नेभिगेशन
दृष्टिकोण

शतत् सचेतना नै उन्नत भविष्यको आधार

कुनै पनि कृतिमा लेखकले समाज, जीवन, प्रेम, पीडा, संघर्षका कल्पना वा यथार्थका जुन पक्षलाई चित्रण गर्छ, त्यो नै अन्तर्वस्तु हो । यो नै कृतिको सार हो— जसले पाठकलाई सोच्न, महसुस गर्न र अनुभव गर्न प्रेरित गर्छ ।

मानिससँग जे पनि चिज आज छ उसले त्यसलाई महत्त्व दिएको हुँदैन, त्यसको मूल्य बुझ्दैन । जब उसको हातबाट र साथबाट त्यो चिज हराउँछ या खोसिन्छ, छुट्छ या टाढा हुन्छ तबमात्र उसले त्यो चिजको उच्च मूल्य थाहा पाउँछ । यो प्रत्येक मानिसको जीवनको गहिरो सत्य हो । यसो हेर्दा हरेक क्षेत्रमा विद्वता हाँसिल गरेको मानिस चतुर र विवेकवान देखिन्छ तर ऐन मौकामा उसले आफूसँग हुनुपर्ने चिज गुमाएर पछि पछुताइरहेको हाम्रै आँखा अगाडि देख्ने गरेका छाैं। फेरि पनि भन्न सकिन्छ, मानिसको जीवन धेरै विडम्बनाहरूले भरिएको हुन्छ । ती विडम्बनामध्ये एक गहिरो र बारम्बार दोहोरिने सत्य के हो भने, जहाँसम्म कुनै कुरा, व्यक्ति, अवसर वा वस्तु हाम्रो नजिक छ, हामी त्यसलाई सामान्य मान्छौं; तर एक दिन त्यो हराएर जान्छ, तब मात्र त्यसको वास्तविक मूल्य कति ठूलो थियो भन्ने बुझिन्छ । यो मानवीय मनोविज्ञानको एउटा जटिल तर रोचक पक्ष हो । चाहे सम्बन्ध होस्, समय, स्वास्थ्य, धन, मित्रता, परिवार, प्रकृति वा हाम्रो आफ्नै क्षमता, हामी धेरैजसोले आफ्नो वरिपरि रहेका यस्ता अनुपम सम्पत्तिहरूलाई सामान्य ठान्छौं । तर जब त्यो गुम्छ, त्यसको अभावले हरेक पल चसक्क घोचिरहन्छ । यो विषयले हाम्रो मनोवैज्ञानिक, दार्शनिक र व्यवहारिक दृष्टिकोणसंग गहिरो सम्बन्ध राखेको हुन्छ ।

साहित्य : सुन्दर रूपभित्रको सार्थक अन्तर्वस्तु

साहित्य मानव जीवनको प्रतिबिम्ब हो । मानिसले देखेको, भोगेको, महसुस गरेको र कल्पना गरेको संसारलाई सौन्दर्यपूर्ण रूपमा अभिव्यक्त गर्ने माध्यम नै साहित्य हो । तर साहित्यको मूल्य, प्रभाव र सौन्दर्य बुझ्नका लागि त्यसका दुई मुख्य पक्षबारे जान्नु अत्यावश्यक हुन्छ— रूप र सारपक्ष । अझ हामी त्यसलाई वाह्य स्वरूप र अन्तर्वस्तु पनि भन्न सक्दछौँ । यी दुई पक्ष साहित्यका आत्मा र शरीरजस्तै अविभाज्य रूपमा गाँसिएका हुन्छन् । साहित्यको अन्तर्वस्तु भन्नाले त्यसमा निहित विचार, भावना, सन्देश र त्यसले परिभाषित गरिरहेको जीवनदर्शनलाई जनाउँछ । कुनै पनि कृतिमा लेखकले समाज, जीवन, प्रेम, पीडा, संघर्षका कल्पना वा यथार्थका जुन पक्षलाई चित्रण गर्छ, त्यो नै अन्तर्वस्तु हो । यो नै कृतिको सार हो— जसले पाठकलाई सोच्न, महसुस गर्न र अनुभव गर्न प्रेरित गर्छ ।

अन्तर्वस्तु सामान्यतया ज्ञान, अनुभव र जीवनबोधबाट आउँछ । जसलाई लेखकले आफ्नो दृष्टिकोणबाट छनोट गर्छ र त्यसमा नयाँ सन्दर्भ थप्छ । त्यसैले अन्तर्वस्तु निर्माण गर्न ज्ञान र चेतनाको आवश्यकता पर्छ । अन्तर्वस्तु नै साहित्यको “प्राण” हो । यदि कुनै कृतिमा गहिरो विचार वा भावनात्मक सार छैन भने त्यसको स्थायित्व रहँदैन । तर त्यसलाई कलात्मक रूपमा प्रस्तुत गर्नका लागि रूप आवश्यक हुन्छ । प्राण मात्रै भएर पनि शरीर नहुँदा जस्तै, केवल विचार र सन्देश भए पनि स्वरूपको अभावमा त्यो उभिन नै नसक्ने हुन्छ । अर्थात् अन्तर्वस्तु अडिनका लागि अवयवको नितान्त खाँचो पर्दछ ।

