क्रिश्चियनहरूको महान् पर्व क्रिसमस दैलोमै आइपुग्दैछ । यस्तोमा अमेरिकीहरूको सजावट मोहले यसलाई महँगो बनाउँदै लगेको छ । कुनैबेला साधारण मानिने क्रिसमस अहिले झिलिमिली र भव्य तमासामा परिणत हुन थालेको छ ।
हरेक वर्ष चाड आउनुभन्दा निकै अगाडिदेखि पसलेहरूले क्रिसमसका सामग्रीहरू राख्न थालेका छन् । पर्व आउनु कैलेकैले, सामान थुप्राउनु अहिले भनेर अमेरिकीहरूले भन्न थालेको धेरैै दशक भइसकेको छ । सन् १९६२ को ‘पिनट्स’ कमिकमा चार्ली ब्राउनले पसलमा सजावट नहेर्न आग्रह गर्दा लुसी भन्छिन्, ‘यी त इस्टरकै लागि तयारी गर्दै छन् ।’
तर २०२५ मा यो वास्तविकरूपमा नै देखिन थालेको छ । आर्थिक अनिश्चितता र थ्याङ्क्स गिभिङदेखि क्रिसमस डेबीचको छोटो समयका कारण धेरैै खुद्रा पसलले अक्टोबरमै ब्ल्याक फ्राइडे शैलीका अफर सुरु गरेका छन् । अर्थशास्त्री माइकल डेभिस भन्छन्, ‘खुद्रा व्यापारीहरू यो सिजन कमजोर हुने डरले छिटोभन्दा छिटो नगद संकलन गर्न खोजिरहेको देखिन्छ ।’ व्यवहार विज्ञ डेविड मर्फी भन्छन्, ‘राजनीतिक ध्रुवीकरण बढेका बेला मानिसहरू चाडपर्वको न्यानोपनतर्फ झन् बढी आकर्षित हुन्छन् ।’
सजावटमा कति खर्च हुन्छ ?
अमेरिकामा हरेक वर्ष झण्डै ६ अर्ब डलर पर्व–सजावटमा खर्च हुने गरेको छ । करिब ३ करोडवटा वास्तविक क्रिसमसका रुख र २ करोडवटा कृत्रिम रुख, १५ करोड सेट क्रिसमस बत्ती, ७ करोड गमलामा रोपिने पोइनसेटिया फूल, साथै करोडौंको संख्यामा अन्य गहना, आँगन सजावट र झ्यालमा टाँसिने सजावटका सामग्रीहरू प्रयोग हुने गरेका छन् ।
कतिपय ‘अत्यधिक सजावटप्रेमी’ले त आफ्नै घरलाई चम्किला बत्ती र चलायमान डल सहितको सानो क्रिसमस गाउँजस्तै बनाउन ठूलो रकम खर्च गर्ने गर्छन् । यो रहर कतिसम्म महँगो छ भने, अमेरिकाको मिसौरीको स्प्रिङफिल्डका माइक बागवेलले आफ्नो घरमा जडान गरिएका २७ हजार एलइडी बत्तीसहित विगतका वर्षहरूमा १ लाख ३० हजार डलरभन्दा बढी खर्च गरिसकेको अनुमान गर्छन् । ‘समुदायले खुसी मनाउँदा र रमाएको देख्दा यस्तोमा गरिएका सबै खर्च सार्थक नै लाग्छ,’ उनको भनाइ छ ।
यसको प्रत्यक्ष असर विद्युत् खर्चमा पर्ने गरेको छ । डिसेम्बर महिनामा अमेरिकामा क्रिसमस बत्तीले सामूहिकरूपमा ३.५ अर्ब किलोवाट–घण्टा बिजुली खपत गर्छन् । यो एक वर्षसम्म ३ लाख ५० हजारभन्दा बढी घरलाई उज्यालो बनाउन पुग्ने मात्रा हो । यसको लागत करिब ६४ करोड ५० लाख डलर पर्छ । सजावटका क्रममा हुने दुर्घटनाहरूको सामाजिक लागत पनि कम छैन । हरेक वर्ष करिब १८ हजार ४ सय जना व्यक्ति सजावट झुण्ड्याउने क्रममा भर्याङबाट लड्ने गर्दछन् र अस्पतालको आकस्मिक कक्षमा पुग्ने गर्छन् ।
यसका बाबजुद पनि पर्वप्रेमीहरू सजावटमा कुनै कमी छोड्न चाहँदैनन् । अध्येताहरू भन्छन्, सजावटको भावनात्मक लाभ पनि गहन हुन्छ । मनोवैज्ञानिक पाउलिन वालिन भन्छिन्, ‘तपाईंको वर्ष झुर बितेको भए पनि पर्वमा गरिने सजावटले तपाईंलाई सुखद सम्झनाहरू दिएर जान्छन् ।’
सजावटको इतिहास
केही चाडपर्वका सजावटहरू प्राचीन मूर्तिपूजक (पेगन) कालसम्म पुग्छन् । रोमन लेखक प्लिनी द एल्डरले सेल्टिक धर्मगुरुहरूले मिस्लटो (एक प्रकारको रुख) लाई पवित्र मानेको उल्लेख गरेका छन् । तर आधुनिक पर्व सजावटले १९औं शताब्दीमा वास्तविक रूप लिन थालेको हो ।
मेक्सिकोका लागि पहिलो अमेरिकी राजदूत जोएल रोबट्र्स पोइनसेटले सन् १८२८ मा जाडोयाममा रातो फुल्ने झाडी अमेरिका ल्याए । मेक्सिकोमा ‘नोचेबुएना’ (क्रिसमसको पूर्वसन्ध्याको फूल) भनिने यो फूल अहिले संसारभर पोइनसेटिया नामले चिनिन्छ ।
सन् १८५६ मा बेलायतमा रानी भिक्टोरियाले सुरु गराएको चलनको प्रभावले, अमेरिकी राष्ट्रपति फ्य्रांकलिन पियर्सले ह्वाइट हाउसमा पहिलोपटक क्रिसमसको रुख सजाए । त्यसै समयमा जर्मनीको लाउशा सहरमा सिसाबाट बनेका फल, बदामजस्ता आकारका गहना बनाइँदै थिए र क्रिसमस पर्वमा तिनलाई सजाउन थालियो ।
सन् १८८० मा अमेरिकी व्यापारी एफ डब्लू बुलवर्थले जर्मन व्यापारीबाट सजावटका त्यस्ता गहना किन्ने प्रस्ताव सुरुमा अस्वीकार गरे । तर पेन्सिल्भेनियाको ल्यान्कास्टरस्थित आफ्नै स्टोरमा राख्दा १४४ वटै सजावटका सामग्रीहरू केही घण्टामै बिके । त्यसपछि उनले थप अर्डर गर रे आगामी ६० वर्षमा उनको व्यापार साम्राज्यले ५० करोडभन्दा बढी सजावट सामग्री बेच्यो ।
क्रिसमस बत्तीको कथा
क्रिसमस बत्ती अमेरिकामै विकसित आविष्कार हो । वैज्ञानिक थोमस अल्बा एडिसनले पहिलो व्यावहारिक बिजुली बत्ती बनाएपछि, सन् १८८० को क्रिसमसमा न्यू जर्सीस्थित आफ्नै प्रयोगशालाबाहिर बत्ती झुण्ड्याए । दुई वर्षपछि उनका व्यापार साझेदार एडवर्ड हिबर्ड जोनसनले आफ्नै घरको रुखमा ८० वटा रातो, सेतो र नीलो बत्ती घुम्ने प्लेटफर्ममा सजाए । त्यो दृश्यले धेरैलाई मन्त्रमुग्ध बनायो ।
त्यतिबेला बत्ती जडान गर्न महँगो थियो । आजको मूल्यमा करिब १० हजार डलर पथ्र्यो तर १९०३ मा एडिसनको कम्पनीले पहिलोपटक सस्तो र सुरक्षित ‘मास–मार्केट’को क्रिसमस बत्ती ल्यायो । सन् १९६० को दशकमा प्लास्टिकका रेनडियर र सान्ता क्लज आकारका सजावट लोकप्रिय भए । सन् २००० पछि फुलाएर राखिने (इन्फ्लेटेबल) सजावटले आँगन भरिन थाले ।
ती कहाँबाट आए ?
यी सजावटहरू ‘बिग माउथ बिली बास’ (गाउने माछा खेलौना) बनाउने समूहकै कल्पना हुन् । टेक्सास राज्यको जेम्मी इण्डस्ट्रिजले कार डिलरशिप बाहिर देखिने फुलाउने जनावरजस्तै सजावट घरायसी उपभोक्ताका लागि बनाउन खोज्यो । प्रारम्भिक नमूनामा हेयर ड्रायर प्रयोग गरिन्थ्यो, जुन धेरैै तातेर बिग्रन्थ्यो । पछि महिनौंसम्म चल्ने पंखा विकास गरियो । सन् २००१ मा पहिलो फुलाउने ८ फिट अग्लो सान्ता सार्वजनिक गरियो । अहिले त ७ फिट अग्लो बन्दुक बोकेको सान्तासमेत बिक्रीमा छन् ।
सन् २०१४ मा उद्यमी लु लेण्टिनले ‘स्टार शावर’ नामक लेजर प्रोजेक्टर ल्याए । यो लेजर प्रोजेक्टरले भर्याङ नचढीकनै घर सजाउन सकिने भयो । अमेरिकी उड्डयन प्रशासनले भने लेजर प्रोजेक्टर पाइलटका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ । तर यस वर्ष चर्किएको ट्रम्पको व्यापार युद्धका कारण अधिकांश सामग्रीहरूमा उपभोक्ताले मूल्य बढेको महसुस गरेका छन् ।
किन महँगो भयो?
यसको मुख्य कारण, चीनमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार कर हो । अमेरिकामा प्रयोग हुने ८७ प्रतिशत क्रिसमस सजावट चीनबाट आउने गरेको छ । यस वसन्तमा चिनियाँ सामानमा कर १४५ प्रतिशतसम्म पुगेको थियो पछि घटेर ४० प्रतिशतमा झर्यो । यद्यपि उद्योगका नेताहरूले उपभोक्ताले अझै १८ प्रतिशत बढी मूल्य तिर्नुपर्ने चेतावनी दिएका छन् । साना व्यवसायहरूले गत वर्ष मात्रै ४० करोड डलरभन्दा बढी भन्सार कर तिरका छन् । ‘हामी नाफाबाट कर तिर्ने अवस्थामा पुगेका छौं,’ युटाहको भिलेज लाइटिङ चलाउने जारेड हेन्ड्रिक्स भन्छन् ।
के अमेरिकीहरूले खर्च घटाएका छन्?
केही हदसम्म अमेरिकीहरूले खर्च घटाएका छन् । गत अक्टोबरको एक सर्वेक्षणमा ३९ प्रतिशतले मात्र यस वर्ष नयाँ सजावट किन्ने बताएका छन् । सन् २०२४ मा भने नयाँ सजावट किन्छु भन्नेहरूको प्रतिशत ५६ थियो । तर नेसनल रिटेल फाउण्डेसनका अनुसार २० करोड २९ लाख अमेरिकीले थ्याङ्क्स गिभिङ चाडका बेला क्रिसमस सामग्री किनिसकेका छन् । यस वर्ष कुल चाडपर्व खर्च एक ट्रिलियन डलर नाघ्ने अपेक्षा गरिएको छ । फाउण्डेसनका प्रमुख कार्यकारी म्याथ्यु शे भन्छन्, ‘आर्थिक चिन्ताकै कारण अमेरिकीहरूले पक्कै पनि चाडबाडको उत्साह मर्न दिँदैनन् । कुनै न कुनै तरिकाले सान्ता आइहाल्छ ।’
(द विक पत्रिकाबाट साभार)