भेनेजुएलामा शनिबार बिहानै अमेरिकाले ठूलो सैन्य आक्रमण गरेको दाबीपछि राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई पक्राउ गरी अज्ञात स्थलमा पु¥याइएको छ । समाचार संस्था एपीका अनुसार मदुरो र फ्लोरेसलाई न्यू योर्कस्थित एक अदालतमा पेस गरिने बताइएको छ ।
यसअघि राष्ट्रपति र प्रथम महिलाको अवस्था पुष्टि हुन नसकेको भन्दै भेनेजुएलाको सरकारले अमेरिकासँग तत्काल ‘उनीहरू जीवित रहेको प्रमाण’ माग गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोलाई उनकी पत्नीसहित पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका थिए ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारसँग राष्ट्रपति मदुरो र प्रथम महिलाको अवस्थाबारे कुनै आधिकारिक सूचना नरहेको बताउँदै अमेरिकासँग तत्काल स्पष्ट जानकारी दिन माग गरेपछि अमेरिकी सेनाले मदुरोलाई घोक्र्याउँदै विमानतर्फ लग्दै गरेको र अर्को एक तस्बिरमा विमानबाट ओर्लिएपछि खिचिएको देखिन्छ ।
बस ड्राइभर हुँदै युनियनको राजनीतिमा छिरेका मदुरो देशको सर्वोच्च पदसम्म पुगेका थिए । सन् २०१३ देखि उनी लगातार सत्तामा थिए । २०१८ को चुनावी भाषणका क्रममा उनलाई ड्रोन विस्फोट गराई अज्ञात समूहले हत्याको प्रयास गरेको थियो । उक्त निर्वाचनमा उनले प्रचण्ड बहुमत ल्याएको दाबी गरिएको थियो ।
आवासीय क्षेत्रमा आक्रमण
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रसहित सैन्य अखडाहरूमा आक्रमण गरेको बताएका छन् । उनका अनुसार राजधानी काराकासको मुटुमा रहेको ला कार्लोटा सैन्य अखडा र देशकै ठूलो सैन्य शिविर फुएर्ते तिउना आक्रमणबाट प्रभावित भएका छन् । यी स्थानमा भएका विस्फोटका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेका छन् ।
लोपेजले आक्रमणमा लडाकु हेलिकप्टर, मिसाइल र रकेट प्रयोग गरिएको दाबी गर्दै यसलाई भेनेजुएलाको सार्वभौमिकतामाथिको ‘अपवित्र हस्तक्षेप’ भनेका छन् । उनले अमेरिकी आक्रमणबाट सर्वसाधारणको बसोबास गर्ने क्षेत्र प्रभावित भएको र मृतक तथा घाइतेको संख्या संकलन भइरहेको जानकारी दिए ।
सैन्य परिचालन र आपतकाल
आक्रमणपछि भेनेजुएलाले देशभरि तत्काल सैन्य बल परिचालन गर्ने घोषणा गरेको छ । रक्षामन्त्री लोपेजका अनुसार स्थलसेना, वायुसेना, नौसेना, नदी सुरक्षा र मिसाइल क्षमतासहित सबै सशस्त्र बल परिचालन गरिएको छ । स्पेनी भाषामा जारी भिडियो वक्तव्यमा उनले ‘उनीहरूले हामीमाथि आक्रमण गरेका छन्, तर हामी झुक्ने छैनौँ’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन् ।
राष्ट्रपति मदुरोले अमेरिकी आक्रमणको निन्दा गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेको भेनेजुएला सरकारले जनाएको छ । सरकारको विज्ञप्तिमा आक्रमणको उद्देश्य भेनेजुएलाका रणनीतिक स्रोत, विशेषगरी तेल र खनिजमाथि नियन्त्रण जमाउनु रहेको आरोप लगाइएको छ । संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन भएको भन्दै भेनेजुएलाले कूटनीतिक रूपमा संयुक्त राष्ट्र सुरक्षा परिषद् र महासचिवसमक्ष उजुरी दिने तयारी गरेको जनाएको छ ।
ट्रम्पको दाबी र कानूनी प्रश्न
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत मदुरोलाई उनकी पत्नीसमेत पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन् । ट्रम्पका अनुसार यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको हो र थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ । यद्यपि, ह्वाइट हाउस र पेन्टागनले आक्रमणको औपचारिक पुष्टि वा विस्तृत कानूनी आधार तत्काल सार्वजनिक गरेका छैनन् । अमेरिकी कानूनअन्तर्गत विदेशी राष्ट्रप्रमुखलाई पक्राउ गरी देशबाहिर लैजानुको कानूनी आधार अस्पष्ट रहेको भन्दै अमेरिकी राजनीतिमा पनि प्रश्न उठ्न थालेका छन् । सन् २०२० मा न्यूयोर्कको दक्षिणी जिल्लामा मदुरोमाथि ‘नार्को–आतंकवाद’ को अभियोग लगाइएको सन्दर्भलाई ट्रम्प प्रशासनले आधार बनाइरहेको देखिन्छ ।
क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिक्रिया
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आह्वान गरेका छन् । राजधानी काराकासमा एकै राति कयौँ विस्फोट, विमानहरूको आवाज र विद्युत् आपूर्ति अवरुद्ध भएको एएफपी र सीएनएनले रिपोर्ट गरेका छन् । विश्लेषकहरूका अनुसार यो घटनाले अमेरिका–भेनेजुएला सम्बन्धलाई खुला सैन्य टकरावतर्फ धकेलेको छ । एकातिर ट्रम्प प्रशासनले लागुऔषध तस्करी र क्षेत्रीय सुरक्षा कारण देखिरहेको छ भने अर्कोतर्फ भेनेजुएलाले यसलाई सत्ता परिवर्तन र स्रोत नियन्त्रणको प्रयासका रूपमा व्याख्या गरिरहेको छ ।
हालको अवस्थाले भेनेजुएलामा राजनीतिक सत्ता, सैन्य नियन्त्रण र अन्तर्राष्ट्रिय कूटनीतिलाई गम्भीर संकटको भासमा पु¥याएको छ । राष्ट्रपति मदुरोको वास्तविक अवस्था स्पष्ट नभएसम्म अनिश्चितता झनै बढ्ने देखिन्छ । यो घटनाक्रमले ल्याटिन अमेरिकामा शक्ति सन्तुलन, अन्तर्राष्ट्रिय कानून र अमेरिकी विदेश नीतिमाथि गहिरो प्रश्न उठाएको छ । यसको असर क्षेत्रीय स्थिरतामा दीर्घकालसम्म पर्न सक्ने विश्लेषण गरिएको छ ।