रूप: साहित्यको सौन्दर्य र संरचना

रूप भन्नाले साहित्यको प्रस्तुति, भाषा, शैली, संरचना, रचना–पद्धति, विधागत स्वरूपमा रहने र कलात्मक सौन्दर्यलाई जनाइन्छ । कुनै पनि साहित्यिक कृतिको प्रभाव यसले पाठकसम्म कसरी पुग्छ भन्ने कुरामा निर्भर गर्छ । त्यसैले रूप नै त्यो माध्यम हो जसले अन्तर्वस्तुलाई जीवित र आकर्षक बनाउँछ र सम्प्रेषणीय पनि बनाउँछ । रूपको विकासका लागि एक सिल्पिले आफ्नो उत्पादनलाई कलाका माध्यमबाट कुँदेर, माझेर, घोटेर, रङ्गाएर, मसिन्याएर, टल्काएर चिटिक्क पारेजस्तै लेखकले सिर्जनाको स्वरूप सुललित, सुन्दर र सुपाच्य बनाउन ठूलो परिश्रम गर्नुपर्छ । भाषा चयनदेखि लिएर वाक्यरचना, लय, छन्द, प्रतीक, रूपक, रस आदि सबै रूपका अवयव हुन् । एकै विचारलाई फरक–फरक रूपले प्रस्तुत गर्दा त्यसको प्रभाव पनि फरक हुन्छ । यही कारणले भनिन्छ— “अन्तर्वस्तु र विचार प्राणतत्व अर्थात सजीवताको आधार हो भने रूप त्यस विचारको शरीर हो ।”

अन्तर्वस्तु र रूपको सम्बन्ध

साहित्यमा अन्तर्वस्तु र रूप दुवै अपरिहार्य हुन् । रूपविहीन अन्तर्वस्तु अधुरो हुन्छ र अन्तर्वस्तुविहीन रूप निस्सार हुन्छ । यी दुईबीचको सम्बन्ध आत्मा र शरीरको जस्तै हो । पुनरूक्ति नमानियोस कि शरीर नभए आत्मा (प्राणतत्व) टिक्दैन, आत्मा नभए शरीर मुर्दा हुन्छ । त्यसैले सशक्त साहित्य त्यही हो जसमा सुन्दर रूपभित्र गहिरो अन्तर्वस्तु समेटिएको हुन्छ । रूपले अन्तर्वस्तुलाई सजाउँछ, आकर्षक बनाउँछ, र पाठकसम्म सजिलै पुर्‍याउँछ । अन्तर्वस्तुले भने रूपलाई अर्थ, गहिराइ र उद्देश्य दिन्छ ।

यस सन्दर्भलाई प्रष्टता साथ बुझ्न र बुझाउनका लागि पहाडलाई उपयुक्त उदाहरणका रूपमा लिन सकिन्छ । पहाड शरीर र अन्तर्यको सुन्दर प्रतीक हो, प्रकृतिको अद्भूत उपहार हो । यसको विशालता, दृढता र सौन्दर्यले मानव हृदयमा श्रद्धा र विस्मय उत्पन्न गर्छ । यदि हामी दार्शनिक दृष्टिले हेर्छौं भने, पहाडको भौतिक अवस्था र उचाइ यसको शरीर हो भने त्यस उचाइले बनाएको प्राकृतिक हैसियत, वातावरण र सौन्दर्यपूर्ण प्रभाव यसको सार हो । अझ भनौं पहाडको शरीर त केवल ढुङ्गामाटोको संरचना हो । चट्टान, ढलान, वनस्पति र हिमच्छादित भागले बनेको ठोस रूप । तर यही रूपभित्र लुकेको गहिरो अर्थ, सुन्दरता र जीवनदायी शक्ति नै यसको सार हो । पहाडले मौसम नियन्त्रित गर्छ, नदीहरूलाई जन्म दिन्छ, हावालाई शुद्ध पार्छ, र मानव तथा जीवजन्तुका लागि आश्रय स्थल प्रदान गर्छ । यही कार्यशीलता र जीवनदायी गुण नै यसको वास्तविक अर्थ हो । जसरी सुन्दर शरीरमा स्वस्थ आत्मा बस्दा मात्र जीवन पूर्ण हुन्छ, त्यसरी नै पहाडको भौतिक रूपभित्रको सजीव सारले प्रकृतिलाई अर्थपूर्ण बनाउँछ । यदि पहाड केवल ढुंगाको थुप्रो मात्र हुन्थ्यो भने त्यसको अस्तित्व न त आकर्षक हुन्थ्यो, न जीवनसँग जोडिन्थ्यो । यसको उचाइले दिएको दृढता, गौरव र सौन्दर्य छ त्यही नै यसको आत्मा हो । यसैले पहाड रूप र सारको सुन्दर संयोजन हो— जहाँ बल र सौन्दर्य, स्थायित्व र जीवन, रूप र अर्थ एकसाथ भेटिन्छन् । पहाडले हामीलाई सिकाउँछ कि बाहिरी रूप जति महत्वपूर्ण हुन्छ, त्यति नै गहिरो अर्थ र योगदान पनि जरुरी हुन्छ । यही सन्तुलनले नै प्रकृतिको सच्चा सौन्दर्य जन्माउँछ । त्यसैसँग तुलना गररे हामी सिर्जनालाई रूप र सारको सुन्दर संयोजनको सार्थकता खोजी गर्न, अनुभूत गर्न र प्राप्त गर्न सक्दछौँ ।

फरक दार्शनिक दृष्टिकोण

साहित्यमा रूप र अन्तर्वस्तुबारे विभिन्न दार्शनिक मतहरू रहेका छन् । द्वन्द्वात्मक भौतिकवादीहरूका अनुसार अन्तर्वस्तु नै निर्णायक हुन्छ । उनीहरू भन्छन् भन्छन्— विचार, यथार्थ र जीवनका सत्यहरू नै कृतिको मूल आत्मा हुन्, रूप त त्यसको अभिव्यक्तिको माध्यम मात्र हो । तर रूपवादी अर्थात् अभौतिकवादीहरू भन्छन्— साहित्यको सार रूपमै निहित हुन्छ । उनीहरूका अनुसार विषयवस्तुभन्दा भाषा, संरचना, र कलात्मक रूप महत्वपूर्ण हुन्छ । साहित्य मूलतः स्वान्त सुखाय हेतु लेखिन्छ भन्ने उनीहरूको मत रहन्छ । यसरी हेर्दा, दुई धाराहरूबीच सधैं बहस रहँदै आएको छ । तर यथार्थमा रूप र अन्तर्वस्तु दुवैको सन्तुलनले मात्र साहित्यलाई पूर्णता दिन्छ । साहित्यका मुख्य दुई पक्ष हुन्— रूप (वाह्य स्वरूप) र सार (अन्तर्वस्तु) । रूपले शब्द, भाषा, शैली, र संरचना देखाउँछ भने सारले भाव, विचार, र अर्थको गहिराइ व्यक्त गर्छ । पूर्वीय र पाश्चात्य विद्वानहरूले यी दुई पक्षमा विचार प्रस्तुत गरका छन् ।

पूर्वीय दृष्टिकोणमा, भरत मुनिले ‘नाट्यशास्त्र’मा रूप–सार दुवै आवश्यक रहेको देखाएका छन् । भरत, नाट् यशास्त्रमा उनीले “रूपले रस उत्पन्न गर्न सहयोग गर्छ भने सार नै साहित्यको आत्मा हो,” भनेका छन् । आचार्य आनन्दवर्धनले ‘ध्वनिवाद’मार्फत साहित्यको सारलाई ध्वनि र अर्थको गहिराइमा देखाएका छन् । आचार्य कुन्तकले वक्रोक्ति सिद्धान्तमा रूपको सौन्दर्य र सारको सहकार्यमा जोड दिएका छन् । भारतीय विश्वनाथ र नेपाली देवकोटाले पनि रूप सजावट हो र सारले साहित्यको कृतित्व दिन्छ भन्ने धारणा प्रस्तुत गरेका छन् ।

पाश्चात्य दृष्टिकोणमा, प्लेटोले साहित्यको नैतिक र दार्शनिक सारलाई प्रमुख ठाने, जबकि रूपलाई भने गौण मान्थे । अरस्तुले दुवै पक्ष आवश्यक ठाने, तर सुव्यवस्थित रूपले सारलाई प्रभावकारी बनाउने कुरामा जोड दिए । अरस्तु पनि साहित्यको रूपलाई प्रधान मान्थे । उनले कला र साहित्यमा अन्तर्वस्तुभन्दा संरचना र रचनाशीलतालाई अत्यधिक महत्त्व दिएका थिए । होमरका दृष्टिमा भने काबव्यमा रूप–सारको सम्बन्धमा रूप (लय, पुनरुक्ति, सूत्र शैली) सार (वीरगाथा र मानवअन्तर्यात्रा) लाई “प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने माध्यम हो” भनेका छन् । उनका विचारमा रूप–सार छुट्टै होइनन् । समग्रमा उनी भन्छन्, “काव्यमा रूपले सारलाई बोक्छ, सारले रूपलाई जीवित बनाउँछ ।”

यसरी पूर्वीय र पाश्चात्य दुवै परम्पराले साहित्यको रूप र सारको एकीकृत महत्त्व दिएका छन् । यसबाट रूप र प्राणतत्वका झैँ रूपले साहित्यलाई आकर्षक बनाउँछ भने सारले त्यसलाई गहिरो अर्थ र स्थायित्व दिन्छ ।

कथ्य, विषय र रचना–संरचना

साहित्यको अन्तर्वस्तु र रूप बुझ्न कथ्य, विषय, अवयव र रचना–संरचना पनि महत्वपूर्ण हुन्छन् । कथ्य वा प्लट कृतिको हड्डी हो, जसले सम्पूर्ण घटनाहरूलाई व्यवस्थित गर्छ । प्रेम, समाज, राजनीति, पीडा, वा मानवताको कुनै रूप जस्ता विषय भनेको कृतिको केन्द्रविन्दु हुन् । यी सबैलाई संयोजन गररे लेखकले एउटा रूप दिन्छ— त्यो रूप नै कविताको लय, उपन्यासको शैली, वा निबन्धको प्रवाह हो । त्यसैले कथ्य, विषय, भाषा, रचना, सबै मिलेर रूपको संरचना बनाउँछन्— जसले अन्तर्वस्तुलाई घर, घरभित्रको कक्ष र कक्षका महत्वपूर्ण स्थानमा रहेको सिंहाशन जस्तै आफ्ना केन्द्रमा बिराजमान गराउँछ । त्यसर्थ रूपको संरचनाले नै अन्तर्वस्तुलाई जीवन्त राख्छ । यसरी हामीले कथ्य, विषय र रचना–संरचनाका साथसाथै अन्तर्वस्तु या विचारलाई बुझ्ने गर्दछौँ ।

रूप र अन्तर्वस्तुको समन्वय

साहित्यले पाठकको मनमा प्रभाव पार्नका लागि रूप र अन्तर्वस्तुबीच समुचित सन्तुलन हुनैपर्छ । केवल सुन्दर भाषा प्रयोग गररे साहित्य सशक्त हुँदैन, त्यहाँ जीवन र जगतका गहिरा अर्थहरू पनि अन्तरनिहीत हुनुपर्छ । त्यस्तै, केवल विचार मात्र राख्दा त्यो कुनै विवरण वा प्रतिवेदन जस्तो हुन्छ, साहित्य होइन । साहित्यको रूप र सारपक्ष एकअर्काका पूरक हुन् । सुन्दर रूपमा प्रस्तुत स्वस्थ विचार नै सशक्त साहित्यको परिचायक हो । अर्को लोकमा प्रचलित क्याप्सुलको सन्दर्भ पनि छ— विचार तीतो हुनसक्छ तर त्यो जीवनरक्षक हुन्छ, गुणकारी हुन्छ त्यसलाई गुलियो बोक्राका रूपमा क्यापसुल चीनीको खोलमा बेरिएको हुन्छ । भनिरहनु परोइन कि विचार या अन्तर्वस्तु औषधी हो भने संरचना या रूप भनेको व्याप्सुलको गुलियो खोल मात्र हो । अझ स्पषटता साथ भन्ने हो भने रूप र अन्तर्वस्तुको समन्वय नै औषधीयुक्त व्याप्सुल हो ।

माथिका प्रशङ्गहरूमा प्रस्तुत चर्चामाथिको अन्तप्र्रवेशबाट जसरी सुन्दर शरीरमा स्वस्थ प्राणले मात्र जीवन सम्भव हुन्छ, त्यसरी नै आकर्षक रूपभित्र अर्थपूर्ण अन्तर्वस्तुले मात्र कृतिलाई अमर बनाउँछ । अन्तर्वस्तु ज्ञान, विचार र अनुभवको जगमा उभिन्छ भने रूपले त्यसलाई सौन्दर्य र सजीवता दिने गर्दछ । कुनै पनि साहित्यिक कृति त्यसबेलामात्र सफल हुन्छ जब लेखनाथका काव्यका सुललित सिल्प र गम्भीर ज्ञान जस्तै लेखकले गहिरो अन्तर्वस्तु चुनेर त्यसलाई कलात्मक रूपले प्रस्तुत गर्छ । यस अर्थमा, साहित्य न त केवल रूप मात्र हो, न केवल अन्तर्वस्तु मात्र । यो त दवबैको सुन्दर सङ्गम हो— जहाँ विचारले मश्तिष्क झङ्कृत गराउँदछ र स्वरूपले सौन्दर्य बोध गराउँछ । यही संयोजनले साहित्यलाई दीर्घजीवी र प्रभावशाली बनाउँछ ।

लेखक साहित्यकार हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना