न्यूयोर्क – न्यूयोर्कमा डेरा भाडा निकै चर्को भएको र त्यसको समाधान गरिनुपर्ने आवाज उठाउँदै निर्वाचित भएका जोरान ममदानी भने आउँदो जनवरीको पहिलो सातादेखि ग्रेसी म्यानसनमा सर्ने तयारी गरिरहेका छन् । यससँगै ग्रेसी म्यानसनको महत्व बढ्दै गएको छ ।
जब न्यूयोर्कका मेयर–निर्वाचित जोरान ममदानी जनवरीमा म्यानहट्टनको अपर ईस्ट साइडमा रहेको न्यूयोर्कको राजनीतिक अभिजात वर्गसँग लामो समयदेखि सम्बन्धित १८औं शताब्दीको भव्य घर, ग्रेसी म्यानसनमा सर्नेछन्, त्यो बेला आफू धेरै वर्षदेखि बसिरहेको क्वीन्सको सामान्य अपार्टमेन्टलाई पछाडि फर्केर हेर्ने छैनन् ।
ममदानीले गत महिना न्यूयोर्कको मेयरको चुनाव जितेका थिए । उनले आंशिक रूपमा सहरले गम्भीर आवास संकटको सामना गरिरहेको र त्यसलाई समाधान गर्न बढ्दो भाडादर रोक्ने र किफायती आवास विस्तार योजनालाई घनीभूत पार्ने बताएका थिए ।
ग्रेसी म्यानसन सन् १९४२ देखि न्यूयोर्क शहरका मेयरको आधिकारिक निवास रहँदै आएको छ । पहेंलो रङ लगाइएको, पुरातन शैलीको काठको यो घर सन् १७९९ मा बनाइएको थियो । यो म्यानहट्टनको अपर इस्ट साइडमा रहेको कार्ल शुर्ज पार्कभित्र छ ।
सहरका ऐतिहासिक घरहरूको रेखदेख गर्ने ‘हिस्टोरिक हाउस ट्रस्ट’का अनुसार, यो मूलतः पूर्वी नदीलाई हेर्ने गरी दुईतले ग्रामीण भिल्लाका रूपमा डिजाइन गरिएको थियो । मुख्य घरमा पाँचवटा शयनकक्ष र पाँचवटा स्नानकक्षहरू रहेको बताइएको छ, जसमा त्यो समयको फायरप्लेसहरू र अग्ला छतहरू छन् ।
आजको निवासमा मूल दुईतले संरचनाका साथै सन् १९६० को दशकमा थपिएको एउटा भेला र बैठक बस्ने घर पनि छ । न्यूयोर्क सहर पार्क र मनोरञ्जन विभागका अनुसार, संयुक्त परिसर अब लगभग १२ हजारदेखि १३ हजार वर्ग फिट (१२ सय वर्ग मिटर) मा फैलिएको छ । यसमा औपचारिक बैठक कोठा, भोजन कक्ष, शयनकक्ष र आधिकारिक कार्यहरूको लागि पर्याप्त ठाउँहरू छन् ।
यो भवन सहरको स्वामित्वमा रहेको सम्पत्ति का रूपमा राखिएको छ र प्रत्येक नयाँ आउने मेयरलाई उनीहरूको आधिकारिक घरका रूपमा उपलब्ध गराइन्छ ।
यो घरको नाम आर्किबाल्ड ग्रेसीको नामबाट राखिएको हो । ग्रेसी एक स्कटिश–अमेरिकी पानीजहाज कम्पनीका मालिक थिए र उनले यसलाई सन् १७९९ मा आफ्नो परिवारको ग्रामीण निवासका रूपमा एक जग्गाभित्र निर्माण गरेका थिए । त्यो बेला यो भवन सहरको सीमाभन्दा केही टाढा थियो ।
यद्यपि ग्रेसीले पछि आर्थिक कठिनाइका कारण सम्पत्ति गुमाए । यसका बाबजूद पनि उनको नाम त्यसपछिका दशकहरूमा पनि जग्गासँग जोडिइरह्यो । १९ औं शताब्दीको अन्त्यमा सहरले यसको स्वामित्व लिँदा पनि नाम कायम राख्यो ।
न्यूयोर्क सहरले सन् १८९६ मा यो सम्पत्ति अधिग्रहण गर्यो र वरपरको जग्गालाई कार्ल शुर्ज पार्कमा समावेश गर्यो । हिस्टोरिक हाउस ट्रस्ट र ग्रेसी म्यानसन कन्जर्भेन्सीका अनुसार, यो भवनले त्यसपछिका केही दशकहरूमा न्यूयोर्क सहरको संग्रहालयका लागि अस्थायी क्वार्टरका रूपमा सेवा गर्यो ।
सन् १९४२ मा, न्यूयोर्क सहर पार्क आयुक्त रोबर्ट मोसेसले मेयर फिओरेलो ला गार्डियालाई यस घरलाई सहरको आधिकारिक मेयर निवासका रूपमा तोक्न आग्रह गरे । त्यस समयमा, सहरमा कुनै मेयरको औपचारिक घर थिएन ।
मोसेसले यसलाई अन्य प्रमुख अमेरिकी सहरहरूमा प्रयोग हुने कार्यकारी हवेलीहरूको नक्कल गर्दै एक प्रतिष्ठित नागरिक निवास सिर्जना गर्ने अवसर का रूपमा लिए ।
सन् १९६६ मा, सहरले सुसान ई वाग्नर विंग थप्यो । त्यसलाई स्वागत समारोह र ठूला बैठकहरू समायोजन गर्न डिजाइन गरिएको एक आधुनिक भवन थियो ।
सन् १९८१ देखि यो घर सार्वजनिक–निजी साझेदारीद्वारा मर्मत गर्ने गरिएको छ । यसले यी भवनको संरक्षणका लागि कोष जुटाउँछ र सार्वजनिक भ्रमणहरूको रेखदेख गर्दछ ।
सन् २००२ मा, मेयर माइकल ब्लूमबर्गले भवनको भित्री र बाहिरी भागलाई मर्मत गरी सार्वजनिक पहुँचका लागि खुला गरेका थिए । त्यसयता यसलाई ‘जनताको घर’ भनेर चिनिन्छ ।
ग्रेसी म्यानसन सन् १९४२ सम्म आधिकारिक मेयर निवास बनेको थिएन । सहरले यो घरलाई मेयरको कार्यालय बनाउने निर्णय गरेपछि ला गार्डिया त्यहाँ सरेका थिए ।
सन् १९४२ देखि, धेरैजसो मेयरहरू त्यहाँ बसोबास गरेका छन् । सबैभन्दा उल्लेखनीय अपवाद भने माइकल ब्लूमबर्ग थिए । उनले आफ्नो तीन कार्यकालभर अपर ईस्ट साइडमा रहेको आफ्नो निजी टाउनहाउसमै बसेर शहरमा राज गरे । ब्लूमबर्गले ग्रेसी म्यानसनलाई कार्यक्रमहरूका लागि मात्र प्रयोग गरेका थिए ।
चौंतीस वर्षीय ममदानीले जनवरीमा पदभार ग्रहण गर्नेछन् । उनी त्यसपछि पत्नी रामा दुवाजीसँग यहाँ सर्ने भएका छन् । यी दम्पतिका सन्तान छैनन् ।
यो हवेली धेरैको विरोध प्रदर्शन गर्ने थलोका रूपमा पनि चिनिन्छ । प्रायः आवास अधिकार, शरणार्थी र आप्रवासीहरूले यहाँ आफ्नो अधिकारको रक्षा गरियोस् भन्दै प्रदर्शन गर्ने गरेका छन् ।