नेपालको राजनीतिक परिदृश्य पछिल्ला महिनाहरूमा तीव्र रूपले बदलिँदै गएको छ । राष्ट्रिय राजनीति दीर्घकालीन अस्थिरताको चक्रबाट निस्कन संघर्षरत छ तर जनता नयाँ विकल्पको खोजीमा छन् । यस्तो संवेदनशील मोडमा देशको सबैभन्दा पुरानो, ऐतिहासिक र लोकतान्त्रिक मूल्य बोकेको दल नेपाली कांग्रेस भने आफ्नै आन्तरिक द्वन्द्वमा फसेको छ । कांग्रेसको महाधिवेशनसम्बन्धी अन्योलले दलको मात्रै होइन देशकै चिन्ता बढाएको छ । पछिल्ला दुई महिनादेखि कांग्रेसले देशका महत्वपूर्ण राजनीतिक मुद्दाभन्दा पनि महाधिवेशनसम्बन्धी विवादमै ऊर्जा खर्च गरिरहेको छ । यसले दलका नेतृत्वको कमजोरी र संगठनात्मक विकृत संस्कृतिको जटिलता उजागर गरेको छ ।
सामान्यतया महाधिवेशन कुनै असाधारण वा रहस्यमय प्रक्रिया होइन । यो त पार्टीको नियमित, वैधानिक र अनिवार्य लोकतान्त्रिक अभ्यास हो । महाधिवेशन हुनु भनेको संगठनको पुनर्ताजगी हुनु हो जसले नेतृत्व नवीकरण हुन्छ र पार्टी जनतासामु नयाँ विश्वासका साथ प्रस्तुत हुन्छ । तर यति साधारण र अपरिहार्य प्रक्रिया नै अस्थिरताको प्रमुख कारण बन्नु कांग्रेसभित्र जरा गाडेर बसेको कब्जामुखी मानसिकता र पुरानै शक्ति संरचनालाई जोगाउने प्रवृत्तिको परिणाम हो भन्ने बुझ्न कठिन छैन ।
कांग्रेसभित्र हाल देखिएको अनावश्यक बहस र असामान्य ढिलाइ स्वाभाविक होइन; यी कृत्रिम रूपमा सिर्जित अवरोधहरू हुन्, जसको उद्देश्य पुरानै शक्ति सन्तुलन यथावत राख्नु हो । क्रियाशील सदस्यता नवीकरणदेखि लिएर प्रतिनिधि छनोटसम्मका नियमित प्रक्रियालाई जटिल बनाउँदै जानु, पार्टीभित्र दशकौंदेखि रोपिएको गुटबन्दी संस्कृतिले नै कांग्रेसलाई अघि बढ्न नदिएको प्रमाण पनि हो । लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टीभित्र लोकतन्त्र केवल भाषणमा सीमित भएर व्यवहारबाट हराउँदै जानु जनतामा निराशा बढ्नुको एक कारक हो ।
सामान्यतया महाधिवेशनको मूल उद्देश्य नयाँ ऊर्जा, नयाँ विचार, नयाँ नेतृत्व र नयाँ दिशानिर्देशलाई संस्थागत गर्नु हो । तर कांग्रेसभित्र अहिले देखिएको प्रवृत्ति भने यसको पूर्ण विपरीत छ । नयाँ पुस्तालाई अवसर दिनुको साटो पुरानै सञ्जाल सुरक्षित गर्ने दौड कांग्रेसमा देखिएको छ । विगतमा पटक–पटक जनताद्वारा अस्वीकृत भइसकेका, जनजीवनका मुद्दामा असंवेदनशील देखिएका र पार्टीभित्र नै लोकतान्त्रिक मान्यताप्रति दायित्वबोध नभएका नेताहरू आज पनि निर्णय प्रक्रियाको केन्द्रमा रहेको देखिएका छन् । महाधिवेशन समयमै सम्पन्न भए नयाँ पुस्ता, नयाँ विचार र नयाँ अनुहार अगाडि आउने सम्भावनाबाट यिनै शक्ति समूह भयभीत देखिन्छन् ।
आजको नेपालमा विशेष गरी जनेजी पुस्ता उच्च राजनीतिक चेतनाका साथ उदाउँदैछ । उनीहरूले उत्तरदायित्व, पारदर्शिता, सुशासन, नयाँ नेतृत्व र गणतन्त्रको सुरक्षाको माग गरेका छन् । सामाजिक सञ्जालदेखि सडकसम्म उनीहरूको सक्रियता बढ्दै गएको छ तर कांग्रेसले यो पुस्ताको आवाज सुनेजस्तो देखिँदैन । यदि पार्टीले यिनको आकांक्षा बुझ्न असफल भयो भने कांग्रेसबाट युवा पुस्ताको दुरी बढ्नेछ, पार्टीको सामाजिक आधार कमजोर बन्दै जानेछ र लोकतन्त्रकै भवितव्यमा प्रश्न उठ्न सक्छ । यसैले कांग्रेसको महाधिवेशन अब केवल आन्तरिक विषय मात्र रहेन बरु राष्ट्रिय लोकतान्त्रिक दिशानिर्दे शसँग प्रत्यक्ष रूपमा जोडिएको विषय बनेको छ ।
कांग्रेसको शीर्ष तहमा देखिएको निर्णयहीनता, अलमल केवल संगठनात्मक त्रुटि होइन । यो नेतृत्वको चारित्रिक कमजोरी पनि हो । नेतृत्वले कार्यकर्तालाई समेट्न सक्दैन; स्पष्ट निर्णय दिन सक्दैन र आन्तरिक गुटलाई सन्तुलनमा राख्न सक्दैन भने यस्तो अनिर्णयको वातावरणले दललाई दीर्घकालीन रूपमै निष्क्रिय बनाउनेछ ।
नेपालमा लोकतान्त्रिक संरचनाको ऐतिहासिक मेरुदण्ड मानिएको कांग्रेस कमजोर हुँदै जाँदा लोकतन्त्र नै जोखिममा पर्न सक्ने चिन्ता स्वाभाविक हो । जनता वैकल्पिक वा चरमपन्थी शक्तितर्फ मोडिनसक्ने सम्भावना बढ्दै गइरहेको हुँदा राष्ट्रिय राजनीति अस्थिर बन्ने खतरा पनि छ । त्यसैले पनि महाधिवेशनमाथिको ढिलाइ निरन्तर रह्यो भने कांग्रेसले त्यसका गम्भीर परिणाम भोग्नुपर्ने छ । यसले जनतामा रहेको विश्वास कमजोर हुनेछ, नयाँ पुस्ता र पेशागत वर्ग पार्टीबाट टाढिँदै जानेछन्, गुटबन्दी अझ गहिरिनेछ र जनता वैकल्पिक राजनीतिक शक्तिको खोजमा ।
यो अवस्थाबाट बाहिर निस्कन कांग्रेस नेतृत्वले अब ढिलाइ नगरीकन निर्णायक कदम चाल्न आवश्यक छ । त्यसैले महाधिवेशन समयमै सम्पन्न गर्ने स्पष्ट प्रक्रिया अघि बढ् नुपर्छ । सदस्यता, नवीकरण र प्रतिनिधि छनोट पारदर्शी र निष्पक्ष बनाउनुपर्छ । कांग्रेसको महाधिवेशन केवल संगठनात्मक कार्यक्रम मात्र नभई नेपालको लोकतान्त्रिक मूल्य, शक्ति सन्तुलन र नयाँ पुस्ताको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको प्रश्न भएकाले कांग्रेस समयमै सुध्रिनु अपरिहार्य छ ।