नेभिगेशन
स्वास्थ्य

डोपामिनले हामीलाई कहिल्यै सुखी हुन दिँदैन

मानव मस्तिष्क एउटा अद्भुत यन्त्र हो तर कहिलेकाहीँ लाग्छ, हाम्रो आफ्नै मस्तिष्कसँगको सम्बन्ध अलि बिग्रेको छ । हामी प्रायः आफैँभित्र एउटा द्वन्द्व महसूस गर्छौँ । हामी त्यस्तो कुरा चाहन्छौँ जुन पाउन असम्भव छ र त्यस्तो कुराको आवश्यकता महसूस गर्छौँ जुन वास्तवमा हामीलाई चाहिँदैन । हामी खराब कुराको लतमा फस्छौँ र राम्रा कुराहरूमा रुचि गुमाउँछौँ । सधैँ लागिरहन्छ कि जीवन अझै पूर्ण भएको छैन, कतै केही पुगेको छैन ।

हामी किन आफ्नै मस्तिष्कको इच्छासँग द्वन्द्वमा हुन्छौँ त? यसको मुख्य कारण एउटा विशेष न्युरोट्रान्समिटर हो, जसलाई हामी ’डोपामिन’ भन्छौँ । डोपामिनलाई ‘आनन्दको रसायन’ पनि भनिन्छ तर यो बुझाइ निकै सतही र भ्रामक छ । वास्तवमा, डोपामिनले हामीलाई आनन्द दिने होइन, बरु सधैँ ’केही थप’ खोज्न बाध्य बनाउँछ ।

आदिम कालदेखिको असन्तुष्टि

धेरैलाई लाग्छ– आधुनिक जीवनशैलीका कारण हामी दुःखी भएका हौँ । हाम्रा पुर्खाहरू (जंगली युगमा) कति सुखी थिए होलान् भनी हामी कल्पन्छौँ । उनीहरूसँग पैसा, जागिर, धर्म वा लागूऔषधको तनाव थिएन । उनीहरू वनजङ्गलमा घुम्थे, कन्दमूल खान्थे र प्रकृतिसँग रम्थे तर यो कोरा कल्पना मात्र हो ।

सत्य त के भने, हाम्रा पुर्खाहरू पनि आजका हामीजस्तै असन्तुष्ट र बेचैन थिए । हाम्रो यो छटपटी कुनै आधुनिक रोग होइन, बरु यो हाम्रो मस्तिष्कको ’डिजाइन’ नै हो । यो डिजाइनले हामीलाई सधैँ भनिरहन्छ, “तिमीसँग जे छ, त्योभन्दा धेरै अरू नै केही छ, त्यहाँ जाऊ र खोज ।“ प्रकृतिले सन्तुष्ट हुनेहरूलाई भन्दा सधैँ बेचैन र नयाँ कुरा खोज्नेहरूलाई जीवित रहन मद्दत गर्‍यो ।

डोपामिन बिनाको मस्तिष्कः एक भयानक अवस्था

डोपामिनले के गर्छ भन्ने बुझ्न यो नहुँदा के हुन्छ भनेर हेर्नु आवश्यक छ । सन् १९१५ देखि १९२६ सम्म संसारभर ’इन्सेफ्लाइटिस लेथार्जिका’ नामक एउटा रहस्यमय रोग फैलियो । यसले मस्तिष्कको डोपामिन उत्पादन गर्ने भागलाई नष्ट गरिदिन्थ्यो ।

यो रोगका बिरामीहरू एक प्रकारको ’जीवित लाश’ जस्तै हुन्थे । उनीहरू न त बेहोस हुन्थे, न त सक्रिय । कसैले बल फालिदिए समात्थे, मुखमा खाना हालिदिए चपाउँथे, तर आफैँले कुनै पनि काम गर्ने इच्छा देखाउँदैनथे । सन् १९६९ मा न्युरोलोजिस्ट ओलिभर स्याक्सले यी बिरामीहरूलाई ’एल–डोपा’ नामक औषधि दिए । यसले मस्तिष्कमा डोपामिन बनाउँछ । दशकौँदेखि मूर्तिझैँ बसेका बिरामीहरू अचानक जागे, हिँडडुल गरे र कुराकानी गर्न थाले । तर यो खुसी धेरै दिन टिकेन, किनकि थोरै डोपामिनले उनीहरूको मस्तिष्कलाई धेरै समयसम्म सक्रिय राख्न सकेन ।

यसबाट के पाठ सिक्न सकिन्छ भने, डोपामिनले हामीलाई काम गर्न ’धकेल्ने’ इन्जिनको काम गर्छ । यो नहुने हो भने हामी एउटा अँध्यारो कोठामा बिना कुनै चाहना बसिरहने थियौँ ।

यो ’सफलताको स्मरण’ हो

अक्सर मानिसहरूले भन्ने गरेजस्तो डोपामिनले ’युरोफिया’ वा अत्यधिक आनन्द दिँदैन । एउटा प्रयोगमा मुसाहरूलाई डोपामिन बढाउने औषधि दिइँदा उनीहरूले पुरस्कारका लागि बढी कसरत गरे, तर उनीहरूको अनुहारको हाउभाउले उनीहरूले त्यो कुरा बढी ’इन्जोय’ गरेको देखाएन ।

