प्रदीप शाही नेपालका दुस्साहसी फिल्ममेकरका रुपमा उदाएका छन् । यसअघि ‘अन्तिम संस्कार’जस्तो थ्रिलर र ‘१९१५ः लिजिन्ड अफ दि गोर्खाज’जस्तो युद्ध फिल्म बनाएका उनले यस पटक नेपाली फिल्मकर्मीले आँट नगर्ने विधामा हात हालेका छन् । साइन्स फिक्सन ‘एक्लो–१’ यतिबेला नेपालका सिनेमाघरहरुमा प्रदर्शनरत छ तर दर्शक खुशी छैनन् ।
मूलतः फिल्मको कथासँग दर्शक भावनात्मक रुपमा गाँसिन नसक्दा यसले सोचेजस्तो ‘बज’ निर्माण गर्न सकेको छैन ।

त्यसो त यो फिल्मले सिनेमा हलमा राम्रो व्यापार गर्ला भन्ने अपेक्षा पहिले पनि थिएन । फिल्म रिलिजपछि फिल्मका निर्माताहरुले टिप्पणीले पनि यही कुरा इंगित गर्छ । स्वयं निर्देशक शाहीले पनि न्यूज२४सँग कुरा गर्दै भनेका थिए, ‘सिनेमा हलका लागि बनाइएको फिल्म भएकाले दर्शकले हलमै हेर्नुहोस् भन्ने अपेक्षा त छ तर यसले लगानी उठाएन भने हामीले विकल्प पनि सोचिसकेका छौं ।’ उनले विभिन्न ओटीटी प्लेटफर्मबाट लगानी उठाउने विश्वास लिएका छन् ।
प्रदीपले जीवनमा पहिलो पटक सिनेमा बुटवलमा हेरे । अगाडिको सिटमा ठूलो आकारका कलाकारहरु देख्दा उनी छक्कै परे । ठूलो चित्र, ठूलै अनुहार र चर्को आवाजमा कलाकारहरुको उछलकुद देख्दा उनलाई पनि फिल्म खेलूँ लाग्यो । उच्च अध्ययनका लागि काठमाडौं आउँदा उनको कलेज ह्वाइट–हाउस नजिक ‘तीतोसत्य’को सुटिङ देख्दा कहिलेकाहीँ उनी भिडमा मिसिन्थे । ‘तीतोसत्य’मा अनुहार देखाउने लोभ भए पनि उनले त्यसमा मौका पाएनन् । तर यसले पर्दापछाडिको काममा उनको रुचि जगाउन थाल्यो ।
भारत गएर मोडलिङ गर्ने, फिल्मका आधारभूत काम सिक्ने र नेपालमा फिल्म बनाउने उनको सपना हुर्किंदै गर्दा पारिवारिक कारणले उनी परिवारसहित बेलायत बसाइँ सरे । त्यहाँ उनले बुवाआमालाई छल्दै फिल्ममेकिङ पढे । त्यही बेला उनले एक–से–एक विश्वप्रसिद्ध फिल्म हेरे । तिनै फिल्मको प्रभाव उनको मेकिङमा देखिन्छ । खासगरी उनले त्यसबेला स्ट्यान्ली कुब्रिक, टेरेन्स मलिक लगायतका निर्देशकहरुको कल्पनाशीलताको छाप ‘एक्लो–१’मा देखिन्छ ।
बेलायतमा उनले कलेज पढ्दै गर्दा आठ वर्ष बेलायती फिल्म तथा टेलिभिजन उद्योगमा नजिक रहेर काम गरे । त्यहाँ उनले देखे– नेपालीहरुप्रति विदेशीको सोच उति राम्रो छैन । ‘बोलीचालीले उनीहरु विभेद गर्दैनन् तर त्यो विभेद महसूस चाहिँ हुँदोरहेछ !’ उनले भने, ‘नेपालीहरु मिहिनेती छौं, इज्जतिलो छौं, हामी अल्छी छैनौं । नेपालीहरुको पारिवारिक मूल्य राम्रो छ । त्यहाँ व्यवसायको क्षेत्रमा पनि नेपालीहरुले धेरै राम्रो गरेका छन् । तर जब म गोराहरुसँग नेपालीहरुको राम्रो कुरा गर्छु, उनीहरुले नेपाल पिछडिएको देख्छन् । किन उनीहरुले हामीलाई गरीव, पिछडिएको देख्छन् भने उनीहरुलाई हाम्रो कला, सिनेमा, तस्वीरहरुमा त्यही गरिवी देखिरहेका हुन्छन् । हामीलाई हाम्रो फिल्महरुबाट मूल्याङ्कन गर्ने हो भने वास्तवमा हामी गरीव नै हौं । बलिउडको सस्तो नक्कलबाट गोराहरुले चिन्ने भएकाले हाम्रो कला–संस्कृतिको समृद्धि उनीहरुले नदेखेका हुन् ।’
त्यही भ्रम तोड्न उनले पहिलो नेपाली साइन्स फिक्सन फिल्म बनाएका हुन् । उनी भन्छन्, ‘कल्पनाशीलतामा हामी कमजोर छैनौं । आफ्ना कला र संस्कृतिमा हामी उनीहरु भन्दा धेरै माथि छौं । त्यही बुझाउनु मेरो फिल्मको उद्देश्य हो ।’
उनी भन्छन्, ‘मसँग दुई वटा बाटा थिए । पहिलो, बलिउडको नक्कल गरेर फिल्म बनाउनु । यो सजिलो बाटो हो । अर्को बाटो, आफ्नै मौलिक कथालाई सिनेमामा उतार्नु । यो कठिन बाटो छ । मेरो प्रयास कठिन बाटो रोज्नु हो । मलाई सजिलो काम मन पर्दैन ।’
‘एक्लो’ त्यही कठिन बाटोको एउटा उदाहरण हो । हलिउडले ‘एक्लो’ बनाउनु पर्यो भने करोडौं डलर बजेट माग्छ । ‘अवतार’ बनाउन जेम्स क्यामरुनलाई अर्ब डलर खर्च लागेको थियो । नेपालमा त्यो बजेट जोड्नु असम्भव छ । त्यसैले निर्देशक शाहीले बेलायत र नेपालमा भएका फिल्मप्रेमीहरु भेला पारी सामूहिक लगानीमा यो फिल्म तयार पारेका हुन् ।
‘साई–फाई फिल्म बनाउनु कठिन छ, त्यो पनि हाम्रो बजेटमा,’ उनी आफ्नो अप्ठेरो सुनाउँछन्, ‘त्यसैले मैले १५ जना साथीहरुसँग मिलेर यो फिल्म बनाएको हुँ । धेरै जनाले थोरैथोरै लगानी गर्यो भने त्यो लगानी डुबे पनि साथीहरुलाई उति धेरै मर्का पर्दैन । यदि फिल्म उद्योगमा मेरा कुनै साथी भिजे, उनीहरुलाई मन पर्यो भने उनीहरु पछि स्वतन्त्र निर्माताका रुपमा पनि उद्योगमा आउलान् ।’
नेपालमा साई–फाई विधामा पहिलो पटक फिल्म बनाउँदाको उनको एउटै मात्र लोभ चाहिँ, यो विधामा गोरेटो कोर्न सकियोस् ! आफू साई–फाई फिल्मप्रेमी भएकाले भोलिका दिनमा नेपाली साई–फाई फिल्मको बेग्लै विधा तयार होस् भन्ने कामना उनको छ ।
उनी यो साई–फाई विधामा ठूलो सम्भावना देख्छन् । त्यसैले पनि उनले ‘एक्लो’को मल्टिभर्स सिर्जना गर्ने लोभले फिल्ममा मिथकहरु जोडेका छन्, ‘डिस्टोपियन’ (संसार अन्त्य)को कथा बोकेका छन् । यो अलि क्लिष्ट र वृहद् कथा बोकेको हुनाले कथालाई स्थापित गर्न फिल्मको सुरुवाती आधा घण्टा दर्शकलाई सकस हुने उनी स्वीकार्छन् । आधा घण्टापछि भने कथा अगाडि बढ्दै जाँदा दर्शक कथामा बाँधिने उनको दाबी छ ।
फिल्म रिलिज भएको पहिलो सातामध्ये दुई दिन राम्रो व्यापार भएको निर्देशक शाही बताउँछन् । उनी भन्छन्, ‘शुरुमा नायक प्रदीप खड्काका प्रशंसकहरु आए । पहिलो भागमा यो फिल्म प्रदीपको होइन, विजय लामाको हो । यो त भर्खर कथा अघि बढेको हो, दोस्रो भागमा बल्ल मूल कथा आउँछ र तेस्रो भागसम्म आइपुग्दा हामीले सोचेजस्तो कथाको मल्टिभर्स तयार हुन्छ ।’
निर्माण समूहले सोचेजस्तो, पहिलो सातामा कम दर्शक आउने र दोस्रो सातापछि बल्ल साई–फाईप्रेमी दर्शकले हल भरिने अपेक्षा पूरा हुन सकेन । नायक प्रदीप खड्कालाई हेर्न आउनेहरु पनि उनको छोटो भूमिकाप्रति रुष्ट भए । साई–फाई हेर्न आएकाहरुले पनि हलिउडका मार्वल र अन्य ठूलो बजेटका साई–फाईजस्तो हेर्ने अपेक्षा लिएर आएकाले फिल्मको ‘नेगेटिभ’ चर्चाले फिल्म थलियो ।
खासमा फिल्मको कथा के छ भने, धेरै वर्षअघि पृथ्वीमा एउटा खतरनाक भाइरस फैलिन्छ । त्यो भाइरसका कारण ९९ प्रतिशत मान्छेको मृत्यु हुन्छ । केही धनीमानीहरु पृथ्वी छाडेर अन्तरिक्षमा जान्छन् । जानेमध्येका एक पात्र विजय लामा थिए, जो यन्त्रको खराबीका कारण नेपालकै अनकण्टार क्षेत्रमा झर्न पुग्छन् । उनी दशकौंसम्म बोल्न पाउँदैनन्, बोल्ने एउटा ‘मुटु’ नामक यन्त्र मात्र हुन्छ । पछि विजयलाई खोज्दै दुई जना उद्धारकहरु आइपुग्छन् र उनीहरु आएपछि सारा गडबड हुन थाल्छ ।
निर्देशक शाही भन्छन्, ‘भविष्यमा पृथ्वीमा झन् बढी विकास मात्र हुन्छ भन्ने छैन । अहिलेको भन्दा गएगुज्रेको अवस्था पनि आउन सक्छ । मैले त्यही कल्पना गरेको हुँ, जहाँ मान्छेको अवस्था गुफाकालको जस्तो बन्न सक्छ ।’
कथाको यही नौलोपनाले यसलाई अरु नेपाली फिल्मभन्दा फरक बनाउने उनको भनाइ छ । ‘यो फिल्म हेर्यो भने कसैले पनि बलिउडको नक्कल गर्यो भन्ने छैनन्,’ उनी भन्छन्, ‘न त यो कुनै हलिउडको नक्कल नै भन्न सक्छन् ।’
नेपालमा साइन्स फिक्शनको कुनै लामो परम्परा छैन । पढ्नेले पनि अंग्रेजी भाषामा साई–फाई पढ्यो । मेरी शेलीको ‘फ्राङ्केस्टाइन’ (१८१८) लाई आधार मान्ने हो भने अंग्रेजी भाषामा साई–फाई लेख्न थालिएको दुई सय वर्षभन्दा बढी समय भयो । हलिउडले सय वर्षअघि ‘द लस्ट वल्र्ड’ (१९२५) बनाएर साइन्स फिक्शनलाई ठूलो पर्दासँग जोडेको थियो । साराका सारा पपकर्न–साई–फाई हेरेर हुर्किएको पुस्ताका लागि ‘एक्लो’ बनाउनु दुस्साहस नै हो ।
यो पंक्तिकारले त्यो दुस्साहसको प्रशंसा गर्न सिनेमा हलमा पुगेर ‘एक्लो–१’ हेर्यो । तर यो पंक्तिकार त्यहाँ एक्लो थिएन, केही दर्शक अझै पनि फिल्म हेर्न पुगेका थिए ।