नेभिगेशन
प्रदेश

शैक्षिक नगरीमा सार्वजनिक यातायातको सकस

सानोठिमी (मध्यपुर थिमी नगरपालिका–२) अर्थात् शैक्षिक नगरी । मन्त्रालयबाहेक शिक्षा क्षेत्रका अधिकांश कार्यालय यहीँ छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रदेखि परीक्षा नियन्त्रण कार्यालय र राष्ट्रिय परीक्षा बोडसम्म यहीँ छन् । वैदेशिक अध्ययन अनुमति कार्यालय (एनओसी), चिकित्सा शिक्षा आयोग, राष्ट्रिय युवा परिषद् जस्ता कार्यालय यहीँ छन् । जनक शिक्षा सामग्री केन्द्रले अचेल सरकारी विद्यालयको पाठ्यपुस्तक मात्र छाप्दैन, सुरक्षण प्रेसका रूपमा विद्यालयतर्फ माध्यमिक तहका प्रश्नपत्रदेखि निर्वाचनका मतपत्रसम्म यहीँ छाप्छ । भूकम्पपछि हरिहरभवनको राष्ट्रिय पुस्तकालयसमेत सानोठिमीमा आएको छ । शिक्षा विषय पढाइ हुने सानोठिमी क्याम्पसमा अचेल सूचना प्रविधि पनि पढाइ हुन्छ ।

कोटेश्वरको जडिबुटीबाट पुरानो सिनामंगल हुँदै मनोहरा र त्यहाँबाट मध्यपुर थिमीको सानोठिमी पुरानो थिमी निकोसेरा हुँदै सल्लाघारीसम्मको सडकलाई पुरानो बाटो भनिन्छ । विक्रमको ३० औँ दशकमा अरनिको राजमार्ग बन्नुअघि काठमाडौँलाई पूर्वी भाग जोड्ने यही सडक थियो । नयाँ बाटो बनेपछि पुरानोको बेवास्ता भयो । यहाँ आज पनि ९ नम्बर रुटको मात्रै गाडी चल्छ, तर तीन रुटमा । एउटा बागबजार, अर्को लगनखेल र तेस्रो नयाँ बसपार्क । बागबजार पुग्ने अर्को एउटा अलि फरक रुट छ, सरस्वतीखेलबाट बोडे हुँदै सानोठिमी निस्कने अनि गठ्ठाघर हुँदै बागबजार जाने । परीक्षा बोर्ड, प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सीटीईभीटी), एनओसी लिन आउने विद्याथी÷युवाका कारण विशेषगरी सानोठिमी वर्षभरि नै भरिभराउ हुन्छ । 

सीमित गाडी । यात्रुको चाप । बस स्टप नै पिच्छे मिनेटौँ रोकिराख्ने प्रवृत्ति भने ‘कहिल्यै निको नहुने घाउ’ बनेर बसेको छ, मध्यपुर थिमीका लागि । भक्तपुरबाट बागबजारतर्फ जाँदा सानोठिमीमा र उताबाट यता आउँदा कोटेश्वर, जडिबुटी र (पुरानो सिनामंगल (पेप्सीकोला) मा अर्को गाडी नआएसम्म १०–१० मिनेट कुरिरहने प्रवृत्तिको मारमा यहाँका बासिन्दा मात्र पर्दैनन्, परीक्षा बोर्ड, सीटीईभीटी र एनओसीमा आउने विद्यार्थी पर्छन् । गाडी रोकेर इँटा चाङ लगाएजस्तो वा गुन्द्रुक खाँदेजस्तो गर्ने प्रवृत्ति त छँदैछ, जाममा पर्दा वा अगाडिको गाडी अलि ढिलो भएर पछि पर्दा दुईबीच हुने प्रतिस्पर्धा डरैलाग्दो हुन्छ । प्रतिस्पर्धाका क्रममा गाडी अन्धधुन्द कुदाउँदा कतिपल्ट त यात्रु लडेकोसमेत देखेको छु । 

