नेभिगेशन
प्रवास

अमेरिकाका लागि इरान युद्ध कति महँगो ?

काठमाडौं । पश्चिम एसियामा अमेरिका र इरानबीच जारी तनावले नयाँ र गम्भीर मोड लिएको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको हवाई आक्रमणसँगै क्षेत्रीय राजनीतिक र सैन्य सन्तुलन अस्थिर बन्न पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अपरेशन एपिक फ्युरी’ नामक सैन्य अभियान चारदेखि पाँच हप्तासम्म चल्न सक्ने बताएका छन् । यो लम्बिने सम्भावना पनि उत्तिकै छ । अहिले विश्व राजनीतिमा उठेको प्रमुख प्रश्न नै यो युद्ध अमेरिकाका लागि कति खर्चिलो छ र यो युद्ध लम्बियो भने अमेरिकाले धान्न सक्ला त भन्दै विश्लेषकहरुले प्रश्नको घेरामा राख्न थालेका छन् ।
गएको फेब्रुअरी २८ मा ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा अमेरिका इरानभित्र प्रत्यक्ष सैन्य अभियानमा सहभागी भएको पुष्टि गरेका थिए । उनका अनुसार अभियानको मुख्य उद्देश्य इरानले परमाणु हतियार प्राप्त गर्ने सम्भावनालाई रोक्नु हो । उनले इरानको मिसाइल क्षमता र त्यससँग सम्बन्धित उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनीसमेत दिएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अभियान शुरू भएदेखि इरानभित्र १२ सय ५० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको छ भने इरानका ११ वटा सैन्य जहाज नष्ट गरिएको छ ।
यो युद्ध अभियानमा हवाई आक्रमण, समुद्रबाट प्रक्षेपित क्रुज मिसाइल, ड्रोन आक्रमण र परमाणु कार्यक्रमसँग लक्षित हमला समावेश गरिएको छ । यस क्रममा इरानको सैन्य नेतृत्वसँग सम्बन्धित केही प्रमुख व्यक्तिहरूलाई पनि निशाना बनाइएको छ । शुरुवातमा नै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका थिए । यसले युद्धलाई गम्भीर बनाएको थियो । इरानको रेड क्रेसन्टका अनुसार देशका विभिन्न १३० स्थानमा भएको आक्रमणमा कम्तीमा पाँच सय ५५ जनाको मृत्यु भएको छ ।
यो युद्ध अचानक शुरू भएको जस्तो देखिए पनि यसको पृष्ठभूमि लामो समयदेखि तयार हुँदै आएको थियो । सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास युद्ध शुरू भएपछि मध्यपूर्वमा शक्ति सन्तुलन फेरिएको थियो । त्यसयता अमेरिका इजरायलको पक्षमा उभिँदै आएको छ । ब्राउन विश्वविद्यालयको ‘कस्ट्स अफ वार’ प्रतिवेदनअनुसार अक्टोबर २०२३ पछि अमेरिकाले इजरायललाई मात्रै करिब २१.७ अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराइसकेको छ । त्यसका अतिरिक्त यमन, इरान र अन्य मध्यपूर्वी क्षेत्रमा सञ्चालन गरिएका अमेरिकी सैन्य अभियानमा ९.६५ अर्बदेखि १२.०७ अर्ब डलरसम्म खर्च भएको अनुमान गरिएको छ । यसरी हेर्दा अहिलेसम्म इजरायल र मध्यपूर्वसँग सम्बन्धित सैन्य गतिविधिमा अमेरिकाले ३१ अर्बदेखि ३४ अर्ब डलरसम्म खर्च गरिसकेको छ ।
