इरानी अधिकारीहरूले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई शुक्रबार गिरफ्तार गरेको छ । एउटा समारोहमा भाग लिने क्रममा नरगेसलाई सुरक्षा र प्रहरी बलहरूले ‘हिंसात्मक रूपमा हिरासतमा लिएको’ उनका भाइ मेहदीले बताएका छन् । उनी इरानको दोस्रो ठूलो शहर मशहदमा गिरफ्तार भएकी थिइन् ।
इरानकी सबैभन्दा प्रमुख मानव अधिकार कार्यकर्ता मोहम्मदीले सन् २०२३ मा नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । शुक्रबारको एक विज्ञप्तिमा नर्वेजियन नोबेल कमिटीले मोहम्मदी र अन्य कार्यकर्ताहरूको ‘क्रूर गिरफ्तारी’को निन्दा गरेको छ र उनको तत्काल रिहाइको माग गरेको छ ।
‘नर्वेजियन नोबेल कमिटीले इरानी अधिकारीहरूलाई मोहम्मदीको ठेगाना तत्काल स्पष्ट पार्न, उनको सुरक्षा सुनिश्चित गर्न र उनलाई बिना शर्त रिहा गर्न आह्वान गर्दछ,’ पाँच सदस्यीय कमिटीका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कमिटी नरगेस मोहम्मदी र इरानमा शान्तिपूर्ण रूपमा मानव अधिकार, कानूनी शासन र अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्ने सबैसँग एकजुट छ ।’
मोहम्मदीले विगत दुई दशकको अधिकांश समय तेहरानको एविन जेलमा कैदीको रूपमा बिताएकी छन् । इरानी शासनका आलोचकहरूलाई हिरासतमा राख्ने कुख्यात जेलका रूपमा एविनलाई चिनिन्छ ।
सन् २०२४ डिसेम्बरमा इरानी अधिकारीहरूले उनको जेल सजाय तीन साताका लागि निलम्बन गरेका थिए ताकि नोभेम्बरमा उनको शल्यक्रिया निको होस् । उनको दायाँ खुट्टाको तल्लो भागको हड्डीको भाग हटाइएको थियो । त्यहाँ क्यान्सरको शंका गरिएको घाउ भेटिएको थियो ।
मोहम्मदी चाँडै जेल फर्कने अपेक्षा गरिएको थियो तर शुक्रबारको गिरफ्तारीसम्म उनी फर्लोमा थिइन् । नरगेस फाउन्डेसनका अनुसार उनी राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको र कुप्रचार गरेको आरोपमा कुल ३६ वर्षको जेल सजाय तोकिएको छ ।
विगत एक वर्षमा उनले विश्वभरका विभिन्न मानव अधिकार कार्यक्रमहरूलाई सम्बोधन गर्दै आफ्नो अभियानलाई जारी राखेकी छन् र इरानको मानव अधिकार स्थितिबारे बढी मुखर भएकी छन् । गत हप्ता मोहम्मदीले टाइम म्यागजिनका लागि लेखेको लेखमा इरानी जनताले राज्यले उनीहरूको व्यक्तिगत र निजी जीवनको हरेक पक्ष नियन्त्रण गर्ने भएकाले साँचो शान्ति अनुभव गर्न नसक्ने बताएकी थिइन् ।
‘उनीहरूको शान्ति निगरानी, सेन्सरशिप, मनमानी गिरफ्तारी, यातना र हिंसाको निरन्तर धम्कीले बिग्रिएको छ,’ उनले लेखेकी थिइन् । लेखमा उनले इरानको नागरिक समाज, स्वतन्त्र मिडिया, मानव अधिकार र महिला अधिकार रक्षकहरूलाई समर्थन गर्न आह्वान गरेकी थिइन् । सन् २०२४ डिसेम्बरमा सीएनएनकी क्रिस्टियन अमानपुरसँगको अन्तर्वार्तामा, जेलबाट तीन साताको मेडिकल रिलिजमा रहँदा उनले अटल रहेर भनिन्, ‘म एविनभित्र छु वा बाहिर, मेरो लक्ष्य स्पष्ट छ र हामीले प्रजातन्त्र प्राप्त नगरेसम्म हामी रोकिने छैनौं ।’
‘हामी स्वतन्त्रता र समानता चाहन्छौं । ... त्यसैले पर्खालको जुनसुकै पक्षमा भए पनि म आफ्नो संघर्ष जारी राख्नेछु,’ उनले भनेकी थिइन् ।
नरगेस फाउन्डेसनका अनुसार स्मृति समारोहमा अन्य धेरै कार्यकर्ताहरू पनि गिरफ्तार भएका छन्, तर स्थितिबारे जानकारी सीमित छ । यसले ‘सम्मान व्यक्त गर्न र एकजुटता प्रदर्शन गर्न स्मृति समारोहमा उपस्थित सबै हिरासतमा लिएका व्यक्तिहरूको तत्काल र बिना शर्त रिहाइ’ को माग गरेको छ ।
जेलमा रहँदा मोहम्मदीले हिरासतमा रहेका महिलाहरूमाथि दुव्र्यवहार र एकान्त कारावासका विस्तृत रिपोर्टहरू दिएकी थिइन् । सीएनएनलाई लेखेका पत्रहरू र जवाफहरूमा उनले सन् १९९९ देखि विभिन्न सुविधामा आफू र अन्य महिला कैदीहरूमाथि भएको यौन हिंसाका घटनाहरू बताएकी थिइन् । राजनीतिक कैदीहरू र आपराधिक आरोपमा थुनिएका महिलाहरूमाथि सुरक्षा बलहरू, जेल अधिकारीहरू र मेडिकल कर्मचारीहरूले आक्रमण गरेको उनले बताएकी थिइन् । इरानी सरकारले कैदीहरूमाथि यौन आक्रमणका व्यापक आरोपहरूलाई अस्वीकार गरेको छ, जसमा सन् २०२२ नोभेम्बरको सीएनएनको गहन अनुसन्धान पनि समावेश छ, तिनलाई ‘झूटा’ र ‘आधारहीन’ भनेको छ ।
मोहम्मदीका किशोरावस्थाका दुई सन्तान छन्, जुम्ल्याहा कियाना र अली रहमानी । उनका सन्तानहरूले उनका तर्फबाट ओस्लोमा नोबेल शान्ति पुरस्कार ग्रहण गरेका थिए । रहमानीले १४ वर्ष राजनीतिक कैदीको रूपमा बिताएकी थिइन् ।
यसैबीच उनका छोरा अलीले सीएनएनलाई आफ्नी आमाप्रति ‘साँच्चै गर्व’ भएको बताएका छन् । ‘उनी सधैं हामीसँग थिइनन्, तर जुनबेला थिइन्, हाम्रो राम्रो हेरचाह गर्थिन्,’ उनले सन् २०२३ मा दिएको एउटा अन्तरवार्तामा भनेका थिए, ‘उनी राम्री आमा थिइन् र अझै छन्। ... म यो जीवन स्वीकार गरिसकेको छु। मलाई सहनुपर्ने कुनै दुःखले अर्थ राख्दैन ।’