डोपामिन वास्तवमा “फेरि यस्तै गर“ भन्ने सन्देश दिने रसायन हो । जब हामी कुनै काममा सफल हुन्छौँ, डोपामिनले त्यो सफलतालाई हाम्रो स्मृतिमा बलियो गरी गाडिदिन्छ । मानौं, एउटा नर्तकीले नयाँ स्टेप सिक्दा त्यो पाउँछे, मस्तिष्कमा डोपामिन निस्कन्छ र त्यसले त्यो स्टेपलाई ’मसल मेमोरी’ मा सुरक्षित गर्छ । अर्को पटक सोच्नै नपरी त्यो काम हुन्छ । डोपामिनले हाम्रो विचार र कार्यलाई एउटा लक्ष्यमा बाँध्ने काम गर्छ ।

अप्रत्याशित सफलता डोपामिनको खेल

डोपामिनको सबैभन्दा ठूलो रहस्य के भने, यसले हरेक सफलतामा प्रतिक्रिया दिँदैन । यसले ’अप्रत्याशित’ सफलतामा मात्र धमाका मच्चाउँछ ।

तपाईंले कुनै काम गरेपछि पुरस्कार पाउने पक्का छ भने, डोपामिन खासै बढ्दैन तर यदि नतिजा अनिश्चित छ र तपाईंले सोचेभन्दा राम्रो केही भयो भने डोपामिनको स्तर ह्वात्तै बढ्छ । त्यसैले डोपामिन ’आनन्दको रसायन’ होइन, बरु यो ’सोचेभन्दा राम्रो’को संकेत हो ।

लतको विज्ञानः जुवा र सामाजिक

सञ्जालयही अनिश्चितताको खेलले गर्दा हामी जुवा र सामाजिक सञ्जालको लतमा फस्छौँ । परेवाहरूमा गरिएको एउटा अध्ययनले देखाएको छ, यदि उनीहरूलाई एउटा बटन थिच्दा सधैँ खाना दिइयो भने उनीहरू केही समयपछि थाक्छन् र बटन थिच्न छोडिदिन्छन् । तर यदि खाना कहिले दिने र कहिले नदिने (अनिश्चित) बनाइयो भने, उनीहरू पागलजस्तै भएर लगातार बटन थिचिरहन्छन् ।

हाम्रो फेसबुक वा टिकटकको ’फिड’ पनि त्यस्तै हो । तपाईँले कुन भिडियो वा फोटोमा कति ’लाइक’ पाउनुहुन्छ भन्ने थाहा हुँदैन । यही ’अनिश्चित पुरस्कार’ को आशामा हामी घण्टौँ स्क्रिनमा झुण्डिरहन्छौँ । यदि सबै ’लाइक’ हरू हप्ताको एक दिन निश्चित समयमा मात्र आउने हुन्थे भने, हामीलाई सामाजिक सञ्जाल यति लत लाग्ने खालको हुने थिएन ।

डोपामिनको आदेश

मस्तिष्कको बाहिरी तहले सधैँ वास्तविकता र अपेक्षाबीच तालमेल मिलाउन चाहन्छ । जब केही नयाँ वा अचम्मको घटना घट्छ, डोपामिनले मस्तिष्कलाई यसलाई सुल्झाऊ भन्ने आदेश दिन्छ ।

यसले हामीलाई त्यो रहस्य पत्ता लगाउन वा त्यो सफलतालाई फेरि प्राप्त गर्न बाध्य बनाउँछ । यही कारणले गर्दा हामीलाई नयाँ कुराको जिज्ञासा हुन्छ, हामी नयाँ ठाउँ घुम्न चाहन्छौँ र नयाँ प्रविधि बनाउन खोज्छौँ । तर जब हामीले त्यो कुरा बुझ्छौँ वा प्राप्त गर्छौँ, डोपामिन हराउँछ र हामी फेरि ’बोर’ हुन थाल्छौँ ।

असन्तुष्टि नै प्रगतिको आधार हो

सुन्दा निराशाजनक लाग्न सक्छ तर हामी जे गरे पनि अन्ततः असन्तुष्ट नै हुन्छौँ । तर विकासवादी दृष्टिकोणबाट यो एउटा वरदान हो । मानव जाति सन्तुष्ट भइदिएको भए, हामी अझै पनि गुफामा ढुङ्गाकै हतियार चलाएर बसिरहेका हुने थियौँ ।

डोपामिनले हामीलाई सधैँ ’थप’ को लागि भोक जगाइदिन्छ । यसले हामीलाई स्थिर हुन दिँदैन । भविष्यमा हुन सक्ने परिवर्तन र चुनौतीका लागि यसले हामीलाई तयार राख्छ । त्यसैले, तपाईँको मनमा हुने छटपटी र अतृप्ति कुनै कमजोरी होइन, बरु यो त तपाईँलाई अघि बढाउने जैविक इन्जिन हो ।

जीवनको सार्थकता ती साना, दुर्लभ र अप्रत्याशित खुसीहरूमा छ, जसले हामीलाई बोरियतको अँध्यारो कोठाबाट बाहिर निकाल्छन् । त्यसैले मनको शान्ति खोज्नु भन्दा नयाँ कुराको खोजीमा लाग्नु नै मानव हुनुको असली पहिचान हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
स्क्रीनभित्रको एक्लोपन

स्क्रीनभित्रको एक्लोपन

संवेदना नै अस्तित्व हाे

संवेदना नै अस्तित्व हाे

मन मिल्छ किन कसैसँग झट्टै ?

मन मिल्छ किन कसैसँग झट्टै ?