तर इरान माथिको नयाँ आक्रमणले यो खर्च अझ तीव्र रूपमा बढ्ने सम्भावना देखिएको छ । विशेषज्ञहरूको अनुमान अनुसार, ‘अपरेशन एपिक फ्युरी’को पहिलो २४ घण्टामै अमेरिकाले करिब ७७ करोड ९० लाख डलर खर्च गरिसकेको हुन सक्छ । युद्ध शुरू हुनुअघि सैनिक तयारी, विमानहरूको पुनःस्थितिकरण, नौसैनिक जहाज तैनाथी र क्षेत्रीय सैन्य स्रोत परिचालनमा मात्रै करिब ६३ करोड डलर खर्च भएको अनुमान छ ।
सैन्य खर्चको ठूलो हिस्सा अत्याधुनिक हतियार प्रणाली सञ्चालनमा खर्च हुन्छ । यो अभियानमा अमेरिकाले बी–१ र बी–२ जस्ता बमवर्षक विमान, एफ–३५ र एफ–२२ जस्ता स्टेल्थ लडाकु विमान, एफ–१५, एफ–१६ तथा एफ÷ए–१८ जस्ता लडाकु विमान प्रयोग गरेको छ । साथै इलेक्ट्रोनिक युद्धका लागि ईए–१८जी ग्रोलर, निगरानीका लागि एवैक्स विमान तथा लामो दूरीको आक्रमणका लागि टोमाहक क्रुज मिसाइल प्रयोग गरिएको छ । ड्रोन प्रविधिको प्रयोग पनि व्यापक रूपमा गरिएको छ । एमक्यू–९ रिपर ड्रोन निगरानी र लक्षित आक्रमणका लागि प्रयोग गरिएको छ भने लुकास नामक कम लागतका आक्रमण ड्रोन पहिलो पटक युद्धमा प्रयोग गरिएको बताइएको छ ।
भूमिबाट प्रहार गर्न सकिने हाइमार्स रकेट प्रणाली तथा समुद्री शक्तिका रूपमा दुई ठूला विमानवाहक युद्ध समूहहरू यूएसएस जेराल्ड आर. फोर्ड र यूएसएस अब्राहम लिंकनलाई पनि प्रयोग गरिएको छ । यी विमानवाहक युद्ध समूह सञ्चालन गर्न नै दैनिक करिब ६५ लाख डलर खर्च हुने अनुमान गरिएको छ । त्यसैले जति युद्ध लम्बिन्छ, अमेरिकाको रकम उति बढी खर्च हुँदै जान्छ । 
त्यसैले पनि इरान युद्ध लामो समयसम्म अमेरिकाले चलाउन नसक्ने आकलन गर्न थालिएको छ । 
युद्धमा उपकरणको क्षतिले पनि ठूलो आर्थिक भार थप्छ । हालसम्म कम्तीमा तीन अमेरिकी लडाकु विमान कुबेत नजिकै दुर्घटनाग्रस्त भएको खबर आएको छ । विमान खस्नुलाई अमेरिकी अधिकारीहरूले आफ्नै साथीहरुले गरेको अन्जान घटनाका रुपमा व्याख्या गरेका छन् । यस्ता विमानको लागत नै करोडौँ डलर हुने भएकाले उपकरण क्षति युद्ध खर्चको अर्को महŒवपूर्ण पक्ष मानिन्छ ।
तर केही विशेषज्ञका अनुसार युद्धको सबैभन्दा ठूलो चुनौती आर्थिक खर्च होइन, सैन्य सामग्रीको भण्डार हुन सक्छ । स्टिम्सन सेन्टरका वरिष्ठ विश्लेषक क्रिस्टोफर प्रेबलका अनुसार अमेरिकाको रक्षा बजेट अहिले करिब एक ट्रिलियन डलरको हाराहारीमा पुगेको छ र यसलाई अझ बढाएर १.५ ट्रिलियन डलरसम्म पु-याउने प्रस्ताव पनि भइरहेको छ । यस्तो ठूलो बजेट भएकाले अमेरिका केही समयसम्म युद्धको खर्च धान्न सक्षम देखिन्छ तर समस्या चाहिँ हतियारको उपलब्धतामा छ ।
विशेषगरी प्याट्रियट र एसएम–६ जस्ता मिसाइल अवरोधक प्रणालीहरु निकै थोरैसंख्यामा मात्रै छन् । इरानले लगातार मिसाइल र ड्रोन प्रहार गरिरहेमा ती मिसाइल र ड्रोन पूर्ण रूपमा रोक्न उच्च दरमा अवरोधक मिसाइल प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले लामो समयसम्म अवरोधक मिसाइल प्रयोगलाई जारी राख्न नसकिने विशेषज्ञहरूको चेतावनी छ ।
अर्को महŒवपूर्ण समस्या भनेको अमेरिकी सैन्य स्रोत अन्य क्षेत्रहरूमा पनि आवश्यक हुनु हो । युक्रेनमा रुससँग जारी युद्धका कारण धेरै अवरोधक मिसाइल त्यहाँ पनि पठाउनुपर्ने अवस्था छ । त्यस्तै इन्डो–प्यासिफिक क्षेत्रमा चीनसँग सम्भावित तनावका कारण पनि अमेरिकी सैन्य तयारी कायम राख्नुपर्ने हुन्छ । यदि मध्यपूर्वमा अत्यधिक सैन्य स्रोत प्रयोग गरियो भने अन्य क्षेत्रको सुरक्षा रणनीतिमा असर पर्ने देखिन्छ । इरानमा अमेरिका अत्यधिक रुपमा व्यस्त रहँदा यही बेला चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना पनि उच्च भएको हुँदा लाजगाल अमेरिकाले त्यस क्षेत्रको सन्तुलन कायम राख्न पनि हतियारको उचित भण्डारण गर्नु अत्यावश्यक छ ।
यसका अतिरिक्त नयाँ मिसाइल र उन्नत हतियार उत्पादन तत्काल सम्भव हुँदैन । प्याट्रियट वा एसएम–६ जस्ता मिसाइल अत्यन्त जटिल प्रविधिले बनेका हुन्छन् । तिनलाई ठूलो संख्यामा छोटो समयमै उत्पादन गर्न सकिँदैन । एक त जटिल प्रविधि, त्यसमाथि उत्पादन क्षमता सीमित भएकाले लामो समयसम्म युद्ध जारी रहेका खण्डमा अमेरिकी सैन्य भण्डारमा गम्भीर दबाब सिर्जना गर्न सक्छ ।
विश्लेषकहरूका अनुसार यदि युद्ध केही हप्तामै सकियो भने यसको आर्थिक भार अमेरिकाले सजिलै धान्न सक्छ । तर युद्ध लम्बियो र क्षेत्रीय स्तरमा फैलियो भने यसको प्रभाव निकै व्यापक हुन सक्छ । लेबनान, इराक, सिरिया र यमनजस्ता देशहरूमा पनि तनाव फैलिन सक्ने सम्भावना उत्तिकै छ । त्यस्तो अवस्थामा मध्यपूर्वको सम्पूर्ण सुरक्षा सन्तुलन बिग्रन सक्छ ।
यसका अतिरिक्त विश्व ऊर्जा बजारमा पनि यसको ठूलो असर पर्ने सम्भावना छ । मध्यपूर्व विश्वको प्रमुख तेल उत्पादन क्षेत्र भएकाले युद्धले तेल आपूर्ति अवरुद्ध भएमा अन्तर्राष्ट्रिय बजारमा मूल्य तीव्र रूपमा बढ्न सक्छ । त्यसको असर विश्व अर्थतन्त्रमा समेत देखिन सक्छ ।
यसरी हेर्दा इरानसँगको नयाँ सैन्य द्वन्द्व अमेरिकाका लागि क्षेत्रीय युद्ध मात्र नभई विश्वकै राजनीतिक सन्तुलनसँग जोडिएको एउटा जटिल रणनीतिक चुनौती बन्न पुगेको छ । आर्थिक रूपमा शक्तिशाली भए पनि अमेरिका हतियार भण्डार, सैन्य रणनीति र बहु–क्षेत्रीय दबाबका कारण अप्ठेरो निर्णय गर्न बाध्य हुन सक्छ । यसको अर्थ, युद्ध लम्बिने अवस्था आएको खण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानकै युद्ध अन्त्य भएको घोषणा गर्दै युद्धपोतहरु पहिलेकै स्थानमा फर्काइदिन सक्छन् । युद्ध पूर्ण रुपमा नसकिई युद्ध सकिने अवस्था सिर्जना हुनसक्छ । 
त्यसैले अहिले सबैको चासो भनेको यो युद्ध कति लामो समयसम्म चल्छ र यसको वास्तविक लागत कति पुग्छ भन्नेमा केन्द्रित छ किनभने यही कुराले युद्धको भविष्य तय हुने देखिदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्