हातका औँलामा गन्न मिल्ने मात्र चालक र कण्डक्टर होलान्, यात्रुसँग राम्रो व्यवहार गर्ने । अधिकांश । कण्डक्टरले भनेजस्तोगरी उभिने, उनीहरूले देखाएको दिशा फर्किने र उनीहरूले भनेजति भाडा नदिए जथाभावी मुख छाड्ने र हात नै उठाउँला जस्तो गर्ने प्रवृत्ति छ । कण्डक्टरले गरेर नपुगेर चालक पनि ‘स्टेरिङ’ छाडेर यात्रु खाँद्न लागिपरेको पनि देखिन्छ । वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई उनीहरूको आरक्षित सिट दिलाउनुपर्छ भन्ने चेतनासम्म नभएका चालक कण्डक्टर छन् । ठूलठूला आवाजमा बसमा बज्ने गीतले यात्रुलाई कति दिक्क लगाउँछन्, त्यसको सीमा नै छैन । पाँच वर्षदेखि थिमी बस्दै आएकी दोलखाकी सीमा तामाङ पनि यहाँको सार्वजनिक यातायातबाट आजित छिन् । ‘अरु गाडी नचल्ने भएकाले ९ नम्बरको गाडी चढ्नुको विकल्प छैन’, भन्छिन्, ‘तर यहाँका कण्डक्टरको दुव्र्यवहार बयान गरिसाध्य छैन ।’

भाडा सूची टाँस्न छाडिएको वा पुरानै टाँसेर राखिएको वर्षौँ भयो । सरकारले पछिल्लोपटक तोकेको भाडाअनुसार (२०८० जेठ ११ गतदेखि लागु हनेगरी बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको) काठमाडौँ उपत्यकामा यात्रुले पाँच किलोमिटरसम्म १९ र १० किलोमिटरसम्मको २५ रुपैयाँ तिर्नुपर्छ । किलोमिटरको हिसाब हुँदैन । दुईतीन स्टेसन कट्नेवित्तिकै २५ रुपैयाँ लिइन्छ । सानोठिमीमा गाडी चढेको यात्रुले बानेश्वर कट्नासाथ ३० रुपैयाँ तिर्नुपर्छ । वास्तवमा ९.५ किलोमिटर भएकाले सानोठिमीदेखि बागबजारसम्म २५ तिरे हुने हो तर, ३० रुपैयाँ कायम छ । भाडासूची नभएका कारण बाहिरबाट आउने यात्रुसँग त मनलागीरूपमा भाडा असुलेको देखिन्छ । 

शनिबार र अन्य सार्वजनिक विदाका त झन् थोरै गाडी चल्छ । नियमित यात्रुलाई सेवा दिन छाडेर फिल्मका सुटिङ र पिकनिकतिर दौडिन्छन् । ‘रिजर्भ’ मा राम्रो आमदानी हुने भएपछि गाडी त्यता लगिन्छ । विवाह, व्रतबन्धका साइत भएका दिन त यहाँका यात्रुले झनै कष्ट खेप्नुपर्छ । 

यहाँ दशकौँदेखि एउटै मात्र रुटको गाडी चलिरहेको छ त ? यहाँ चल्ने ९ नम्बरका सबै गाडी थिमीकै व्यवसायीका हुन् । त्यसैले उनीहरूले अन्य यातायातका कुनै पनि साधन यहाँ प्रवेश गर्न नै दिँदैनन् । त्यसैले यहाँ अन्य यातायातका गाडी चलाउन आँट नै गरिँदैन । यहाँका बासिन्दाको पहलमा वेलाबखत साझा यातायात, माइक्रोबस चलाउने प्रयास नभएका होइनन् । व्यवसायीले चल्नै दिँदैनन् । चलेको दुईचार दिनमै अनेक तिगडम गरेर भगाई छाड्छन् । उनीहरूको यो कदमलाई प्रशासनले मौन समर्थन गरिदिन्छ । त्यसैले सार्वजनिक यातायातकै कारण मध्यपुर थिमीले बदनामी कमाएको छ ।

यात्रु खाँद्ने, भाडामा मनपरि गर्नेलगायत समस्या यहाँ मात्र होइन उपत्यकाभरि नै छ । काठमाडौँ बाहिर पनि छ । तर जनघनत्व धेरै र दिनहुँ हजारौँ बाहिरी मानिसको आवतजावत हुने ठाउँ भएर पनि मध्यपुर थिमीमा सार्वजनिक यातायातमा सुधार हुन नसक्नु लज्जाको विषय हो । नागरिकलाई सेवासुविधा दिन भनेर देशमा अहिले तीन तहको सरकार छ । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट केही किलोमिटर मात्र दूरीमा रहेको मध्यपुर ठिमीका नागरिकले भोगिरहेको पीडामा कुनै पनि सरकार वा जनप्रतिनिधि गम्भीर भएको पाइँदैन । यहाँ कम्तीमा रत्नपार्क वा बागबजारबाट सानोठिमीसम्म मात्र अरु रुटका लामा गाडी (धेरै यात्रु अट्ने) गाडी चलाउन पहल गर्न ढिलो भइसक्यो । अब नयाँ जोश जाँगरसहित भर्खरै निर्वाचनमा विजयी भएका नयाँ जनप्रतिनिधिको ध्यान जाला कि !


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्