नेभिगेशन
अर्थतन्त्र

नेपालको विकास किन सुस्त ?

काठमाडौ‌ं । नेपालमा विकासको बहस प्रायः आर्थिक वृद्धिदर, पूर्वाधार निर्माण, लगानी, बजेट र राजनीतिक स्थिरताको वरिपरि घुम्ने गर्छ । सडक, पुल, विद्युत्, विमानस्थल वा भवन निर्माणलाई विकासको प्रमुख सूचक मान्ने प्रवृत्ति अझै बलियो छ । तर पछिल्ला अन्तर्राष्ट्रिय अध्ययनहरूले दीर्घकालीन विकासको वास्तविक आधार पूर्वाधारभन्दा पनि मानिसको क्षमता हो भन्ने देखाएका छन् । मानिसको स्वास्थ्य, शिक्षा, सीप, अनुभव र काम गर्ने क्षमताहरू मिलेर बनेको मानव पुँजी नै कुनै पनि देशको समृद्धिको मूल आधार मानिन्छ ।
विश्व बैंकले हालै ‘बिल्डिङ ह्युमन क्यापिटल ह्वेयर इट म्याटर्सः होम्स, नेबरहूड्स एन्ड वर्कप्लेसेस’ नामक विस्तृत अध्ययनको रिर्पोट सार्वजनिक गरेको छ । यसले विकासको यही आधारलाई नयाँ दृष्टिकोणबाट व्याख्या गरेको छ । अध्ययनले मानव पुँजी विद्यालय, अस्पताल वा सरकारी कार्यक्रमबाट मात्र नबन्ने, मानिस बस्ने घर, हुर्किने समुदाय र काम गर्ने ठाउँमा हुने अनुभवबाट क्रमशः निर्माण हुने निष्कर्ष निकालेको छ । 
यो निष्कर्ष नेपालको सन्दर्भमा झन् अर्थपूर्ण देखिन्छ । पछिल्ला तीन दशकमा नेपालले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा उल्लेखनीय विस्तार गरेको छ । विद्यालयको पहुँच बढेको छ, स्वास्थ्य चौकी गाउँसम्म पुगेका छन्, सडक सञ्जाल विस्तार भएको छ र वैदेशिक रोजगारीबाट ठूलो मात्रामा आम्दानी भित्रिएको छ । तर अपेक्षाअनुसार उत्पादनशील अर्थतन्त्र निर्माण हुन सकेको छैन । रोजगारीको अवसर सीमित छ, सीपयुक्त श्रमशक्ति विदेशमा छ र देशभित्र उत्पादकता कम छ । यिनै कारणले नेपालको विकासमा असहजता थपेको अध्ययनले संकेत गरेको छ ।
अलका होला, नेबार्ट साडी र जोआना सिल्भाद्वारा सम्पादित अध्ययन प्रतिवेदनले मानव पुँजी निर्माणलाई घर, समुदाय र कार्यस्थल गरी तीन मुख्य वातावरणसँग जोडेर हेरेको छ । यी तीनै स्थानमा भएको कमजोरीले कुनै पनि देशको विकासको गति सुस्त बनाउने निष्कर्ष अध्ययनले निकालेको छ । 
नेपालको अवस्था हेर्दा पनि विकासको समस्या यिनै तीन तहमा देखिन्छ । मानव पुँजी निर्माणको पहिलो आधार घर हो । बच्चाको भविष्य विद्यालयबाट सुरु हुँदैन, घरबाट सुरु हुन्छ भन्ने निष्कर्ष अध्ययनले स्पष्टरूपमा देखाएको छ । बालबालिकाको पोषण, अभिभावकको शिक्षा, घरको वातावरण, हेरचाह र प्रारम्भिक सिकाइको अवसरले उसको जीवनभरको क्षमतामा प्रभाव पार्छ । पाँच वर्षको उमेर पुग्दा नै बालबालिकाबीच ज्ञान र सीपको ठूलो अन्तर देखिन थाल्छ, र त्यो अन्तर पछि पनि धेरै हदसम्म कायम रहने अध्ययनले देखाएको छ । 
नेपालमा बाल्यकालको वातावरण अझै कमजोर छ । कुपोषणको समस्या पूर्णरूपमा समाधान भएको छैन । ग्रामीण क्षेत्रमा अझै पनि धेरै बालबालिका आवश्यक पोषण र स्वास्थ्य सेवाबाट वञ्चित छन् । धेरै अभिभावक वैदेशिक रोजगारीमा जाने भएकाले बालबालिका परिवारका अन्य सदस्यको जिम्मामा हुर्किने अवस्था सामान्य छ । यस्तो अवस्थामा बालबालिकाले पर्याप्त हेरचाह र सिकाइको वातावरण पाउँदैनन् । विद्यालयमा भर्ना भए पनि उनीहरूको सिकाइ कमजोर रहने समस्या देखिन्छ ।
नेपालको शिक्षा क्षेत्रमा भौतिक पहुँच विस्तार भए पनि गुणस्तर कमजोर हुनुको एउटा कारण यही प्रारम्भिक वातावरण हो । विद्यालयमा सुधार मात्र गरेर परिणाम सुधार्न कठिन हुने अध्ययनले देखाएको छ, किनकि समस्या विद्यालय पुग्नु अघि नै सुरु भइसकेको हुन्छ ।
मानव पुँजी निर्माणको दोस्रो आधार समुदाय वा बसोबासको वातावरण हो । मानिस बस्ने ठाउँले उसको अवसर निर्धारण गर्छ । स्थानीय विद्यालयको गुणस्तर, स्वास्थ्य सेवाको उपलब्धता, सरसफाइ, सुरक्षित वातावरण, यातायात र रोजगारीको अवसरले व्यक्तिको विकासमा गहिरो प्रभाव पार्ने अध्ययनले देखाएको छ । एउटै आय भएका परिवारका बच्चाको भविष्य फरक हुन सक्छ यदि उनीहरू फरक गुणस्तरको समुदायमा हुर्किएका छन् भने । 
नेपालमा क्षेत्रीय असमानता अझै ठूलो छ । काठमाडौं, पोखरा वा अन्य सहरमा शिक्षा र स्वास्थ्य सेवाको स्तर तुलनात्मकरूपमा राम्रो छ भने दुर्गम जिल्लामा आधारभूत सेवा पनि पर्याप्त छैन । ग्रामीण क्षेत्रमा विद्यालय छन्, तर शिक्षकको अभाव छ । स्वास्थ्य चौकी छन्, तर चिकित्सक छैनन् । सडक पुगे पनि रोजगारीको अवसर छैन ।
यही कारणले ग्रामीण युवा सहर वा विदेशतर्फ जाने प्रवृत्ति बढेको छ । यसले देशभित्र मानव पुँजीको असमान वितरण सिर्जना गरेको छ । सहरमा अवसर बढी केन्द्रित हुँदा गाउँको विकास सुस्त हुन्छ, र गाउँ कमजोर हुँदा देशको समग्र विकास पनि प्रभावित हुन्छ ।
अध्ययनले समुदायको वातावरणमा सरसफाइ, सुरक्षा, सामाजिक सम्बन्ध र स्थानीय अर्थतन्त्रको अवस्थाले पनि ठूलो भूमिका खेल्ने बताएको छ । असुरक्षित वा अवसरहीन समुदायमा हुर्केका बालबालिकाले राम्रो शिक्षा पाए पनि उनीहरूको जीवनमा प्रगति सीमित हुने सम्भावना बढी हुन्छ ।
मानव पुँजी निर्माणको तेस्रो आधार कार्यस्थल हो । धेरैले शिक्षा पूरा भएपछि सिकाइ समाप्त हुन्छ भन्ने सोच्छन्, तर अध्ययनले मानिसको ठूलो हिस्सा सीप काम गर्ने क्रममा विकास हुने देखाएको छ । कार्यस्थलमा प्रशिक्षण, अनुभव, प्रविधिको प्रयोग र सहकार्यको वातावरणले उत्पादकता बढाउँछ । तर कम आय भएका देशहरूमा धेरै मानिस साना कृषि, अनौपचारिक व्यवसाय वा कम प्रविधि भएका काममा सीमित हुने भएकाले सिक्ने अवसर कम हुन्छ । 
नेपालको श्रम बजारमा यही समस्या स्पष्ट देखिन्छ । ठूलो संख्या युवा विदेशमा कम सीपको काममा जाने गर्छन् । देशभित्र उद्योगको विस्तार सीमित भएकाले उच्च सीप प्रयोग गर्ने अवसर कम छ । साना व्यवसाय, खुद्रा व्यापार र परम्परागत कृषि क्षेत्रमा काम गर्ने मानिसले अनुभव बढाए पनि आम्दानी धेरै बढ्दैन ।
यसले शिक्षा र रोजगारीबीचको सम्बन्ध कमजोर बनाएको छ । धेरै युवाले उच्च शिक्षा लिए पनि देशभित्र उपयुक्त काम नपाउँदा विदेश जानुपर्ने अवस्था छ । यसले देशभित्र मानव पुँजीको उपयोग हुन पाउँदैन ।
अध्ययनले विकासका कार्यक्रम प्रभावकारी बनाउन घर, समुदाय र कार्यस्थललाई अलग–अलग होइन, एकीकृत रूपमा हेर्नुपर्ने सुझाव दिएको छ । परिवारलाई आर्थिक सुरक्षा, स्थानीय सेवाको गुणस्तर र रोजगारीको अवसर एकै साथ सुधार नगरी मानव पुँजी वृद्धि सम्भव नहुने निष्कर्ष अध्ययनले निकालेको छ । 
नेपालको विकास नीतिमा अझै पनि क्षेत्रगत दृष्टिकोण बलियो छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र स्थानीय विकासका कार्यक्रम छुट्टाछुट्टै सञ्चालन हुने गरेका छन् । समन्वयको अभावले परिणाम सीमित हुने गरेको देखिन्छ ।
विशेषज्ञहरूका अनुसार अबको विकास रणनीति मानव पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । प्रारम्भिक बाल विकास, गुणस्तरीय विद्यालय शिक्षा, सीपमूलक तालिम, उत्पादनशील उद्योग, स्थानीय स्तरको सेवा सुधार र सुरक्षित समुदाय निर्माणलाई एउटै ढाँचामा अघि बढाउन सके मात्र दीर्घकालीन आर्थिक रूपान्तरण सम्भव हुन्छ ।
नेपालको विकासलाई केवल बजेट, पूर्वाधार वा राजनीतिक स्थिरताले मात्र निर्धारण गर्दैन । घरमा बालबालिका कसरी हुर्किरहेका छन्, समुदायमा कस्तो अवसर छ, र युवाले कस्तो काम पाइरहेका छन् भन्ने कुराले देशको भविष्य तय गर्छ ।
मानिसको क्षमता नै देशको सबैभन्दा ठूलो पुँजी हो भन्ने तथ्य स्वीकार गरेर नीति निर्माण नगरेसम्म विकासको गति अपेक्षित हुन कठिन देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्