काठमाडौं । ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामाथि सैन्य कारबाही गर्दै अमेरिकाले राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिँदै रातारात देशबाट अपहरण गरेको विरोधमा आइतबार अमेरिकासँगै संसारका विभिन्न देशमा प्रदर्शन भएका छन् ।
विभिन्न मुलुकमा अमेरिकी दूतावासअगाडि प्रदर्शन भएका छन् । काठमाडौंमा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । अमेरिकी सेनाले शनिबार मादुरो र फ्लोरेसलाई राजधानी काराकासस्थित निवासबाट नियन्त्रणमा लिएर न्यूयोर्क लगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा डेल्टा फोर्ससहितको विशेष टोलीले काराकासमा आक्रमण गरेको थियो । ‘अपरेशन अब्सोल्युट रिजोल्भ’ नाम दिएर गरिएको यो सैन्य कारबाहीमा १५० भन्दा बढी विमान प्रयोग भएका थिए । अमेरिकी सेनाले पहिले भेनेजुएलाको हवाई रक्षा प्रणाली नष्ट गरेको र मादुरोको निवासमा हेलिकप्टरबाट गएर तत्कालै पक्राउ गरेको जनाएको छ । मदुरो दम्पतीलाई हेलिकप्टरबाट यूएसएस ईओ जिमा युद्धनौकामा लगिएको थियो, त्यसपछि न्यूयोर्कको डिटेन्सन सेन्टरमा पुर्याइएको अमेरिकी सेनाले नै पुष्टि गरिसकेको छ ।
एउटा सार्वभौम राष्ट्रमाथि अमेरिकाको यो सैन्य कारबाही हठात् भएको भने होइन । यसको तयारी निकै अघिदेखि भइरहेको थियो । संसारलाई देखाउनका लागि मादुरोलाई जे आरोप लगाए पनि अमेरिकाले अर्काको मुलुकमा आक्रमण गरेर त्यहाँका राष्ट्रपति र उनकी पत्नीको अपहरण गरेको हो । अमेरिकी यो सैन्य कारबाही अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो । तर, संसारका शक्तिशाली मुलुकहरू अमेरिकाको यो कदमबारे मन्द स्वरमा विरोध जनाइरहेको सुनिएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई ‘खतरनाक नजिर’ र ‘अन्तर्राष्ट्रिय कानूनको अवज्ञा’ भनेका छन् । ल्याटिन अमेरिकी देशहरू ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा, मेक्सिको, चीन, रुस, इरान र उत्तर कोरियाले निन्दा गरेका छन् ।
चीनले मादुरोको तत्काल रिहाइ माग गरेको छ भने रुसले ‘सशस्त्र आक्रमण’ भनेको छ । अमेरिकी डेमोक्रयाटहरू कमला ह्यारिस र चक शुमरले पनि यो कदमलाई ‘असंवैधानिक’ र ‘तेलका लागि युद्ध’ भनेका छन् । तर ट्रम्प प्रशासनले यसलाई न्यायको कार्यान्वयन र ‘लागूऔषधविरुद्धको युद्धको हिस्सा’ भनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारले अमेरिकी कंग्रेसलाईसम्म पूर्व सूचना नदिनु र अमेरिकाले भेनेजुएलालाई ‘अस्थायीरूपमा चलाउने’ घोषणा गर्दै तेल पूर्वाधार पुनर्निर्माण गर्ने योजना प्रष्ट बलमिचाइँको प्रमाण हो ।
