गत वर्ष पहिलो पटक ब्राजिलियन फिल्म ‘आ’म स्टिल हियर’ उत्कृष्ट फिल्मका लागि मनोनयनमा परेको थियो । यो फिल्म सैनिक तानाशाहीको समयमा आधारित थियो । ब्राजिलमा मानिसहरूले कार्निभलमा सुनौलो ट्रफीजस्तै पोशाक लगाएर फिल्मको सफलताको उत्सव मनाए र मुख्य अभिनेत्रीको सम्मानमा पार्टी आयोजना गरे ।
साओ पाउलोका निर्माता फाबियानो गुलाने भन्छन्, ‘संसारमा सबैले चिन्ने तीन शब्द छन्, कोका–कोला, जिसस क्राइस्ट र अस्कर अवार्ड । त्यो बेला जब आम स्टिल हियरले अस्कर जित्यो, त्यो सिंगो देशले पुरस्कार जितेझैँ लाग्यो ।’
यस पटकको आशा त अझ ठूलो छ । क्लेबेर मेन्डोन्सा फिल्होको फिल्म ‘द सेक्रेट एजेन्ट’ चार वटा अस्करका लागि मनोनयनमा परेको छ । नामाङ्कनमा उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेता पनि छ । चार वटा मनोनयनमा आफ्नो देशकत्र फिल्म परेपछि ब्राजिलियनहरू फेरि उत्साहित छन् ।
कार्यक्रममा निर्माता रोड्रिगो टेइशेराले भने, ‘सिनेमा अहिले हाम्रो देशका लागि फुटबलभन्दा ठूलो गर्वको स्रोत बनेको छ ।’
ब्राजिलको अचानक सफलताले लामो समयसम्म पछाडि परेको मानिएको ल्याटिन अमेरिकी सिनेमा क्षेत्रलाई उत्साह दिएको छ । मेक्सिकोले दुई दर्जनभन्दा बढी ओस्कार जितिसकेको छ । ब्राजिलसँग ७ हजारभन्दा बढी सिनेमाघर छन्, जुन मेक्सिकोको भन्दा दोब्बर हो । तर ब्राजिलियनहरूलाई चिन्ता के थियो भने फुटबलमा प्रतिस्पर्धी अर्जेन्टिनाले पहिले नै दुई ओस्कार जितिसकेको छ । उता चिलीजस्तो सानो देशले पनि तीन ओस्कार हात पारिसकेको छ भने हामीले किन पुरस्कार जित्न सकिरहेका छैनौँ ?
सन् १९६० को दशकमा प्रसिद्ध फिल्म निर्देशक ग्लाउबर रोचाले युरोपमा आफ्ना फिल्मको प्रचार गर्दा भनेका थिए, ‘ग्लाउबर, तिमीबाहेक कसैलाई हाम्रो फिल्ममा चासो छैन ।’ पत्रकार आना पाउला सूजा भन्छिन्, ‘ब्राजिलियन सिनेमाको उभार फिल्म क्षेत्रको सफलता मात्र होइन, यो त व्यापारिक सफलता पनि हो ।’ लामो समयसम्म ब्राजिलको मनोरञ्जन क्षेत्र रेड़े ग्लोबो नामक ठूलो टेलिभिजन कम्पनीले नियन्त्रण गरेको थियो ।
यसले धेरै टेलिनोभेला (टेलिफिल्महरू) बनायो, जसले ब्राजिलियन दर्शकलाई हरेक साँझ टिभीमा बाँधेर राख्थ्यो ।
हलिउडजस्तै, ग्लोबोले कलाकार, लेखक र निर्देशकलाई आफ्नै नियन्त्रणमा राख्थ्यो । उसले अन्य कम्पनीमा काम गर्न नदिने नीति अपनाएको थियो । फलस्वरूप स्वतन्त्र फिल्म निर्माण कहिल्यै बलियो हुन सकेन ।
सन् १९९२ मा ब्राजिलको मनोरञ्जन उद्योग यति खस्कियो कि आर्थिक मन्दीका कारण त्यो बेला तीन वटा फिल्म मात्र देशभर रिलिज भएका थिए । यस्तो दयनीय अवस्थापछि सरकार सक्रिय भयो र कानून परिवर्तन गरेर ठूला स्टुडियोले फिल्म नियन्त्रण गर्ने नीति परिवर्तन गर्यो । यो नीति लागू हुन समय लाग्यो । बल्ल आएर सन् २००२ मा सरकारले एन्सिने नामक नियामक निकाय स्थापना ग¥यो । यसले फिल्मको तथ्यांक राख्ने, प्रदर्शनको समय निर्धारण गर्ने र फिल्म निर्माणका लागि कोष सञ्चालन गर्ने काम गर्न थाल्यो । एक हिसाबले नेपालको चलचित्र विकास बोर्डजस्तो ।

सन् २०११ मा ‘पेड टिभी कानून’ लागू गरियो । यसले विदेशी कम्पनीको स्वामित्वमा प्रतिबन्ध हटायो र प्रतिस्पर्धा बढायो । यो कानूनले टिभी च्यानलहरूलाई हरेक हप्ता कम्तीमा साढे तीन घण्टा ब्राजिलियन सामग्री प्रसारण गर्न बाध्य बनायो । त्यसमा पनि आधा ब्राजिलियन फिल्महरू स्वतन्त्र निर्माताले बनाएको हुनुपथ्र्यो ।
यसले स्वतन्त्र फिल्म निर्माताहरूले आफ्नो फिल्म कहाँ देखाउने ? कसले किन्ने भन्ने समस्या समाधान गरिदियो । यत्ति एउटा सानो नियम परिवर्तन गर्दा ब्राजिलको फिल्म उद्योगमा ठूलो परिवर्तन ल्यायो । स्वतन्त्र फिल्म निर्माण कम्पनीहरू बढे र टेलिभिजनको पहुँच १५% बाट बढेर झण्डै आधा जनसंख्यामा पुग्यो ।
तर पछिल्ला वर्षमा समस्या पनि उत्तिकै देखिएका छन् । राष्ट्रपति जायर बोल्सोनारो सरकारले कला क्षेत्रमा दिँदै आएको अनुदान घटायो । त्यो अनुदान काटिनेबित्तिकै कोभिड महामारीपछि दर्शक संख्या घट्यो र अझै पूर्ण रूपमा फर्किएको छैन ।
अरू त अरू सन् २०२५ मा प्रदर्शन भएका आधाभन्दा बढी ब्राजिलियन फिल्मले एक हजार टिकट पनि बेच्न सकेनन् । त्यसैले अहिले उद्योग नेटफ्लिक्स र एचबीओ म्याक्सजस्ता स्ट्रिमिङ प्लेटफर्मतर्फ सरेको छ ।
निर्माता काइओ गुलाने भन्छन्, ‘आज ब्राजिलमा ठूला निर्माता, निर्देशक र वितरक छन् । अब दोस्रो चरणमा विदेशमा काम बढाउनु र आफ्नै देशमा बजार हिस्सा बढाउनु आवश्यक छ ।’ सरकार नयाँ ‘स्ट्रिमिङ कानून’ ल्याउने तयारीमा छ, जसले प्लेटफर्मलाई स्थानीय सामग्री बनाउन, देखाउन र कर तिर्न बाध्य बनाउनेछ ।
यसले उद्योगलाई थप सहयोग गर्ने अपेक्षा गरिएको छ । ब्राजिलियनहरू अहिले आशावादी छन् । एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस (अस्कर अवार्ड)को सदस्यता अहिले विश्वभर फैलिएको छ । सन् २०१६ पछि सदस्यहरूमा अमेरिकी बाहिरका मानिसको संख्या बढेको हो । यही कारणले ‘प्यारासाइट’जस्ता अन्तर्राष्ट्रिय फिल्मले अस्कर जित्न सहयोग गरेको मानिन्छ ।
रोड्रिगो टेइशेरा भन्छन्, ‘पहिलेको जस्तो अब भाषाको बाधा छैन । कोरियाली फिल्म ‘प्यारासाइट’ पछि हलिउड बदलिएको छ ।’
ब्राजिलियनहरू यस वर्षको फुटबल विश्वकपजस्तै ओस्कारबाट पनि ठूलो सफलता पाउने आशामा छन् । सायद यसपटक ओस्कारले त्यो पूरा गरिदिन सक्छ ।