नेभिगेशन
दृष्टिकोण

एमालेसँग जनताको अपेक्षा

२००७ सालमा राणा शासनलाई बिदा गर्दै क्रान्तिमार्फत आएको प्रजातान्त्रिक व्यवस्था २०४६ सालमा कांग्रेस र वामपन्थी दलहरूको संयुक्त आन्दोलनको बलमा ३० वर्षे पञ्चायती शासनलाई बिदा गर्दै पुनर्वहाली भएको बहुदलीय प्रजातान्तिक व्यवस्था र २०५२ सालमा नेकपा माओवादीले सुरु गरेको दशक लामो सशस्त्र विद्रोह पनि सबै दलको सहकार्यमा भएको दोस्रो जनअन्दोलन २०६२/६३ ले स्थापित गराएको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछिका दिनमा आजसम्म हामी घरभित्रै झगडा गरेर बसिरहेको अवस्था छ ।

नेपाली कम्युनिस्ट आन्दोलन शुरु भएको वा कम्युनिष्ट पार्टी स्थापना भएको ७८ वर्ष पुरा भयो । अझ कमरेड पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनका प्रणेता कार्ल मार्क्स र फ्रेडरिक ऐङगल्सद्वारा सन् १८४८ मा जारी गर्नुभएको कम्युनिस्ट पार्टीको म्यानिफिस्टोको घोषणापत्र नेपाली भाषामा उल्था गर्नुभएको ७९ वर्ष पुरा भएछ । नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक कमान्डर, कम्युनिस्ट आन्दोलन मात्र नभएर लोकतान्त्रिक आन्दोलनकै वैचारिक कमान्डर कमरेड पुष्पलाल भएकोमा अब कुनै नेपालीले दुई मन गर्दैन । कमरेड पुष्पलालले २००६ साल वैशाख १२ मा कम्युनिस्ट पार्टीको पहिलो पर्चा प्रकाशित गर्नुभयो र आफूसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ रहेको पाँच सदस्यीय केन्द्रिय संगठन समिति बनाउनुभयो र सोही साल भाद्र ३० गते नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्नुभयो । यसभन्दा अघि खड्गमान मल्लले विस १९८८ मा प्रचण्ड गोरखा नामक दल स्थापना गर्दै तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई ललकारेर ‘प्रधानमन्त्रीज्यू जनताको अधिकार खोस्ने र जनतामाथि सामान्तवादी शोषण गर्ने जारको शाासनलाई लेनिनले ढालिसके र समतामूलक समाज सिर्जना गर्न लागिसके, तपाईंको शाासन पनि ढल्नेवाला छ’ भनेर लेखेपछि उनी राणा प्रधानमन्त्रीको आँखी भए । उनलाई राणा प्रधानमन्त्री चन्द्रशमशेर जबरा आफैंले कोर्रा हाने ।

पुष्पलालका अनुसार प्रजा परिषद स्थापना भएपछि त्यसका सबै पदाधिकारी र सदस्यलाई शहीद दशरथ चन्दले मेक्सिम गोर्कीको उपन्यास आमा र निकोलाई ओस्त्रोमोस्कीको अग्नीदीक्षा पढाएका थिए । यसरी दशरथ चन्द र प्रजा परिषदका सदस्यहरू मार्क्सवादबाट प्रभावित भएका थिए । त्यो बेलादेखिको हिसाब जोड्दै आउने हो भने नेपालमा प्रगतिशीलता र मार्क्सवादको इतिहास ९० वर्षभन्दा लामो हुन जाने देखिन्छ । उता भारतमा अंगे्रजविरुद्ध ‘भारत छोडो’ आन्दोलनमा नेपालबाट भारतमा पढ्न गएका युवाहरू पनि सहभागी भएका थिए । त्यसरी अंग्रेजविरुद्धको आन्दोलमा भारतका नेताहरूसँगै कुममा कुम जोडेर विद्रोहमा साथ दिने नेपाली युवाहरूमा बीपी कोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीजस्ता नेता थिए । राजनीतिक रूपले चेतनशील र वैचारिक रूपले परिपक्व ती नेपाली युवाहरू भारतको बौद्धिक जमात र अध्ययनशीलताको घेरोमा रहँदाबस्दा मार्क्सवादबारे बहस गर्नसक्ने ल्याकतका थिए । अझ इतिहास केलाउँदै जाँदा वीपी कोइराला र मनमोहन अधिकारीले त भारतीय कम्युनिस्ट पार्टीको सदस्यता समेत लिएका थिए ।

यसरी हिसाब गर्दा हाम्रो आन्दोलनको लामो यात्राको इतिहासमा हामीले कम्युनिष्ट आन्दोलनलाई किन सफलताको सिंढी चढाउन सकेनौं, जबकी चीनमा सन् १९२१ मा स्थापना भएको कम्युनिस्ट पार्टीले २८ वर्षमै कम्युनिष्ट क्रान्ति सफल गरेर जनवादी गणतन्त्र स्थापना गर्‍यो र आज चार सय वर्ष लगाएर विकास गरेको युरोप र दुई सय ५० वर्ष लगाएर विकास गरेको संयुक्त राज्य अमेरिकालाई उछिनेर विश्वको पहिलो आर्थिक शक्ति बन्दैछ ।