घटनाको विरोधमा अमेरिकाका न्यूयोर्कका टाइम्स स्क्वायरमा सयौं प्रदर्शनकारीले ‘ह्यान्ड्स अफ भेनेजुएला’ नारा लगाउँदै प्रदर्शन गरेका छन् । सिकागोका फेडरल प्लाजा, वाशिङ्टन डीसी, लस एन्जलस, बोस्टन, फिलाडेल्फिया, सियाटल, डलास, कन्सास सिटी, पोर्टल्यान्ड (मेन र ओरिगन), र्याले, सान फ्रान्सिस्को, मियामी, अटलान्टा, अस्टिन, न्याशभिल, न्यू ओरलिन्समा प्रदर्शनहरू भएका छन् । प्रदर्शन एनएसडब्लूआर कोअलिसन र द पिपल्स फोरमले आयोजना गरेका थिए ।
उता भेनेजुएलाको काराकास मिराफ्लोरेस प्रे सिडेन्सियल प्यालेसनजिक मादुरोको पक्षमा प्रदर्शन भएको छ । फ्रान्सको राजधानी पेरिस, ब्राजिलको साओ पाउलो लगायत युरोप र ल्याटिन अमेरिकामा विरोध जुलुस निस्किएका छन् । यो घटना अमेरिकाले महिनौंदेखि बढाएको सैन्य दबाबपछि भएको हो, जसमा क्यारेबियनमा नौ सेना परिचालन र ड्रग तस्करीका लागि ३० भन्दा बढी डुंगालक्षित हवाई हड्ताल थिए ।
नजरमा तेलको स्रोत, आरोप लागूऔषधको
लामो प्रतिबन्ध र छेकबारका बाबजुद पनि मादुरो अमेरिकाका अगाडि झुकेका थिएनन् । उनलाई केही गरेर पनि आफ् नो पक्षमा ल्याउन नसक्दा अमेरिकाले सैन्य कारबाहीबाट बलमिचाइँ गरेको हो । अमेरिकी सरकार भेनेजुएलाको सत्तामा आफू समर्थितलाई देख्न चाहन्छ । सैन्य कारबाही त्यसैको एउटा अध्याय हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आफ्नो कारबाहीलाई सही ठहर्याउन ट्रम्प प्रशासनले मादुरोलाई लागूऔषध तस्करका रूपमा चित्रित गरे पनि अमेरिकी नजर भेनेजुएलाको कच्चा तेलको स्रोतमा छ । जसमाथि कब्जा गर्दा इन्धन व्यवस्थापनमा अमेरिकालाई ठूलो फाइदा हुन्छ ।
अमेरिकाले मादुरोलाई नार्को–टेररिज्म, कोकिन आयात षड्यन्त्र, मेसिनगन र विनाशकारी हतियार राख्ने अपराधमा दोषी ठहर्याएको छ । दक्षिणी न्यूयोर्क जिल्ला अदालतमा सन् २०२० मा नै मुद्दा चलाइएको थियो, जसलाई अहिले अपडेट गरिएको छ । अभियोजन पक्षका अनुसार मादुरोले २५ वर्षदेखि भेनेजुएलाका नेताहरूसँग मिलेर अमेरिकामा हजारौं टन कोकिन तस्करी गरेका थिए, जसमा ‘कार्टेल अफ द सन्स’, ट्रेन डे अरागुआ र सिनालोआ कार्टेल संलग्न थिए । ड्रग एन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) ले ३० टन कोकिन बरामद गरेको दाबी छ । महान्यायाधिवक्ता पाम बन्डीले मदुरोलाई ‘अन्तर्राष्ट्रिय नार्को तस्कर’ भन्दै अदालतमा आरोप सिद्ध गर्ने बताएकी छन् । पक्राउका क्रममा मादुरो भाग्न खोजे पनि अमेरिकी टोलीले रोकेको ट्रम्पले दाबी गरेका छन् ।
भेनेजुएलामा रहेको तेलको स्रोतमा अमेरिकी सरकारको ‘अमेरिका फर्स्ट’ नीति मुख्यरूपमा ऊर्जा स्वतन्त्रता र आर्थिक हितसँग जोडिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो पक्राउपछि भेनेजुएलाको तेल पूर्वाधार ‘फिक्स’ गर्ने घोषणा गरे, जसलाई अमेरिकाले ड्रग तस्करीविरुद्धको कारबाहीको हिस्सा मानेको छ । भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार (३०३.३ अर्ब ब्यारेल) छ, जुन साउदी अरेबियाभन्दा दोब्बर हो । तर उत्पादन क्षमता घटेर दैनिक ७ लाख ब्यारेलमा झरेको छ, जुन १९९८ को ३.५ मिलियन ब्यारेलको तुलनामा न्यून हो ।
अब अमेरिकी कम्पनीले तेल उत्खनन र प्रशोधनमा लगानी गर्ने ट्रम्पको दाबी छ । उनले भेनेजुएलामा तेल उत्पादनका लागि अमेरिकी कम्पनीको लगानी अब सुरु हुने जनाएका छन् ।
अमेरिकाको बलमिचाइँ
ट्रम्प प्रशासनले भेनेजुएलाको तेललाई अमेरिकी ऊर्जा बजारमा पहुँचका लागि लक्षित गरेको छ । अमेरिकाले २०१९ देखि तेल निर्यातमा प्रतिबन्ध लगाएर पीडीभीएसए कम्पनी कमजोर बनायो, जसले चिनियाँ र रुसी कम्पनीहरूलाई फाइदा पुर्यायो । मदुरो शासनले तेलबाट ड्रग कार्टेल र आतंकवादलाई सघाएको अमेरिकी आरोप छ । कारबाहीपछि अमेरिकाले तेल क्षेत्र नियन्त्रण गरी अमेरिकी कम्पनीहरू (जस्तै चेभ्रन) लाई फाइदा दिने र कच्चा तेल आयात घटाउने नीति अघि सारेको छ । यसले अमेरिकी ग्यास मूल्य घटाउँछ र रुस– चीनको प्रभाव रोक्छ ।
भेनेजुएलाको तेल भण्डार ओरिनोको क्षेत्रमा छ । कच्चा तेल प्रशोधन जटिल छ । संकटले रिफाइनरीहरू बन्द भए, विदेशी लगानी हट्यो र उत्पादन ८० प्रतिशत घट्यो । अमेरिकी प्रतिबन्धसँगै मुलुकमा भ्रष्टाचारले निर्यात सीमित छ । हाल अमेरिकाले ट्यांकर जफत गरी तेल बजार नियन्त्रण गरेको छ, जसले भेनेजुएलालाई आर्थिक संकटमा पुर्याएको छ । ट्रम्पले तेल पूर्वाधार पुनर्निर्माणको योजना बनाएका छन् ।
यो सैन्य कारबाही अमेरिकी सामरिक शक्तिको प्रदर्शन थियो । तर यसका दीर्घकालीन नतिजा जटिल देखिएका छन् । अमेरिकाले भेनेजुएलाको हवाई सुरक्षा प्रणाली नष्ट गरी ३० मिनेटभित्र लक्ष्य हासिल गर्यो, जसमा कुनै अमेरिकी फौजको मृत्यु भएन तर केही घाइते भए । ट्रम्पले दोस्रो ‘ठूलो आक्रमण’ को तयारी गरेको बताए पनि अहिले आवश्यक नपरेको जनाए ।
अमेरिकी विपक्षीहरूले भने यो आक्रमणले इराक वा लिबियाजस्तो अराजकता निम्तने चेतावनी दिएका छन् । भेनेजुएलामा सत्ताको शून्यता, सैन्य विद्रोह वा गृहयुद्धको जोखिम छ भने अन्तर्राष्ट्रियरूपमा अमेरिकी ‘दादागिरी’को आलोचना बढेको छ । भेनेजुएलामा स्टारलिंकले निःशुल्क इन्टरनेट दिएको छ, जसले जनमतलाई प्रभाव पार्न सक्छ । यस घटनाले ल्याटिन अमेरिकामा नयाँ तनाव सिर्जना गरेको छ ।
मदुरो पक्राउको तत्कालीन फलस्वरूप भेनेजुएलामा राष्ट्रिय आपतकाल घोषणा भएको छ । ट्रम्पले तेलका लागि भेनेजुएलालाई अमेरिकाले ‘अस्थायीरूपमा चलाउने’ भने पनि मादुरो दम्पतीलाई लगेयता नयाँ कारबाही गरेको देखिएको छैन ।
उता न्यूयोर्कको डिटेन्सन सेन्टरमा राखिएका मादुरो र उनकी पत्नीविरुद्ध नार्को–टेररिज्म तथा हतियार तस्करी मुद्दामा अभियोग पत्र दायर भएको छ । सुनुवाइ सोमबारदेखि सुरु हुने अपेक्षा छ । जसमा २० वर्षदेखिका प्रमाण प्रस्तुत हुने जनाइएको छ । अमेरिकी अटर्नी जेनेरलले ‘पूर्ण न्याय’ गर्ने बताएकी छन् ।
रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपति नियुक्त
शनिबार बिहानदेखि नै अशान्त राजधानी काराकास आइतबार पनि सामान्य नदेखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । मानिसहरू हतास र आक्रोशित देखिएका छन् । भेनेजुएलाका अधिकारीहरूले यो कारबाही ‘अवैध अपहरण’, ‘सैन्य आक्रमण’ र ‘सार्वभौमिकताको उल्लंघन’ भनेका छन् । उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले मदुरोलाई ‘भेनेजुएलाको एकमात्र राष्ट्रपति’ भन्दै तत्काल रिहा गर्न माग गरेकी छन् ।
रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले राष्ट्रव्यापी सैन्य परिचालन र ‘बाह्य आपत् कालीन अवस्था’ घोषणा गरे । गृहमन्त्री डियोसदादो काबेलोले शान्त रहन आह्वान गर्दै ‘आक्रमणकारी शत्रु’लाई सजग रहन भनेका छन् । सरकारले काराकास र अन्य स्थानमा क्षति भएको दाबी गर्दै अमेरिकी सैन्य कारबाहीलाई ‘निर्दयी आक्रमण’ भनेको छ । साथै, अमेरिकी दाबीलाई ‘झुटो प्रचार’ र ‘तेल कब्जाका लागि बहाना’ भनेको छ ।
को हुन् मादुरो
अमेरिकाले सैन्य कारबाही गर्दै अपहरण गरेर न्यूयोर्क पुर्याएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो ६३ वर्षका छन् । काराकासमा जन्मेका उनी बस चालकका रूपमा मजदुर थिए । उनको जीवन युनाइटेड सोसलिस्ट पार्टी (पीएसयूभी) सँग जोडिएपछि राजनीतिको शिखरमा पुग्यो ।
ह्युगो चाभेजका निकट सहयोगी बनेर १९९८ मा सांसद, २००५–०६ मा राष्ट्रिय सभाको अध्यक्ष, २००६–२०१३ सम्म विदेशमन्त्री र २०१२–१३ मा उपराष्ट्रपति बने । चाभेजको २०१३ को मृत्युपछि अन्तरिम राष्ट्रपति बनेर चुनाव जित्दै राष्ट्रपति भए । २०१८ र २०२४ का विवादित चुनावमा पनि सत्ताबाट हटेनन् । मादुरोको व्यक्तित्वमा समाजवादी आदर्शवाद र कठोर दृढता झल्किन्छ । उनी चाभेजको बोलिभेरियन क्रान्तिको उत्तराधिकारी दाबी गर्दै अमेरिकी साम्राज्यवादविरुद्ध बोल्छन् । त्यसैले उनको अमेरिकासँग कहिले पनि कुरा मिलेन । अमेरिकी आँखामा कसिंगर बनेकाले उनका जति समर्थक छन्, त्यति नै संख्यामा विरोधी पनि छन् । आलोचकहरूले उनलाई निरंकुश, भ्रष्ट र अक्षम भन्छन् । उनको शासनकालमा हाइपरइन्फ्लेसन, खाद्यान्न संकट र ७८ लाखभन्दा बढी नागरिकको पलायन भयो । चीन, रुस र इरानसँग घनिष्ठ सम्बन्ध राख्दै अमेरिकी उनले प्रतिबन्धको सामना गरे । पक्राउअघि उनीमाथि नार्को–टेररिज्मको आरोप लागेको थियो । (एजेन्सीहरू)