नेभिगेशन
दृष्टिकोण

ग्याजेट्सले घटायो पुस्तकका पाठक

बाल्यकालमा गरिने प्रोत्साहन, सहज पहुँचका पुस्तकालय र सरकारी सहयोगले पठन संस्कृतिलाई पुनर्जीवित गर्न सकिन्छ

प्रिय पाठक, तपाईं एक घट्दो समूहको हिस्सा हुनुहुन्छ । विश्वभरि कम मानिसहरूले मनोरञ्जनका लागि छापा वा डिजिटल उपकरणहरूमा पुस्तक, अखबार वा पत्रिकाहरू पढिरहेका छन् । गत साता यस गिरावटको बारेमा चिन्ता बढेको छ, किनभने एक विस्तृत अमेरिकी अध्ययनले के पत्ता लगायो भने औसत दिनमा मात्र १६ प्रतिशत मानिसहरूले कुनै पनि फुर्सदको समय पढ्नमा बिताए । जबकि दुई दशकअघि मनोरञ्जन र अन्य कामका लागि पढ्नेहरूको संख्या २८ प्रतिशत थियो ।

फ्लोरिडा विश्वविद्यालय र यूनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरूले २ लाख ५६ हजार अमेरिकीहरूको दिनभरिको क्रियाकलापलाई विश्लेषण गरे । विश्लेषणपछि भने जे परिणाम देखियो, त्यसबाट उनीहरू चिन्तित भए । र, उनीहरूको चिन्ता सही पनि थियो । अमेरिका र अन्यत्रका प्रमाणहरूलाई हेर्दा के पुष्टि हुन्छ भने मानिसहरूले सामाजिक सञ्जालमा असीमित स्क्रलिङ वा टिकटक, इन्स्टाग्राम र अन्यत्र छोटा भिडियोहरू हेर्न जति समय छुट्याउने गरेका छन्, पढ्ने कुरामा भने छाड्दै जान थालेका छन ।

स्नायुविज्ञानी र सामाजिक मनोवैज्ञानिकहरूले मानसिक स्वास्थ्य र आनन्द पाउने बाटो शैक्षिक र सांस्कृतिक क्रियाकलापबाट मात्र सम्भव छ । ‘डूम स्क्रलिङ’भन्दा नियमितरूपमा किताब वा अखबारमा डुब्नुका धेरै फाइदा रहेको स्नायु वैज्ञानिकहरूको धारणा छ । पछिल्लो समय किताब पढ्न नभ्याउनेहरूले अडियोबूक सुन्न थालेका छन् र प्रकाशकहरूका लागि नाफा बढाउने अर्को एउटा टूलसमेत फेला परेको छ । विज्ञहरूले त यी अडियोबूकहरू सुन्नु पनि कागज वा ट्याब्लेटमा पढेजस्तै फाइदा दिने निष्कर्ष निकालिरहेका छन् । अमेरिकीहरूले आफ्नो समय कसरी उपयोग गरिरहेका छन् भन्ने सर्वेक्षणबाट निस्किएको एक महत्वपूर्ण निष्कर्ष भनेको पाठक र गैरपाठकहरूबीच बढ्दो ध्रुवीकरण हो । अचेल कहिल्यै पुस्तकहरू नपढ्ने मानिसहरूको अनुपात तीव्र गतिमा बढिरहेको छ । जो नियमितरूपमा पढ्छन्, तिनीहरूले अहिले २० वर्षअघिको भन्दा बढी फुर्सदको समय यस गतिविधिमा लगानी गरिरहेका छन् । त्यसैले पनि प्रकाशन उद्योगको स्वास्थ्य अझै राम्रो अवस्थामा छ ।

यूकेमा, प्रकाशक संघले गत वर्ष उपभोक्ता बजारका लागि एउटा उत्साहजनक तस्बिर सार्वजनिक गर्‍यो । जसअनुसार, राजस्व र बिक्री भएका पुस्तकहरूमा ५ प्रतिशतको वृद्धि भएको थियो । देशको सबैभन्दा ठूलो पुस्तक खुद्रा व्यापारी वाटरस्टोन्सले आफ्नो लगभग ३०० वटा स्टोरहरूसँगै नयाँ स्थानहरू पनि थपिरहेको छ ।

त्यसैले सबैभन्दा ठूलो नीतिगत चुनौती भनेको ती मानिसहरूमा पढ्ने रुचि जगाउनु हो, जसको कुनै रुचि छैन । शुरु गर्ने स्पष्ट समय बाल्यकालमा हो । बालबालिकाहरूलाई पढ्न अभिभावकले प्रोत्साहन गर्नुपर्ने हुन्छ । र, प्रायः अभिभावकहरूले विरलै यसमा मिहिनेत गर्ने गरेका छन् । त्यसपछि प्राथमिक विद्यालयहरूले अनुशरण गर्न सक्छन् ।

कथाहरूको मज्जाको पक्षलाई जोड दिँदै पढ्न र लेख्न सिक्न कार्यात्मक महत्वलाई जोड दिनुपर्छ । यो काम त्यो बेला मात्र हुन्छ, जब विद्यालयसँग गतिलो पुस्तकालय हुन्छ । बेलायतको एक चौथाई प्राथमिक विद्यालयहरूमा पुस्तकालय छैनन् । जहाँ खासगरी पुस्तकालय नभई हुँदैन, ती क्षेत्रमा त झनै छैनन् । चान्सलर रेचल रीव्सले गएको महिना सबै प्राथमिक विद्यालयहरूमा २०२९ सम्ममा पुस्तकालय हुन्छ भन्ने सुनिश्चित गर्दै स्वागतयोग्य प्रतिबद्धता जनाएकी छन् । पुस्तकालय भएर मात्र हुँदैन, आकर्षक र साँच्चिकै राम्रा सार्वजनिक पुस्तकालयहरू चाहिन्छन् । ती सबै उमेरका मानिसहरूमा पढ्ने बानी बसाल्न, स्वस्थ पठनस्तर कायम राख्न जरुरी छन् । पुस्तक किन्न नसक्ने वा किन्न नचाहने समुदायकहाँ पुस्तकालय हुनैपर्छ ।

त्यस्ता ठाउँमा सकारात्मक पक्ष निकै कम छन् किनभने स्थानीय प्राधिकरणहरू जसले पुस्तकालयहरूलाई कोष प्रदान गर्छन् धेरै देशहरूमा आर्थिक कठिनाइमा छन् । अमेरिकामा, राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्भाग्यवश पुस्तकालयहरूलाई संघीय सहयोग रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

पठन संस्कृति निर्माणका केही बाधा सजिलै हटाउन भने नसकिने होइन । हालै डेनमार्कले एउटा गज्जबकै उदाहरण पेस गरेको छ । त्यहाँका संस्कृति मन्त्री जेकब एन्गेल श्मिटले देशमा ‘पठन संकट’ बढेको भन्दै पुस्तकहरूमा लगाइरहेको २५ प्रतिशत भ्याट हटाउने घोषणा गरेको छ । यद्यपि, यस्ता कुराले मात्र पठन संस्कृति बढाउन सानो सहयोग मात्र गर्ने हो । सर्वसाधारणमा पठन संस्कृति बढाउन सक्रियरूपमै कार्यक्रम लागू नगर्ने हो भने पाठकहरू दुर्लभ प्रजाति बन्ने दिन टाढा छैन ।

(फाइनान्सियल टाइम्सको सम्पादकीय)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना