हरि शर्मा
समकालीन राजनीति र सञ्चारको बहसमा पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै प्रयोग हुन थालेका शब्दहरू हुन्,— इन्फर्मेसन, मिसइन्फर्मेसन र डिसइन्फर्मेसन (सूचना, मिथ्या सूचना र भ्रामक सूचना) । यी शब्दहरू नयाँ लागे पनि यसको वैचारिक र ऐतिहासिक जरा भने प्राचीन छ । आज हामीले जेलाई डिसइन्फर्मेसन वा मिसइन्फर्मेसन भनिरहेका छौं त्यसको ‘जननी’ विगतको प्रोपागाण्डा नै हो । फरक कति छ भने हिजो प्रोपागाण्डा संगठित राज्य, विचारधारा वा संस्थाले उत्पादन गर्थे, आज हामी सबै त्यसका उत्पादक र उपभोक्ता दुवै भएका छौँ ।
प्रोपागाण्डादेखि डिसइन्फर्मेसनसम्म
इतिहासमा प्रोपागाण्डा सधैं शक्ति र राजनीतिसँग जोडिएको थियो । गोयबल्सको नाजी प्रोपागाण्डा होस् वा समाजवादी, कम्युनिष्ट र उदारवादी विचारधाराका प्रचार संयन्त्र यी सबैको उद्देश्य सत्यलाई सम्पूर्णरूपमा प्रस्तुत गर्नु थिएन बरु सत्यको आवरण तयार गर्नु थियो । कुनै सन्देशलाई बारम्बार दोहो¥याएर ‘सत्य’ बनाइने रणनीति अपनाइन्थ्यो । सयपटक दोहो¥याएपछि झुट पनि सत्यझैं प्रतीत हुनेछ भन्ने मान्यताको उपयोग हुन्थ्यो ।
आज त्यो प्रक्रिया अझ जटिल बनेको छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको उदयसँगै, सूचना उत्पादनको अधिकार केही संस्थामा सीमित रहेन । किनभने हामी सबै ‘सिटिजन जर्नालिस्ट’ बनेका छौं । सुरुमा यो अवधारणा निकै सशक्त र उत्साहजनक लाग्यो, यस कारण पनि कि सूचना निर्माणमा आमनागरिकको सहभागिता, अभिव्यक्तिको स्वतन्त्रता, आवाजविहीनको आवाज समावेश भएको हुन्थ्यो । तर समयसँगै यही स्वतन्त्रताले थकान (फ्याटिग) र आत्ममन्थन (सोल सर्चिङ) को अवस्था जन्मायो । अब प्रश्न उठ्न थालेको छ– सबै सूचना बराबर हुन् त ? सबै अभिव्यक्ति लोकतान्त्रिक योगदान हुन् त ?
बन्द समाज र हल्लाको तीव्रता
सूचना प्रवाहको अध्ययन गर्दा एउटा रोचक विरोधाभास देखिन्छ । सामान्यतः खुला समाजमा सूचना छिटो फैलिन्छ भन्ने मान्यता राखिन्छ, तर अनुसन्धानले के देखाएको छ भने बन्द समाजमा हल्ला र षड्यन्त्र अझ तीव्ररूपमा फैलिन्छन् । यो कथनलाई पुष्टि गर्नका लागि पूर्वसोभियत संघको एउटा उदाहरणलाई प्रायः उद्धरण गर्ने गरिन्छ । पूर्वसोभियत संघको कम्युनिष्ट सर्वसत्तावादी व्यवस्थामा ‘अण्डरग्राउण्ड रेलवे’जस्तो प्रणालीमार्फत मान्छेका खासखुसमार्फत नै हल्ला आगोझैं फैलिँदो रहेछ । हाम्रोमा एउटा आहान छ, एक कान, दुई कान, मैदान । हो त्यस्तै । त्यसो किन हुन्थ्यो भने बन्द समाजमा आधिकारिक सूचनाको अभाव हुन्छ र त्यो अभावलाई पूर्ति गर्ने काम हल्लाले नै गरिदिने रहेछ ।
आज हामी त्यही प्रक्रियाको डिजिटल संस्करण देखिरहेका छौं । फरक यति हो, अब हल्ला फैलिन भूमिगत सञ्जाल चाहिँदैन, सबैको हातमा स्मार्टफोन छ । ‘एक कान, दुई कान, मैदान’ हुने माध्यम परिवर्तन भएको छ । पहिले सानो दायरामा सीमित हल्ला हुन्थ्यो भने आज विश्वव्यापी हुन्छ ।
सामाजिक सञ्जाल हो कि जञ्जाल ?
सामाजिक सञ्जालको सुरुवाती चरणमा ‘सिटिजन जर्नालिज्म’ले नागरिकलाई सशक्त बनायो । तर अहिले त्यो सञ्जालभन्दा बढी ‘सामाजिक जञ्जाल’जस्तो देखिन थालेको छ । सूचना यति धेरै छ आएको हुन्छ कि स्रोत पत्ता लगाउनै गाह्रो छ । बहुस्रोत भएको संसारमा सूचना कहाँबाट आयो भन्ने प्रश्न नै अनुत्तरित रहन्छ ।
यस सन्दर्भमा ‘स्याडो फाइटिङ’ को अवधारणा महत्वपूर्ण छ । अब हामी कुनै स्पष्ट पक्ष र विपक्षसँग बहस गरिरहेका छैनौं । हामी छायाँसँग मुक्का हानिरहेकाझैं भएका छौं । हामी लडिरहेका छौं । कसैले यताबाट हान्छ । कसैले उताबाट बजाउँछ । लड्ने काम भइरहेको छ, लडाउने काम भइरहेका छ । वाद भइरहेको छ । प्रतिवाद पनि भइरहेको छ । यी सारा क्रियाकलापका बीच देखिन्छ के भने कुन विचारधारा, कुन शक्ति, कुन एल्गोरिदमसँग हामी लडिरहेका छौं भन्ने नै हामीले भेउ पाउन सक्ने अवस्था नै रहेको छैन । एउटै व्यक्ति एकैचोटि पक्ष पनि हो, विपक्ष पनि हो । अहिलको स्थिति यस्तै छ ।
नाटकीयता र राजनीतिक सञ्चार
राजनीति सधैं भाषण र वक्तृत्व (रेटोरिक)सँग जोडिएको छ । प्लेटो, एरिस्टोटल र सिसरोदेखि लिएर आधुनिक राजनीतिक चिन्तकसम्म, सबैले सार्वजनिक अभिव्यक्तिको महत्व स्वीकार गरेका छन् । ग्रीसको एम्पिथियटरमा हुने बहस केवल तर्कको अभ्यास मात्र थिएन, त्यसमा नाटकीयताको पनि अंश थियो । एरिस्टोटलले नै भनेका छन्– वक्तृत्वबिना राजनीति अर्थहीन हुन्छ तर वक्तृत्वलाई नैतिकतासँग सन्तुलन गर्नुपर्छ ।
आजको राजनीति अझ बढी नाटकीय बनेको छ । राजनीतिज्ञहरू रुन्छन्, किसानका खेतमा गएर काम गरेजस्तो गर्छन्, गाई दुहुन्छन्, सेल्फी खिच्छन् । हिजो सानो समुदायमा देखाइने दृश्य आज विशाल डिजिटल मञ्चमा प्रदर्शन भइरहेको हुन्छ । भाषणभन्दा भावभंगी, तर्कभन्दा दृश्य (भिजुअल) प्रभावकारी बनेका छन् ।
समय र स्थानको संकुचन
फ्रेन्च दार्शनिक पल भिरिलियोले भनेझैं हामी ‘समय र स्थानको संकुचन’को युगमा बाँचिरहेका छौं । आज यहाँ बोलेको कुरा लाइभ प्रसारण भयो भने अमेरिका, युरोप वा अस्ट्रेलियामा तुरुन्तै हेरिन्छ । तत्क्षण प्रतिक्रिया आउँछ । यो परिवर्तन हाम्रो जीवनकालमै भएको हो ।
नेपालको इतिहास हेर्दा पनि सञ्चार र निर्वाचनबीचको सम्बन्ध देखिन्छ । २०१५ सालको निर्वाचनमा बेलायती सेनाको टुकुडी ‘गोर्खा सिग्नल’ ले सञ्चार संयन्त्र स्थापना गर्न गरेको सहयोगले के दखाउँछ भने नेतृत्व, समुदाय र राजनीतिक गतिविधिका लागि सञ्चार सधैं केन्द्रीय विषय रहँदै आएको छ । फरक कति मात्र हो भने हिजो सानो दायरामा सीमित हुने सञ्चार आज भने विश्वव्यापी बन्न पुगेको छ ।
लोकतन्त्रः समावेशी कि बहिष्करणकारी ?
हामी लोकतन्त्रलाई प्रायः अत्यन्त समावेशी प्रणालीका रूपमा बुझ्छौं । तर इतिहासले के देखाउँछ भने लोकतन्त्र सुरुदेखि नै बहिष्करणकारी थियो । प्राचीन ग्रीसमा महिला, दास र बाहिरियालाई राजनीतिक सहभागिताबाट वञ्चित गरिएको थियो । आज पनि सबैले सबै ठाउँमा भोट हाल्न पाउँदैनन् । लोकतन्त्रको दायरा विस्तार भएको छ तर पूर्ण समावेशी अझै भएको छैन ।
आजको लोकतन्त्रको अर्को चुनौती भनेको अनिश्चितता हो । लोकतन्त्र अनिश्चिततालाई संस्थागत गर्ने प्रणाली हो । तहरिर स्क्वायर वा नेपालका पछिल्ला जनआन्दोलनहरूले के देखाए भने मान्छेहरू प्रविधिका कारण सजिलै जम्मा हुन्छन् । मान्छे जम्मा हुँदैमा, प्रदर्शन गर्दैमा, नारा लाग्दैमा पनि त्यसले राजनीतिक नतिजा दिन सुनिश्चितता भने हुने रहेनछ । अर्कोतिर भीड हुनु आफैंमा समाधान होइन रहेछ ।
दृश्यको युग र लेखनको संकट
आज हामी ‘एज अफ पिक्चर्स’मा फर्किएका छौं । अर्थात् आजको समाज चित्रको युगमा परिवर्तित भएको छ । हामीलाई थाहै छ प्राचीन समाजमा वर्णमालाको प्रचलन अघि चित्रको चलन थियो, सञ्चारका लागि । अहिले हाएर फेरि चित्र नै प्रभावशाली बनेको छ । इमोजी, मेम, फोटो र भिडियोले भाषालाई प्रतिस्थापन गर्दैछन् । लामो लेखन र गहिरो विश्लेषणका लागि समय र धैर्यता टुट्दै गएको छ । रसियाका महान् लेखक रसियन लिओ तोल्सतोइ लिखित झण्डै १२ पृष्ठमा फैलिएको ६ लाख शब्द हाराहारीको ‘वार एण्ड पिस’ वा महाकवि देवकोटोको ‘शाकुन्तल’जस्ता कृति आज सम्भव छन् कि छैनन् भन्ने प्रश्न उठ्छ ।
अर्कातिर फेसबुकजस्ता प्लेटफर्महरू ‘एस्पिरेसनल’ बनेका छन् । हामी खाना खान टेबलमा आएको छ, खाना खानुभन्दा अघि फोटो खिच्छौं, पोस्ट गर्छौं । कतै घुम्न जान्छौं, फोटो खिच्छौं, पोस्ट गर्छौं । यसले ईष्र्या र नक्कल (इमिटेसन)लाई एम्प्लिफाइ गरेको छ । मानव स्वभावमा गढेर रहेको ईष्र्या आज एल्गोरिदमले अझ तीव्र बनाइदिएको छ ।
तर्कको अभाव र भावनाको प्रभाव
लामो समयसम्म हामीले मान्छेलाई तर्कशील (¥यासनल) प्राणीका रूपमा बुझ्यौं । तर अहिलेको राजनीति भावनात्मक (इमोसनल) बन्दै गएको छ । अधिकार, गरिमा र पीडाजस्ता विषय तर्कको होइन, मूल्य र सिद्धान्तका विषय हुन् । तर, जब राजनीति केवल भावनाको व्यापार बन्छ, तब संवाद र बहस कमजोर हुन्छ ।
आज प्रश्न गर्ने क्षमता घट्दै गएको छ । सबैले उत्तर दिइरहेका छन् तर प्रश्न कोही सोध्दैन । जहाँ प्रश्न मर्छ, त्यहाँ लोकतन्त्र मर्छ । प्रश्न मरेपछि, आफूअनुकूलको सत्य बनाउने प्रक्रिया सुरु हुन्छ र त्यहीँबाट ‘डिसइन्फर्मेसन’को यात्रा सुरु हुन्छ ।
उत्तरहीन प्रश्नहरू
हामी एउटा ‘डिसेन्टर्ड’, ‘राइजोमिक’ संसार मा बाँचिरहेका छौं । त्यस्तो संसार जहाँ कुनै एक केन्द्र छैन, जताततै जरा नै जरा फैलिएको छ । इन्टरनेटमा तहगत संरचना छैन । तर लोकतन्त्रले संरचना खोज्छ । यही द्वन्द्व नै हाम्रो समयको मुख्य संकट हो ।
यस परिस्थितिमा कसरी लड्ने ? यस अहम् प्रश्नको स्पष्ट उत्तर कसैसँग छैन । तर एउटा कुरा के निश्चित छ भने यदि हामीले प्रश्न गर्न छोड्यौं भने; यदि संवाद र बहसको संस्कार म¥यो भने; लोकतन्त्र केवल दृश्य र नाटकमा सीमित हुनेछ । त्यसैले सूचना र भ्रामक सूचनाको चुनौती अन्ततः मानिसको चेतनासँग जोडिएको प्रश्न हो र त्यो चेतना जोगाउने जिम्मेवारी हामी सबैको हो ।
राजनीतिक चिन्तक शर्माद्वारा हालै आयोजित ‘काठमाडौं कन्फरेन्स अन कम्ब्याटिङ मिसइन्फरमेसन’मा प्रस्तुत विद्वत् प्रवचनको सम्पादित अंश ।