यता भारतले पनि संसदीय प्रणाली अपनाएर विश्वको पाँचौं अर्थव्यवस्थाको रूपमा प्रगति गरेको छ । हामी भने सधैं किन पछाडि ? आज हामी अविकसित देशबाट अर्धविकसित देशको रूपमा किन उक्लन सकेनौं ? २००७ सालमा राणा शासनलाई बिदा गर्दै क्रान्तिमार्फत आएको प्रजातान्त्रिक व्यवस्था; २०४६ सालमा कांग्रेस र वामपन्थीदलहरूको संयुक्त आन्दोलनको बलमा ३० वर्षे पञ्चायती शासनलाई बिदा गर्दै पुनर्वहाली भएको बहुदलीय प्रजातान्तिक व्यवस्था; र २०५२ सालमा नेकपा माओवादीले सुरु गरेको दशक लामो सशस्त्र विद्रोह पनि सबै दलको सहकार्यमा भएको दोस्रो जनअन्दोलन २०६२/६३ ले स्थापित गराएको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछिका दिनमा आजसम्म हामी घरभित्रै झगडा गरेर बसिरहेको अवस्था छ । यो घर झगडामा कम्युनिस्टहरू निरन्तर रूपले लागि नै रहेका छन् । नेपाली कम्युनिस्टको धार केलाउँदा नेपाली वाम आन्दोलनमा तीन धारका कम्युनिस्ट पार्टी देखा पर्दछन् । जसमा पहिलो हारमा नेकपा एमाले देखिन्छ भने दोस्रो हारमा नेपाल कम्युनिस्ट पार्टी र तेस्रो धारमा केही साना दलहरू छन्, जो आफूलाई नयाँ जनवादी गणतान्त्रिक दलका रूपमा चिनाउँछन् ।

वस्तुतः नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी र चुनावमा भाग लिने अन्य साना दलहरू अलग बस्नुको कुनै तुक छैन । चुनावमा भाग नलिने साना दल र तीनको एउटा कम्युनिस्ट पार्टी र चुनावमा भाग लिने एमाले र प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अन्य दलका एक कम्युनिस्ट बनाउनुको विकल्प छैन । यसअघि गठन भएको नेकपालाई बचाउनै सकिएन । यसमा ओलीको ६० प्रतिशत गल्ती छ भने प्रचण्ड र अन्य नेताको ४० प्रतिशत गल्ती छ । त्यसबेला ओलीद्वारा संसद् विघटन नगरेर अरु कमरेडलाई सत्ता सम्पन सकिन्थ्यो तर तर त्यसो भएन । अब आसन्न एमालेको यो ११ औं महाधिवेशनले सामन्तवाद, साम्राज्यवाद र सबै प्रकारका प्रभुत्ववाद तथा दलाल नोकरशाही पुँजीवादलाई निमिट्यान्न पार्ने नीति अख्तियार गरोस्, पार्टीभित्रका नेता, कार्यकर्ताको कम्तीमा जिल्ला नेताको सम्मको सम्पत्ति सार्वजनिक गर्ने नीति अवलम्बन गरोस् । मैले यो पार्टीको पाँचौ र छैटौं महाधिवेशनमा कम्तीमा अञ्चल समितिका सदस्यसम्मको सम्पत्ति पार्टीकरण गर्ने प्रस्ताव राखेका थिएँ, त्यो प्रस्तावका बारेमा केपी ओली, ईश्वर पोखरेल, अमृत बोहोरा सबैलाई जानकारी छ ।

तर त्यसो गर्न नसकिए पनि कम्तीमा पार्टी सदस्यको सम्पत्ति कर तिरेको देखाएर हरेक वर्ष सार्वजनिक गर्ने नीति पास गरोस् । त्यस अलावा पुँजीपतिबाट चन्दा उठाएर पार्टी चलाउने परिपाटी बन्द गरोस् र प्रत्येक कार्यकर्ता उत्पादन आन्दोलनमा लागोस्, कार्यकर्ताको लेवीबाट मात्र पार्टी चलाउने, उत्पादन वा व्यवसायमा लागेका कार्यकर्तालाई नेतृत्वमा प्राथमिकता दिने नीति कार्यान्वयन गरोस् । यसले भ्रष्टाचार कम हुन्छ । अर्को कुरा कुनै पनि चुनावमा पर्चा पम्प्लेट नछाप्ने र अरु पनि खर्च गर्ने परिपाटी अन्त्य गर्ने कानुन ल्याउन पहल गरोस् । यसो गर्दा देशको आधाभन्दा बढ्ता भ्रष्टाचार यसै नियन्त्रण हुन्छ । यस अलावा मेरा प्रिय मित्र ओलीजीद्वारा पार्टीको अभिभावक बसेर ईश्वर पोखरले वा अरु कसैलाई नेतृत्व हस्तान्तरण गरियोस् यसैमा एमाले, कम्युनिस्ट आन्दोलन र सिंगो सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद विरोधी लोकतान्त्रिक तथा राष्ट्रवादी आन्दोलन सफलताको मञ्जिलमा पुग्नेछ र नेपाल विश्वको एक सम्पन्न राष्ट्र बन्नेछ ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना