नेभिगेशन
दृष्टिकोण
५१औं दीक्षान्त समारोह

प्राज्ञिक गौरवको उत्सव

एकातिर विद्यार्थीको चापका कारण सबै इच्छुकलाई भर्ना लिन सकिएको छैन भने अर्कातिर दीक्षान्त समारोहमा अपेक्षित सहभागिता कम हुनु चिन्ताको विषय हो । विश्वविद्यालयलाई आत्मनिर्भर र अन्तर्राष्ट्रियस्तरको बनाउनु आजको मुख्य चुनौती हो । साथै, शिक्षालाई रोजगारी र बजारको मागसँग जोड्दै उद्योग तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी पाठ्यक्रम विकास गर्न सके विश्वविद्यालयको गरिमा अझ उचो हुनेछ ।

नेपालको उच्च शिक्षाको इतिहासमा त्रिभुवन विश्वविद्यालय एक अद्वितीय, गौरवपूर्ण र ऐतिहासिक संस्थाका रूपमा स्थापित छ । स्वशासित शैक्षिक संस्थाको हैसियतमा विसं. २०१६ सालमा काठमाडौं उपत्यकाको प्राचीन तथा सांस्कृतिकरूपमा समृद्ध सहर कीर्तिपुरमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय मुलुकको पहिलो र जेठो विश्वविद्यालय हो । यसको स्थापना नेपालमा आधुनिक उच्च शिक्षाको औपचारिक सुरुवातका रूपमा लिइन्छ । यो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार सञ्चालन हुँदै आएको एक अविच्छिन्न उत्तराधिकारयुक्त स्वशासित र संगठित संस्था हो । राष्ट्रको समग्र विकासका लागि आवश्यक दक्ष, सक्षम, नैतिक र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना गरिएको हो । उच्च शिक्षालाई गुणस्तरीय, व्यावहारिक, समयसापेक्ष र अनुसन्धानमुखी बनाउँदै राष्ट्रिय संस्कृति, सभ्यता, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्धन गर्नु यसको मूल ध्येय रहेको छ । कला, विज्ञान, प्रविधि, व्यवस्थापन, चिकित्सा, इञ्जिनियरिङ, कृषि, वन विज्ञान तथा व्यावसायिक शिक्षाका क्षेत्रमा ज्ञान सिर्जना, अनुसन्धान र नवप्रवर्तनमार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने दीर्घकालीन लक्ष्य बोकेर त्रिभुवन विश्वविद्यालय अघि बढिरहेको छ ।

कानूनी हैसियत र संस्थागत संरचना

त्रिभुवन विश्वविद्यालय एक कानूनी व्यक्तिसरह अधिकार सम्पन्न संस्था हो । यसले चल तथा अचल सम्पत्ति आर्जन गर्न, उपयोग गर्न, व्यवस्थापन गर्न, बेचबिखन गर्न तथा कानूनबमोजिम आवश्यक व्यवस्था गर्न सक्छ । साथै विश्वविद्यालयले आफ्नो नामबाट मुद्दा दायर गर्न र विश्वविद्यालयमाथि पनि सोही नाममा मुद्दा दायर हुन सक्ने कानूनी प्रावधान रहेको छ ।

सामूहिक, शैक्षिक र प्रशासनिक उद्देश्यहरू प्रभावकारीरूपमा पूरा गर्न विश्वविद्यालयले स्पष्ट कार्यविभाजनसहित विभिन्न संरचनागत निकायहरू गठन गरेको छ । विश्वविद्यालयको संगठनात्मक संरचनाअन्तर्गत विश्वविद्यालय सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, अध्ययन संस्थान, संकाय, विभाग, आंगिक क्याम्पस, सम्बन्धनप्राप्त क्याम्पस, अनुसन्धान केन्द्र तथा अन्य सहायक निकाय पर्दछन् । विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई सुदृढ बनाउन उपकुलपतिको अध्यक्षतामा गठन हुने सात सदस्यीय कार्यकारी परिषद् अत्यन्त महत्त्वपूर्ण निकाय हो । यस परिषद्मा शिक्षाध्यक्ष, अध्ययन संस्थान तथा संकायका डीनहरू, प्राध्यापक प्रतिनिधि र रजिष्ट्रार सदस्य सचिवका रूपमा रहने व्यवस्था छ ।

शैक्षिक विस्तार र विद्यार्थी पहुँच

त्रिभुवन विश्वविद्यालय विद्यार्थी संख्या, शैक्षिक कार्यक्रम, क्याम्पस विस्तार तथा मानव संसाधनका दृष्टिले विश्वकै ठूला विश्वविद्यालयहरूमध्ये एक मानिन्छ । यस विश्वविद्यालयअन्तर्गत पाँच अध्ययन संस्थान छन्, जसमा विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, चिकित्सा शास्त्र, वन विज्ञान तथा कृषि तथा पशु विज्ञान हुन् । त्यस्तै, विश्वविद्यालयअन्तर्गतका चार संकाय– ‘व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र र कानून हुन् ।’

यसका साथै विश्वविद्यालयअन्तर्गत चार अनुसन्धान केन्द्र, ६४ आंगिक क्याम्पस, ४४ केन्द्रीय विभाग तथा १०४८ भन्दा बढी सम्बन्धन प्राप्त निजी र सामुदायिक क्याम्पस तथा कलेजहरू देशभर फैलिएका छन् । स्नातकदेखि विद्यावारिधिसम्म ४१० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन हुनु त्रिभुवन विश्वविद्यालयको विशालता र विविधताको प्रमाण हो । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकानुसार उच्च शिक्षामा अध्ययनरत कुल ६ लाख ३३ हजार विद्यार्थीहरूमध्ये करिब ४ लाख ९१ हजार २ सय ९९ विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन्, जुन कुल विद्यार्थी संख्याको ७७ प्रतिशत हो । यद्यपि पछिल्ला वर्ष नयाँ विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरू थपिँदै गएका छन्, तथापि विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ आज पनि त्रिवि नै रहनु यसको विश्वसनीयता र प्रतिष्ठाको संकेत हो ।

पछिल्लो समय त्रिविले शैक्षिक क्यालेण्डरलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनु, परीक्षा प्रणालीमा सुधार गर्नु तथा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने व्यवस्था गर्नु सकारात्मक उपलब्धिका रूपमा देखिन्छ । यसले विद्यार्थीहरूको सिकाइ क्षमता, प्रतिस्पर्धात्मकता र गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको छ ।

५१औं दीक्षान्त समारोहको ऐतिहासिकता

त्रिविले आयोजना गर्न लागेको ५१औं दीक्षान्त समारोह एक ऐतिहासिक र स्मरणीय अवसरका रूपमा स्थापित भएको छ । उपकुलपति प्रा. डा. दीपक अर्यालज्यूको विशेष अनुरोधमा जापानको टोकियो विश्वविद्यालयका भौतिकशास्त्री तथा सन् २०१५ को नोबेल पुरस्कार विजेता प्रा. डा. ताकाआकी काजिताज्यूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिनु यस समारोहको विशिष्ट आकर्षण हो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वैज्ञानिकको गरिमामय उपस्थितिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचान, प्रतिष्ठा र प्राज्ञिक गरिमा थप उचाइमा पुगेको छ । त्यसैगरी जापानी नोबेल पुरस्कार विजे ता प्रमुख अतिथिको आमन्त्रणका लागि पहल र समन्वयका साथै दीक्षान्त समारोहको व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी, रजिष्टार प्रा. डा. केदारप्रसाद रिजाल तथा परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेललगायतका विश्वविद्यालयका सिनेट सदस्य, प्राध्यापक तथा कर्मचारीहरू, विद्यार्थी प्रतिनिधिलगायत सम्पूर्ण व्यवस्थापन, प्रशासन तथा प्राविधिक टिम दीक्षान्त समारोह भव्य र सफल बनाउन जुटेकाले ५१औं दीक्षान्त सबैका लागि उत्सव तथा गौरवको विषय बनेको छ ।

औपचारिक कार्यक्रम बिहान ११ वजे सुरु हुने र करिब दिउँसो २ बजे समापन गरिसक्ने तालिका रहेको छ । त्रिविका कुलपतिज्यूको आगमनपश्चात् उपस्थित बटुकहरूबाट पवित्र स्वस्ति वाचनबाट कार्यक्रम आरम्भ गरेपछि त्रिविका उपकुलपतिको स्वागत मन्तव्यपश्चात् कुलपतिबाट कार्यक्रम मर्यादितरूपमा अगाडि बढाउन रजिष्ट्रारलाई अनुमति हुनेछ र बाँकी प्रोसेसनको कार्यक्रम सुचारु हुनेछ । विभिन्न कारणले उपाधिका लागि उपस्थित हुन नसक्ने विद्यार्थीहरूका लागि अनुकूल समयमा उपस्थित भएर उपाधि दिलाउने प्रावधानका लागि त्रिविका शिक्षाध्यक्षलाई कुलपतिबाट अनुमतिसमेत प्रदान हुनेछ ।

विगतमा सम्पन्न गरिँदै आएका दीक्षान्त समारोहहरूलाई मध्यनजर गरी अनुभवका आधारमा थप व्यवस्थित गरी सहभागी विद्यार्थीहरूलाई सकेसम्म छिटोछरितो र प्रभावकारीरूपमा प्रमाणपत्र वितरण गर्न जम्मा ८० वटा वितरण केन्द्र रहेका छन् । जसका लागि करिब २५० जना कर्मचारी तथा स्वयंसेवकको व्यवस्था गरिएको छ । कार्यक्रमका औपचारिक समापन कुलपतिबाट हुनेछ । विश्वविद्यालयले यस समारोहको उचित व्यवस्थापनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रमाणपत्र छपाइ, मसलन्द, पुरस्कार तथा पदक तयारी, अतिथि सत्कार, आमन्त्रित अतिथिको आवास तथा यातायात खर्च, गाउन तथा स्कार्फ तयारी, कर्मचारी तथा स्वयंसेवक व्यवस्थापन जस्ता विविध विषयमा खर्च गरिनेछ ।

सहभागिता र व्यवस्थापन

त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार विस २०८२ साल भदौ १८ गतेदेखि असोज ३१ गतेसम्म अनलाइन आवेदनमार्फत दीक्षान्तमा सहभागिता जनाउन आह्वान गरिएको थियो । स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उत्तीर्ण गरी ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीहरू मात्र आवेदन दिन योग्य थिए । यस दीक्षान्त समारोहको अर्को ऐतिहासिक पक्ष भनेको पहिलोपटक एक विद्यार्थीका दुई जना अभिभावकलाईसमेत समारोहमा सहभागी हुन अनुमति दिनु हो ।

यसले विश्वविद्यालय र अभिभावकबीचको आत्मीयता, अपनत्व र साझेदारीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । कुल २३ हजार ९८० जना अभिभावकबाट आवेदन प्राप्त भएको र विद्यार्थी, अभिभावक तथा अतिथिसहित करिब ४२ हजार जनाको सहभागिताका लागि दशरथ रंगशालामा आवश्यक व्यवस्थापन गरिएको छ ।

प्रधानमन्त्री एवं त्रिविका कुलपति सम्माननीय सुशीला कार्कीज्यूको अध्यक्षतामा सम्पन्न हुने यस समारोहमा यस शैक्षिक सत्रमा स्नातकदेखि विद्यावारिधिसम्म उत्तीर्ण हुने विद्यार्थी संख्या ८९ हजार १ सय ९१ रहेको छ ।

यद्यपि सबै योग्य भए पनि १६ हजार ३ सय ८० जना विद्यार्थीले मात्र औपचारिकरूपमा सहभागिताका लागि आवेदन दिएका छन् । यसअन्तर्गत स्नातक तहमा ११ हजार २ सय ३४, स्नातकोत्तरमा ४ हजार ८ सय ६०, दर्शनाचार्यमा १ सय २० र विद्यावारिधिमा १ सय ५२ जना रहेका छन् । साथै विभिन्न संकाय तथा अध्ययन संस्थानअन्तर्गत सर्वोत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक तथा पुरस्कारद्वारा सम्मान गरिनेछ ।

भावी चुनौती

त्रिभुवन विश्वविद्यालय उपलब्धि र चुनौती दुवैको संगममा उभिएको संस्था हो । एकातिर विद्यार्थीको अत्यधिक चापका कारण सबै इच्छुकलाई भर्ना दिन नसक्नु विश्वविद्यालयको लोकप्रियताको प्रमाण हो भने अर्कातिर दीक्षान्त समारोहमा अपेक्षित सहभागिता कम हुनु चिन्ताको विषय हो । ज्ञान, सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिँदै विश्वविद्यालयलाई अझ सुदृढ, आत्मनिर्भर र अन्तर्राष्ट्रियस्तरको बनाउनु आजको मुख्य चुनौती हो । साथै शिक्षालाई रोजगारी र बजारको मागसँग जोड्दै उद्योग तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी पाठ्यक्रम विकास गर्न सके विश्वविद्यालयको गरिमा अझ उचो हुनेछ । विद्यार्थीहरूलाई विदेशमुखी प्रवृत्तिबाट फर्काउँदै देशकै विकासमा योगदान दिन प्रेरित गर्नु आजको आवश्यकता हो । यसका लागि सरकार, विश्वविद्यालय, निजी क्षेत्र र समाजबीच सहकार्य अपरिहार्य छ ।

अन्ततः देशकै सबैभन्दा ठूलो र प्रतिष्ठित विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रनिर्माणमा ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट जिम्मेवारी बोकेको छ । दीक्षान्त समारोहलाई केवल औपचारिक कार्यक्रम नभई प्राज्ञिक उत्सवका रूपमा निरन्तर मनाउँदै अन्तर्राष्ट्रिय गरिमा अभिवृद्धि गर्न सके शैक्षिक क्षेत्रमा देखिएको ड्रपआउट समस्या न्यूनीकरण हुने विश्वास गर्न सकिन्छ ।

लेखक त्रिवि उपकुलपति कार्यालयमा आबद्ध पुस्तकालय अधिकृत हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना