जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले प्रतिलिपि अधिकार (कपिराइट) सम्बन्धी दुई जटिल समस्याहरू उठाएको छ । पहिलो हो, एआई मोडेलहरूको प्रशिक्षणमा प्रयोग गरिएका कामहरूका लागि मुआब्जाको व्यापक रूपमा चर्चा भएको प्रश्न । दोस्रो, जसलाई अहिलेसम्म त्यत्ति ध्यान दिइएको छैन। त्यो एआईले उत्पादन गर्ने कार्यसँग सम्बन्धित छ । प्रतिलिपि अधिकार लेखकहरूमा हुन्छ । तर, मानव लेखक नभएको कार्यबाट सिर्जित सिर्जनाको अधिकार कोसँग हुन्छ ?
अमेरिकाले अहिलेसम्मको लागि सबैभन्दा स्पष्ट रेखा कोरेको छ । सन् २०२३ मा, अमेरिकी कपिराइट कार्यालयले ग्राफिक उपन्यास ‘जरिया अफ द डन’लाई प्रतिलिपि अधिकार सुरक्षा प्रदान गर्यो तर एआईद्वारा जेनरेट गरि एका कुनै पनि चित्रहरूको सुरक्षा दिएन । मानवद्वारा लिखित पाठ र व्यवस्थापन मात्र सुरक्षित गरेको छ । अझ निर्णायक रूपमा, गएको मार्च महिनामा एक संघीय अपील अदालतले एआईद्वारा जेनरेट गरिएको सुन्दर, बैजनी र हरियो कलाकृति ‘अ रिसेन्ट एन्ट्रेन्स टु प्याराडाइज’लाई प्रतिलिपि अधिकार सुरक्षा दिइन्न भन्यो । किनभने सिर्जनाहरू ‘पहिलो त मान्छेले बनाएको वा लेखिएको’ हुनुपर्छ । सन्देश स्पष्ट छः एआई प्रोम्प्टहरू, जति सुसज्जित भए तापनि, लेखकीय स्वामित्वको लागि पर्याप्त हुने छैन ।
चीनले भने विपरीत बाटो लिएको छ । सन् २०२३ मा, बेइजिङ इन्टरनेट अदालतले एआईद्वारा जेनरेट गरिएका छविहरूले प्रतिलिपि अधिकार सुरक्षा प्राप्त गर्न सक्ने निर्णय गर्यो । उसको तर्क थियो, प्रोम्प्टहरू चयन गर्ने र आउटपुटहरू परिष्कृत गर्नेमा प्रयोगकर्ताको बौद्धिक लगानी हुन्छ । त्यो लगानी सुरक्षित हुनुपर्छ ।
अहिलेसम्म, यूके र आयरल्याण्डले एउटा मध्यम तरिका अपनाएको छ । यूके र आयरल्याण्डले ‘कम्प्युटर–जेनरेटेड काम’लाई प्रतिलिपि अधिकार सुरक्षा दिएको छ तर यो सुरक्षा अस्थिर आधारमा हुन सक्छ । गएको वर्ष मात्र यूके सरकारले एउटा सल्लाह गर्दै त्यस्तो सुरक्षा हटाउने हो कि भनी सोधेको थियो । आयरल्याण्डको एआई सल्लाहकार परिषद्ले पनि त्यस्तै सिफारिस गरेको छ ।
कानूनी ढाँचाहरूमा वैश्विक भिन्नताले व्यवसायहरूका लागि समस्या सिर्जना गर्न सक्छ । एउटै एआईद्वारा जेनरेट गरिएको सामग्री बेइजिङमा कानूनी रूपमा संरक्षित बौद्धिक सम्पत्ति हुन सक्छ, जबकि बोस्टनमा सार्वजनिक डोमेनमा रहन सक्छ । यसको मतलब, अमेरिकामा एआईले बनाएको जिङ्गल वा मार्केटिङ कपी, सिद्धान्ततः जो कसैले प्रयोग गर्न सक्छ ।
यो मुद्दा केवल आफ्नो कामको लागि एआई प्रयोग गर्ने लेखकहरू, ग्राफिक कलाकारहरू र संगीतकारहरूलाई मात्र प्रभावित गर्दैन । यदि तपाईंको व्यवसाय सफ्टवेयर सिर्जना गर्ने हो भने, तपाईं अझ बढी जोखिममा हुन सक्नुहुन्छ । अमेरिका र अन्य अधिकार क्षेत्रहरूमा, सम्पूर्ण सफ्टवेयर उत्पादन संरक्षित भए तापनि एआईद्वारा जेनरेट गरिएका कुनै पनि व्यक्तिगत कोड लाइनहरू संरक्षित हुने छैनन् । यसले कर्पोरेट लेनदेनहरूलाई प्रभावित गर्ने सम्भावना छ, जहाँ सम्झौताहरू कम्पनीले वास्तवमा केको मालिकाना हक राख्छ भन्नेमा केन्द्रित हुन्छन् ।
कर्मचारीहरू र बाह्य ठेकेदारहरूसँगको सम्झौताहरू पनि यही श्रेणीमा पर्दछन् । धेरैजसो मा यस्तो व्यवस्था हुन्छ कि कर्मचारी वा ठेकेदारद्वारा जेनरेट गरिएको कुनै पनि प्रतिलिपि अधिकार सामग्री कम्पनीलाई हस्तान्तरण गरिन्छ । तर तपाईंले अहिले अस्तित्वमा नभएको कुरो हस्तान्तरण गर्न सक्नुहुन्न ।
एआईजस्तो नयाँ प्रविधि प्रयोग गर्नबाट कर्मचारीहरू र ठेकेदारहरूलाई रोक लगाउनु उचित हुँदैन। यस्तो रोक हस्तलिखित काम माग्नु जत्तिकै पुरातनवादी हुनेछ । वकिलहरूले वैकल्पिक समाधानहरू खोज्नु आवश्यक छ । उदाहरणका लागि, यदि एआईद्वारा जेनरेट गरिएको कोड प्रतिलिपि अधिकारद्वारा संरक्षित छैन भने, त्यसपछि नयाँ सम्झौताहरू तयार गर्नु पर्छ ।
म आयरल्याण्डको एआई सल्लाहकार परिषद्को सदस्य हुँ । यो परिषद्ले पछिल्लो समय सरकारलाई केही एआईद्वारा जेनरेट गरि एका कार्यहरूको लागि सीमित प्रकारको बौद्धिक सम्पत्ति सुरक्षा शुरू गर्न सिफारिस गरेको छ । त्यसो त सर्जक समुदायले भने यसप्रति असहमति देखाएको छ । खासमा भन्ने हो भने एउटै मात्र देशले आफ्ना लागि मात्र यस्तो नीति लागू गर्न गाह्रो हुनेछ ।
भिक्टोरियन–युगका प्रतिलिपि अधिकार नियमहरू धेरै मात्रामा रचना गर्ने , कोड गर्ने र सिर्जना गर्ने मेसिनहरूको भारमा ध्वस्त भएका छन् । गेटी इमेजेज र द न्यू योर्क टाइम्सजस्ता संस्थाबाट एआई कम्पनीहरू विरुद्धको मुद्दाहरू अस्तित्वमा रहेका कार्यहरूको दोहनमा केन्द्रित छन् । एआईद्वारा बनाइएको सामग्रीको स्वामित्व अदालतहरूमा धेरै हदसम्म परीक्षण भएको छैन । तर त्यो चाँडै बदलिन सक्छ ।
एआईले लेखकत्वलाई पुनर्निर्माण गरिरहेको छ । यस्तो बदलावका बीच सर्जक जीवित रहन केही सम्झौताहरू पुनर्ले खन गर्नु, बौद्धिक सम्पत्ति रणनीतिहरू पुनर्गठन गर्नु र व्यापार गोप्य र गोपनीयताको माध्यमबाट सुरक्षा निर्माण गर्नु आवश्यक छ ।
(लेखक आयरल्याण्डको एआई सल्लाहकार परिषद्का सदस्य हुन् ।)