भदौ २३–२४ गते करिब ११ बजे जेनजी युवाहरूको आन्दोलनलाई स्कूल कलेजका युवा जमातले सुरु गरे भनिन्छ । तर त्यसको ३६ घण्टाभित्र त्यसले अनेक रूप र कुरूप देखायो । अहिले आइपुग्दा हात्ती छिरिसक्यो पुच्छर अड्क्यो भन्ने स्थितिमा पुगेको देखिन थालेको छ । एकातिर जेनजीबाट लखेटिएका एमाले पार्टी र पार्टी नेताहरू मंसिर २७ गते एमालेको महाधिवेशनमा सारा पार्टी र कार्यकर्ता मिलेर एकजुट हुने कसरतमा लागेका छन् । उता तीन दशकदेखि देशका बागडोर सम्हालेकालाई सडक देखाउनसक्ने जेनजीहरू भने सिंहदरबारमा आफूहरूले स्थापित गरेको सरकारको प्रधानमन्त्रीसँग पौंठेजोरी खेल्नमा तल्लीन देखिन थाले ।
नेपाली जनताले जेनजी बारेमा चासो राख्न थालेको तीन महिना पुग्दा नपुग्दै आज पिपुल्स मुभमेन्ट भन्दै जेनजी मुभमेन्ट एलायन्स, द काउन्सिल्स अफ जेनजी र जेनजी फ्रन्ट र अरु धेरै समूहमा विभाजन हुन थाले । भाद्र २३ र २४ को झण्डै ३६ घण्टाभित्र जेनजी आन्दोलनमा जुन ढंगले आन्दोलनको सुरुआत भयो र जुन ढँगबाट यसले देशमा तरंग र परिवर्तन ल्यायो त्यो पुरै अप्रत्याशित र त्यसबाट अपुरणीय क्षति हुन पुग्यो । यस्तो विषम परिस्थितिमा सुशीला कार्की सरकार र जेनजी समूहबीच १० बुँदे सहमति पत्रमा सहमति गररे जेनजी र सरकारले राम्रो गरे कि नराम्रो गरे भन्ने त समयले नै देखाउनेछ । अब यी सबैमा सरकारले नै पछिसम्म फरक नपर्ने गरी सबै जेनजी समूहलाई समेट्ने गरी सार्वजनिक आह्वान गरिदिएको भए त्यो राम्रो कदम हुनसक्थ्यो होला । आज हामी जुन लोकतन्त्रको महिमा गाउनमा गौरव गरिरहेका छौं, देशमा यस्ता धेरै विसंगतिको मूल जरोमा मलजल गररे यो सरकारले जति बुँदे सहमति गरे पनि जे नजीको माग र चाहनालाई पुरा गर्न सक्ने अवस्था देखिँदैन । आजको दिनमा जेनजीले के मागेको थियो, यो देशले के पायो भन्ने कुराले सारा नेपालीहरू अलमलमा परेका छन् । जेनजी आन्दोलनले नेपालमा २ हजार ३ सय ५३ जनाको रोजगारी गुम्यो, १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर उत्पादन प्रभावित भयो भन्ने समाचार प्रसारित भइरहेको छ । २३ र २४ भाद्रको ३६ घन्टामा पहिलो छ घण्टाभित्र युवाको जुलुस र सरकारको इशारामा सुरक्षाकर्मीद्वारा नरसंहारको काम हुन गयो जसमा ७८ जना युवाले सहादत प्राप्त गरे, करिब २५ सय घाइते भए । त्यसपछि मात्र सरकार ब्युँझियो । अहिले सरकार धरपकडमा लागेको छ ।
यी के हुन् र किन भइराखेका छन् ? यसको पछाडि को दोषी छन् र के कति दृश्य–अदृश्य स्वदेशीको हात छ ? कति विदेशी अदृश्य हात यस्ता विध्वंश गराउन सक्रिय भूमिकामा थिए ? यो सरकारले देशलाई कता लाँदैछ ? आन्दोलनको सुरुमा विरोध जुलुस र नारा लागे, सरकारको निर्देशनमा प्रहरीले बर्बर दमन गर्न खोज्यो, धेरैले ज्यान गुमाए । त्यसको बदलामा भोलिपल्ट जेनजीले बाँदर रूप हनुमान बनेर लंका जलाए जसो गरी आगो लगाउन र सम्पत्ति नाश तथा दानवका प्रतिरुप देखे जतीलाई शारीरिक प्रताडनादेखि उनीहरूको घरसम्पत्ति नष्ट गर्ने कार्यमा लागे । आज जेनजी हनुमान फेरि बाँदर रूपमा फर्किसकेका छन् भने हिजोका शक्तिशाली शासकहरूमा फेरि पुरानो शक्तिको भूत सवार हुन थालिसक्यो । आज सबैको मनमा एउटै प्रश्न उठ्ने गर्छ, जेनजीको नाममा पहिलो घानमा परेका स् कुल र कलेजबाट सरासर सडकको जुलुसमा आएका १२ वर्षदेखिमाथिका युवाहरूले पुलिसबाट हुने बर्बर दमन र भोलिपल्टको आगजनी, काराकारबाट भाग्ने अनि हजारवटा सेमिअटोमेटिक हतियार र एक लाख थान गोली लुटेर भाग्ने कुराको कल्पना गरेका थिए ? गरेका थिएनन् भने यो सबै कसले गरे, किन गरे , कुन उद्दे श्य लिएर गरे ? त्यसको छानविन नभएसम्म अब कुनै पनि नेपालीको मनले शान्ति पाउने छैन । सुरक्षित र निडर भएर भोलिको चुनाव होस् वा सरकारको कुनै पनि काम होस्, त्यसमा स्वस्फूर्त रूपले भाग लिन सकिने अवस्था छैन । अब यस्तो देशको शान्तिसुरक्षा र अमनचैन खलल पार्ने तत्वहरूको छानबिन त पहिचान गर्ने काम त सरकारले मात्र गर्न सक्छ र गर्नु पनि पर्छ । तर जुन कछुवाको गतिले र जुन तरिकाले कार्की आयोगलाई मात्र यो कामको जिम्मेवार मानिएको छ, त्यसले जेनजी र जनता दुवैमा फेरि अझ ठूलो असन्तोष र विरोधको ज्वारभाटा ल्याइरहनेछ ।
कुनै पनि राजनीतिक परिवर्तनको म्याद र समय सीमा हुँदैन भन्ने कुरा सबैले राम्ररी बुझ्नुपर्ने हुन्छ । जेनजीको आन्दोलनम एकै दिन ७६ जना मरे, २३ सय घाइते भए । नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षमा १० वर्षमा १७ हजार मरे हजाराैँ घाइते र बेपत्ता भए । लाखौं–करोडौंको क्षति पनि भयो । प्यालेस्टाइन गाजामा दुई वर्षमा एक लाख महिला, बालबालिका र वृद्धवृद्धाहरू मरिसके ९० प्रतिशतभन्दा बढी ठूला घरहरू नष्ट भइसके । इराक, श्रीलंका, अफगानिस्थानमा धेरै वर्षसम्म आत्मघाती युवाहरूले आफू पनि मरे धेरै अरुलाई पनि मारे ।
त्यसैले पनि जेनजी पुस्ताको विरोधलाई समयमै सही ढंगले सम्बोधन गर्नुपर्छ । यदि त्यसो गर्न सकिएन भने भोलिको आन्दोलनले कुनै पनि रूप लिन सक्छ । जब कुनै क्रान्तिले विकराल विध्वंस रूप लिन्छ, त्यसले सत्तासीनहरूको शक्तिको दम्भ तहसनहस हुने गर्छ, सत्तामा रमाइरहनेहरूको भागाभाग हुन थाल्छ, जुन कुरा भाद्र २४ गते काठमाडौं उपत्यकामा देखियो । यो कुरा बंगलादेशमा देखियो, श्रीलंकामा पनि देखियो । हिजो भ्रष्टाचार कुशासन र देशदोहन गररे शक्ति आर्जन गरेका र सत्ता भोग्दै आएकाहरूलाई उनीहरूको गलत कार्यको अनुसन्धान छानबिन गरी कर्म अनुसारको सजाय गर्नुपर्ने काममा आजको सरकार चुकिरहेको छ । त्यसको बदलामा हिजो लोकतन्त्रको नाममा मनपरी तन्त्रमा रमाउने एमाले र नेपाली कांग्रेस र त्यसका शीर्ष नेताहरू जेनजीको मनोभावनाको इज्जत गर्नुको साटो त्यसलाई नकार्न मात्रै होइन, अवैधानिक र अराजक भन्ने भाष्य प्रयोग गर्न थालेका छन् । यस्तो अवस्थामा पनि जेनजीको माग पुरा गर्न जेनजीको बलले बनेको सरकारसमेत भ्रष्टचार र सत्ताको दोहन गररे बसेका पुराना शासकहरूलाई चुनावमा भाग लिन फकाउने भन्दै उसैसँग साखुल्ले हुनैमा व्यस्त हुन थालेको देखिँदैछ ।
दशकौंदेखि देशमा गलत राजनीतिक अभ्यास, विचौलिया र घुसखोरीहरूसँग मिलेर शक्तिशाली बनेका राजनीतिक पार्टी र त्यस्ता पार्टीका घाघडान नेताहरूलाई कमजोर ठानेर एक झट्कामा उखेलेर फाल्नसक्ने ठान्नु नै जेनजीको भूल थियो । त्यसैकारण समयमै सचेत भएर उनीहरू दिनदिनै शक्तिशाली बन्दैछन् भने शक्तिशाली जेनजी भने आपसमा लडेर टुक्रिएर छिन्नभिन्न हुँदैछन् । आजको दिनमा पदलोलुप लोकतन्त्रका मसिहाहरूको किन र के कारणले यस्तो उल्टो बाटो लिँदैछन् भन्ने कुरा नै आजको गम्भीर र शोचनीय विषय हो । नेपालको यो जेनजी क्रान्तिलाई आज न सफल भन्न सकिन्छ न त असफल नै भन्न सकिन्छ ।
आजको दिनसम्म आइपुग्दा कतिपय सच्चा इमान्दार जेनजी युवाहरूलाई ‘माछा–माछा भ्यागुतो’ फेला परेको जस्तो लागिसकेको हुनुपर्छ । यस्तै अवस्था रहिरह्यो भने भोलिको दिनमा आन्दोलनकर्ताहरू झन् उग्र र विध्वंशक हुँदै जान सक्छन् । आजको दिन पैसा र गुण्डाको बलमा राजनीति गर्नेहरूले देशको राजनीतिक माहोल परिवर्तन गरेनन् भने अबका आगामी दिनहरूमा नेपालका युवाहरू पनि मध्यपूर्व र अन्य देशका चरमपन्थी बन्न बेर लाग्दैन । त्यसैले अबका दिनहरूमा यहाँ जे पनि सम्भव छ । अबका दिनमा जेनजीको गन्तव्य र मार्गचित्र के हो ? यो कुरामा सबै जेनजी सतर्क र सचेत हुनु आजको समयको आवश्यकता हो । नेपालका हिजोका जेनजी जसरी नक्सलवादी र नेकपा (माओवादी) बने, त्यस्तै गरी आजका जेनजीका केही संख्या मात्र त्यस्ता हिंसावादी कट्टरपन्थी बनिदिए भने नेपालको आजको लोकतन्त्रले देशलाई धान्न सक्दैन । जसले विदेशी हस्तक्षेपलाई निम्त्याउन पनि सक्छ ।
जेनजीले नेपालको इतिहासमा सकारात्मक परिवर्तन ल्याउने नै हो भने नेपाल सरकार, जेनजी र स्थापित पुराना नेताहरूले धैर्य, संयम र समझदारी देखाउनु जरुरी छ । नेपालका आधुनिक भनिएका राजनीतिक शक्ति र परम्परावादी भनिएकाहरू एकजुट नभएसम्म नेपालको भविष्य दिगो र सुदृढ हुनै सक्दैन । क्रान्ति भनेको कम्प्युटरको डिफल्ट प्रोग्रामिङ होइन जुन अरुले बनाइदिएको प्रोग्रामलाई पैसा किनेर ल्याएर चलाएजस्तो होसु। जेनजीहरूको सुरुको झट्का अत्यन्त शक्तिशाली भएर पनि यसले मागेको कुरा पुरा भएन । अबको विकल्प एकता, शक्ति सञ्चय र संगठन हो । देश र जनताले पटक–पटक र चाहेजस्तो विद्रोह मात्र गरिरहने छुट कसैलाई हुँदैन र गर्न पनि सक्दैन । समयमै बुद्धी र विवेक पलाएको र लगाएको नै राम्रो हुन्छ ।
लेखक थापा सशस्त्र प्रहरी बलका पूर्वएआइजी हुन् ।