लण्डन । आधुनिक प्रविधिको संसारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथ्याङ्क प्रशोधन गर्ने मेसिन मात्र रहेन, यसले त आफ्नै एउटा ‘विश्व–दृष्टिकोण’ र ’व्यक्तित्व’ निर्माण गरिरहेको तथ्य उजागर भएको छ । विश्वविख्यात बेलायती समाचार पत्र ‘द टाइम्स’ले हालै गरेको एउटा विस्तृत परीक्षणले अहिलेका चल्तीका तीन प्रमुख एआई मोडेलहरू च्याटजीपीटी, जेमिनी र ग्रोकमध्ये कसलाई उत्कृष्ट छान्छन् भनी सोधिएको थियो । यी तीन एआईले दार्शनिक, राजनीतिक र व्यावहारिक भिन्नता देखाउँदै उनीहरूको प्राथमिकता पनि छर्लङ्ग पारेका छन् । यो प्रयोगले एआई मोडेलहरू सफ्टवेयर कोडिङमा मात्र सीमित छैनन् भन्ने देखाएको छ । त्यस्तै तिनीहरूका जवाफहरूमा तिनका निर्माता कम्पनीका मूल्य–मान्यता, प्रशिक्षण डाटाको प्रभाव र लुकेका वैचारिक झुकावहरू पनि प्रतिबिम्बित हुने गरेको देखिएको छ ।
घमण्ड र विनम्रताको होड
परीक्षणको सुरुवातमा एआईहरूलाई ‘सबैभन्दा राम्रो निःशुल्क एआई सेवा कुन हो ?’ भनेर सोधिएको थियो । यसमा च्याटजीपीटीले निकै घमण्डका साथ आफैँलाई सर्वश्रेष्ठ घोषित गर्दै आफ्ना नतिजाहरू ‘परिष्कृत र भरपर्दो’ भएको दाबी गर्यो । एलन मस्कको ग्रोकले पनि ‘जटिल कार्यहरूमा अन्य प्रतिद्वन्द्वीलाई पछाडि पार्ने’ आफ्नो खुबी रहेको भन्दै आफैँलाई रोज्यो । तर, गुगलको जेमिनीले भने अलि फरक र तटस्थ शैली अपनाउँदै च्याटजीपीटीलाई ‘सर्वोत्कृष्ट सर्वपक्षीय’ मोडेलका रूपमा स्वीकार गर्यो । यसले एआई मोडेलहरूबीच पनि प्रतिस्पर्धाको फरक–फरक शैली रहेको पुष्टि गर्दछ ।
तटस्थताको आवरण र वास्तविक अनुहार
एआई मोडेलहरू राजनीतिक रूपमा कति पूर्वाग्रही छन् भन्ने विषय सधैँ चर्चामा रहने गर्छ । हालैका अध्ययनहरूले एआईले झुटो सामग्री वा ‘डीप फेक’ सिर्जना गरेर निर्वाचन प्रभावित गर्न सक्ने देखाएपछि ७५ प्रतिशत मतदाताहरू चिन्तित देखिएका थिए । ‘द टाइम्स’को परीक्षणमा च्याटजीपीटी र जेमिनीले आगामी निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने प्रश्नमा तटस्थता कायम राख्न खोजे । च्याटजीपीटीले भने ‘राजनीतिक प्राथमिकता राख्न नसक्ने’ बतायो तर अलि बढी जोड दिँदा र पृथ्वी नै सकिने अवस्थाको काल्पनिक परिस्थितिमा भने ‘ग्रीन पार्टी’लाई रोज्ने बताएको छ । यसले उसको प्राथमिकता वातावरणीय स्थिरतामा रहेको सङ्केत गर्छ ।
यसको विपरीत, ग्रोकले भने स्पष्ट रूपमा ‘रिफर्म यूके’लाई मतदान गर्ने बतायो । यसले एलन मस्कको अभिव्यक्ति स्वतन्त्रता र न्यून नियामक बोझको दर्शनलाई समर्थन गरेको देखिन्छ । यस्तो प्रत्यक्ष राजनीतिक झुकाव चुनावको समयमा घातक हुन सक्ने अनुसन्धानकर्ताहरूको चेतावनी छ । १५ प्रतिशतसम्म राजनीतिक बहसहरू नक्कली खाता वा बोटहरूबाट प्रभावित भइरहेका हुनाले यस्ता बोटहरूको व्यापक दुरुपयोग हुन सक्ने अध्येताको भनाइ छ ।
मेसिनको ‘आत्मा’को खोजी
अल्गोरिदमहरू कसरी सोचिरहेका छन् भन्ने बुझ्नका लागि तिनीहरूलाई आफ्नो मनपर्ने दार्शनिक रोज्न लगाइएको थियो । यहाँ च्याटजीपीटीले यहूदी राजनीतिक सिद्धान्तकार हन्ना एरेन्टलाई रोज्यो । एरेन्टले प्रतिपादन गरेको ‘दुष्टताको सामान्यता’को अवधारणाले च्याटजीपीटीको प्रोग्रामिङमा नैतिकता र वैचारिक सोचको विरोधलाई महत्व दिएको देखाउँछ ।
ग्रोकले भने फ्रेडरिक निचलाई रोज्ने गर्छ । निचलाई रोज्नुले यसको विद्रोही र व्यक्तिगत स्वतन्त्रता प्रेमी स्वभाव देखाउँछ । निचले परम्परागत नैतिकता र ‘झुण्ड मानसिकता’को आलोचना गरेका थिए । जेमिनीले भने सुकरात (सोक्रेटिस)लाई आफ्नो कार्यप्रणालीका लागि आवश्यक दार्शनिक मानेको छ । सोक्रेटिसले जहिले पनि प्रश्न सोध्ने र तर्कपूर्ण बहस गर्ने कुरालाई जोड दिन्थे । जेमिनीले पनि यही आधारभूत विधिलाई अँगालेको छ ।
उपभोक्ता सिफारिस र आर्थिक प्रभाव
तथ्याङ्कीय प्रश्नहरूमा सबै एआईहरू एकमत देखिएका थिए तर पनि उपभोक्ता सिफारिसमा भने यिनीहरूको ‘स्वाद’ फरक देखियो । लन्डनको जनसंख्या कति हो भनेर सोध्दा सबैले ९८ लाख ४० हजार ७ सय ४० भनेर सही तथ्याङ्क दिए । तर, उत्कृष्ट सुपरमार्केट रोज्दा च्याटजीपीटीले सस्तो भएका कारण ‘एल्डी’लाई रोज्यो भने जेमिनी र ग्रोकले गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा ‘माक्र्स एन्ड स्पेन्सर’लाई प्राथमिकता दिए । ल्यापटप र पारिवारिक कारको सिफारिसमा पनि यस्तै भिन्नता देखियो । एआईले दिने यस्ता सिफारिसहरूले भविष्यमा ई– कमर्स र उपभोक्ताको खर्च गर्ने बानीलाई निकै ठूलो प्रभाव पार्ने निश्चित छ ।
पत्रकारिताको कडी र विश्वसनीयता
परीक्षणको एउटा महत्वपूर्ण पाटो समाचारपत्रहरूको विश्वसनीयता पनि थियो । च्याटजीपीटी, जेमिनी र ग्रोकलाई बेलायतमा सबैभन्दा राम्रो पत्रिका कुन छ भनेर सोधिएको थियो । तीनवटैले ‘द टाइम्स’लाई ‘द टेलिग्राफ’ भन्दा बढी विश्वसनीय माने । च्याटजीपीटीका अनुसार ‘द टाइम्स’ले समाचारको रिपोर्टिङ र सम्पादकीय विचारबीच कडा पृथकीकरण कायम राख्ने भएकाले यो बढी भरपर्दो छ । एआईले समाचारको गुणस्तर मापन गर्ने यो क्षमताले भविष्यमा पत्रकारिताको मापदण्ड सुधार गर्न मद्दत पुर्याउन सक्छ ।
एआई एउटा ‘बोट’ मात्र नभई हाम्रा मूल्य, मान्यता र सामाजिक द्वन्द्वहरूको ऐना पनि हो । एआई मोडेलहरूको विकासक्रमले सूचना र प्रविधिलाई अझ सुलभ त बनाएको छ नै यसले राजनीतिक ध्रुवीकरण र मानसिक तनाव पनि बढाएको छ । अध्ययनहरूका अनुसार ६८ प्रतिशत मतदाताले राजनीतिलाई तनावको स्रोत मान्छन् र यसमा सामाजिक सञ्जालमा हुने एआईले छर्ने फोहोरी छलफलको ठूलो हात छ ।
एआई मोडेलहरूले लिएका दार्शनिक र राजनीतिक अडानहरूले तिनीहरू हामीजस्तै जटिल बन्दै गएको सङ्केत गर्छन् । च्याटजीपीटीको नैतिकता, जेमिनीको तटस्थता र ग्रोकको विद्रोहले फरक–फरक उपभोक्ता वर्गलाई आकर्षित गरिरहेको छ । तर, यी मेसिनहरूले दिने जवाफको पछाडि कुन दर्शन र कुन स्वार्थ लुकेको छ भन्ने कुरा बुझ्नु नै प्रयोगकर्ताको मुख्य चुनौती र जिम्मेवारी हो । प्रविधिको यो द्रूत विकाससँगै डिजिटल साक्षरता र आलोचनात्मक सोचको आवश्यकता झनै बढेर गएको छ ।