व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मीहरूलाई नेतृत्व दिने, आधारभूत ल्याब र औषधिहरू उपलब्ध गराउने र ठूला स्वास्थ्य शिविरहरू आयोजना गर्ने जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका हुन्छन् । उनीहरूको नेतृत्व क्षमताले नै दुर्गमका स्वास्थ्य संस्थालाई चलायमान बनाइराखेको हुन्छ ।

विवेकपूर्ण ‘रिफरल’ प्रणाली

एमडीजीपी डाक्टरहरूको व्यापक ज्ञानले गर्दा उनीहरूले बिरामीलाई ‘ट्राइज’ गर्न सक्छन् । उनीहरूले कुन बिरामीको उपचार गाउँमै सम्भव छ र कसलाई मात्र सहर पठाउनु अनिवार्य छ भन्ने निर्णय क्षमता राख्छन् । यसले गर्दा अनावश्यक रुपमा अन्य अस्पतालहरूमा पठाइने बिरामीहरूको सङ्ख्या कम हुन्छ, जसले बिरामीको लाखौं रुपैयाँ र समयको बचत गर्नुका साथै ठूला सहरी अस्पतालहरूको अनावश्यक बोझ पनि घटाउँछ ।

ख) सहरी क्षेत्रः फेमिली डाक्टरको उदय

सहरका ठूला अस्पतालहरूमा विशेषज्ञहरूको भीड भए पनि एमडीजीपी डाक्टरको भूमिका त्यहाँ पनि उत्तिकै महत्त्वपूर्ण छ तर निम्न बुँदाहरूको आधारमा त्यस भूमिकालाई फरक ढंगले पनि हेर्न सकिन्छ:

होलिस्टिक केयरको पैरवी

आजको सहरी जीवनशैलीमा हुर्किएका अधिकांश बिरामीहरू सामान्य लक्षणका लागि पनि विशिष्ट विशेषज्ञ कहाँ धाउँदा हैरान हुने गर्छन् । टाउको दुख्दा न्यूरोलोजिस्ट, पेट दुख्दा ग्यास्ट्रोलोजिस्ट र छालाको समस्याका लागि डर्माटोलोजिस्टकहाँ जानुपर्ने बाध्यता छ । एमडिजिपी डाक्टरहरूले यसको साटो बिरामीको समग्र स्वास्थ्य जाँच गर्छन् । उनीहरूले बिरामीको शारीरिक समस्या मात्र होइन, मानसिक स्वास्थ्य, जीवनशैली, पारिवारिक इतिहास र सामाजिक अवस्थालाई पनि बुझेर उपचारको योजना बनाउँछन् । यसले गर्दा सही विशेषज्ञ कहाँ जाने भन्ने अलमल हट्छ र निरन्तर र व्यापक स्वास्थ्य सेवा सुनिश्चित हुन्छ । यसरी उनीहरूले पहिलो सम्पर्क विन्दुका रूपमा कार्य गरेका हुन्छन् ।

इमर्जेन्सी विभागका कमाण्डर

काठमाडौं, पोखरा वा विराटनगरका अधिकांश ठूला अस्पतालका आकस्मिक विभागको नेतृत्व एमडीजीपी डाक्टरहरूले नै गरिरहेका छन् । दुर्घटना, हृदयाघात, स्ट्रोक, वा अन्य आकस्मिक अवस्थाका बिरामीहरू आउँदा उनीहरूले नै तुरुन्तै बिरामीको अवस्था आकलन गरी ‘ट्राइज’ गर्छन्, अर्थात् कसलाई पहिला उपचार गर्ने र कुन विशेषज्ञलाई बोलाउने भनेर तत्काल निर्णय गर्छन् । उनीहरूको तीव्र निर्णय क्षमता र बहुआयामिक सीप आकस्मिक सेवाको जीवन–रेखा हो ।

दीर्घरोग व्यवस्थापन

उच्च रक्तचाप, मधुमेह, थाइराइडजस्ता दीर्घकालीन रोगहरूको नियमित ‘फलोअप’ र जीवनशैली परामर्शका लागि एमडीजीपी डाक्टरहरू सबैभन्दा उपयुक्त मानिन्छन् । उनीहरूले बिरामीसँग दीर्घकालीन सम्बन्ध स्थापित गरी रोगलाई नियन्त्रणमा राख्न र जटिलताहरू आउन नदिन मद्दत गर्छन् ।

भविष्यको मार्गचित्र

एमडीजीपी डाक्टरहरूको यति धेरै महत्त्व हुँदाहुँदै पनि नेपालमा उनीहरूले उचित पहिचान र प्रोत्साहन पाउन सकेका छैनन् । यो विधाका चिकित्सकहरूले सामना गरिरहेका केही मुख्य चुनौतीहरू यस प्रकार छन्:

सरकारी दरबन्दीको कमी: सरकारले जिल्ला अस्पतालहरूमा एमडीजीपी डाक्टरहरूको आवश्यक संख्यामा स्थायी दरबन्दी सिर्जना गर्न सकेको छैन । प्रोत्साहनको अभाव: दुर्गममा काम गर्ने एमडीजीपीहरूलाई पर्याप्त आर्थिक सुविधा, आवास, र करियर विकासको अवसर नहुँदा उनीहरू सहरी क्षेत्रमा वा विदेश पलायन भइरहेका छन् । जनमानसमा गलत बुझाइ: विशेषज्ञको रूपमा स्पष्ट पहिचान नहुँदा बिरामीहरूले पनि उनीहरूको क्षमतालाई कम आँक्ने गरेको अवस्था अझै पनि छ ।

यसमा निक साइमन्स इन्स्टिच्युट जस्ता संस्थाहरूले ग्रामीण क्षेत्रमा एमडीजीपी डाक्टरहरूलाई पठाउन प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् तर यो दीर्घकालीन समाधान होइन । राज्यले अब एमडीजीपीलाई प्राथमिकता प्राप्त विशेषज्ञ मानेर तत्कालै कदम चाल्नुपर्छ । प्रत्येक जिल्ला अस्पतालमा अनिवार्य एमडीजीपीको दरबन्दी: कम्तीमा दुईदेखि तीन जना एमडीजीपी विशेषज्ञहरूको स्थायी पद सिर्जना गरिनुपर्छ ।

दुर्गम भत्ता र विशेष प्रोत्साहन प्याकेज ल्याएर दुर्गममा काम गर्न आकर्षक तलब, सुविधा र शैक्षिक अवसरहरू प्रदान गर्नुपर्छ । ‘फेमिली मेडिसिन’का रूपमा विकास गरी सहरी क्षेत्रमा ‘फेमिली डाक्टर’को अवधारणालाई स्थापित गर्नुपर्छ, जसले एमडीजीपीहरूको पहिचानलाई अझ बलियो बनाउन आवश्यक छ ।

नेपालको विकट भौगोलिक वास्तविकतालाई हेर्दा हामीलाई हरेक विधाका ‘माइक्रो–स्पेसलिस्ट’ भन्दा पनि सबै विधाको आधारभूत ज्ञान, शल्यक्रियाको सीप र आकस्मिक सेवाको क्षमता भएका एमडीजीपी डाक्टरहरूको खाँचो बढी छ । जबसम्म गाउँको स्वास्थ्य चौकीलाई केबल रिफर गर्ने ठाउँबाट जीवन बचाउन सक्ने ‘उपचार केन्द्र’ मा बदल्न सकिँदैन, तबसम्म लाखौं नेपाली गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहनेछन् । यो दूरदृष्टिलाई साकार पार्नका लागि एमडीजीपी विशेषज्ञहरूको भूमिकालाई राज्यले उच्च सम्मान र कदर गर्नैपर्छ । उनीहरूलाई प्रोत्साहन दिएर नेपालको स्वास्थ्य सेवालाई बलियो र समावेशी बनाउनु आजको तत्कालको आवश्यकता हो । रासस

(लेखक जेनरल प्राक्टिस एण्ड इमेर्जेन्सी मेडिसिन एशोसिएसन नेपालका अध्यक्ष हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना