नेभिगेशन
दृष्टिकोण
सन्दर्भः विश्व ध्यान दिवस

चर्चा भावातीत ध्यानका

एक्काइसौं शताब्दीको पहिलो पच्चीस वर्ष व्यतीत हुन लाग्दा मोटामोटी ८ अर्ब मानिस बसोबास गर्ने पृथ्वीबासीमा केही दशकयता जत्तिको आपसी मनमुटाव, वैमनस्य, पारस्परिक अविश्वास र अरूप्रति केवल नकारात्मक भावले हेर्ने दृष्टिकोण कहिल्यै देखापरेको थिएन । यस मानेमा विश्वभरका मानिसको पहिलो चाहना भनेको शान्तिपूर्वक जीवनयापन गर्न पाए हुन्थ्यो भन्नेमा केन्द्रित देखिन्छ ।

विश्व जनमनमा तनाव, असन्तुष्टि, कडा प्रतिस्पर्धा, ईष्र्या, पारस्परिक अविश्वास, अश्रद्धा, युद्धअपराध एवं घृणावादबाट उन्मुक्ति हुन पाए हुन्थ्यो भन्ने तीव्र लालसा बढ्दै गएको छ । सायद विश्व रंगमञ्चमा मानिसले मानवीय मूल्यमान्यताको यति धेरै खोजी विगत कालखण्डमा अहिले जति कहिल्यै गरेको थिएन होला ।

विज्ञानको चरमोत्कर्ष विकास तथा प्रविधि विज्ञानले उपलब्ध गराएको सुखसुविधाको चरम उपलब्धिले पनि मानिसमा कतै आत्मसन्तुष्टि भेटिँदैन । यस पृष्ठभूमिमा गत वर्ष अर्थात् सन् २०२४ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मनाउन गरेको पहिलो निर्णयले विश्वका शान्तिकामी अर्बौं मानिसहरूका मनमा अपार हर्ष र खुसीको सन्देश दिएको अनुभव गर्न सकिन्छ ।

यसको अर्थ, आउँदा दिनहरूमा विश्व जनमत शान्तिका लागि बिस्तारै ध्यानतर्फ खिचिँदै जानेछ । गत वर्षको डिसेम्बर २१ मा सुरु भएको विश्व ध्यान दिवसदेखि यता मानिसभित्रको चेतनालाई उजागर हुन दिई शान्त र आनन्दित जीवनतर्फ लागेका र लाग्न उत्प्रेरित रहेका विश्वभरिका संघसंस्थाले ध्यानका कार्यक्रमप्रति देखाएको चासो र चिन्तन उत्साहजनक पाइएको छ । यस अर्थमा विश्व ध्यान दिवसको सान्दर्भिकता सदासर्वदा रहिरहनेछ ।

विश्व ध्यान दिवसलाई सभ्य, भव्य र दिव्यरूपमा मनाउन संयुक्त राष्ट्र संघ स्वयं अग्रसर भएकाले संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरू सक्रिय हुने कुरो सर्वविदितै छ । खास गरेर विश्व ध्यान दिवस मनाउन पहल गर्ने काममा विश्वका प्रमुख ध्यान संस्थाहरू क्रियाशील रहेको विगतलाई पूर्णसम्मान गर्दागर्दै पनि महर्षि महाअभियानको विशेष पहलले नै विगत वर्षमा यो निर्णय हुने अवस्था सिर्जिएको कदापि बिर्सन सकिँदैन ।

विशेष गरी डिसेम्बर २१ को दिनलाई नै विश्व ध्यान दिवस रोज्नुका पछाडि धेरै कारणहरू हुन सक्छन् तापनि महर्षि महेश योगीका श्रद्धेय गुरुदेव जगद्गुरु शंकराचार्य ब्रह्मानन्द सरस्वतीको जन्म दिन नै डिसेम्बर २१ लाई रोज्नुको निहितार्थ भने धेरै जनालाई थाहा नहुन सक्छ । जे होस्, विश्व ध्यान दिवसमा जो कोहीले आ–आफ्ना परम्पराको व्यक्तिगत एवं सामूहिक ध्यानलाई विशेष प्रोत्साहन गरी उत्साहजनकरूपमा मनाउन सक्छन् तापनि महर्षि महाअभियानले यस वर्ष विश्व ध्यान दिवसलाई विश्वस्तरमा नै सामूहिक भावातीत ध्यान गरेर चेतना विस्तारको विशेष योजना सार्वजनिक गरेको छ ।

आइतबार विश्व ध्यान दिवसको अनुपम सुअवसर पारेर महर्षि महाअभियानले भावातीत ध्यानको कार्यक्रमलाई न्यूजिल्याण्डबाट प्रारम्भ गरी ३३ घण्टापछि मियामीमा समापन गर्‍यो । विश्वभर रहेका यसका एक करोडभन्दा बढी भावातीत ध्यानीहरूको विश्वसञ्जाललाई क्रियाशील गराएको थियो । नेपालमै पनि महर्षि वैदिक फाउण्डेसनले देशभर रहेका ९० वटा गुरुकुलहरूका सबै बटुकहरू, भावातीत ध्यान शिक्षकहरू एवं स्थानीय समुदायलाई भावातीत ध्यानमा संलग्न हुने डिसेम्बर २१ अर्थात् पुस ६ गते आइतबारका दिन जो जहाँ भए पनि त्यहीँबाट एकै समयमा (बिहान ८ः४५ बजेदेखि र अपराह्न ५ः४५ बजेदेखि कम्तीमा बीस मिनेटसम्म) भावातीत ध्यानमा सरिक हुन आह्वान गरेको थियो र सोहीअनुसार कार्य पनि गरियो ।

उपत्यकाको हकमा आइतबार दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म भावातीत ध्यानसम्बन्धी वैज्ञानिक अनुसन्धानबारे विशेष चर्चा र अन्तरक्रिया गरेर ३ः०० बजेदेखि ३ः२० सम्म सयौंको संख्याले सामूहिक भावातीत ध्यान गरे । उपत्यकाको यो कार्यक्रम दक्षिणकाली– १ स्थित चम्पादेवीको फेदीमा रहेको बोसनको ब्रह्मानन्द सरस्वती ग्रामको परिसरमा सम्पन्न भएको थियो ।

ज्ञातव्य रहोस्, भावातीत ध्यान एक सरल, सहज, स्वाभाविक एवं वैज्ञानिक ध्यान विधि हो । यो ध्यानबारे विश्वमा सात सयभन्दा बढी वैज्ञानिक अनुसन्धान गरिएको छ । अनुसन्धानबाट निकालिएको निष्कर्षमा भनिएको छ– हरेक समाजको एक प्रतिशतले मात्र नियमित भावातीत ध्यान गर्ने हो भने ९९ प्रतिशतलाई सहजै अनुकूल प्रभाव पर्दछ । यसरी संसारसँगै विश्व ध्यान दिवसको अवसर पारेर नेपाली भावातीत ध्यानीहरू एउटा अभूतपूर्व गतिविधिमा संलग्न रहे ।

(लेखक भावातीत ध्यान शिक्षक हुन्।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण